मेरी राजकुमारीको रजस्वाला
कविता
रन्जना कार्की
छोरी !
तिम्रो जीवनको महत्वपुर्ण परिवर्तनको समय आउँदैछ ।
यो जीवनको होइन,
शरिरको परिवर्तन हो,
यसलाई जान है ।
समाजले विभिन्न उपनाम दिई,
तिमीलाई तर्साउन सक्छ ।
मनमनै तिमीलाई आफ्ना आउने दिनदेखि डर लाग्न सक्छ ।
यो कुनै नारी जीवनको पाप अनि भुल हो भन्ने नठान ।
म सधै तिम्रा पल–पलमा साथ दिन तयार छु, त्यसलाई गाँठो बान ।
थाहा छ छोरी तिमीलाई ?
म रजस्वला हुदा कत्ति रोएकी थिएँ ?
अर्काको घरमा एक रात नबिताएकी म
११ दिनसम्म बस्न पर्ने डरले
महिनौँ दिनदेखि पिरोलिएकी थिएँ
घाम हेर्न नहुने,
धारा छुन नहुने,
विरुवा छुन नहुने,
पुरुषको अनुहार हेर्न नहुने,
यो गर्न नहुने,
त्यो गर्न नहुने,
आहत भएकी थिएँ ।
बाबाकी प्यारी छोरी रजस्वलापछि
बाबासंगै आँखा जुधाउन नसक्ने भएकी थिएँ ।
पाप लाग्छ, आयु घट्छ, विरुवा मर्छ, फल कुहिन्छ
वयान गर्न सक्दिन शव्दमा ।
त्यो पुषको ठन्डीमा बिहान झिसमिसै नुहाउन पर्ने पिडा ।
अनि डस्ना, सिरक, ओड्न ओछ्याउन हुन्न भनेर कामेको त्यो क्षण ।
थाल पर थापेर खान पर्ने,
कसैले आफुले छोएको नखाएको देख्दा भएको महसुस ।
भाइकी प्यारी दिदी म,
भाइ दिदी–दिदी भन्दै
विरामी पर्दा हेर्न नपाएको त्यो उदासी
म कसरी तिमीमा महसुस हुन दिन सक्छु मेरी प्यारी छोरी ।
म तिमीलाई आफ्नो घर छोडेर
अर्काको भरमा र घरमा पठाउदिन छोरी ।
अनि म अछुत हो त भनेर छि–छि र दुर–दुर पनि गर्दिन ।
यता नछु उता नछु भन्दै कड्के आँखा पनि तर्दिन ।
यो समाजको डरले तिम्रो त्यो मस्तिष्कमा
आफैदेखि डर लाग्ने भुतको डेरा बस्न दिन्न ।
तिमी वयष्क भयौँ भनेर फलामका भालारुपी
शव्दका वाणले तिमीलाई घोच्दिन ।
११ दिनसम्म स्कुल नजादा
सबैले थाहा पाए होलान् भनेर
स्कुल जान मन नलागेको त्यो समय
अनि बल्लतल्ल मन वुझाएर करकापले स्कुल जाँदा
साथीभाइ र शिक्षकको सरमले शरिर नै कक्रक्क भई
पाईला नसरेको त्यो पलको आभाष हुन्न दिन्न
मेरो प्राण म तिमीलाई ।
मैले जे सजाय यस लोक वा परलोकमा भोग्न पर्छ
म तयार छु तर मैले भोगेको भोग्न दिने छैन
म सिकाउने छु, तिमीले सोधेको सबै जवाफ दिने छु ।
लाज पचेकी भन्दै हप्काउने छैन रामाराम ।
रजस्वला हुदा गर्भले पुलकित हुने छु ।
तामझाम गर्ने छु
हो, खुसियाली मनाउनेछु
मैले मेरो रगत सिंचेर तिमीमा प्राण भरी
यस जगतमा सृष्टी गरी
तिमीलाई एउटी सुन्दर कोपिलामा
रङ्ग भर्न सकेकोमा ।
हो, म गर्व गर्ने छु, मेरी ढुकढुकी ।
हो, म आफै खुसी हुने छु,
तामझाम गर्ने छु,
म सफल भएकोमा
एउटी असल साथी
आफैले सिर्जना गर्न सकेकोमा मेरी मुटु ।
तिम्रो शरिरको सुन्दर परिवर्तनलाई
जीवनको उर्जामा परिणत गर्न
सहयोग गरिदिन्छु मेरी काली ।
अनि अब झन् प्यारी संगी बनेर
तिम्रा हरेक मनोक्रान्तिलाई सच्याउनमा
सधै साथ दिई,
तिमीलाई फक्रन मद्धत गर्ने छु
मेरी धड्कन, मेरी प्रिय सखी ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । कविता, कथा वा निबन्ध लेख्नुस् र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)