उदय निरौलाको ‘अनियमित रुटिन’
कविता
रुटिन त नियमित हुन्छ लज्जावती र त पराई देख्ने बित्तिकै चिम्लन्छे आँखा
नियमित हुन्छ रुटिन र त वसन्तलाई निम्तो दिँदै फुल्छे अर्किड अर्कैको रुखो ढाडमा पनि
अनियमित आकस्मिकता हुनै सक्दैन
तर स्याल रुन्छ बिना रुटिन
कुकुर शहर पस्छ नबउलाँउदै
छि: ! बिडम्बनाहरूको पहाड उभ्याएर
चुचुरोमा झुस्स पलाँउछ सालिम्बो हजुरबाको टोपीबाट चुहिरहेको टुप्पी जस्तै ।
यी सब अगणित र अनन्त खेलहरूले नामचलेको खेल क्रिकेटलाई अस्तव्यस्त पारिदिन्छ
बनमाराले अनियमित तवरले सखुवाहरू मासे जस्तै
कच्चा भकिअमिलो उब्लन्छ पाखोमा
सालहरू दनादन काटिए
अनिमयत आकस्मिकतामा किच्च बिलाउने उभिए
थाम्छ त ! स्वाभिमान
थेग्न सक्छ त ! अस्मिता र गरिमा
सोध ! पाखाको बिलाउनेलाई सोध
अनियमित तवरले बज्छ रेडियो
अनियमित तरिकाले पोत्छ रङ्गको पेन्टर
भित्ते राष्ट्रपतिको नक्शा
बिना भित्ता र झर्छ गर्ल्याम्म फोहोरको डङ्गुरमा
डङ्डङ् गन्हाँउदै
बिना रुटिन बज्छ संगीतकारको तबला बेसुरा
सोराठी झर्छे ओरालो
र लुते स्यालको हुँइयाँ चड्न खोज्छ उकालो
मारुनीले बाटो छाडिदिन्छे
सारेगमले बाटो छाडिदिन्छे
बाँसुरी बज्छ बेसुरा र
सट्टामा ढुङ्ग्रो बज्छ ह्वँ ह्वाँ
जोगीको बाजा बजेजस्तो
बिल्कुल अनियमित रुटिन
कुकुर पछाडिबाट हिँड्नु
बिरालो बिनारात ङ्यार ङ्यार गर्नु
लाटोकोसेरोले दिनमा देख्ने चश्मा हाल्नु
सबै बिना रुटिन
अनियमित आकस्मिकता
बर्षायाममा खडेरी पर्नु
विवेककै खडेरी हो त ?
हेरिरहेछ एकतमास रमिता बिना रमिता
हेरिरहेछ पाखाको घुर्पिस
खुइलिएर बशैं सर्नै लागेको
पाखाको त्योभन्दा बुढो घुर्पिस ।