
कवितामा ‘झण्डाको कथा’
शकुन्तला जोशी
…र यस्तो थियो सहिद हुनेको कथा
साँघुरो चरनमा चरिरहेका एक दिन
उनीहरु आए र फकाए
एकदिन विशाल घाँसे मैदान हुने छ तिमीसँग
हिँड, साथ देऊ हामीलाई
अवश्य आउने छ तिम्रो दिन
त्यही दिन उसले बोक्यो
आफ्नो रगत जस्तै रातो झण्डा
र, दस्तावेजले भरिएको झोला
हिउँदका चिसा रातहरुमा
गर्मीका लु–ग्रस्त दिनहरुमा
कहिले चपाउँदै घँगारुको काँचो दाना
कहिले बज्रिदै दल्छिन् ढुंगाको डगरमा
हिँडिरह्यो अनवरत
बिर्सियो जवानीको रंग र आफ्नो सानो संसार
लगाम र कोर्राले जता संकेत गर्थे
बोकेर पिठ्युँमा उनीहरुलाई दौडिरह्यो
यो लडाईंमा ऊ पटक पटक मारियो
फुटाइए आँखा
भाँचिए करङ
गुमायो परिवार
तर ऊ फेरि उठ्यो र दौड्यो उसैगरी
कि उसको आँखामा थियो जग्मगाउँदो ‘हरियो सपना’
एकदिन अवश्य हुने छ विशाल घाँसे मैदान
बचेका बथान हिन्हिनाउँदै चर्ने छन् स्वतन्त्र
हुने छ आफ्नै भुमि
बेलगाम टाप बजाउँदै बाँच्ने छन्
ऊ उठ्यो र हिडिरह्यो
नभन्दै एकदिन झण्डाको जीत भो
झण्डाको मालिकभन्दा खुसी थियो ऊ
भन्यो– अब खोलिदेऊ मेरो मुखको करेली
पिठ्युको लगाम र फालिदेऊ कोर्रा
बेलगाम दौडिन चाहन्छु यो घाँसे मैदानभरी
हेर्न चाहन्छु मेरो बथानको अनुहारमा
खुसीको उज्यालो रंग
बिडम्बना, उसलाई कोर्रा मारियो
थन्क्याइयो नयाँ तबेलामा
र गाडिए घाँसे मैदानभरी नयाँ रंगका झण्डाहरु ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । र, कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)