
शेर्पा सिरिज ४ः भाषा, भेषभूषा र खानपान विशेष
नेपालनाम्चाले शेर्पा सिरिज सुरु गरेको छ । यो सिरिजमा शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिनेछ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि शेर्पा सिरिजको अभिन्न हिस्सा बन्न सादर अनुरोध छ ।
शेर्पा सिरिजको चौथो श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक सेर्कु शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । सम्पादक, नेपालनाम्चा ।
…
शेर्पा समुदायले बोल्ने भाषालाई शेर्पा मातृभाषा भनिन्छ । यसलाई शेर्वी ताम्ङे भनिन्छ । २०५८ को राष्ट्रिय जनगणनाअनुसार शेर्पा मातृभाषा बोल्ने सङ्ख्या १,२९,७७१ रहेको छ । यसैगरी केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको २०६८ को जनगणनाअनुसार नेपालमा शेर्पा भाषा बोल्ने जनसङ्ख्या १,१४,८३० रहेका छन् । यो भाषा भोट बर्मेली भाषा परिवारभित्र पाइन्छ ।
शेर्पा भाषाको लिपि सम्भोटा लिपि हो । यो लिपि हिमाली भूभागमा बसोबास गर्ने अधिकांश समुदायको साझा लिपि हो । तसर्थ हिमाली भूभागमा बसोबास गर्ने अधिकांश समुदायको भाषा मिल्दाझुल्दा हुन्छन् । हाल शेर्पाहरूको भाषा देवनागरी तथा अङ्ग्रेजी लिपिमा लेख्दै आएको पाइन्छ । यसरी अङ्ग्रेजी तथा देवनागरी लिपिमा शेर्पा भाषा लेख्दा अशुद्ध हुन गई भाषाको स्तर कमजोर हुँदै जाने खतरा बढेको छ । शेर्पाहरूको भाषा सम्भोटा लिपिमा मात्र शुद्ध लेख्न र उच्चारण गर्न सकिन्छ ।
प्रायः शेर्पाहरू महायान बौद्ध धर्मावलम्बी छन् । शेर्पाहरूको जन्मदेखि मरणसम्म हुने सम्पूर्ण संस्कार परम्परा र व्यवहार बौद्ध दर्शनमा आधारित छ । आदिम कालदेखि नै शेर्पा समुदाय बौद्ध धर्मको महायान अन्तर्गत ञिङ्मा परम्पराको अनुयायी हुन् । हाल महायान अन्तर्गतकै अन्य कग्यु, शाक्या र ग्येलुक परम्परामा पनि अनुयायी बन्दै आइरहेका छन् । यिनीहरूको सम्पूर्ण साँस्कृतिक कार्यमा महायान अन्तर्गतको ञिङ्मा परम्पराको बज्रयान विधि अनुसार गरिन्छ । आफ्नो सम्पूर्ण धार्मिक कार्य घरमा गरिन्छ भने सामूहिक धार्मिक कार्य गोन्पामा गर्दछन् । धार्मिक कार्यका लागि लामालाई पुरोहितमा आमन्त्रण गरिन्छ । गोन्पा गाउँको सिरानमा अथवा बीचमा निर्माण गरिएको हुन्छ ।
शेर्पा समुदायले लगाउने भेषभूषा अन्य जातिको भन्दा पृथक प्रकृतिको रहेको पाइन्छ । हिमाली भेगमा बढी चिसो हुने भएको हुनाले शेर्पाहरूले लगाउने पोसाक अन्य समुदायको भन्दा पृथक देखिएको हो । हिमाली भेगको हावापानी अनुरूपका भेषभूषा शेर्पा समुदायले लगाउने गर्दछ । शेर्पा पुरुषले छिरिङ किङ्खाप श्योमुङ् (टोपी), छुवा (बक्खु, तेतुङ (कमिज), खारे कारा (पेटी), स्याङ्शिल (घुँडासम्म लगाउने जुत्ता),खेन्ज्यार (हाफ ज्याकेट), फिङ्स्या-थाङ्स्या (छात्रे टोपी), शेरसिङ पोक्ता (टोपी) आदि पोसाक लगाउने चलन छ ।
स्त्रीले स्यम्ज्यार अथवा हाङ्ज्यु (समिज), अङ्गी (बख्खु ,बुहे ्र कारा, सीकोक, छिरिङ किङ्खापस्योमुङ (टोपी), स्योमुङ मोश्या (टोपी), दोङटिल (इन्द्रेणी रङ्गको अङ्गीमाथि अगाडिबाट लगाउने पोसाक), ग्याप्टिल (इन्दे्रणी रङ्गको अङ्गीमाथि पछाडिबाट लगाउने पोसाक), काँचा÷कोशुल (घुँडासम्म लगाउने जुत्ता), ह्रम्डोक (कोशुल बाँध्ने फित्ता) सिकोक तथा गहनाहरू ग्यनजेन, क्ष्याप्क्ष्याप, पिन, मठिल, खाउ, यु, क्ष्युरुक, जी, पोसिल, मोती, श्यि, बुटिल, कण्ठा, टिकटिक (सुनको माला), सोर्तुप (औंठी), मेन्दोक कोक्ते, सुटुक÷पाङ्जेन, अलुङ
(माली) आदि लगाउने चलन छ ।
परम्परागत पोसाकको प्रयोग स्थानअनुसार हावापानीमा भर पर्छ किनकि हिमाली भेगमा अति चिसो भए तापनि उच्च पहाडी तथा तराईमा गर्मी हुनाले सदैव एउटै किसिमको पोसाक प्रयोग गर्न सकिन्न । तर शेर्पाहरूले आफ्नो परम्पराअनुसारको संस्कार, चाडपर्व, नयाँ वर्ष लोसार, धार्मिक कार्य, अथिति स्वागत, गोन्पा जाँदा र तीर्थयात्राहरूमा जाँदा जुनसुकै स्थानमा भए तापनि अधिकांश शेर्पाले आफ्नो मौलिक पोसाक लगाउने चलन छ ।
विश्व मानव जातिका विभिन्न सम्प्रदायमध्ये मंगोलियन सम्प्रदायका शेर्पाहरू शारीरिक रूपमा मझौंला कद, जीउ बलियो र हृष्टपुष्ट परेको, कपाल कालो, शरीरमा बाग्लो रौं नभएको, चिम्से प्रकृतिको साना आँखा, थेप्चो नाक, मुखमा बाक्लो दाढी जुँगा नभएको र गहँुगोरो वर्णका साथै फराकिलो अनुहार शारीरिक विशेषता रहेको पाइन्छ ।
शेर्पा समुदायको बसोबास आदिम कालदेखि नै हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेको हुनाले उनीहरूको खान–पान पनि त्यहाँका मौसम अनुकूल रहेको छ । हिमाली तथा उच्च पहाडी भेगमा उत्पादित वस्तुबाट खाने कुराको परिकारहरू बनाएर खाने चलन छ । तर, खाने कुराहरू सबै ठाउँमा यही परिकार खान्छन् भन्ने छैन ।
बिशेष गरी शेर्पाहरूले बिहान भुटेको मकै, जौं, गहुँ र भटमास आदि मिसाएको पिठो चम्पा, नुन, घिउ र दूध मिसाएर बनाएको नुन चिया खाने गर्दछन् । यसलाई सुच्या भनिन्छ । दूध नभएको अवस्थामा नुन र घिउ मिसाएको कालो चिया खाने गर्दछन् । यसलाई च्यताङ भनिन्छ । चियासँग खाजाका लागि चम्पा अथवा फापरको रोटी खाने गर्दछन् । कुनै ठाउँमा बिहान खाजाको लागि मोहीमा कोदोको पिठोको खोले पकाएको खाना खाने चलन पनि छ । यसलाई तरी क्यु भनिन्छ । दिउँसो खाना गहुँ, जौं, र कोदोको सेन (डिडो रिकी कुर (आलुको रोटी) तथा मकैको च्याख्लासँग सागसब्जीको तरकारी खाने गर्दछन् । बेलुका मुला, आलु, हरियो सब्जी र मैदाको पिठो मुछेर सा–साना डल्ला मिसाएर पकाएको स्याक्पा (खोले अथवा उसिनेको आलु अथवा फल्गी (हरियो मकै उसिनेर सुकाएको) आदि खाने गर्दछन् । त्यसै गरी कुनै बेला बेलुका मुला, आलु, हरियो सागसब्जीमा गहुँको पिठो मुछेर सा–साना डल्ला बनाएर पकाएर खाने गर्दछ । यसलाई टे एरी भनिन्छ । दिउँसो खाजामा पनि उसिनेको आलु अथवा आलुको रिल्दोक खाने गर्दछन् । यसै गरी हिमाली भू–भागमा मात्र पाइने पिंडालुको परिकार बनाएर खाने चलन छ । यसलाई शेर्पाहरूले कुनै ठाउँमा नाङ्मी थो अनि कुनै ठाउँमा तो खुम्दोक र कुनै ठाउँमा थो थोव भनिन्छ । यो परिकार वर्षमा एक पटक खाएको खण्डमा पेट सफा हुने विश्वास गरिन्छ । समयअनुसार हिमाली तथा उच्च पहाडी क्षेत्रमा शेर्पाहरूको बस्तीहरूमा पाइने जङ्गली सागपात, च्याउ, टुसा पनि खाने चलन छ । यी खाने कुराहरू ठाउँअनुसार फरक फरक हुन सक्छन् ।
शेर्पाहरू बौद्धमार्गी हुनाले प्रायः काटमार गर्दैनन् । शेर्पाहरूले मासुको सेवन गरेता पनि ‘मासु खाने मासिन्छ, सागसब्जी खाने सप्रिन्छ’ भन्ने उखान छ । त्यसैले गर्दा पनि मासुको परिकारलाई त्यति धेरै महत्वपूर्ण दिंदैनन् । तर परिवर्तित समयअनुसार हाल शेर्पाहरूले पनि विश्वमा उत्पादित सम्पूर्ण खाने कुराका परिकारहरू ग्रहण गर्दछन् ।
