
बिहान पनि पढ्छु, दिउँसो पनि पढ्छु, राती त झन् पढ्छु

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा गोविन्द गिरी प्रेरणा ।
१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
मैले गैर पाठ्यक्रमको पुस्तक पढेको ८ कक्षातिर हुँदा लीलाध्वज थापाको “मन” उपन्यास हो ! काठमाडौंमा बस्ने मेरो जेठोदाई शम्भुराज गिरीले त्यो किताब किनेर पढ्नु भयो र काठमाडौं लैजान विर्सनु भयो । अनि मैले त्यो किताबका कतिपय अँश धेरैपल्ट दोहो-याएर पढेको थिएँ । त्यसपछि एकैचोटी एसएलसी सकेपछि र रिजल्ट कुरून्जेलको समयमा २०३१ सालमा म हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको अस्थायी शिक्षक बन्न पाएको थिएँ र कक्षा सकिएपछि त्यतिवेलाको चल्तीको स्टेशनरी र पुस्तक पसल जान्थें र त्यहाँबाट दिनको एक पुस्तक लिएर जाने र त्यो साँझ, राती र भोलिपल्ट विहान गरी सो पुस्तक प्रायः सक्थें र अर्को दिन अर्को किताब त्यसै गर्थें । त्यतिवेला मैले पढेका युधिर थापा, प्रकाश कोविद, सुवास घिसिंग आदिका उपन्यास हुन्थे । २०३२ सालमा काठमाडौं आएपछि मैले साहित्यिक पत्रिका र साहित्यिक महत्त्वका पुस्तकहरू पढ्न थालेको हुँ ।
२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
मेरो पठन मेरो दैनिकीमै पर्छ । म बिहान पनि पढ्छु, धेरैजसो लेखन बिहान दिउँसो गर्ने भए पनि । राती सुत्ने बेलामा ओछ्यानमा पल्टेर पनि निदाउनु अघि पढ्छु । कहिलेकाहीं कफी सपमा गएको बेला पनि म पढिरहेको हुन्छु । मेरो हाते ब्याग र गाडीमा पुस्तक र साहित्यिक पत्रिका प्रायः सधैं हुन्छ, अपबादमा बाहेक । पठन मेरो नियमितता हो ! म लेखन गरिरहँदा पनि पढिरहेको हुन्छु । पठन मैले सास फेर्नु जस्तै हो । अर्को कुरा म एकैसाथ २/३ कितावहरू पनि समानान्तर पढिरहेको हुन्छु र ती किताब नेपाली, हिन्दी र ॲंग्रेजीका पनि हुन सक्छन् कहिलेकाहीं । मेरो पठनले मेरो अन्य गतिबिधिमा खासै असर गर्दैनन् । पठन मेरो दैनिक गतिबिधिमा अन्तरघुलित छ ।
३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
समय र मूड अनुसार म जुनै बेला पनि पढ्छु । पढ्नलाई कुनै खास समय मैले छुट्ट्याएको हुन्न । यात्राको बेलामा त लेखन खासै हुन्न, त्यसैले मेरो लेखनको समय पनि पठनलाई नै हुन्छ । म बिहान पनि पढ्छु । दिउँसो पनि पढ्छु । राती त झन् पढ्छु । सुत्नु अघि अन्तिम काम गर्ने भनेकै पढ्ने हो । चाहे थोरै समय नै भए पनि । एक प्याराग्राफ, एक कविता वा उपन्यासको एक अध्याय भए पनि ।
४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
किताब पढ्दा म त्यो किताबले सिर्जना गरेको संसारमा पुगेको हुन्छु । म त्यो आफूले प्रत्यक्ष नभोगेको वा कथम् भोगेको भए पनि ठ्याक्कै त्यसरी नभोगेको नयाँ दुनियाँ विचरण गरिरहेको हुन्छु । त्यसले मलाई ज्ञान दिन्छ, सूचना दिन्छ, मनोरञ्जन दिन्छ, कल्पनाशीलता दिन्छ । त्यो ग्रहण गर्दछु ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
म साहित्यमा केन्द्रित पुस्तकहरू नै मन पराउँछु । साहित्यका सबैजसो बिधामा मैले लेख्ने गरेको छु, त्यसैले सबैजसो विधा नै पढ्ने गरेको छु । मेरो आफ्नो पुस्तक प्रकाशित नभएको विधा आत्मकथा मेरो पहिलो रोजाइ हुने गरेको छ आजकाल । यौटा गम्भिर साहित्यिक कृतिमा प्रेरणादायी, रमाइलो दिने, शान्त बनाउने वा सोच जगाउने हरप्रकारका आयामहरू हुन्छन् । त्यसैले मैले प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने अलग पुस्तक पढ्ने जरुरत नै पर्दैन ।
६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
ठ्याक्कै यस्तो परिवर्तन भनेर भौतिक रुपमा देखाउने परिवर्तन त म देखाउन सक्दिन । तर पुस्तक पठनले मेरो सोचमा परिवर्तन ल्याएको छ, जीवन दृष्टिमा परिवर्तन ल्याएको छ, दृष्टिकोणमा परिवर्तन ल्याएको छ । मेरो आज जे जस्तो बौध्दिक साहित्यिक ब्यक्तित्व छ, त्यो पठनले नै बनाएको हो भन्ने मेरो ठहर छ ।
७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
हामी कागजी पुस्तक पढेर हुर्केका पुस्ता हौं । कार्वन पेपर राखेर प्रतिलिपि बनाउने पुस्ता हौं । हामी कागजी पुस्तकमै रमाउने पुस्ता हौं । कागजी पुस्तक पढ्दाका मजा र आनन्द जुन छ, त्यो डिजिटलमा छैन । तर डिजिटल पुस्तकका पनि आफ्नै विशेषता छन् । सहज उपलब्धता र सस्तो हुनु डिजिटल पुस्तकको विशेषता हो । तर पाना पल्टाउँदै पढ्दाको आनन्द डिजिटल किताबले दिन सक्दैन । त्यसैले त आज पनि कागजी पुस्तक पत्रिका प्रकाशनमा केही कमी आए पनि त्यो निरन्तर छ ।
८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
सास फेर्न हामीले कस्तो विधि अपनाउँछौ? विहान उठेर नित्य कर्म गर्न हामीले कस्तो बिधि अपनाउँछौं ? चिया पिउन, खाना खान खाजा खान कस्तो बिधि अपनाउँछौं ? यसलाई त बिधि नै चाहिंदैन । त्यो दैनिक जीवनसँग अविभाज्य रुपमा गाँसिएको हुन्छ । पठन पनि मेरो जीवनमा त्यसरी नै दैनिक नियमिततामा गाँसिएको हुनाले कुनै विधि बनाउनु पर्ने आवश्यकता नै छैन ।
९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
समय । समय नै चुनौति हो । मैले पढ्न चाहेका किताब अनगिन्ती छन् । मैले पढ्छु भनेर नीजि पुस्तकालयमा सुरक्षित राखेका पुस्तकहरू अनगिन्ती छन् । मैले पढ्न चाहेका तर किन्न नपाएका, पुस्तकालयबाट ल्याउन नपाएका किताबहरू अनगिन्ती छन् । यो सबका लागि मसँग समयको अभाव छ । दिनमा हुने त्यो २४ घण्टा मलाई अपर्याप्त छ । मलाई लाग्छ मैले पढ्न चाहेका पुस्तकहरू पढिसक्न मान्छेको उमेर नै अपर्याप्त छ । मेरो उमेर नै अपर्याप्त छ । यही नै पहिलो र अन्तिम चुनौति हो ।
१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
मैले पुस्तक पढेपछि कि त्यो किताबको बारेमा लेख्छु, नभए साथीभाईहरूसँग त्यसको चर्चा, परिचर्चा गर्न चाहन्छु । तर सबै पुस्तकको बारेमा लेख्न सकिंदैन । सबै पुस्तकको बारेमा र्चापरिचर्चा गर्न समान मनोभाव भएका साथी पाउन पनि सहज छैन । पठनले विचार बिनिमय गर्न प्रेरित गर्छ, उत्प्रेरित गर्छ, तर यसमा एउटै समस्या छ, उपयुक्त पात्र सधैं सहजै पाउँदिन ।
११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
पढ्न चाहने पाठकलाई केही भन्नै पर्दैन । उ पढ्न तयार भैसकेपछि कुनै समस्या नै रहेन । पाठकलाई सुझाव दिएर पठनमा लगाउन कत्तिको सम्भव छ म भन्न सक्दिन । बरू पढ्न नचाहनेहरूलाई पो कसरी पठनमा आकर्षित गर्न सकिन्छ, त्यो पो आजको जरूरत हो कि !
१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
कितावसँग सानैदेखि मित्रता भएर हो कि किताव सुम्सुम्याउँदा आत्मियताको अनुभव हुन्छ । डिजिटल भन्ने बित्तिकै मेसिनमयताको अनुभव हुन्छ, जहाँ आत्मियता भेटिन्न । किताबका पानाहरू फरर पल्टाउन सकिन्छ । ताजा पुस्तकमा त पुस्तकको सुगन्ध पनि महसूस गर्न सकिन्छ । तर डिजिटलमा त्यो सम्भव छैन । ब्यस्तता र डिजिटल शैलीले मानिसलाई मेसिनमय बनाउँदा किताब पठनले पृथक र फ्रेस अनुभूति दिनसक्छ भनेर बुझाउन सकिएला कि !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



