
मन परेको पुस्तक फारु गरी-गरी पढ्छु

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा लेखक युवराज नयाँघरे ।
१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
स्कुले उमेरदेखि नै मैले किताबहरु पढ्ने गरेँ । बुझे पनि नबुझे पनि मैले स्कुले जीवन अत्याधिक पुस्तक पढेँ- अहिलेसम्म त्यो ऊर्जाले नै मलाई निकै थेगेको छ। बरु पछिल्ला प्रकाशन कम पढेको छु ।
२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
कल्पनाशीलता, हार्दिकता र योजनाबद्धताका विशेषता किताबले दिने खास गुन हो । किताबसँग रमाउने मान्छेले नै जीवनका अनेक उज्याला पक्षसँग संगत गर्न पाउँछ ।
३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
कतै घुम्न जाँदा नयाँ पुस्तक लिएर जान मन लाग्छ । धेरै पुस्तक मैले घरबाट निस्केपछि नै पढेको छु । मेरो पढ्ने खास तालिका छैन । मन लागेपछि पढ्ने स्वभाव छ ।
४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
किताब आफैँले एउटा अज्ञात यात्रामा लैजाने र आनन्दको मैदानमा उभ्याउने गर्छ । किताबका लागि सुरुमै पाठकले असहमति वा असहज भावले गरेको यात्रा अर्थपूर्ण हुँदैन । केही नयाँ पन, नयाँ हेराइ वा नयाँ दृष्टिकोणसँग साक्षत्कार हुने आशामा म किताब पढ्न थाल्छु ।
५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
विविधता नै आजको ज्ञानको आधार हो । मलाई सोच जगाउने किताबले बढी छुने गर्छ । चिन्तबिनाको लेखन वा किताब पनि खास उदेश्यमूलक होलान् जस्तो लाग्दैन । रमाइलो, खुशी, हर्ष त अहिले धेरैतिरबाट सहजै पाउन सकिने अवस्था छ ।
६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
किताब नै जीवन बदल्ने एक बलियो शस्त्र हो । किताबमा यात्रा गर्ने बानी परेपछि यसको सेरोफेरोमा घुम्न मन लाग्छ । मेरा धेरै योजना, लक्ष्य र जिम्मेवारीमा किताब नै नजिकको साथी भएका छन् ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
कागजी किताब मेरो खास अभिरुचिको क्षेत्र हो । म डिजिटल पढ्न उतिसारो रुचाउँदिनँ । छिटोछरितो त होला तर कागजी किताबले दिने आनन्दी अप्रतीम र अथाह हुन्छ । आमाको माया र सानिमाको माया उस्तै-उस्तै हुन्छ । तर कागजी किताबको रंग, आकार, बास्ना र संरचना त आमाको माया जस्तै हो नि ।
८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
मन परेको पुस्तक फारु गरी-गरी पढ्छु । यसो गर्दा अरु पुस्तक नि पढ्ने आदत बस्दो रैछ । देवकोटा, विपि कोइराला, पारिजात, माधव घिमिरे, लेखनाथ, गोठाले वा भिक्षुका किताब मैले त्यसै गरी पढेको हुँ । पछिल्लो पटक इन्द्रबहादुर राई पनि त्यसै गरी छिचोलेको हुँ ।
९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
एकाग्रता मुख्य कुरा हो । शान्त वातावरण नभए पढ्न, लेख्न म सक्तिनँ । काठमाडौं शहरमा त यो अझै भयावह स्थिति छ । किताबले दिने निष्कर्ष वा अन्य पक्षको आशा म गर्दिनँ । तर पुस्तक पढ्दाको वातावरण हार्दिक नभए मन असन्तुष्ट भैरहन्छ ।
१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
धेरै गर्छ । जति धेरै पढ्यो त्यति धेरै ज्ञानको क्षितिज बिस्तार हुन्छ । त्यही बिस्तारले नै मान्छेलाई अरु नयाँ संसार, भूगोल, प्रकृति, जनजीवन वा विश्व समाज निहाल्ने आँट आउँछ । आफ्ना धेरै सूचना, जानकारी वा तथ्य किताबको पठन अभ्यासबाट लिएर फेरि समाजमा दिने गर्छु म ।
११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
आफ्नो अभिरुचि चिन्नुस् । अनि पढ्न थाल्नुस् । नपढीकन बोल्नु वा लेख्नु भनेको अस्थिपन्जर चल्मलाएजस्तो मात्रै हो । शारीरिक गतिका लागि श्रवण, दृष्टि, चेतना, स्पर्श, अनुभूति हुनु अपरिहार्य छ । डिजिटल दुनियाँले पपेट समाज निर्माण गर्ला कि भन्ने आशंका बढेको छ। `सिर्जनात्मक प्रतिभा´ डिजिटलले भुत्ते बनाउने कुरामा विमति छैन ।
१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
काँटा-चम्चाको आविष्कार भए पनि मानिसले हातले खान छोडेका छैनन् । डिजिटल पठनपाठन भनेको काँंटा-चम्चाले खानु सरह हो । हातले खाएजस्तो स्वाद, आनन्दी, उल्लास र परिपूर्णता चम्चाले कहाँ दिनू !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



