
सुनिता खनालको ‘भूतपूर्व प्रेमी’
कविता
एकदिन खामबन्दी भएर आयो
उही एउटा मौन प्रेमी ।
ऊ भन्थ्यो—
जिन्दगीमा जति हरफ गीत चाहिन्छ
बस् मैले त्यत्ति मागेँ !
उसले मागेको हरफ त
गहिरो गहिरो प्रेम रहेछ
मैले अवसान सम्झिदिएँ !
ओ भूतपूर्व प्रेमी !
मलाई माफ गर
तिम्रो प्रेमको हाराकिरीपछि म
अचेल तिम्रै प्रेमको
समुद्रमा डुबेकी छु
मलाई थाहा छ
कति हरफ यस्ता हुन्छन्
जो सिधा बुझिँदैनन्
बुझिएका सबै हरफ गीत हुँदैनन्
तथापी समुद्रको यो नाङ्गो फैलावटमाथि
म प्रीतको एक निस्सिम आकाश
वस्, फैलिदिएर बाँच्न चाहन्छु ।