लेख्ने मान्छेमा जति मन जित्ने कला अरूमा हुँदैन

नेपालनाम्चाको नयाँ स्तम्भ ‘किताब’मा शिक्षक हरिप्रसाद गौतम

१. तपाईंले किताब पढ्न रुचाउन सुरु गरेको समय कहिले हो?
कक्षा ६ मा पढ्दादेखि हो । त्यतिबेला घरमा पाठ्यपुस्तक र धार्मिक पुस्तकबाहेक केही नभएको अवस्थामा मोदनाथ प्रश्रितद्वारा संरचित ‘भूतप्रेतका कथा’ नामक पुस्तक मेरो जीवनकै रोचक खजाना बन्न पुगेको थियो । भूतप्रेतप्रतिको भ्रमलाई चिरफार गरिएको यो किताब ममा भएका डर र अज्ञानतालाई घटाउन सफल भएको थियो ।

२. किताब पढाइले तपाईंको दैनिकीमा कस्तो भूमिका खेल्छ?
किताबहरू पढ्नु मेरा लागि झण्डै दैनिकीजस्तै भने पनि हुन्छ । नयाँ छ भने चासो लाग्छ, उसैमाथि मनले खोजेको पाउँदा छाड्नै मन लाग्दैन र रोचक छ भने त अफिस नभएका बिदाहरूमा दिनरात नभनेर भोक र निद्राको परवाह नगरी पढ्छु ।

३. तपाईं प्रायः कुन समयमा किताब पढ्न मन पराउनुहुन्छ? बिहान, दिउँसो कि बेलुका?
समय पाउँदा मौका मिलाउँछु तैपनि साँझको खानापछि अलि लामो समय पढ्छु ।

४. किताब पढ्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ?
हुन त आजकल ज्ञानार्जनका थुप्रै माध्यम छन् । उसैमाथि मन तान्ने अनलाइन विषय पनि छन् तर किताब लेख्ने मान्छेमा जति मन जित्ने कला अरूमा हुँदैन कि जस्तो लाग्छ ।

५. कुन प्रकारका किताब तपाईंलाई मन पर्ने गर्छ, प्रेरणादायी, रमाइलो, शान्त बनाउने, सोच जगाउने आदि?
यस्तो रहेछ: जसरी ‘मन’ परिभाषाभित्र अटाउन्न नि उसै गरी रुचिका विषयको घेरा लगाउनु पनि निरर्थक हुने रहेछ । तैपनि, खगोल विज्ञान, वैज्ञानिक चमत्कार, खोज, रहस्य, इतिहास, देशभक्ति, पाकशिक्षा, साहित्यिक गहिराइका रचनालगायतका किताब मन पर्छन् । जीवनीले दिने प्रेरणा अनि विज्ञानले मेटाउने जिज्ञासापछि मन रमाउने र चेतना निखार्ने साहित्यको गहिराइ भएका जुनसुकै किताब मलाई मन पर्छ ।

६. किताब पढ्नाले तपाईंको सोच वा जीवन–दृष्टिमा कस्तो परिवर्तन ल्याएको छ?
किताबलाई चेतनाको ढोका खोल्ने माध्यम मान्छु म । अझ लेख्नेहरूका लागि त भिटामिनका ग‍ोली हुन् किताबहरू । आनन्द पनि दिने र सही बाटो हिँड्न प्रेरित गर्ने भएकैले पनि शास्त्रमा “काव्यशास्त्र विनोदेन कालः गच्छति धीमताम्”, भन्ने पङ्क्ति रचना भएको हुन सक्छ । यसले पनि पढ्नुको महत्त्वलाई पुष्टि गरेको छ ।

७. तपाईं कागजी किताब मन पराउनुहुन्छ कि डिजिटल? किन?
भनिन्छ नि “हवाइजहाज बने पनि साइकलको महत्त्व उत्तिकै छ।” यही हो कागजी किताबको महत्त्व । तथापि अनलाइन प्रश्नावलीमा उत्तर दिँदै यस्ता कुरा गर्दा अनौठो पक्कै लाग्ला तर साइकल, कार, बस, रेल, जहाज अनि रकेटका आआफ्नै महत्त्व भएजस्तै अनलाइन, पढ्ने, सुन्ने र हेर्ने सबैको आआफ्नै महत्त्व छ । यति भएर पनि कागजी किताबमा जति ध्यान अन्त टिकाउन सकिँदैन र सम्भव पनि हुँदैन ।

८. नियमित रूपमा किताब पढ्ने बानी बनाउन तपाईंले कस्तो विधि अपनाउनुहुन्छ?
समय इच्छा नभई तय हुँदैन । रोचक नभई इच्छा पनि हुँदैन । तैपनि पढ्ने बानी छैन भने रोचक किताबाट सुरु गरेर बानी पार्नुपर्छ ।

९. किताब पढ्दा तपाईंले सामना गर्ने मुख्य चुनौती के हो?
समय नै चुनौती बनिदिन्छ, रोचक किताब पढ्न थालेपछि दिसापिसाब पनि कति छिटो लागेको होलाजस्तो लाग्छ कहिलेकाहीँ त । बाहिरी काम, भेटघाट अनि घरव्यवहारमा अल्झेपछि अलि गाह्रो हुने गर्छ ।

१०. तपाईंले पढेको कुराले अरूसँग कुराकानी वा विचार–विनिमय गर्न कत्तिको प्रेरित गर्छ?
यही त मजाको कुरा हो नि ! पढ्नुमा यही खुसी लुकेको हुन्छ । आफूले पढेको कुरा होस् अनि सभामा प्रसङ्ग उठेर अलमलिएको अवस्था होस्, पालै नआए पनि बोलूँ जस्तो लाग्छ । सूचना, ज्ञान जस्ता कुरा पढाइबाट सहज हुने गर्छन् । त्यसपछि व्यवहारमा ल्याउन सजिलो पर्छ ।

११. किताब पढ्न सुरु गर्न चाहने नयाँ पाठकलाई तपाईंको सरल सुझाव के हो?
रोचक, समस्या समाधान गर्ने खालका र खुसी दिने खालका किताबबाट सुरु गरेमा पक्कै पनि पढाइले निरन्तरता पाउँछ ।

१२. आजको व्यस्त र डिजिटल जीवनशैलीमा पनि किताब पढाइ किन महत्वपूर्ण छ भनेर तपाईं कसरी बुझाउनुहुन्छ?
जति व्यस्त भए पनि शरीरलाई खाने, आराम गर्ने जस्ता कुरा चाहिएजस्तै मन र मस्तिष्कलाई पनि ज्ञान तथा मनोरञ्जनको आवश्यकता पर्दछ तसर्थ पढ्नुको अर्थ पनि यसैमा छ । अझै यत्रो सूचना र सञ्चारको विकासको बेलामा समेत किताब पढ्ने भन्ने कुरा थोरै व्यक्तिका लागि अनौठो होला तर बोकेर लैजान, खोलेर पढ्न अनि ज्ञान र मनोरञ्जन लिन कुनै बिजुली, इन्टरनेट अनि डिभाइसको आवश्यकता नपर्ने यो किताब धेरै बेरसम्म टिकेर पढ्न सकिने सबैभन्दा सजिलो, सस्तो र सहज माध्यम हो भन्ने मेरो राय हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button