
लघुनाटक: ‘स्वरोजगारी’

हरिप्रसाद गौतम
पात्रहरू : दिपक, धनबहादुर, आमा, दाजु, हजुरआमा र नर्सहरू …
दृश्य : १
(नेपथ्यमा ‘शिशिर योगीको’ ‘बोल्ने कोही छैन’ बोलको गीत गुन्जिरहेको छ । दिपक मोबाइल चलाएर बसिरहेको छ । उसकी आमा तरकारी केलाउँदै छिन् । यत्तिकैमा काठमाडौँबाट दाजुको फोन आउँछ । फोन उठाएको अभिनय गर्दै दिपक अलि पर गएर बिस्तारै कुरा गरेपछि आमासँग आएर बस्छ ।)
आमा : (दिपकतिर फर्केर) कस्को फोन रहेछ बाबु ? बिस्तारै बोल्दै थिइस् त !
दिपक : दाजुको फोन हो आमा, अब १/२ दिनमा मेरो पनि भिसा आउँछ रे, सबैसँग बिदा भएर काठमाडौँ आउन भन्नुभएको छ । त्यसैले म एकछिन धनबहादुर दाइलाई भटेर आउँछु है । (दिपक पल्लो गाउँका धनबहादुर दाइलाई भेट्न निस्कन्छ भने आमा चाहिँ उसलाई पठाउने तयारीमा जुट्छिन् ।)
(नेपथ्यमा ‘त्यहाँ पुगेपछि पल्लो घरकी हजुरआमालाई पनि भेटेर आएस् है बाबु’ भन्दै आमा चिच्याएको र दिपकले ‘हुन्छ’, ‘हुन्छ’ भनेको आवाज सुनिन्छ ।)
दृश्य : २
(एकछिन हिँडेर हजुरआमाको घर पुगी बाहिरैबाट ‘ए हजुरआमा, हजुरआमा !’ भन्दै बोलाउँछ तर कोही नबोलेपछि धनबहादुरको घरतिर लाग्छ ।)
दिपक : (धनबहादुर दाइको घरमा पुगेर) नमस्कार धनबहादुर दाइ ! के छ हजुरको हालखबर ?
धनबहादुर : (हातको हँसिया खुर्पेटोमा घुसार्दै) नमस्कार दिपक भाइ, आज कताबाट बाटो बिरायौ त ?
दिपक : कताबाट भन्नु र दाइ, यसो दाजुसँग भेटघाट गरूँ अनि बिदा पनि मागूँ कि भनेर आएको हुँ म त !
धनबहादुर : केको बिदा माग्ने कुरा गर्छौ हो भाइ, कता जान आँट्यौ र आमालाई एक्लै छाडेर ! अझ, तिम्रो त दाजु पनि काठमाडौँतिर छन् । त्यस्तो जङ्गल भएको पाखामा आमालाई एक्लै छाडेर जाँदा उ त्यहाँ पल्लो घरकी हजुरआमाको जस्तो हालत होला नि !
दिपक : (अचम्म मान्दै) हैन, के भयो र दाइ पल्लोघरकी हजुरआमालाई ? अघि आउँदा मैले पनि बोलाएँ, कोही पनि बोलेनन् । किन होला दाइ ?
धनबहादुर : घरमा कोही भए पो बोल्नु ! उनी अहिले अस्पतालको भेन्टिलेटरमा छिन् । विदेशमा भएका छोराहरू आएपछि निकालेर काजक्रिया गर्ने कुरा छ । छोराहरू जन्माएर के गर्नु, सहारा चाहिने बेलामा एक्लै भएपछि, विचरा ती बुढी हजुरआमा ! (पिर मान्दै)
दिपक : (आत्तिँदै) बरबादै भएछ नि दाजु, हामीले त थाहै पाएका थिएनौँ, हुन त टाढा भएर पनि होला !
धनबहादुर : के टाढा, के नजिक ! म यहीँ नजिकैको मान्छेले त अर्को दिन बिहान घरको आँगनमा लडेको देखेर थाहा पाएँ । त्यसपछि गाउँका १/२ जना मिलेर अस्पताल लग्यौँ । डाक्टरले बचाउन गाह्रो छ भनेपछि विदेशबाट छोराहरूले आफूहरू नआउँदासम्म भेन्टिलेटरमा राख्न भनेका छन् ।
दिपक : साँच्चै दाइ, मलाई त डर पो लाग्यो । मेरा दाजु पनि सहर पसिहाले । हाम्री आमा पनि एक्लै छिन् । पैसा पैसा भन्यो, पैसा हुनेको पनि यो हालत हुने रहेछ। मेरो त मन नै दोधार भयो दाइ !
धनबहादुर : चिन्ता नगर भाइ, विदेशमा जति दुःख गरे त यहीँ पनि कमाउन सकिन्छ । अझ उता विदेशमा न आफन्त हुन्छन् न कसैको साथ हुन्छ । अझ कुनै झमेला आइलाग्यो भने त ज्यान जान पनि बेर लाग्दैन । समाचारमा धेरै नेपालीको बिजोग भएको कुरा त सुनेकै छौ नि ! हैन र ?
दिपक : हुन त हो दाइ, तैपनि यहाँ के नै काम पाइन्छ र खै ?
धनबहादुर : किन पाइँदैन, जत्ति पनि पाइन्छ । गर्ने मन पो चाहिन्छ त ! इ.. मेरो पौरख हेर त । (आफ्नै तरकारीबारी, धानखेत, गाईवस्तु र बाख्रा देखाउँदै) मलाई काम र दामको कुनै कमी छैन । चाहन्छौ भने म तिमीलाई नेपालमै रोजगारी सिर्जना गर्न सिकाउँछु !
दिपक : गर्न त हुन्थ्यो नि दाइ, के गर्नु ! हाम्रो घर उ~ त्यो जङ्गलमुनि छ, बाँदरले केही पनि हुन दिँदैन । सबै सखाप पारिदिन्छ ।
धनबहादुर : बाँदरको चिन्ता नगर भाइ, मैले गरेकै काम गर्नुपर्छ भन्ने नै के छ र ! यहाँ नेपालमा जग्गाको कुनै कमी छैन, पाखोबारीमा बेसार लगाऊ, छेउछाउ, डिल र कान्लाहरूमा टिमुर लगाऊ अनि एकदुईवटा भैँसी पालेर दुध बेच त पैसै पैसा हुन्छ ।
दिपक : (सङ्का व्यक्त गर्दै) बिक्री हुन्छ त दाइ ?
धनबहादुर : (हाँस्दै) बेच्ने जिम्मा मेरो भयो । अझ २/४ वटा खसी पनि पाल । यसपालि दशैँमा खसी नपाएर कस्तो गाह्रो भएको थियो, बिर्सिसक्यौ ?
दिपक : (खुसी हुँदै) हुन्छ दाइ, म त्यसै गर्छु, साँच्चै अब म विदेश जान्नँ । म विदेश नजाने कुरा सुनेर हाम्री आमा कति खुसी हुनुहुन्छ होला है । (मख्ख पर्छ) यसरी मलाई नयाँ बाटो देखाउनुभएकोमा दाइलाई धेरै धेरै धन्यवाद ! बरू एकचोटि पल्लो घरकी हजुरआमालाई भेट्न सदरमुकाम जाऔँ न है दाइ !
धनबहादुर : भइहाल्छ नि, बरू आमालाई पनि लिएर आऊ, सदरमुकाम पुगेर दुई घन्टामा त फर्किहालिन्छ नि ! दुध-तरकारी बोक्ने हाम्रै गाडी छँदै छ ।
दिपक : हवस् दाइ, म आमालाई लिएर आइहाल्छु है । (दिपक आमालाई बोलाउन आफ्नो घरतिर लाग्छ ।)
दृश्य : ३
(हजुरआमा अस्पतालको शैय्यामा छिन्, भेन्टिलेटर जोडिएको छ, दुईटी नर्स उनलाई कुरिरहेका छन् । अर्की नर्सले – जेठो छोरो त आउन नपाउने भयो रे, कान्छाको परिवार भोलि आइपुग्छ र, विचरा बज्यै, सन्तान जन्माएर हुर्काएर आज यस्तो अवस्थामा छिन् भन्दै नजिकै आउँछिन् । त्यसै बेला दिपक, धनबहादुर, दिपककी आमा पनि त्यहीँ आइपुग्छन् । हजुरआमाको खुट्टा छोएर ढोग्छन्, अचेत अवस्थाकी उनलाई पछाडि पारेर दर्शकतिर फर्कन्छन् ।)
सबै जना : (एकै स्वरमा बोल्छन् ) सोचौँ, यी हजुरआमाजस्तै अरू कसैका बाआमाले यसरी मर्न नपरोस् । (जोडसित)‘घरघरमा स्वरोजगारी : यही हो हाम्रो जिम्मेबारी ।’ धन्यवाद ! (नेपथ्यमा ‘शिशिर योगीको’ ‘यता खोज्छु छैनौ आमा’ बोलको गीत गुन्जिरहेकै हुन्छ ।)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



