काठमाडौं एकदम सफा

रुपा अधिकारी

म आफ्नो गन्तव्यतर्फ थिएँ । बस आयो । चढेँ । जब सिटमा बसेँ, मेरो आँखा लोलाउन थाले । सररर बस आफ्नो रफ्तारमा गुडिरहेको थियो ।

बाटो दुईतर्फी । जाने बसहरु र आउने बसहरु आ-आफ्नो लेनमा हरन नबजाई गुडिरहेका थिए । प्रत्येक स्टेसनमा बस अटोमेटिक रोकिने । झर्ने र चढ्ने क्रमसँगै चढ्नेले बसभित्रको टिकट मेसिनबाट आफ्नो दूरीलाई छनौट गरी टिकट काटने गर्थे त झर्नेले आफ्नो स्टेसन आएपछि हातमा लिएको टिकट बस भित्रको फोहोरपेटिकामा फालीदिन्थे । एकदम शान्त वातावरण थियो । बस चालक खुशीसाथ आफ्नो ड्राईभिङलाई निरन्तरता दिइरहेका थिए ।

सुन्दर सहर । सिस्टममा चलेका मानिस । अहो कति सभ्य र रमणीय वातावरण । सडकहरुले पैदल यात्रीको लागि निकास गरेको थियो । ठाउँठाउँमा विभिन्न प्रजातिका बोट त कतै गुलाफहरु लहरिइरहेका थिए । कतै इन्द्रकमलहरु मगमगाइरहेका थिए । फोहोर फल्नको लागि साना साना टिनका छानाले निर्मित घरहरु झै लाग्ने फोहोरटिकाहरु थिए, जहाँ सरकारले कुन फोहोर कुन दिन फाल्ने भनी पम्पप्लेटहरु उक्त फोहोर फाल्ने स्थानहरुमा टाँसिदिएको कारण सभ्य तरिकाले फोहोरहरु थुपारिएको थियो । फोहोरका प्लास्टिकमा नगरपालिकाका नाम, वार्ड र कुन प्रकारको फोहोर हो थाहा पाउन सकिने गरी ब्यबस्था गरिएको थियो । फोहोर उठाउन आउने व्यक्ति सरकारी कर्मचारी झै लाग्थे । उनीहरु एक भिन्न युनिफर्ममा थिए । लाग्यो, यिनीहरु फोहोर उठाउने व्यक्ति नभई विमानचालक हुन् । सफा र राम्रो युनिफर्ममा उनीहरुलाई देख्ने जो कोहीको हेर्ने आँखा फरक थियो । बस रोकिरहेकोले म ती फोहोर उठाउन आउने व्यक्तिलाई नियालिरहेकी थिएँ । उनीहरु आफ्नो काम सकिएपछि युनिफर्म खोलि सूटटाई लगाई आफ्नो प्राइभेट गाडी लिएर बाटो लागे ।

कुन काम के काम केही सरोकार नराखी आफ्नो योग्यता अनुसारको काम गर्दै थिए मानिस । सहरमा ठुलो भव्य मार्केटहरुले मेरो मन लोल्याइरहेको थियो ।खुल्ला ठाउँका मठमन्दिर, पाटी र ढुँगेधाराहरुमा विदेशीहरु फोटो खिचिरहेका थिए ।

‘ए दिदी, खई भाडा दिनुस् त, शंखमुल झर्ने होइन ?’, भाइको कडा आवाजले झसंग् हुनपुगेँ । आँखा खोली बाहिर हेरेँ । म मध्यबानेश्वर आइपुगेको रहेछु । बाहिर ठाउँठाउँमा फोहोर फालिएको थियो । कुकर र कागहरु फोहोरको डुँगुर खोतलिरहेका थिए । झिंगाहरु उत्तिकै भूनभून गरिरहेका थिए । फोहोरका थुप्राबाट फोहोर पानी सडकभरी बगेका थिए । यस्ता अनेकन थुप्रा पार गर्दै म शंखमुल पुगेँ । दुर्गन्धले मेरो पेट नराम्रोसँग हुँडलिरहेको थियो । नजिकको पसल गई एक प्लास्टिक किनेँ र सब बिकार गन्धलाई भोमिटङ गरी नजिकको फोहोरको थुप्रोमा लगि फालिदिएँ ।

बसको सिटमा लोलाएका मेरो आँखाले जापानको सम्झनालाई स्मरण गर्दै कतै काठमाडौंको परिकल्पना पो गरेको रहेछ । हाम्रो काठमाडौं पनि मेरो कल्पना झैं बन्ने छ । सभ्य बनौं । राम्रो कार्यका लागि सहकार्य गरौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button