किताबदेखि सधैँ डराउने मान्छे म

नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘किताब’मा लेखक अनिता कोइराला ।

तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
किताबदेखि सधैँ डराउने मान्छे म । मोटो किताब देख्दा डर लाग्थो । सोच्थेँ मान्छेले कसरी पढ्छन् यति मोटा-मोटा किताब ! सानैमा आमाको करले रामायण पाठ गर्थेँ उहाँलाई सुनाउन । शब्द व्रह्म भन्ने हिंदी मासिक पत्रिका घरमा आउँथ्यो त्यो पाठ गरेर सुनाउँथेँ आमाकै लागि। आफ्ना पाठहरू पनि करैले पढ्थेँ । बाल्यकालमा मुस्किलले पढेँ कि पुस्तक त्यो पनि हेक्का छैन । तर कथा सुन्नचाहिँ खुब चाख लाग्थ्यो । घुर ताप्दा अनेकौँ कथा सुनेकी छु । अँगेनाको डिलमा बसेर आगो ताप्दा सुनेका भूतका कथा अझ पनि सचित्र चल्छन् मस्तिष्कमा । तर पछिल्लो समयचाहिँ पुस्तक पढ्ने बानी बसेको छ । म नियमित पुस्तक पढ्छु ।

किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताब पढ्न थालेपछि मेरो दैनिकी साँच्चै रूपान्तरित भएको छ । चिन्ता गरेर बस्ने समय नै छैन । सानोसानो कुरालाई तन्काएर हेरिरहने फुर्सद नै हुँदैन । कुनै पनि समस्यालाई गुन्द्रुक बनाउने समय पनि रहँदैन । पुस्तकको स्वादमा रमण गर्न जानेपछि त मन र मस्तिष्क बडो आरामी हूँदो रहेछ । ऊर्जाशील समयले मनलाई मात्र हैन शरीरलाई पनि न्याय गर्दोरहेछ । सदैव ऊर्जावान बनाउँदो रहेछ । पुस्तक पढ्दा पनि शान्तिको अनुभव गर्छु । एक्लो भएर पनि म एक्लो नभएको महसुस गर्छु । एउटा बेग्लै संसारमा विचरण गरिरहन्छु ।

तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
किताब पढ्ने कुनै निश्चित समय त छैन तर जब आफ्नो काम सकेर म फुर्सदिलो हुन्छु तब मेरो हातमा किताब हुन्छ । घरव्यवहारका काम सक्किएपछि म किताबको नजिक जान्छु । कतै हिँड्दा पनि म किताब बोक्छु । कति किताब त गाडीमै पढेकी छु । कति अस्पतालमा बस्दा पढेकी छु । आराम गर्ने समयमा किताब मेरो साथी हुन्छ ।

किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
विषय अनुसारका किताबले बेग्लाबेग्ला अनुभूति दिन्छन् । किताबले ज्ञानको ज्योति छर्छ जस्तो लाग्छ । किताब त अस्थिर मनको अचुक औषधि हो ठान्छु । किताब पढ्दा नयाँ नयाँ ज्ञानको उदय भएको भान हुन्छ । दृष्टिकों फराकिलो बन्दै जान्छ । किताब पढ्दै जाँदा मलाई त यस्तो लाग्छ अहो ! मैले पढ्नु पर्ने किताबहरू कति छन् कति । जान्नु पर्ने कुराहरू कति धेरै छन् । कहिले पढिसक्ने होला । मलाई त घरी-घरी अत्यास पनि लाग्छ । किताबको अन्त्यहीन संसार सम्झेर ।

कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
खाना खान बस्दा हामीलाई भातले मात्र पुग्दैन । मात्रा मिलाएर सन्तुलित भोजन गर्नुपर्ने हुन्छ । मलाई दाल मिठो लाग्छ भनेर भात छोड्न सक्दिनँ । तरकारी, अचार, सलाद, साग, अझ पापड, घिउ जम्मै थोक मिलाएर खाँदा खाना स्वस्थवर्धक मात्र हैन सुस्वादु पनि बन्छ । किताब पनि मलाई त खाना जस्तै लाग्छ । सन्तुलन मिलाएर खानुपर्ने रहेछ । आफ्नो रूचीका बाहेक पढ्नै पर्ने किताबहरू कति छन् कति । मनलाई शीतल पार्ने, मस्तिष्कलाई फराकिलो बनाउने, हृदयलाई प्रेरणा दिने, समयको गतिलाई पछ्याउने । विश्व परिवेशलाई बुझ्ने, नयाँ-नयाँ सिद्धान्तहरूसँग जोडिने । नवीन शैली पछ्याउने । विश्वचेतनालाई छाम्ने, खोतल्ने किसिमका पुस्तकहरू पढ्नपुपर्ने रहेछ । आफैँलाई आफूले समयसापेक्षरूपमा हिँडाउन मद्दत गर्ने किसिमका किताबहरू पनि पढ्नुपर्ने रहेछ । आजको समयले विविधता, बहुलता र नवीनतालाई स्विकार्छ ।

किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
मैले पहिले पनि भनेकी छु किताबको संसारमा आएपछि मेरो जीवनको दशा र दिशा दुवै बदलिएको छ । हिजो जसरी हेर्थेँ आफूलाई आज हेर्दा फरक पाएकी छु ।

तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
मलाई कागजी किताब नै मन पर्छ । किन कि किताब भनेको एउटा सभ्यता हो । संस्कृति हो । इतिहास हो । एउटा विशेष संरचना हो । मलाई किताबको संरचना मन पर्छ । अझ आकार, प्रकार रूप सबै कुराले किताबलाई विशेष बनाउँछ । मलाई किताब हातमा लिएर सुम्सुम्याउँदा बडो आनन्द आउँछ । किताब पढ्दै जाँदा मन परेको लाईनमा कोर्दा त झन् कस्तो रमाइलो हुन्छ । अझ नयाँ किताब त म बारम्बार फररर पारेर पृष्ठहरू पल्टाउँछु । नयाँ पानाबाट आउने किताबको सुगन्धलाई अनुभूत गर्छु । किताब बोकेर यात्रामा जाँदा कति फाइदा हुन्छ । गाडी जाम भयो भने ख्याल काइदा हुँदैन, अरू विचलित हुन्छन्, म त किताबको संसारमा हराउँछु । अझ यो जाडो महिनामा त झन् घाम ताप्दै किताब पढ्नुको आनन्द बेग्लै छ ।

नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
मैले त प्रायः यो महिना यो-यो किताब पढ्ने भनेर लिष्ट नै बनाउँछु । किताब पढेर केही लेख्ने बानीले पनि मलाई किताब पढ्न उकास्छ । अपवादका दिन बाहेक पछिल्लो समयमा म हरेक दिन केही पाना पढ्छु, केही लेख्छु । जब किताब पढ्ने र लेख्ने बानी बस्छ तब पठन नियमितता जस्तै बन्दोरहेछ । कुनै दवाव बीना स्वत पढिँदो रहेछ। चिया पिउन मन लागे जस्तै पढ्ने र लेख्ने तलतल लाग्दो रहेछ । अचेल त नपढेको दिन खाली-खाली लाग्छ । केही नलेखेको दिन शून्य-शून्य हुन्छ ।

किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
समय नै चुनौती बनिदिन्छ । कहिलेकाहीँ यति त पढ्छु भनेर कम्मर कसेकी हुन्छु तर मेरो समय मेरो नभएर अरू कै भइदिन्छ । पढ्दा पढ्दैको बडो रोचक पृष्ठ मन दुखाउँदै बन्द गर्नुपर्ने हुन्छ ।

तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
निकै प्रेरित गर्छ । आत्मविश्वास बढ्छ । आफूले पढेका राम्रा किताबको बारेमा विचार मिल्नेसँग विमर्श नै हुन्छ । किताबकै बारेमा लामो छलफल हुन्छ । मलाइ त थाहै थिएन किताब पढेपछि अरूसँग किताबकै बारेमा यसरी बोल्न पनो सकिन्छ भनेर । अरूको किताब पढेर आफैँले कही लेख्न सकिन्छ भनेर । किताबले त लेख्ने विषयका अनेकौँ द्वार खोलिदिँदोरहेछ । आफूले पढेका कुराहरू कहिले वृथा हुँदैन रहेछ । कहीँ न कहीँ हामीले पढेका कुराहरू अझ झाँगिर आउँदो रहेछ । अध्ययन त बीज रहेछ यसले अनन्त फल दिँदोरहेछ । अध्ययनले नै अँध्यारो हटाउन मद्दत गर्ने रहेछ । पुस्तक पढ्दा पठन मात्र होइन, वाचन पनि बलियो बन्दो रहेछ ।

किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
हरेक दिन केही न केही पढ्नूस् । आरम्भमा आफ्नो रूचीलाई हेरेर आफूलाई मन पर्ने विषय छान्नुस् । थोरै थोरै पढ्नूस् तर हरेक दिन पढ्नूस् । पढ्ने बानीको विकास आफैँ हुन्छ ।

आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
शरीरलाई भोक लाग्दा हामी खाना खान्छौँ । जिव्रोको हजार माग हामी पूरा गर्छौँ । थरी–थरीका खाना तयार गर्न हामीलाई अल्छी लाग्दैन । तर मस्तिष्कको भोकको बारे हामी अनभिज्ञ छौँ । अल्छी छौँ । अन्जान छौँ । मस्तिष्क पनि भोकाउँछ । मस्तिष्क बारम्बार बासी खाना मात्र दियो भने मस्तिष्क रोगाउँछ । ताजा ताजा खाना मस्तिष्कको माग हो । मस्तिष्क पनि केही न केही खाएर पुष्ट हुन चाहन्छ तर व्यस्त समयमा हामीहरूलाई आफ्नो मस्तिष्कको बास्तै छैन । मस्तिष्कले खान पाएन भने दिनप्रतिदिन मस्तिष्कका कोषहरू मर्दै जान्छन् । मस्तिष्कमा खिया लाग्दै जान्छ । मस्तिष्क बोधो हुन थाल्छ । जसरी शरीर ऊर्जावान हुन पोषिलो खान खोज्छ, त्यसरी नै मस्तिष्कले पनि पोषण खोज्छ । मस्तिष्कको भोजन अध्ययन, चिन्तन, मनन, पठन र लेखनभन्दा अरू केही छैन । पुस्तक नै यो मस्तिष्कको अमूल्य भोजन हो । सरल र सहज माध्यम हो । पुस्तक जस्तो सुपथ र सर्वसुलभ भोजन मस्तिष्कका लागि अरू केही छैन । त्यसैले हामीले हाम्रो मस्तिष्कलाई कहिल्यै पनि भोको राख्नु हुँदैन । किताब भनेको अक्षरहरूको जुलुस मात्र होइन । विचारहरूको पहाड मात्र पनि हैन । किताबलाई हामीले सरस्वती माताको रूपमा पुज्दै आएका छौँ । त्यसैले किताबको बिकल्प अरू छैन जस्तो लाग्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

4 Comments

  1. यति राम्रो अन्तर्वार्ता यति उपयोगी पुस्तकको महत्व नभिजेका आत्माले यो पढिदिए कस्तो हुन्थ्यो भन्ने लाग्यो।गाडी जाम हुंदा रमाउने पात्र अनिताबैनीको यो अनर्वार्ता अति उपयोगी।अनर्वार्ताकारलाई पनि बधाई।

  2. पुस्तक पढ्दा शान्तिको अनुभव गर्छु ।

    तरकारी, अचार, सलाद, साग, अझ पापड, घिउ जम्मै थोक मिलाएर खाँदा खाना स्वस्थवर्धक मात्र हैन सुस्वादु पनि बन्छ । किताब पनि मलाई त खाना जस्तै लाग्छ । सन्तुलन मिलाएर खानुपर्ने । आफ्नो रूचीका बाहेक पढ्नै पर्ने किताबहरू कति छन् कति ।

    जब किताब पढ्ने र लेख्ने बानी बस्छ तब पठन नियमितता जस्तै बन्दोरहेछ ।

    अध्ययन त बीज रहेछ यसले अनन्त फल दिँदोरहेछ ।

    जसरी शरीर ऊर्जावान हुन पोषिलो खान खोज्छ, त्यसरी नै मस्तिष्कले पनि पोषण खोज्छ । मस्तिष्कको भोजन अध्ययन, चिन्तन, मनन, पठन र लेखनभन्दा अरू केही छैन । पुस्तक नै यो मस्तिष्कको अमूल्य भोजन हो ।
    ////
    पाठकलाई एकदमै सकारात्मक ऊर्जा दिने सुन्दर विचार आएको रहेछ वार्ताका क्रममा।
    हार्दिक बधाई अनिताजी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button