
गीतगफः जे.के. बराईलीकोे प्रश्न, दुर्गा खरेलको उत्तर
कर्णप्रिय गीतहरूका पर्याय दुर्गा खरेलसित केही क्षण
जे.के.बराईली
दिल्ली, भारत
नेपाली गीत-सङ्गीत क्षेत्रलाई माथि उठाउनमा उल्लेख्य योगदान पुऱ्याएर आउँने मुट्ठिभर अब्बल दर्जाका सङ्गीत साधकहरूका नाम लिन पर्दा बद्री दुर्गा खरेल नामले परिचित खरेल बन्धुहरूका उत्कृष्ट गीतहरू हाम्रो मानसपटमा आइहाल्छ। बद्री दुर्गा खरेललाई नेपाली सङ्गीतको स्वर्ण युगको उत्तरार्धको उज्वल धरोहर मानिन्छ। नेपाली सङ्गीतको फाँटमा आफ्ना कालजयी गीत र सङ्गीतले दुवै खरेल भाइहरू श्रोताहरूका मनमा अटल भएर बस्न सकेका छन्। नेपालमा स्थापित छिन्नलता गीत पुरस्कार गुठीद्वारा सङ्गीत साधक यी दुई भाइको जोड़ीलाई अघिबाटै सङ्गीत विधामा छिन्नलता पुरस्कार- २०७५ ले सम्मानित गरिसकिएको छ भने नेपाली सङ्गीत क्षेत्रका महान धरोहर गोपाल योञ्जनको ७६ औं जन्मजयन्तीका अवसरमा उनकै अनुयायी दुर्गा खरेललाई ‘शुभारम्भः द म्युजिकल जोर्नी’-ले ‘गोपाल योञ्जन स्मृति पुरस्कारल-२०७५’ प्रदान गरेर उनको योगदानको कदर गरिसकेको छ। गीत र सङ्गीतको क्षेत्रमा ‘शुभकामना खाली खाली दिनेलाई’, ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’, ‘गाइने दाइलाई सुनकेशरीको’, ‘मेरो माया मर्स्याङ्दीको पानी जस्तै सलल’, आदि कालजयी गीतहरूले अति नै चर्चित बनिसकेका बद्री दुर्गा खरेलले नेपाली गीत-सङ्गीतको क्षेत्रमा हलचल नै ल्याएका छन्। नेपाली मौलिक सूर-तालमा आधारित रहेका उनीहरूका गीतहरूमा हाम्रा आफ्नै बाबरी र सुनाखरीको सुवासना मगमगाउँछ। चाँप र गुराँशको सौन्दर्यता टल्कन्छ। पहिले अम्बर गुरूङ्ग अनि केही वर्षपछि फेरि गोपाल योञ्जनको नेपाल प्रवेशपछि दार्जीलिङ्गमा सङ्गीत क्षेत्रमा जुन रिक्तता सृजना भयो, त्यसलाई परिपूर्ति गर्न त सम्भव थिएन तर पनि नेपाली गीत सङ्गीतको स्वर्ण युगको उत्तरार्धमा प्रखर हुँदै आएका खरेल बन्धुले आफ्ना मिठा-मिठा सङ्गीत सृजनाले श्रोताहरूलाई निरास हुन भने दिएनन्। अग्रज गायक तथा सङ्गीतकर्मीहरू नेपाल प्रवेश भएपछि क्रमश असल गायक र सङ्गीतकार बनिसकेका खरेल बन्धुले सङ्गीत र नेपाली जनमानसप्रतिको आफ्नो उत्तरदायीत्व खुबै इमान्दारीपूर्वक निर्वाह गरे। सङ्गीत प्रेमीहरूका जिब्रोमा मौलिक रस र स्वाद चखाउन खरेल बन्धु आजपर्यन्त अनवरत लागिपरेका छन्।
बद्री दुर्गालाई सबैभन्दा बढी चर्चित तुल्याउने र लोकप्रियताको शिखरमा पुऱ्याउने गीतहरू मध्ये एक अतिनै कर्णप्रिय गीत हो- ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रै प्रीतको पाप लाग्ने डर’। यो गीत त बद्रि दुर्गा खरेलको पर्याय नै बनेको छ भने हुन्छ। जहाँ जाँदा पनि मानिसहरूले उनीहरूबाट यही गीत सुन्न खोजीरहेका हुन्छन्। यो गीतले गायक र सङ्गीतकारको रूपमा बद्री दुर्गा खरेललाई मात्र अघि भन्दा अझ बढ़ि लोकप्रियता दिएन तर गीतकार जस योञ्जन ‘प्यासी’-लाई पनि झनै चर्चित तुल्यायो।
गायनमा गीतको शब्दोच्चारणमा स्पष्टता हुनु एक वान्छनीय गुण हो अनि यो गुण यशस्वी दुर्गा खरेलको गायनको सबैभन्दा ठूलो विशेषता हो। उनको अर्को विशेषता भनेको गायनको टेक्निक। उनको गायनमा लोक लय र आधुनिक लयको एक विशेष प्रकारको छुट्टै टेक्निक छ, त्यो टेक्निकलाई अरूले अनुशरण गर्न सकेको पनि देखिँदैन। उनको गीत धेरैले विभिन्न कार्यक्रमहरूमा गाउँछन् तर गीतको त्यही मौलिक मिठास र मर्मको रसास्वादन गर्नु हो भने श्रोताहरूलाई दुर्गा खरेल नै चाहिँन्छ। मलाई अति नै मन पर्ने यीनै सुप्रसिद्ध गायक दुर्गा खरेललाई भेटेर उहाँको गीत-सङ्गीत यात्राबारे केही जान्ने बुझ्ने धोको पूरा गर्ने अवसर पर्खेर बसेको थिएँ, त्यही धोको पूरा भयो ६ जून २०२२ को दिन, उहाँकै निवासस्थानमा। प्रस्तुत छ उहाँसितको यो भेटवार्ताः-
प्रश्नः सर्वप्रथम त सबैले सोध्ने गरेका सामान्य कुराबाटै भेटवार्ता सुरू गरें। आफ्नो बारेमा केही बताइदिनु हुन्छ कि ?
उत्तरः म जन्मेको दार्जीलिङ्गमा नै हो। आमा श्रीमती विष्णुमाया खरेल र पिता श्री इन्द्रराज खरेलका सन्तानको रूपमा बद्री दाजु जेठो , म माईलो अनि एउटा भाई छ। चेलीहरूमा दुई बहिनीहरू छन्। सुरूमा हामीले गीत प्रस्तुत गर्ने अवसर पाएको चाहिँ स्थानीय नगरपालीका विद्यालयबाट हो। सानैदिखि गाउने रहर र प्रबल इच्छा थियो। त्यसबेला कुनै एक ठाउँ माइकमा कुनै गीत बज्यो भने डाँढा-काँढ़ा सबैतिर सुनिन्थ्यो। दार्जीलिङ्ग अहिले जस्तो साँघुरो पनि थिएन त्यतिबेला। कतै बिहेबटुलतिर माइक बज्न थालेपछि म घर जानु बिर्सन्थें। बुवाहरूले खोजेर ल्याउनु पर्थ्यो हामीलाई। स्कूलमा छँदा हाम्रो देवराज सर हुनु हुनुहुन्थ्यो, उहाँलाई हाम्रो स्वर अलिक मिठो लागेछ क्यारे, मलाई र दाजू बद्रीलाई रामायण पाठ सिकाउनु भयो। त्यसबेला रामायणपाठ गरेर हामी धेरैनै चर्चित पनि भयौं। हाम्रो अर्को शिक्षक गिरी सर हुनु हुन्थ्यो, उहाँले हामीलाई लोक गीतहरू सिकाउनु हुन्थ्यो। यस्तै प्रकारले हामी नवौं कक्षामा पुग्दा-पुग्दै हाम्रो सङ्गीतप्रतिको रुझान देखेर बुवाले हात समातेर हामीलाई हिमालयन कला मन्दिरमा लिएर जानु भयो, जहाँ आलोक घोष हुनुहुन्थ्यो, जो हाम्रो पिताको साथी हुनु हुन्थ्यो। उहाँले हामीलाई सङ्गीत सिक्ने व्यवस्था मिलाउनु हुन्छ भनेर लिएर जानु भयो। त्यहाँ पुगेपछि हामीले एक अर्को व्यक्तिलाई देख्यौं। उहाँबारे पहिले त थाहा भएन तर पछिबाट थाहा पायौं, उहाँ त नेपाली सङ्गीत जगतको धरोहर गोपाल योन्जन हुनु हुँदो रहेछ, जसलाई म सरस्वतीको बरद पुत्र भन्दछु। यिनीहरूलाई गीत सिकाउ भनेर आलोक घोषज्यूले हामीलाई गोपाल योन्जनको जिम्मा लगाउनु भयो। गोपाल दाजुले हामीलाई काखमा राखेर सरगम सिकाउन थाल्नु भयो। कलामन्दिर पुगेपछि हाम्रो सङ्गीतप्रतिको क्षेत्र फराकिलो भयो। त्यसबेला गोपाल दाजुले धेरै-धेरै कालयजी गीतहरू बनाउनु भयो, जसलाई धेरै-धेरै गायक गायिकाहरूले गाए। नारायण गोपाल, माणिक रत्न, दिलमाया दिदीले गाउनु भयो, नेपालतिर अरु पनि धेरैले गाउनु भयो। उहाँले ती कालजयी गीतहरू कहिले बनाउनु भयो, कसरी बनाउनु भयो, ती सबैको साक्षी चाहिँ म हूँ। उहाँ बिहानै नौ बजेतिर कला मन्दिरमा आउनु हुन्थ्यो अनि दिनभरि बसेर गीतहरू बनाउनु हुन्थ्यो। मेरो काम चाहिँ उहाँलाई चिया ल्याइदिनु थियो। उहाँ गीत-सङ्गीत सृजनामा यति लगनशील, गम्भिर र समर्पित भएर लाग्नुहुन्थ्यो कि प्रत्येक वातावरण र परिस्थितिमा अडिग र अविचलित भएर गीत बनाउनु हुन्थ्यो। कलामन्दिरमा उहाँसित सिक्दै सिक्दै मलाई उहाँको गीतहरू गाउने सौभाग्य प्राप्त भयो। सबैभन्दा पहिले त मैंले त्यहाँ उहाँको कम्पोज ‘मयालु हजार हुन्छ’ बोलको गीत गाएँ। त्यो गीत सिकाउँदा स्केल मात्र थिचेर गाउनु लगाउनु भएको थियो। त्यसपछि अर्को गीत ‘जीवनको हरेक मोडमा तिमीले मलाई भेट’ पनि मलाई सिकाउनु भएको थियो। त्यसपछि मैंले थुप्रै कार्यक्रमहरूमा यो गीत गाएँ पनि। कला मन्द्रिरमा गएपछि हामीले सूर र तालको ज्ञान लिन सक्यौं। त्यस समयमा गोपाल दाजु लयायत दिलमाया खाति, भीम राई, गोकुल राई आदि धेरैसित कला मन्दिरको विभिन्न कार्यक्रमहरूमा सम्मिलित हुने अवसर पायौं।
प्रश्नः कुनै पनि मञ्चमा दर्शकहरूका सामु सबैभन्दा पहिले कुन गीत गाउनु भएको थियो?
उत्तरः यसो त यस्तो प्रकारले धेरै गीत गायौं। सबैभन्दा पहिले गोपाल दाईसित मैंले सुकियापोखरीको जनता हलमा एउटा कार्यक्रममा गीत गाउने अवसर पाएँ। गोपाल दाईकै सङ्गीतमा ‘दिन हुँदै चारैतिर रात खस्ने होकी, तैं मोरीलाई कुर्दा-कुर्दै कपाल फुल्ने होकी’ बोलको गीत मैंले गाएको थिएँ। पछि गएर उहाँका अरू पनि थुप्रै-थुप्रै गीतहरू स्टेजमा गायौं। पछि काठमाडौंमा त्यही गीतहरू कुनै नारायण गोपाले, कुनै अरुणा लामाले गाउनु भयो। गोपाल दाईको क्रिएशन कालका कम्पोजिशनहरू ‘लौ सुन म भन्छु मेरो राम कहानी’, ‘मयालु हजार हुन्छ’, ‘चुमेर पन्ना भरि’, ‘ए मलाई माया गर्छु भन्नेहरू’ सबै-सबैको साक्षी म नै हूँ। एउटा रोचक प्रसङ्ग यहाँ निकालौं, कला मन्दिरमा गोपाल दाईले गीत बनाउनु हुन्छ भनेर दार्जीलिङ्गको एकजना वरिष्ठ गायक सङ्गीतकारले ‘गोपालले कला मन्दिरमा गीतको फ्याट्री खोलेको छ’ भनेर भन्नु भएछ। यो सुन्दा कुरा हास्यास्पद् लाग्छ। अहिले आएर केही वर्ष अघिमात्र, म ‘गोपाल योञ्जन स्मृति पुरस्कार’ ग्रहण गर्न नेपाल गएको बेला आफ्नो कुरा राख्दा मैंले यही प्रसङ्ग निकालेको थिएँ। मैंले भनेको थिएँ, हो गोपाल दाजुले गीतको फ्याट्री नै खोल्नु भएको थियो। किनभने फ्याक्ट्री खोल्नलाई Raw Materials चाहिन्छ। त्यसबेला उहाँसित धेरै Raw Material थिए। कतै देशभक्तिको, कतै मायालुको प्रेमको भावनाको Raw Material थियो। धरतीदावी गीतहरू, क्लासिक गीतहरू, लोक गीत जस्ता Raw Material थिए। उहाँले विविध विषयमा लेख्नुभएको यस्ता गीतहरूका विलक्षण माधूर्यताले नै नेपाली गीत-सङ्गीतलाई उचाई दिनमा योगदान पुऱ्याएको छ, जुन उचाई सायद, मलाई लाग्छ, कुनै पनि अरु सङ्गीतकारले छुन सकेका छैनन्।
प्रश्नः उहाँको प्रारम्भिककालकै गीतहरू पनि एक परिवक्व गीतकारको गीत जस्तो अति गम्भिर, गहकिला र ओजपूर्ण छन् नी ?
उत्तरः हो, उहाँका गीतहरूबारे भन्नुपर्दा, उहाँ एकमदै धरतीवादी हुनु हुन्थ्यो। यहाँ एउटा गीतको चर्चा गर्छु, अति मिठो गीत छ, मलाई असाध्यै मन पर्ने गीत हो। गीतले भन्छ-
धरतीमा कोपिलाई धरतीमै फक्रिनेछु,
धरतीमै मगमगाई, धरतीमै ओईलिनेछु,
ईश्वको घर आकाशलाई, म हात जोड़ने छैन,
कविको जून ताराको गुण गाउने छैन
यो गोरेटो यो बाटो, यो सून जस्तो माटो
स्तुती गर्छो यसकै कुनै शिलाको साटो
मैले अर्को प्रश्न राखौं भन्दा भन्दै खरेलज्यू फेरि अविराम बोल्नु हुन्छ। भन्नु हुन्छ- जब-जब भारतमा विदेशी शक्तीले आक्रमण गऱ्यो त्यस बेला कलाकारहरू पनि अक्षुण्य रहेनन्। गोपाल दाईको एउटा चर्चित गीत ‘देशले रगत मागे मलाई वलि चढ़ाउ’ कै हाराहारीमा यस्तै परिस्थितिमा बनाइएको एउटा गीत यस्तो छ-
पीर बिसाको होईन मैंले सम्झनालाई लेख्दैछु
तिमीले मलाई बिर्से पनि देश सम्झाउन लेख्दैछु।
कक्रिएका हातहरूले ढुंगामाथि लेख्दैछु
आँशुले लेख्न लाज लाग्छ रगतले नै लेख्दैछु।
गोपाल योञ्जनका हास्य रसका गीतहरू पनि छन्। उहाँ हास्य रसका अति राम्रो गीतहरू बनाउनु हुन्थ्यो। एउटा यस्तै गीत मैंले र दावा ग्याल्मोले रिकर्ड गरेका छौं। गीत त्यो छ-
नानी तिम्रो रूप राम्रो
रूप राम्रो जीउ डाल राम्रो
हातै राम्रो बातै राम्रो
पाउ सारै राम्रो तर
मर्दहरूको जोड़ी खोज्ने
तिम्रो एउटै बानी नराम्रो।
यो गीत खर्सान रेडियोबाट त गाइनँ तर काठमाडौं गएको बेला विभिन्न स्टेज कार्यक्रमहरूमा गायौँ। पछिबाट गोपाल दाईले दावा, म र डेजीलाई अब आइहालेपछि केही गीतहरू रेकर्ड पनि गरेर जानु भनि भन्नुभयो अनि यसको लागि उहाँले नै रत्न रेकर्डिङमा चाँजो मिलाइदिनु भयो। त्यति बेला हामीले झण्डै सातवटा गीत रेकर्ड गर्न पायौं। दावा र मेरो स्वरमा ‘नानी तिम्रो रुप राम्रो’, दावाको स्वरमा ‘शुभकामना खाली खाली’ र ‘मलाई रुखो साहनुभूति नदेउ’, डेजीको स्वरमा ‘भैंसी लड्यो है माया’ र ‘तिम्रै लागि मैले यहाँ’ रिकर्ड गऱ्यौं।
प्रश्नः गायकको रूपमा गीत गाउँदा-गाउँदै तपाईँलाई हामीले सङ्गीतकारको रूपमा पनि पायौं। सबैभन्दा पहिले कुन गीतमा सङ्गीत भर्नुभयो ?
उत्तरः यस सम्बन्धमा हाँसउठ्दो प्रसङ्ग छ। गोपाल दाजु ६८/६९ तिर काठमाडौ जानु भयो। दाजु जानुभएपछि हामी साङ्गीतिक रूपले टुहुरो भयौं। अब हामीलाई गीत सिकाउने पनि कोही थिएन साथै मार्गदर्शन गर्ने पनि कोही थिएन। आफूमात्र थियौं अनि आफूमा त्यो क्षमता पनि थिएन। हामी अति नै निरासाजनक स्थितिमा थियौं। एकदिन बद्री दाईले मलाई भन्नुभयो, “अब एउटा काम गरौं, कसैले गीत दिने रहेन रहेछन्, बरू हामी आफै गीत बनाउ”। मैले अप्ठ्यारो अनुभव गर्दै भने, “कहाँ हुन्छ त्यस्तो पाराले। बाजा बजाउनु त जानेका छैनौं, जानेको भा पो गीत बनाउनु”। दाईले फेरि भन्नु भयो, “एउटा काम गरौं, टेबल ठोकेरै गीत बनाउँ अब”। घरमा एउटा टेबल थियो, हामी दुईजना गीत लेख्थ्यौं अनि टेबल ठोकेर त्यसमा ट्यून र सङ्गीत भर्थ्यौं। त्यसरी हामीले सङ्गीत भरेको पहिलो गीत यस्तो थियो-
कल्पनाको महललाई मुटुभित्र राखिदिन्छु
तिमीलाई नपाए पनि तिम्रै तस्वीर साँचिदिन्छु।
त्यसपछि मैले सङ्गीत भरेको अर्को गीत हो, दावाको स्वरमा रहेको “जवानीका पाईलाहरू आज कता बिसाइदिनु”। यो गीत चाहिँ दावाले रेडियोमा पनि गाइन्।
प्रश्नः मैंले सुने अनुसार ‘शुभकामना खाली खाली’ भन्ने गीत पिटर चेङ्गको ‘म मरेपछि’ भन्ने नाटकको लागि नोर्देन रूम्बाले लेख्नु भएको थियो। यो गीतले धेरै हलचल मच्याएको हो। यही गीतले बद्री दुर्गालाई सङ्गीतकारको रूपमा निकै चर्चित बनायो अनि दावा ग्याल्मोलाई पनि यही गीतले निकै लोकप्रियता दिलायो भनि भनिन्छ। यति मात्र नभएर शिर्षस्थ संगीतकार कर्म योञ्जनले समेत “रेकर्डिङको हिसाबले यो एकदम पावरफुल गीत हो। दुर्गाहरूले मेहनत पनि गज्जबै गरेका छन्, यस्तो गीत हत्तपत्त बन्दैन, यो तिनीहरूको पनि भाग्य हो” भनि भन्नु भएको रहेछ नी ?
उत्तरः यो त कर्म योञ्जन दाजूको बढ़पन हो। उहाँ त मेलोडि किङ्ग हुनुहुन्छ। उहाँको प्रत्येक गीतहरू मेलोडियस छ। यो ‘म मरेपछि’ नाटकको लागि बनाइएको यो गीत चाहिँ अलिक अप्रत्याशित रूपले हामीसित आयो। के भएको थियो भने, ‘म मरेपछि’ नाटक गर्ने भएपछि बद्री दाजू पनि त्यसमा अभिनय गर्नुहुने भयो, किनभने उहाँ त त्यसताकदेखि नै अभिनय पनि गर्नु हुन्थ्यो। ‘अनि देवराली रून्छ’, ‘त्यो फेरि फर्कला ?’ र ‘तारा रोएको बेला’ जस्ता नाटकहरूमा पनि अभिनय गर्नु भएको थियो। ‘म मरेपछि’ नाटकको गीत नोरदेन रूम्बा दाईले लेख्नु भएको थियो, सङ्गीत चाहिँ धनञ्जय थापाले गर्ने भन्ने थियो। अप्ठ्यारो के पऱ्यो भने सङ्गीत गर्नलाई धनञ्जय थापा नाटक मञ्चन गर्नुपर्ने समयसम्म आईपुग्नु भएन। त्यसो हुँदा सबैले हामीलाई बोलाएर तिमीहरूले सङ्गीतको अभिभारा लिनुपर्छ भनि भन्नुभयो। नाटकमा तीनवटा गीत थियो। नाटकको एउटा निश्चित थीम थियो। ‘म मरेपछि मेरा टुहुरा सपनाहरू’, त्यसपिछ अर्को गीत ‘शुभकामना खाली खाली’। यो ‘शुभकामाना’ बोलको गीत चाहिँ हामीलाई पनि अति प्रिय लागेको थियो। यो गीत कम्पोज गर्दा हाम्रो मनस्थिति पनि त्यस्तै भइदियो। यो गीत दावाको स्वरमा रेकर्ड गरायौं। दावाले खुबै मिठो प्रकारले यो गीत गाइन्। दावा त अझै पनि तिमीहरूले ‘शुभकामना खाली खाली’ जस्तो गीत बनाउनु नी भनेर भन्छीन्। यो गीत सबैले मन पराए। अति चर्चित बन्यो। नाटकमा पनि यो गीत चर्चित बन्यो। रेडियोमा रेकर्ड गरेपछि रेडियोबाट पनि यो गीत धेरै बज्न थाल्यो। कर्म दाजू जस्तो अब्बल सङ्गीतकारले समेत यो गीतको प्रशंसा गर्नुभयो। उहाँको प्रशंसा हामी शिरोपर राख्छौं। यति महान सङ्गीतकारले हाम्रो गीत रूचाइदिनु भयो। ‘शुभकामना’ गीतको अर्को पाटो के छ भने अहिलेसम्म नेपालीमा बनिएको दस वटा अति सुमधुर गीतहरूमा ‘शुभकामाना’ पनि पर्छ भन्ने सुनिएको छ।
प्रश्नः सबै गीतलाई यस्तो भाग्य मिल्दैन, होईन र ?
उत्तरः हो, यस्तो हुँदो रहेछ। शब्द मिठो छ भने सङ्गीतकारमाथि पनि ठूलै दायीत्व आइपर्दो रहेछ। मिठो र गहकिलो शब्द भएपछि संगीत पनि उस्तै ओजपूर्ण सृजना गर्नुपर्छ भन्ने उत्तरदायीत्व सङ्गीतकारमाथि पर्दो रहेछ। ‘शुभकामना खाली खाली’ बोलको गीत जुन प्रकारले उत्कृष्ट र सुन्दर प्रकारले नोरदेन दाईले लेख्नु भएको छ, त्यसमा सङ्गित भर्नु पनि धेरै परिश्रम लगाएर डुबेर गर्नु आवश्यक थियो। गीत अति राम्रो छ, हेर्नुहोस् न गीतमा दुई ठाउँ खाली खाली लेखिएको छ अनि गीत लयात्मक ढंगले टम्म मिलेको छ। यति भनि खरेलज्यू गीतको स्थायी अन्तरा फरर भन्नुहुन्छ, कविता पाठ गरे झैं, यसरी–
शुभकामना खाली खाली दिनेलाई दानी भनेर
जाँदैछु लिएर आँचलभरि मायाको निशानी भनेर
पाप-धर्म कसको कति निसाफ तिमीले गर्नु
मायाको विश्वास ठूलो सानो सब माफ तिमीले गर्नु
खुशी तिम्रो फर्काउन भनि म रोएर आज जाँदैछु
कुल्चे हुन्छ मेरो आँशुलाई अब मैला पानी भनेर
खरेलज्यू अझ भन्नुहुन्छ, कति राम्रो शब्दहरू गीतमा उनिएका छन्। गीतमा अझ लेखिएको छ-
तिम्रो विश्वास पाउन म कति शुलीमा चेढ़ें
पहिलो गएर छातिमा आज मूल बाटोमा लढ़े।
जित्नु केही थिएन हारेर आज जाँदैछु,
घाम छाँयाको खेल हो यो जिन्दकागी भनेर ।
यति मिठो शब्दमा सङ्गीत भर्नुपर्दा हामीमा ठुलो उत्तरदायीत्व आइपऱ्यो। हामीमा भन्दा ठूलो उत्तरदायीत्व गीत गाउने गायिका दावा ग्याल्मोमाथि आइपऱ्यो। अब दावा त अति मिठो सुनिने आवाज हो नी त। शब्दोच्चारण अति स्पष्ट अनि अति मेलोडियस भ्वाइस हो दावाको। गीतलाई पूरा न्याय दिन सकेकी छे।
यसैबीच म खरेलज्यूलाई उहाँको यो कम्पोजिशनको केही अंश गाएर सुनाउने आग्रह गर्छु। सहर्ष स्वीकार गर्दै उहाँ हार्मोनियम समातेर गाउ थाल्नु हुन्छ। हामी मख्ख परेर सुनिरहन्छौं।
प्रश्नः राम्र-राम्रा शब्दकारहरूका गीत मात्र गाउनु भएको छ, चुनेर मात्र लिनुहुन्छ जस्तो छ ?
उत्तर – सुरूका दिनहरूमा जस योन्जन ‘प्यासी’-का गीतहरू गायौं। उहाँसित कलेज पढ़दा परिचय भएको हो। कलेजमा एकजना ओझेलमा परेका राम्रो गीतकार थिए- कमल गुरुङ। उनका कतिपय गीतहरू दावाले गाएकी छीन्। त्यसपछि हाम्रो साङ्गितिक जीवनमा नोरदेन रूम्बा दाईले प्रवेश गर्नु भयो। उहाँ अति उत्कृष्ट गीतकार। उहाँका सबै गीतहरू अति उत्कृष्ट छन्। यस्तै एउटा गीत कुमार सुब्बाले गाएका छन्।
आउ बस नगिचमा, एकछिन बात गरौं,
आज हामी तितो मिठो, मायाको बात गरौं।
गीतमा सामान्य प्रकारले सामान्य शब्दहरूमा कति मिठो परिपाटीले भाव व्यक्त गर्नु भएको छ। उहाँ अति बेजोड़ गीतकार हुनुहुन्छ।
जस योञ्जन ‘प्यासी’-को पनि धेरै गीतहरू गायौं हामीले। एउटा नसुनेको गीत हेर्नुहोस् यस्तो छ—
जति सम्झिन्छु मेरो यात्रा
पाइलाहरू लड़खड़िन्छन्
जहाँ पुग्छु आस्था खोज्दै
पाईलै भरि काँढ़ा बिझ्छन्।
यस्तै कमल गुरुङ्गको पनि एउटा राम्रो गीत छ—
आँखामा बास पाइनँ मैंले, पाइनँ सपनी
यो रूखो सास फेरेकै हुन्छु हाँसेर तैपनि
हामीले गिरीको गीत पनि गायौं तर त्यो गीत उति चर्चामा आएन। त्यसपछि हामीले पुष्प राईको गीत पनि गायौं। पछि आएर किरण खरेलको गीतहरू गायौं। उहाँ त मेरो काका हुनु हुन्छ। हामी उहाँलाई बुवा नै भन्छौं। उहाँको गीतहरू गरौं न भन्दा उहाँले केही गीतहरू दिनु भएको थियो, ती गीतहरू हामीले कम्पोज गऱ्यौं, जसलाई बानिका र अनुपमाले गाइन्। ती गीतहरू कतिपय कारणले रिलिज हुन पाएको छैन। यूटूबमा बिस्तारै अपलोड गर्दै जाने योजना छ।
उहाँका दुईटा गीतको केही शब्दहरू यस्ता छन्-
म निदाए पनि ननिदाए पनि
रात बितेर गैहाल्छ
खालि एकदिन उमेर घटाई
भोली उज्यालो भइहाल्छ।
अर्को गीत बानिकाले गाएकी छिन्, यस्तो छ–
बसन्तका सारा रंग सोर्न मन लाग्यो
तिमीसित तिमीलाई नै चोर्न मन लाग्यो
चाहे बस हृदयमा चाहे नजरमा
लाली बनि बसे पनि हुन्छ अधरमा
परेलीमै तिम्रो काजल कोर्न मन लाग्यो
तिमीसितै तिमीलाई नै चोर्न मन लाग्यो।
दिनेश अधिकारीका पनि केही गीत हामीले गाएका छौं। एउटा रोमान्टिक गीत यस्तो छ—
बन्धन छ विपनीमा सपनिमा आउ तिमी
बिषालु ती आँखाहरु सुतेपछि आउ तिमी
त्यही गीतको प्रसङ्गमा कालुसिङँ रनपहेलीले एउटा इन्टरभ्यू लिनु भएको थियो। तपाईँलाई कस्तो गीत मन पर्छ भनि सोध्नु भएको थियो। मेरो दुई शब्दको उत्तर थियो ‘मन छुने’। नोरदेन रूम्बाद्वारा रचित यस्तै मन छुने केही गीतहरू मैंले गाएको छु। धेरै संख्यामा मानिसहरूले रूचाएका उहाँको शब्दरचना मैंले गाएको छु, जसमा शब्द नै लयात्मक रहेको छ, गाउँदा उसै-उसै सलल बग्ने प्रकारको छ—
मेरो माया मर्स्याङ्दीको पानी जस्तै सलल
मेरो माया रेशमको रुमाल जस्तै झलल
मरो मया कस्को नी भाग्यमा कस्को सिँउदोमा
मेरो माया बादलको भुवा जस्तै टलल।
अर्कोकुरा उहाँले दार्जीलिङ्गलाई झल्काउने गीतहरू पनि लेख्नु भएको छ। एउटा गीत कुमार सुब्बाले गाएका छन्—
हिमालको चोखो हावामा हुर्कैको मेरो गीत
धाराको चिसो पानीले भिजेको मेरो गीत
छाति फुकाई गाउँछु म अग्लो पहाड़ झैं
सुनाखरी झैं पखेरुमा फुलेको मेरो गीत
केही पछि देखा परेका उत्कृष्ट गीतकार पुरण गिरीको गीत पनि गाएको छौं। हामीलाई अति मन पर्ने उनको एउटा शब्दरचना यस्तो छ—
बाबरीको फुल फुल्यो मन भरि छातीमा
बतासले उडाई लाँदा चोट पऱ्यो छातीमा
धेरै दुख्यो रेलिमाई ओंठ सुक्यो चोटले
धेरै लुट्यो रेलिमाई निर्मोहीको मायाले
कतिलाई गुनासो पनि होला हामी सबैको गीत गाउँदैनौं भनेर। हामी थोरै गीत बनाउनेहरूमा पऱ्यौं। कतिवटा गीत बनाउँदा धून भरेपछि आफैलाई सन्तुष्टि नलागेपछि फेरि अर्को धून बनाएका छौं। गोपाल योञ्जन दाजुले गीतमा नै सत्य कुरा भन्नु भएको छ-
केही गुन्गुनाउँछु धेरै शान्ति पाउँछु
केही शान्ति बाँढ़न यहाँ गुन्गुनाउँछु।
शास्वत सङ्गीत नै शान्तिको ठूलो स्रोत हो नी। सङ्गीतकै माध्यमले इश्वरसित जोड़िन सकिन्छ।
प्रश्नः ६० देखि ६७ सम्मको समयलाई नेपाली गीत-सङ्गीतको स्वर्णकाल मानिन्छ। यही स्वर्णकाभित्र आफ्ना राम्रा राम्रा सृजनाले नेपाली सङ्गीतलाई समृद्ध बनाउनमा उल्लेख्य योगदान पुऱ्याउने कतिपय गीतकार, सङ्गीतकार र गायक गायिकाहरू ओझेलमा परिसकेका छन् जस्तो लाग्दैन तपाइँलाई?
उत्तरः हामी त त्यही स्वर्णकालको पुछारमा पर्छौं। ओझेलमा निश्चय परेका छन्। उनीहरुको प्रशंसा नगरे पनि उनीहरूका कामको समीक्षा हुनपर्ने हो। सङ्गीत कर्मीहरूको पनि सृजनाको समीक्षा भयो भने पो हामीलाई पनि कहाँ भुल भएछ र कहाँ सुधार गर्नु पर्ने रहेछ भन्ने कुरा थाहा लाग्छ। कसैले समीक्षा गर्दैनन्। यसैले धेरैजना विस्मृतिमा परेका छन्। कहिले त हामीलाई आफै लेखौं जस्तो पनि लाग्छ। यस्तो काम भएको छैन, हुनु पर्ने हो। नेपालतिर त यस्ता कामहरू धेरै भइरगहेका छन्।
प्रश्न: हालका दिनहरूमा साहित्यको फाँटमा उल्लेख्य योगदान भएका विभूतिहरूका सम्मानमा अभिन्दन ग्रन्थहरू प्रकाशित गर्ने र उनीहरूका कार्यको मूल्याङ्कन गर्ने नयाँ परम्परा सृष्टि भएको छ। गीत-सङ्गीतको क्षेत्र र अन्य विविध क्षेत्रमा उल्लेख्य योगदान पुऱ्याएर आउने स्रष्टाहरूको पनि अभिन्दन ग्रन्थ निकाल्नु पर्ने होईन र ?
उत्तर. हो निश्चय। हाम्रो शरण प्रधान, अरुणा लामा, शान्ति ठटाल, दिलमाया खाती, कुमार सुब्बा जस्ता विभूतिहरूको योगदानको मूल्याङ्कन हुनु पर्ने हो। यो अभिभारा हामी सङ्गीतकर्मीहरूले लिन मिल्दैन, हामी सक्दैनौं पनि। अरूले गर्नुपर्ने हो। कहिले कहिले त म पनि लेख्छु। सबै साहित्यिक साथीहरूले पनि मन पराउँछन्। हौसला दिने गर्छन्। लेख्छु भन्ने आँट पनि छ। तर हामीले लेख्यौं भने त्यो ठीक हुँदैन। हामी उनीहरूलाई हाम्रै दृष्टिकोणले हेरेर लेख्छौं र त्यो सिमित हुन जान्छ। कर्म योञ्जन दाजूको पनि योगदान मामुलि छैन। उहाँको योगदानलाई उज्यालोमा ल्याउनु पर्ने हो। उहाँप्रति हाम्रो ठूलो श्रद्धा छ। हामीले उहाँसित धेरै सहकार्य गरेका छौं।
प्रश्नः कर्म योञ्जनज्यूको कुरा आएपछि मलाई यहाँ मनबहादुर मुखिया लिखित नाटक ‘अनि देवराली रून्छ’-को प्रसङ्ग निकाल्न मन लाग्यो ?
उत्तरः ‘अनि देवराली रुन्छ’ नाटक गर्ने भएपछि नाटककार मनबहादुर मुखिया दाईले त्यो ‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ’ बोलको गीतको परिकल्पना नै मलाई लिएर लेख्नु भएको थियो। एउटा गाईनेले कस्तो भाका र परिपाटीले गाउँछ, त्यसको लागि मेरो स्वर ठानेर मलाई नै गाउन लगाइएको थियो त्यो नाटकमा। सोझै भन्नुपर्दा त्यो गीत ओरिजिनलमा मैंले नै गाएका हूँ। नाटककार मन बहादुर मुखिया स्वयंले पनि कान्तिपुरमा एक इन्टभ्टूमा यो गीत मैले दुर्गाकै लागि लेखेको थिएँ भनि भन्नु भएको छ। बीचमा कुमार सुब्बा दाजुले गएर रिकर्डिङ गरिदिनु भयो। गीतको शब्दहरूमा केही परिवर्तन पनि गरिएछ। परिवनर्तन गरेपछि कुनै पनि गीतको आत्मा कता कता मरे जस्तो लाग्छ। त्यो गीतले पाउनु पर्ने प्रसिद्धि पनि उहाँले नै पाउनु भयो। हामीमाझ यस्तै कथाहरू पनि छन्। यी सब लेखिनु पर्छ नी। उहाँको स्वरमा यो गीत रेकर्ड भएपछि मलाई अति नराम्रो लाग्यो। एउटा कार्यक्रममा उहाँले यो गीत गाउँदै गर्दा म स्टेजमा पछि बसेर रोइरहेको थिएँ। यस्तो पनि भएको छ। मेरै लागि लेखिएको र मेरो आवाजबाट निस्केको गीत थियो नी त त्यो।
जो हुनु भैगयो तर मलाई भने गाइने कै गीत गाउने तृष्णा थियो। यस्तै परिस्थितिमा एक दिन अचानक नोरदेन दाई आउनु भयो। उहाँले धनञ्जयलाई एक गीतमा सङ्गीत भर्नु दिनु भएको रहेछ तर उहाँबाट त्यो काम नभएपछि अब तपाईहरूले गर्नुहोस् भनि त्यो गीत दिनुभयो। हेरेको त गीत अति राम्रो रहेछ। गीत पनि गाइनेको नै रहेछ।
गाईने दाईलाई सुनकेसरीको केशै सोध्न भुलें
भोकै मर्ने लाहुरेको देशै सोधन भुलें
त्यस गीतलाई हामीमा धून भऱ्यौं अनि सङ्गीतले सजायौं अनि दार्जीलिङ्गमा विभिन्न कार्यक्रमहरूमा धेरै गायौं। यो गीत अति प्रसिद्ध पनि भयो। यो लोक गीत हो है भनेर हामीले HMV मा पनि गएर रेकर्ड गऱ्यौं तर पनि काठकाण्डौमा चाहिँ “भोकै मर्ने लाहुरेको देश सोध्नै भुलें” भन्ने लाईन उनीहरूलाई रुचेन। उनीहरूले सेन्सर गरेर त्यो लाईन काटे। जसले गर्दा ‘सुनकेसरीको केशै सोध्नु भुलें’ लाईनमा नै सिमित राख्नु पऱ्यो। कमसेकम त्यहाँ त्यो गीत गाउनु पाएँ, यही नै मेरो सन्तुष्टि थियो। यो गीत मैंले गाएकोमा धेरैले मन पराए। हाम्रो सृजनाहरूमध्ये यो गीत हामी स्वयंलाई पनि मन पर्ने गीत हो।
प्रश्नः ‘अनि देवराली रून्छ’ नाटकको ‘सारङ्गीको तारले मेरो’ बोलको गीत कुमार सुब्बाको स्वरमा नेपालमा रेकर्ड हुँदा किन शब्दहरूमा परिवर्तन भए ?
उत्तरः हो, उहाँले नेपालमा त्यो गीत रेकर्ड गर्नु भयो। त्यसमा अति राम्रो शब्द थियो। जस्तै- “मेरो स्वरमा झोपड़ी र दरबारको कथा छ”। तर झोपड़ी र दरबार शब्द गीतमा प्रयोग गर्न नेपालमा नमिल्ने भयो। यसमा परिवर्तन गर्नुहोस् भनेपछि “मेरो स्वरमा मेरै गाउँ र बस्तीको कथा छ” बनाइएछ। झोपडी र दरबार भन्दा व्यापक अर्थमा बुझिन्थ्यो। दरिद्रदेखि लिएर महलसम्म बस्ने भन्ने बुझिन्थ्यो। अर्को लाइन “फुल रोए शीत हुन्छ मैले रोए गीत, खुकुरीको खिया मात्र नेपालीको जीत” थियो। त्यसमा पनि परिवर्तन गर्न लगाइएछ। त्यस लाईनलाई “सारङ्गीको धुन मात्र गाईनेको जीत” बनाइयो। अर्को लाइन थियो “सारङ्गीमा गाउँदै हिँढ़दा मलाई माग्ने भन्छ, नेपालीले नेपालीलाई नचिनेझैं गर्छन्। अब नाटकमा गीत अनुसारको परिवेश थियो। तर त्यो लाईन पनि परिवर्तन गरेर “आफ्नै दाजु भाईले मलाई नचिने झै गर्छन्” बनाइयो। यहाँ ‘नेपाली’ शब्द नै राख्नु पाएको भए त्यसले वृहत अर्थ बोक्ने थियो। त्यति बेला गाइनेको स्थिति कस्तो थियो, त्यसो सबैलाई थाहा छ। सबैले नचिने झैं गर्थे। त्यसो नगर्नु पर्ने थियो। मैले गाएको यो ‘गाईने दाईलाई’ बोलको गीतमा नेपाललाई खुशी पार्न कुनै शब्द परिवर्तन गरेको भए राम्रो मान्थे होला, रेडियो नेपालले बजाउँथ्यो होला तर गीतकारको गीतलाई आफूले जीवन दिइसकेपछि त्यसलाई फेरि कुनै शब्द र लाईनलाई परिवर्तन गर्दा गीतको मर्म बिग्रन्छ, गीतको गरिमामा धक्का लाग्छ जस्तो हामीलाई लाग्छ।
प्रश्नः आजको नयाँ-नयाँ तकनिकीले सुविधाजन्य युगमा पनि तुलनात्मक रूपमा पुराना कालयजी गीतको विकल्प भन्न सकिने गीतहरू देखा पर्दैनन् ?
उत्तरः मेकानाइज्ड भयो सबै। मेलोडी भन्ने रहेन।
पुराना कलाकारहरूमा सङ्गीतप्रति साधना थियो, तपस्या थियो, समर्पण थियो। गोपाल योञ्जनले एउटै गीतमा दुई अन्तरामा बेग्ला-बेग्लै ट्यून दिने अनि बेग्ला बेग्लै सङ्गीत दिने परम्पराको सुत्रपात गरेका छन्। त्यो शीप हामीले पनि सिकेर अप्नाएका छौं। दावाले गाएकी ‘जवानीको पाईलाहरू’ बोलको गीतमा। नरदेन रुम्बाको एउटा गीत चाहिँ ‘म मरेपछि’ नाटकमा सामेल भएन तर गीत अति नै राम्रो थियो।
यो गीतमा दुई अन्तरामा हामीले भिन्दा-भिन्दा संगीत भरेका छौं। यस्तै प्रकारले जस योजन्ज ‘प्यासी’-को ‘जति सम्झन्छु’ बोलको गीतमा पनि यसै प्रयोग गरिएको छ। यसो गर्दा शब्द अनुसारको विविधता आउँदो रहेछ। गोपाल दाईले यसै यस्तो नयाँ प्रयोग गर्नु भएको होईन रहेछ। ‘लौ सुन म भन्छु मेरो राम कहानी’ बोलको गीतमा हेर्नुहोस्, ‘म उठ्दा आकाशले मलाई थिचिदिन्छ’ अन्तरामा जुन सङ्गीत छ त्यही सङ्गीत अर्को अन्तरा ‘तेरो आश्वासनमा मैंले बाँचि हेरें’ मा छैन। त्यहाँ अर्कै सङ्गीत छ। गीतको भावसितै सङ्गीत परिवर्तित भएको छ। त्यो स्थिति र आवश्यकता शब्दले गर्दा निमत्याएको हुन्छ। मैले गाएको नरदेन दाईको एउटा गीतको छ, जसको प्रथम अन्तराले भन्छ—
भर्खर डुबेको घामसित आकाश सारा डुबिगएछ
यति रमाईलो सुखको संसार थाहै पनाई बिरान भएछ
आश टुटेर जान्छ सबै यहाँ सास छुटेर जान्छ
हिड़दा हिँड़दै बाटोहरु बिराम भएको रात
चुपचाप सबै विश्वासहरू बदनाम भएको रात.
यसै गीतको फेरि दोस्रोमा अन्तरामा गीतकार भन्छन्-
कुन प्रात खोजेर यहाँ कुन मन्दिरको बाटो धाउनु
मान्छेले मान्छेसित अब कस्तो साईनो साउनु।
यो दोस्रो अन्तरामा यहाँ गीतको भावले कोल्टो फेरेको छ। यसो हुँदा हामीले पनि शब्दको भाव हेरेर संगीत बेग्ला-बेग्लै राख्नु कर लाग्यो। यसरी गोपल दाईको ट्रेन्डलाई हामीले धेरै हदसम्म अनुशरण गऱ्यौं।
हामी चाहिँ नेपाली सङ्गीतको स्वर्णीम कालको पुछारको पऱ्यौं। जुन बेला अम्बर काठमाण्डौं जानु भयो, शरण प्रधान पनि बितेर गए, गोपाल दाई काठमाडौं प्रवेश गर्नु भयो। कर्म योञ्जन मात्र दार्जीलिङ्गमा रहनु भयो। त्यो कालखण्डमा हामीमाथि नै अभिभारा आइलाग्यो। हाम्रा अग्रजहरूले जुन बाटो देखाएका थिए त्यही बाटो हामीले अनुशरण गऱ्यौं। शब्द राम्रो हुनु पऱ्यो, सङ्गीत राम्रो हुनु पऱ्यो भन्ने पक्षमा हामी थियौं। जस्तै नोरदेन रूम्बा दाईको एउटा गीत ‘लोग्नेमान्छेको त जातै नराम्रो, हातै पनि चाम्रो हुन्छ बातै नराम्रे’ भन्ने गीत कहाँ रेकर्ड भयो र। त्यो गाउँदा गाउँदै यसै हीट भयो। सोफिया सरलाले विभिन्न कार्यक्रममा गाएकी यो गीत अति चर्चित भयो। त्यसबेला स्टेज कार्यक्रमहरू पनि धेरै नै हुन्थ्यो। कार्यक्रमहरू हेर्न मानिसहरू भिड़ लाग्थे, आएर सुन्थे र मन पराउँथे अनि त्यो गीत त्यसै मुख-मुखमा चर्चित हुन्थ्यो। कतिपय गीतहरू पछि गएर रेकर्ड हुन्थे, त्यो अर्कै कुरा हो।
अर्कोकुरा, गीतहरूलाई प्रचार प्रसार गर्न र प्रसिद्ध बाउनमा खरसाङ रेडियो भन्दा रेडियो नेपालको ठूलो भूमिका छ। किनभने रेडियो नेपालमा रेकर्डिङ गराउँदा त्यहाँ बाजागाजा पनि प्रशस्तै हुन्थे, दक्ष सङ्गीतकारहरू पाइन्थ्यो। रेडियो नेपालमा एकपल्ट गीत बजिसकेपछि त्यो गीत भाग्सु देहरादूनदेखि उता हिमाचलको कुना काप्चादेखि आसामसम्म पनि मानिसहरूका कानसम्म पुग्थ्यो। त्यसबेला रेडियो सुन्ने चलन थियो। खरसाङ रेडियोमा बजेको गीत चाहिँ कमान बस्तीतिर धेरै सुनिन्थ्यो। यसरी दार्जीलिङ्गको गीतहरूलाई प्रसार प्रचार दिनमा रेडियो नेपालको अहम भूमिकालाई भुल्नु हुँदैन।
प्रश्नः कुनै पनि गीत राम्रो हुनलाई गायकको स्वर र सङ्गीतकारको सङ्गीत मात्र नभएर शब्द पनि राम्रो हुनपऱ्यो होईन ?
उत्तरः हो, गीत टीम वर्कले बनिन्छ।
प्रश्नः तपाईँ स्वयंले पनि गीत लेख्नु भएको छ की ?
उत्तरः हामी गीतकार त होईनौं तर परिस्थितिवश गीत लेख्न परेको छ। आफूलाई गीतकार भनिहाल्न सकिँदैन। गीतकारले जस्तो मिठो र सुन्दर प्रकारले गीत लेख्न त सकिँदैन तर कतिपय गीत लेखिएको छ। मेरो शब्दरचनाको एउटा गीत दावाले गाएकी छिन्। गीत यस्तो छ—
मैले फुललाई सोधें तिम्रो घर हो कहाँ
माया गरि सँधैफरि मलाई राख्छौं जहाँ
मैले चरीलाई सोधें बास तिम्रो कुन हो
भन्छे चरी परीहरू नाँच्ने बाग जुन हो।
मैले गोपाल दाई, हरिभक्त कटुवाल र इश्वर वल्लभ दाईको शब्दरचनाहरूलाई गहनताका साथ नियालेर हेरेको छु। वल्लभ दाईको एउटा गीत गोपाल योञ्जनको सङ्गितमा छ, जुन मलाई सिकाउनु भएको थियो। त्यो गीतलाई मैले पलेटीमा गाएको थिएँ। गीत यस्तो छ—
कस्ता कस्ता यी मानिस छन्
मलाई सताउन आउँदछन्
के के भन्थन् ती व्यर्थैका
मलाई जलाउन आउँदन्।
शाहजाहँका कुरा गर्छन्
कोही ताजमहलका कथा
कोही भन्छन् रोटी छैन
जिन्दकीको कोहि व्यथा
कोही कोही सित्थैमा
मलाई रुवाउन आउँदछन्।
यो गीतको शब्दहरू भन्दा-भन्दै म आग्रह गर्छु र उहाँ हार्मोनियम समातेर गाउन सुरु गर्नु हुन्छ।
प्रश्नः एउटा गीतलाई राम्रो ठान्न मापदण्ड के हो ?
उत्तरः आजकल यू टूबमा गीतहरू चल्छन् तर आयु लामो हुँदैन। गीतको आयू लामो हुनपर्छ। गीतले मनोरञ्जनको साथ-साथ एउटा सन्देश दिएको हुनपर्छ। म अहिले एउटा गीत गर्दैछु, रेकर्ड पनि गर्दैछु। त्यो गीत ‘म मरेपछि’ नाटककै हो। गीत यस्तो छ
सँधै हिँड़ेको बाटोबाट म माटो भएर जाँदा
हिज खेलेको धरतिबाटै मेरो अर्थी बोकेर जाँदा
तरुणी कुनै विधवा झैं सारै अधुरो भएर
सायद मेरो प्रीतिको जून ताराले
कतै कुनै हृदयको बास माँग्न आउनेछ।
मृत्युपछिको कल्पना र भावनालाई यति सुन्दर ढंगले व्यक्ति गर्नु नोरदेन दाईको खुबी हो। यही गीतको अर्को अन्तरा यस्तो छ—
रङ्गभूमिमा घाम छाँयाको भूमिका मेरो सकेपछि
रोकिएको साजसितै फेरि पर्दा खसेपछि
मैंले छोड़ेका बेसाहारा सबै सत्यहरू
सायद कुनै ढोकामा विश्वास माँग्न आउनेछ।
यो गीत अति गहन र गहकिलो छ। यस्तो गीतको धून भर्न र सङ्गीत तयार पार्न ठूलो दायीत्व पनि आईपर्छ।
अब त हामी यस्तो मोडमा आइपुगेका छौं, जहाँ हामीलाई लोकप्रियताको रहर आवश्यकता पनि छैन। गोपाल दाई भन्नु हुन्थ्यो, इमान्दार भएर परिश्रम गर अनि तिम्रो त्यो परिश्र्म र पसिनाको परिणाम नै तिम्रो इनाम हो। हामी अहिले त्यही मोडमा पुगेका छौं। हामीलाई गीत गाएर प्रसिद्धि कमाउनु केही छैन। आउँदो पिढी, समाज र प्रबुद्ध व्यक्तिहरूलाई केही दिन सकौं, यही नै हाम्रो चाहना हो। त्यसैमा अहिले हामी लागिपरेका छौं। अहिलेसम्म भगवानको दयाले गाउन सकिरहेको छु।
प्रश्नः हाम्रो कालजयी गीत-सङ्गीतलाई संरक्षित राख्न ठुलो स्तरमा डिजिटलाईज गरि आर्काइभ तयार पार्ने जस्ता पहलहरू हुनपर्ने हो। तपाईँको बिचार ?
उत्तरः हो यो अति आवश्यक छ। नेपालतिर त यस्तो पहल सुरु गरेको छ, त्यहाँ स्कप पनि छ तर यता दार्जीलिङ्गमा यस्तो पहल छैन।
प्रश्नः नयाँ पिढीलाई के सन्देश दिन चाहनु हुन्छ ?
उत्तरः नयाँ- नयाँ कलाकारहरू राम्रा-राम्रा छन्। उनीहरुले ध्यान राख्नपर्ने कुरा के हो भने सङ्गीत सङ्गीतकै लागि हुनपर्छ, गीतमा मेलोडि हुनपर्छ, मिठास हुनपर्छ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



