किस्पाङ: पर्यटकीय ‘मिनी’ नुवाकोट

'मेरो गाउँ' नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ हो । यो स्तम्भमा तपाई स्वदेश तथा विदेशमा रहनुभएको सबै प्रिय पाठकले आफ्नो गाउँठाउँबारे लेखेर पठाउन हुनेछ । यहाँले आफ्नो गाउँठाउँबारे जे लेख्नु हुन्छ, त्यो नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला । 'मेरो गाउँ'को उद्घाटन अंकमा किस्पाङ गाउँपालिका ।

अशोक सिलवाल / फिकुरी, किस्पाङ ।

काठमाडौं (संघीय राजधानी) देखि ९० कि.मि. र हेटौडा (प्रदेश राजधानी) देखि १४६ कि.मि. दुरीमा रहेको किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहमध्ये एक हो । ८२.५७ वर्ग कि.मि.मा फैलिएको यो पालिका समुन्द्र सतहबाट ६२५ मिटरदेखि झन्डै ४२०० मिटर उचाईसम्म रहेको छ । यो पालिकालाई समग्र नुवाकोट जिल्लाको हावापानीको झलक दिने भौगोलिक विविधता रहेको पालिका हो भन्दा फरक पदैन ।

यो पालिका नुवाकोटको उत्तरपश्चिममा अवस्थित छ भने पालिकाको पुर्वमा रसुवाको उत्तरगया, पश्चिममा नुवाकोटकै म्यागङ, उत्तरमा धादिङको खनियाबास र रसुवाकै उत्तरगया गाउँपालिका र दक्षिणमा नुवाकोटकै विदुर नगरपालिका रहेको छ । पालिकाको कुल जनसंख्यामध्ये झन्डै ७७ प्रतिशत तामाङ जाति हरेका छन् भने ब्राह्मण, क्षत्री, दलित, घले, गुरुङ जातीको पनि बसोवास रहेको छ ।

कसरी रहन गयो नाम ?
साविकका भाल्चे, फिकुरी, काहुले, साल्मे र मनकामना गाविसहरु मिलाएर यस गाउँपालिका बनेको हो । यस गाउँपालिकाको नामाकरण वडा नं ३ मा रहेको प्रसिद्ध धार्मिकस्थल किस्पाङ पोखरीको नामबाट रहन गएको हो । तामाङ भाषामा कि भन्नाले पानी र पाङ भन्नाले चौर हो । त्यसरी किस्पाङ नाम बनेको हो भन्ने भनाई छ ।

कृषि, जडिबुटी र जलमैत्री पर्यटकीय गाउँ
किस्पाङ गाउँपालिका पर्यटकीय सम्भावनासहितको पालिका हो। यस पालिकामा अवस्थित फिकुरी डाडाँ हिमाली दृश्यावलोकनका लागि प्रख्यात छ ।

हिमालय दर्शनका लागि आकर्षक फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाईकुन्डको पदयात्रामा समेत जोडिन सकिन्छ । फिकुरी काठमाडौंबाट सबैभन्दा नजिकको नयाँ ट्रेकिङ डेस्टिनेसन हो । छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि यो उपयुक्त ट्रेक हो ।

तामाङ भाषामा अथ्र्याउँदा फिकुरीको अर्थ हुन्छ –धनी जंगलको शीर । र, त्यो शीरबाट आँखैलाई टक्क रोक्ने दृश्य देखिन्छ । लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु, अन्नपूर्ण र तिब्बती हिमश्रृंङखला । जति हेरे पनि हेरेकोहेर्यै हुने ! स्थानीय बुढापाकाका अनुसार रातको समयमा डाँडाबाट काठमाडौंको झिलिमली समेत देखिन्छ रे ।

सूर्योदय र सूर्यास्तका बेला यहाँबाट देखिने सौन्दर्यको उचाई अवर्णनीय लाग्छ । त्यसमाथि बौद्ध मन्त्र लेखिएका झण्डाहरूले प्रकृतिमा संस्कृति, अध्यात्म र आस्था मिसाएपछिको दिव्यताको के कुरा गर्नु !

परम्परादेखि साझा तीर्थको रुपमा रहिआएको फिकुरी डाँडालाई बुद्धस्थल र महादेवस्थलका रुपमा पनि पुजिन्छ । जनैपूर्णिमा लगायतका अवसरमा लाग्ने मेलाहरुमा यहाँ लामा, झाँक्री र तीर्थालुको भिड हुन्छ । फिकुरी दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।

यसका साथै सिङ्ला पास, चामछप्पा, दुम्पाङ, किस्पाङपोखरी, वोल्देपोखरी, लुम्वु डाँडा, ऐतिहासिक महत्व बोकेको नौघडेरी ढुङ्गा, नुवाकोटकै सवैभन्दा अग्लो गयरफुङफुङ झरनाजस्ता रमणीय स्थानहरुले किस्पाङ गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा चिनाएको छ ।

नेपालको एक मात्र भेडा अनुबांशिक स्रोत केन्द्रको रुपमा रहेको पानसय खोला भेडा आनुबांशिक स्रोत केन्द्रका यही पालिकाको वडा नं १ मा अवस्थित छ । राष्ट्रिय स्तरको विद्युत आयोजनाहरु त्रिशुली थ्री ए ६० मेगावाट निर्माण सम्पन्न भैसकेको र निर्माणधीन ३८ मेगावाटको त्रिशुली थ्री बि आयोजना यसै गाउँपालिका क्षेत्रभित्र रहेको छ भने गल्छी मैलुङ रसुवागढी सडक आयोजना जस्ता राष्ट्रिय स्तरका आयोजनाहरुले यस पालिका क्षेत्रलाई समेटेको छ।

किस्पाङ जलस्रोतको दृष्टिबाट पनि धनी स्थानीय तहको रुपमा रहेको छ । त्रिशुली नदी, सलाखु खोला, सप्ताङ खोला, छल्कुङ खोला, खुर्लु खोला किस्पाङदेखि दक्षिणतर्फ बग्ने घट्टे खोलालगायतका अनेकौ खोलानालावाट वग्ने पानीलाई समुचित प्रयोग गरी यहाँको कृषि उत्पादनलाई वृद्धि गर्न सकिन्छ। पालिकाको वनपैदावारमा पनि धनी छ। पालिकाको धेरै भुभाग वनजङगलले ढाकेको छ । कृषि तथा पशुपालनको दृष्टिवाट पनि यो पालिका सम्भावनायुक्त छ । पालिकामा झन्डै २१४१ हेक्टर खेतीयोग्य भुभाग रहेको छ। पालिकाको वडा नंं १ भाल्चेको वेमौसमी आलु र मटरकोसा नुवाकोटमा मात्र नभई काठमाडौको वजारमा पनि उतिकै लोकप्रिय छ । यस पालिकावाट विशेष गरी आलु, मटरकोसा, अलैची, अम्रिसो, कफिलगायत मौसमी तथा बेमौसमी तरकारीलगायका कृषि उपजहरु निर्यात भइरहेको छ। ब्यवसायिक रुपमा किवी, सिताके च्याउ, ओखर र जडिववुटी खेतीमात्र होइन, ट्राउट माछा र कालिज पालनतर्फ आकर्षण वढदो देखिन्छ। पालिकामा चरिचरनको लागि प्रचुर मात्रामा घाँसेचौर तथा खर्क रहेकोले पशुपालनको सम्भावना प्रवल छ। पहिलेदेखि नै यस क्षेत्र भेडा-बाख्रा पालनमा कृषकहरु आवद्ध छन् । पालिका कार्यालय तथा सहयोगी संस्थाहरुको सहयोगबाट दुग्ध संकलन केन्द्र स्थापना गरी दुग्धजन्य उत्पादन निर्यात सुरु गरिएकोले युवाहरु पशुपालनतर्फ आकर्षित भएको पालिकाले जनाएको छ ।

सडक सञ्जाल
किस्पाङका सवै वडाहरु सडक सञ्जालसँग जोडिएका छन् । पहाडी भुधरातल र न्युन विकास बजेटजस्ता कारण सडक सञ्जाललाई ब्यवस्थित बनाउन भने नसकिएको पालिकाले जनाएको छ । पालिकाको प्रमुख सडकको रुपमा रहेको सोले..सातदोवाटो(काहुले(भाल्चे(साल्मे सडक स्तरउन्नतिको अवस्थामा छ । सोले(किर्नेवगर(भाल्चेबेसी हुँदै साल्मे सडक, कामीडाँडा – गाउँपालिका – साल्मे सडक, शान्तीबजार – अर्चले – गोगने सडकलगायत वडा स्तरका सडकहरु स्तरउन्नतिको चरणमा छन् । पालिकाको वडा नं १ मा निर्माणाधिन विद्युत सवस्टेसन सम्पन्न हुने चरणमा छ । यस आयोजना सम्पन्न भएपश्चात सम्पुर्ण गाउँपालिका वातावरणमैत्री विद्युत प्रसारणलाईनयुक्त गाउँपालिका हुनेछ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको हाङक्वाङ स्योङ खानेपानी योजना निर्माणको अन्तिम चरणमा रहेको र निर्माणपश्चात पालिकाको वडा नं २ र ५ मा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान हुने पालिकाको ठहर छ । राज्य पुर्नसंरचनापश्चात पालिका तथा अन्य विकास साँझेदार संस्थाबाट अधिकांश बस्तीस्तरमा खानेपानीको ब्यवस्थापन भइसकेको पालिकाकले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ ।

बहुमुखी क्याम्पससहित २५ शिक्षालय
पालिकामा एउटा बहुमुखी क्याम्पसका साथै ६ वटा माध्यामिक विद्यालय, एउटा प्राविधिक धारको विद्यालय, १५ वटा आधारभुत विद्यालय गरी जम्मा २१ वटा सामुदायिक विद्यालय र ३ वटा नीजि विद्यालय संचालनमा छन् । २०७२ सालको विनाशकारी भुकम्पबाट भत्किएका अधिकांश विद्यालय भवनहरु पुननिर्माण भइसकेका छन् । शैक्षिक पुर्वाधार, जनशक्ति र शैक्षिक गुणस्तरलाई सुधार गरी आफ्नै घरआँगनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति रहेको पालिकाले जनाएको छ।

स्वास्थ्य सुविधा
पालिकामा हाल ६ वटा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ । वडा नं ३ स्थित काहुले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा तथा गर्भवतीको लागि भिडियो एक्स रे सेवा संचालनमा रहेको छ । आर्थिक बर्ष २०७७/०७८ बाट नै पालिकास्तरीय अस्पताल संचालनको लागि तयारी भइरहेको पालिकाले जनाएको छ ।

अन्त्यमा, यो पालिका क्षेत्र प्राकृतिक र साँस्कृतिक सम्पदाले सम्पन्न देखिन्छ भने कृषिका लागि उर्बर भुमि र पर्यटन सम्भावनाले पनि धनी । त्यति मात्र होइन, भौगोलिक र वातावरणीय अनुसन्धानका लागि समेत उपयुक्त यो पालिकाको सुखद पाटो एकातिर छ भने पालिकाले जनाए अनुसार न्युन विकास वजेट, प्रभावकारी योजनाको अभाव र भौगोलिक विकटताजस्ता कारणहरुले विकासको दृष्टिकोणबाट भने यो पालिका अझै पनि पछाडि नै छ ।

किस्पाङलाई समृद्ध बनाउन दिगो विकासका वातावरणमैत्री, मापदण्ड अनुसार विकासका संरचना निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरी योजना निर्माण तथा परिचालनमा लागिपरेको पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button