सम्पादकलाई चिठी र सिमीगाउँमा पाठशाला

गोविन्द आचार्य

हामीले स्कुले जीवन शुरु गर्दैगर्दा हाम्रो गाउँमा अक्षर पढ्न सक्ने जनसंख्या ५ प्रतिशत पनि थिएन । सिमीगाउँको त्यति ठूलो बस्ती भएको गाउँमा स्कुल नै थिएन । यसले धेरै पीडा भइरहन्थ्यो । हाम्रो सबैभन्दा नजिकको स्कुल टासिनाम प्रावि थियो जहाँ गएर बेलुका घर फर्कने सम्भावना थिएन । आइतबार स्कुल जाने शुक्रबार घर आउने गर्नुपर्थ्यो । त्यो कलिलो उमेरमा भीर, पहरा, जङ्गल छिचोल्दै अत्यन्त कठिन बाटो पार गरेर विद्यालय जानुआउनु सुविधा सम्पन्न ठाउँका बालबालिकालाई हो भने असम्भव जस्तै थियो । स्कुल नियमित संचालन नहुने समस्या छँदैथियो । गुणस्तरको कुरा त धेरै परको भयो । शुरुका वर्षहरूमा निकै साथीहरू हुनेगर्थ्यौं तर पछिल्ला २-३ वर्ष भने म एक्लैले आवतजावत गर्नुपर्‍यो । भौतिक, मानसिक दुवै हिसाबले अत्यन्त कठिन ।

टासिनाममा २०१६ सालमै विद्यालय स्थापना भएको रहेछ । त्यो विद्यालय तत्कालीन सांसद गृहबहादुर बस्नेतले कोटा मिलाइदिनुभएको भन्ने सुनियो तर स्थानीय स्तरमा कस्ले पहल गर्नुभएको थियो भन्ने जानकारी हुन सकेन । उक्त विद्यालयका पहिलो शिक्षक शेरबहादुर गुरुङ हुनुहुदोरहेछ । मैले उहाँलाई देख्न पाइनँ ।

उता रोल्वालिङ, बेदिङमा प्रथम सगरमाथा आरोही एड्मण्ड हिलारीको सहयोगमा २०२८ सालमा विद्यालय स्थापना भएको थियो । पासाङ शेर्पा (सिमीगाउँ) उक्त विद्यालयका पहिलो शिक्षक हुनुहुन्छ ।

मैले प्राथमिक विद्यालयदेखि माध्यमिक विद्यालयसम्म अध्ययन गर्दा अत्यन्तै संघर्षपूर्ण अवस्था बेहोर्नुपर्‍यो । टासिनाम प्राइमरी स्कुलबाट ५ कक्षा उत्रिएपछि सबैभन्दा नजिकको हाइस्कुल भीम पब्लिक हाइस्कूल, दोलखामा भर्ना भएँ जहाँ पुग्न आफ्नु गाउँबाट २ दिन हिड्नुपर्थ्यो ।

२०३१ सालको शुरुतिरको कुरा हो म सात कक्षामा पढ्दै थिएँ । गाउँमा स्कुल नहुदाको पीडा छँदैथियो । आफूले घरमा खाना खाएर स्कुल जान नपाएको भए पनि आफ्नु गाउँका स्कुल जाने उमेरका बालबालिकालाई पढ्न पाउने अवसर मिलोस् भन्ने भावना जागिरहेकै थियो तर ७ कक्षामा पढ्ने फुच्चेको कुरा कस्ले सुन्थ्यो र ।

उतिखेर हाम्रो स्कुलमा गोरखापत्र नियमित आउँथ्यो । म फुर्सदमा गोरखापत्र पढ्ने गर्थें । यही क्रममा सम्पादकलाई चिठी स्तम्भमा नागरिकहरूले विविध समस्याहरू सार्वजनिक गर्ने गरेको थाहा पाएपछि मैले पनि मेरो गाउँमा स्कुलको व्यवस्था होस् भनेर माग राख्ने सोच बनाएँ । नभन्दै २०३१ साल जेठ २० गतेको गोरखापत्रमा मेरो चिठी छापियो । कक्षाकोठाबाट बाहिर निस्कँदै थिएँ अमरकुमार प्रधान सरले बोलाएर मेरो चिठी छापिएको जानकारी दिनुभयो । अफिसमा गएर हेर्छु त साँच्चै हो रहेछ । मेरो त भुइँमा खुट्टै भएन । दोहोर्‍याइ तेहर्‍याइ पढेँ ।

मेरो गाउँको नाम पनि गोरखापत्रमा छापियो, देशभरिका मान्छेले पढेहोलान् । मेरो गाउँ सबैले चिने । अब स्कुल पनि दिन्छ सरकारले । म त कति गदगद । मेरो कल्पनाको सीमा नै रहेन । अहिलेको समयमा भए पत्रिकामा चिठी छापिनु के ठूलो कुरा भयो र ।

त्यसपछि म अझ उत्साहित हुँदै गएँ । ४ महीनाजति पछाडि यही शीर्षकमा मेरो अर्को चिठी पनि छापियो । त्योभन्दा पछि स्कूल चाहियो शीर्षकमा अर्को चिठी छापियो । अब म धेरै ढुक्क भएँ मेरो गाउँमा विद्यालय स्थापित हुने कुरामा ।

यति भएपछि अरु उपाय के के हुनसक्छ होला भन्ने सोचाइ मौलाउदै आयो र विदामा घर गएको बेला गाउँका सबै अभिभावक भेला गराएर राजाकहाँ बिन्तिपत्र हाल्ने योजना गरेँ । आफ्नू घरमा यो कुरा भन्ने आँट ममा भएनस आमासँग चाहिँ भनेंहुँला ।

गाउँमा उतिखेर अलिकति अगुवा भूमिका निर्वाह गर्नुहुने व्यक्तित्व पेमाछिरीङ शेर्पा हुनुहुन्थ्यो । उहाँसँग कुरा गर्न मलाई त्यति हिचकिचाहट हुदैनथ्यो किनभने अरुबेला पनि मसँग राम्रो बातचीत गर्नुहुन्थ्यो । केही लेख्ने कामपर्दा म वहाँको सहयोगी हुनेगर्थेँ । उहाँलाई कुरा राखें । उहाँले मेरो प्रस्ताव सहर्ष मान्नुभयो । गाउँमा सूचना गर्न घुमियो । केहीदिनपछि भेला सम्पन्न भयो र पुगनपुग ५० जना जतिको सही भएको बिन्तिपत्र तयार गरेर म आफैं लामाबगर गएर हुलाकबाट नारायणहिटी दरबार पठाएँ । त्यसपछि पनि मनमा हुटहुटी भै नै रह्यो ।

२०३१ सालको शैक्षिकसत्रबाट दोलखा जिल्लामा नयाँ शिक्षा योजना लागू हुँदैथियो । यसै सिलसिलामा काठमाडौंबाट विज्ञहरूको एउटा टोली चरिकोट आएर गोष्ठी गरेको थियो । संयोगले म पनि कार्यक्रमको दर्शकस्रोता हुनपुगें । टोलीमा साहित्यकार कमलमणि दीक्षित पनि हुनुहुन्थ्यो । कार्यक्रम सकिएपछि बाहिर निस्कँदै गर्दा मैले दीक्षितज्यूलाई कुरा राख्ने आँट गरेँ । उहाँले दोलखा जिल्लाका प्रथम जिल्ला शिक्षा अधिकारी श्रद्धामान शाक्यलाई बोलाएर मलाई फेरि कुरा राख्न भन्नुभयो । मैले समस्या पनि बताएँ र गोरखापत्रमा पटकपटक आफ्नो चिठी प्रकाशित भएको र राजाकहाँ बिन्तिपत्र हालेकोसम्म कुरा बताएपछि जिशिअ शाक्यले चिठीको बारेमा जानकारी भएको र शिक्षा विभागमा कुरा चलिरहेको बताउनुभयो । तिमीलाई आफ्नु गाउँको कत्ति माया रहेछ हगि बाबू भनेर प्रसंसा पनि गर्नुभयो । त्यसपछि त मेरो खुट्टा भुइँमा किन टेकिन्थ्यो र ।

२ महिनापछि सिमीगाउँको लागि प्राथमिक विद्यालयको कोटा स्वीकृत भएर आएको खबर आयो । मेरो सपना पूरा भयो । अत्यन्त खुसी मनाएँ ।

केही समयपछि एसएलसी परीक्षा शुरुभयो । संयोगले काभ्रेपलाञ्चोक जिल्लाबाट एसएलसी दिन आउनुभएको एकजना परीक्षार्थी म बसेकै घरमा बस्न आइपुग्नुभयो । २ हप्ताको चिनजानमा उहाँले परीक्षापछि शिक्षक हुनपाए हुन्थ्यो भन्नुभएपछि मैले आफ्नो गाउँमा भर्खरै स्कुल स्वीकृत भएर आएकाले त्यहीँको लागि प्रयास गर्न सल्लाह दिएँ । नभन्दै जाँच सकिनासाथ उहाँले सिमीगाउँ प्राविको शिक्षकमा नियुक्ति पाउनुभयो । यसरी काभ्रेपलाञ्चोक जिल्लाका कविराज पन्त सिमीगाउँ प्राविको प्रथम शिक्षक बन्न पुग्नुभयो ।

पन्तपछि दोस्रो शिक्षककारूपमा हावा गापंबाट सरुवा भएर आई दोलखा बजारका योगेशचन्द्र जोशी जीवनपर्यन्त यही विद्यालयमा सेवारत रहनुभयो । पछि धेरै शिक्षकहरू आउनुभयो, जानुभयो । कति दिवंगत हुनुभयो । पासाङ शेर्पा (लामाबगर) भर्खरै, केही वर्षअगाडि ङाडोमा शेर्पा र धेरै वर्षअगाडि छिरिङठिलेन शेर्पा (बिगु, आलम्पु) । शिक्षक छिरिङठिलेन शेर्पाले चलाउनुभएको स्वास्थ्य सम्बन्धि जनचेतना अभियानका लागि उहाँप्रति सिमीगाउँ सधैं ऋणी छ भन्ने लाग्छ मलाई ।

विद्यालय स्थापनामा थोरै भूमिका निर्वाह गरेतापनि मेरो ब्यक्तिगत परिस्थितिका कारणले पछि आएर विद्यालय विकासका लागि केही गर्न नसकेकोमा दुखी छु । यो ४६ वर्षको अवधिमा विद्यालयमा अध्यापन गर्नुहुने शिक्षकहरू र भौतिक विकासमा सहयोग पुर्‍याउनुहुने गाउँबासीहरू लगायत सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु । हाल कार्यरत शिक्षकहरू र अध्ययनरत विद्यार्थीहरूमा सुन्दर भविस्यको कामना गर्दछु ।

शिक्षाको सानो टुकीसम्म बाल्न किशोरावस्थामा गरेको थोरै प्रयास सफलतामा पुगेको त्यो बेला सम्झँदा आज पनि गर्व महसुस हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button