तिमीलाई मेरा पखेटा दिने छु, तिमी मलाई दिनू

यात्राको समता

भारती न्यौपाने
हात्तीवन, ललितपुर

उड्दाउड्दै आकाशको छातीमा
हावाका सुनौला रेसाहरू बटुलेर
आऊ न एउटा प्वाख बनाऔँ
एउटा, एउटा गर्दै हाम्रा अनेकौँ प्वाख बन्नेछन् ।

रहर, सपना, कल्पनाका
अनगिन्ती रङ भरेर
आऊ न हामी प्वाखको तान लगाऔँ
विश्वास र भरोसाको तानमा
अनेकौँ रङका रेसमी धागोको पोया लगाएर
बनाउँदै जाऔँ बलियो पखेटा ।

तान बुन्दाबुन्दै
निर्बलिया हातहरूमा बल भरौँला
कमजोर आँखामा दृष्टि थपौँला
थर्थराउने खुट्टामा आँट मिसाउँला
आऊ न आकाशको छातीमा एउटा बलियो तान लगाऔँ।

हावाका झोँका हिँड्ने बाटाहरूमा
निर्वाध हाम्रा पाइला उचालिने छन्
स्वतन्त्रताको कुनै नारा लगाउनै पर्दैन
हामी अनायासै रूमानी हुने छौँ ।

आऊ न प्रिय !
नडराऊ,
नडराऊ प्रिय ।
तिमीलाई मेरा पखेटा दिने छु
तिमी मलाई दिनू ।

हाम्रो गति एकै, पाइला एकै, लक्ष्य एकै
पङ्ख एकै हुने छ
र हुने छौँ हामी एकै ।
हाम्रो घर एकै
छानो एकै हुने छ
वर्ग एकै
जात एकै
अनि हुने छ चराचर जगत् एकै ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button