
शेर्पा सिरिज ३ः टाढैबाट चिनिन्छ गाउँ
नेपालनाम्चाले ‘शेर्पा सिरिज’ सुरु गरेको छ । यो सिरिजमा शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिनेछ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि शेर्पा सिरिजको अभिन्न हिस्सा बन्न सादर अनुरोध छ ।
शेर्पा सिरिजको तेस्रो श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक सेर्कु शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । सम्पादक, नेपालनाम्चा ।
…
आदिम कालदेखि नै शेर्पाहरू हिमाली भू–भागमा बसोबास गर्दै आएको पाइन्छ । शेर्पाहरू बसोबास गर्ने स्थान अथवा गाउँ वस्तीलाई शेर्पा भाषामा लुङबा अथवा युल भनिन्छ । हिमाली भू–भागमा रहेको विषम हावापानीका कारण उनीहरूको बसोबास ढाँचा अस्थायी र स्थायी दुई प्रकारका रहेका छन् । स्थायी बसोबास ढाँचा भन्नाले उनीहरू स्थायी रूपमा बस्ने मूल थलोलाई जनाउँदछ । अस्थायी बसोबास ढाँचा भन्नाले मौसमअनुसार लेकबेँसी बस्ने प्रक्रियालाई जनाउँछ ।
वर्षायाममा चौरी गाई, याक, नाक चराउँदै लेकतिर र जाडोयाममा न्यानो ठाउँ खोजेर बेँसीतिर झर्ने गर्दछन् । यसलाई यर्सा र गुन्सा भनिन्छ । आफूले पालेको वस्तुभाउ चराउँदै लेकबेंसी गर्नु पर्दा खेतीपाती गर्न भ्याएका हुँदैनन् । खेतीपाती गर्न नभ्याएको शेर्पाले आफ्नो चौरी गाई र नाकको घिउ, चीज आदि कृषकहरूको अन्नपातसँग साटासाट गरी जीविकोपार्जन गर्दछन् । राष्ट्रिय जनगणना (२०५८) अनुसार ७१ जिल्लाहरूमा शेर्पाहरूको बसोबास रहेको छ । त्यसै गरी राष्ट्रिय जनगणना (२०६८) अनुसार नेपालको ५८ जिल्लाहरूमा शेर्पाहरूको बसोबास रहेको छ ।
भू—बनोटको कारणले गर्दा शेर्पा जातिको बस्ती छरिएको पाइन्छ । सहरी क्षेत्रमा जस्तो बाग्लो बस्ती शेर्पा जातिको बसोबास क्षेत्रमा नभएता पनि पर्यटकीय क्षेत्रमा भने हिजोआज शेर्पा जातिको सघन बस्ती भेटिन्छ । जस्तै नाम्चे बजार, जुनबेशी, तातोपानी आदि यसका केही उदाहरणहरू हुन् । शेर्पाहरूले घरलाई खाङ्बा, गोन्पालाई गोन्द-ल्हाखाङ अथवा क्ष्योखाङ-ल्हाङाङ, गुफा बस्ने घरलाई छम्खाङ, गोठलाई गोठे, रेष्टुरन्टलाई साखाङ, चर्पीलाई क्ष्याखाङ, भान्साघरलाई थापखाङ, दाउरा राख्ने घरलाई स्यिङ्खाङ र गेटलाई कणी भन्छन् । यिनीहरूको घर ढुङ्गाको गारो उठाएर बनाएको पाइन्छ ।
सुरु सुरुमा शेर्पा समुदायको घरहरू एक तल्ले रहेको पाइन्थ्यो । तर, समयसापेक्ष परिवर्तन हुँदै दुईतीन तल्ले घरहरू निर्माण गर्न थालेको पाइन्छ । घरका छाना फलेक, ढुङ्गा र जस्तापाता आदिले छाइएका हुन्छन् । घरहरूमा सेतो कमेरोले पोतेर टल्काइएको हुन्छ । आर्थिक स्थिति कमजोर भएका शेर्पाहरूले घर निगालोको चित्रो अथवा फलेकहरू मिलाएर बनाएका हुन्छन् । यसरी निगालोद्वारा निर्माण गरिएको घरलाई बग्खङ भनिन्छ । स्थानअनुसार कुनै ठाउँमा दुई तल्ले घरहरूको तलामुनी घरपालुवा जनावर राखिन्छ भने कुनै ठाउँमा तलामुनी आलु र मालसामानका साथै हिउँदोमा घाँस र दाउरा राख्छन् । तला माथि भने मानिस बस्ने गर्छन् ।
मानिस बस्ने तलामा अधिकांश शेर्पाहरूले पूजाकोठा बनाएका हुन्छन् । पूजा कोठामा बुद्ध, गुरु रिन्पोछे (गुरू पद्म सम्भव) र फग्पा च्यान-यजिक (आर्यअवलोकेतेश्वर) को मूर्ति र बौद्ध धर्मग्रन्थ राखिएको हुन्छ भने बाहिरपट्टि पूजा सामग्रीले सझाइएको हुन्छ । घरको आँगनमा बौद्ध ध्वजा उठाइएको हुन्छ । यसलाई छोतर अथवा दच्र्यो भनिन्छ भने घरको छानामाथि पनि ध्वजा पातका टाँगिएको हुन्छ । त्यसलाई लुङतर भनिन्छ ।
शेर्पाहरूको गाउँबस्तीलाई टाढाबाट नै चिन्न सकिन्छ । शेर्पा गाउँका सबै घरहरू प्रायः छरिएर बनाइएका हुन्छन् । प्रत्येक घरमा छोतर अथवा दच्र्यो लगाएको हुन्छ भने गाउँ वरपरको डाँडामा लुङतर टाँगिएको हुन्छ ।
शेर्पा समुदायको बसोबास रहेको स्थानहरूको नाम पनि शेर्पा भाषामा नै राखेको पाइन्छ । जस्तै: ज्यासा (इन्दे्रनी लाग्ने ठाउँ), क्ष्यिबुक (पानी भएको स्थान), पो—क्याप (धूप पलाउने ठाउँ), दोलाखा (ढुङ्गामा मुख भएको ठाँउ), यर्सा (वर्षे खर्क), गुन्सा (हिउँदे खर्क) आदि ।
यसरी हाल नेपालको हिमाली जिल्लाहरू सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ्ग, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाडौं, नुवाकोट, महोत्तरी, चितवन, झापा, मुगु, हुम्ला, उदयपुर, गोरखा, धनकुटा, सुनसरीमा शेर्पाहरूको सघन बसोबास रहेता पनि परिवर्तित सामाजिक परिवेश अनुसार हाल नेपालको अधिकांश जिल्लाहरूमा शेर्पा समुदायको बसोबास रहेको छ । शेर्पा समुदाय भारत, चीन, अमेरिका, युरोप, जापान, कोरिया, बेलायत आदि राष्ट्रहरूमा पनि पछिल्लो समय बसोबास गर्दै आएका छन् ।
