नारायण गोपाल दार्जीलिङ्ग पसेपछि के के भए ?

फर्केर नारायण गोपाललाई हेर्दा

जे.के.बराईली
नयाँ दिल्ली, भारत

नेपाली गीत-सङ्गीतको इतिहासलाई अध्ययन गर्दा धेरै अघि नपुगेर विक्रम सं. २००७ मा रेडियो नेपालको स्थापना कालदेखिकै कुरा मात्र गर्नु हो भने पनि त्यसबेलासम्म हिन्दी गीतहरूकै बोलाबाला थियो। गाउनेहरू हिन्दी गीत नै गाउँथे। प्रेमध्वज प्रधान लगायत कतिपय गायकहरूले रेडियो नेपालमा स्वर परिक्षा दिँदासमेत हिन्दी गीत नै गाएका थिए। रेडियोमा स्वर परिक्षा दिन आनेकाने र टालमटोल गरिरहेका नारायण गोपाललाई प्रेमध्वज प्रधान र माणिक रत्न लगायतका साथिहरूले तानेर रेडियो नेपाल पुऱ्याएका थिए। उनले भने हिन्दी गीत गाउने परम्परा तोड़ेर राममान तृषितको शब्दरचना गाएर स्वर परिक्षा दिए अनि उतीर्ण भए। रेडियो नेपालबाट उनको गीतहरू बज्न थालेपछि नै अचानक उनी चर्चामा आउन छालेका हुन्, जनमानस माझ।

नेपाली जगतका यीनै सर्वप्रिय, सर्वोर्त्कृष्ट गायक नारायण गोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला सन्तानको रूपमा भएको थियो। उनका पिताजी आशागोपाल गुरुवाचार्य एक नामुद सङ्गीतकार तथा उस्ताद हुनुहुन्थ्यो र नारायण गोपाल पनि शास्त्रिय गायनतर्फ ढल्कियोस् भन्ने उनको इच्छा थियो तर त्यसको विपरित नारायण गोपाल भने सुगम सङ्गीततर्फ लहसिन पुगे।

सर्वप्रथम उनले वि.सं. २०१७ सालमा आफ्नो कलेजको समारोहमा दुइटा गीत गाए। ती दुई गीत थिए ‘स्वर्गकी रानी’ र ‘आँखाको भाखा आँखैले’। यी गीतहरूलाई त्यस समय सबैले खुबै मनपराए र उनको सराहना गरे। त्यहीँदेखि उनको उत्साह अझ बढ़ेर गयो। त्यसपछि विभिन्न अड्चनहरू आए तापनि उनले कहिल्यै पछि फर्केर हेरेनन्।

उनले गाएका सुरूआतकालका गीतहरूका सूचीमा ‘आँखाको भाका आँखैले’, ‘मधुमास यो दिलको बाग नफुलिकन’ ‘ म भोरका किरण हुँ’, स्वर्गकी रानी मायाकी खानी’, ‘भो भो नसोध मलाई’, ‘कुञ्जमा गुञ्जियो’ आदि गीतहरूलाई लिन सकिन्छ। यीमध्ये अधिकांश गीत रचना रत्न शम्शेरका थिए। यीमध्ये कतिपय गीतहरु हिन्दूस्तानी, पाश्चात्य रक तथा पप शैलीमा थिए।

यी सबै गीतहरूका कारण नारायण गोपाल त्यसै समय अति नै चर्चित बनिसकेका थिए। घर-घरमा रेडियो नेपाल नै सुन्ने दार्जीलिङ्गका नेपाली सङ्गीत प्रेमीहरूका मन मस्तिष्कमा पनि नारायण गोपालको गायनले खुल्दुली मच्याइसकेको थियो। यहाँका मानिसहरूले उनको स्वर र गायनलाई एउटा परम्परालाई तोड्दै अर्कै नवीन परम्पराको सुत्रपातको रूपमा लिए, जहाँ माधुर्यता र मेलोडीले भरिएको एक नयाँ शैलीको प्राचुर्यता थियो।

बराईली

यहाँ मेरो आफ्नै अनुभव पनि लेख्न मन लाग्यो। म त्यस समय विद्यार्थी अवस्थामा थिएँ। मनोरञ्जनको साधन भनेको रेडियो मात्र थियो। घरमा पिताले मल्टिब्याण्डको बूश रेडियो ल्याउनु भएको थियो। परिवारमा हामी रेडियो नेपालबाट बज्ने नेपाली गीतहरू र फर्माईसी कार्यक्रमहरू निमग्न भएर सुन्ने गर्थ्यौं। धेरै गायक/गायिकाहरूका गीत निरन्तर सुनिएको हुनाले गीत सुन्ने बित्तिकै गीतको गायक/गायिका को हुन् त्यो थाहा लाग्यो। एक दिन यसरी सुन्दै गर्दा अचानक एउटा अति मिठो गीत बज्यो। गायकको स्वर अति नौलो र अति नै मनमोहक लाग्यो। गीत सुन्ने बित्तिकै झ्वाम्मै मोहनी लाग्यो। गीतको सुरूमा उद्घोषकले गायकको नाम के बताए त्यसमा मैंले उति ध्यान दिइनँ रहेछु तर गीत बज्न थालेपछि गायकको स्वर र गीतको मिठासले मेरो मनलाई ट्याप्पै समाउन सक्यो। त्यो कुन गीत थियो, मेरो स्मरणमा रहेनँ। तर त्यो गीत फेरि सुन्ने तिर्सनादेखि भने म पटक्कै उम्कनु सकिनँ।

समय केही बितेको थियो, दार्जीलिङ्गको सिनेमा हलमा नेपाली फिल्म ‘परिवर्तन’ चल्न थाल्यो। शहर मात्र होईन तर गाउँ बस्ती र चिया कमानतिरबाट पनि मानिसहरू ओईरो खनिन थाले फिल्म हेर्न। आफू पनि साथीहरुसित त्यो फिल्म हेर्न गएँ। फिल्ममा एउटा गीत थियो—
“बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो”

यो गीतमा गायकको स्वरको गुणस्तर, गायन क्षणता र गीतमा भएको मिठासले दार्जीलिङ्गका सङ्गीत प्रेमी युवाहरूलाई यति कसिलो मोहनी लगायो कि त्यसको वर्णन गरेर साध्य छैन। फिल्म हेरेपछि यताका गायक/गायिकाहरूदेखि सबै सङ्गीत प्रेमीहरूका मुख मुखमा यही गीत अल्झिन पुगेको देखियो। लामो बाटो तय गरेर स्कूल जानुपर्ने गाउँ घरका स्कूले विद्यार्थीहरू पनि खुबै मिठो मानेर जानि नजानि यही गीत गुन्गुनाउँदै हिँड़्न थाले।

यति उत्कृष्ट गीतको पछि पनि एउटा घटना रहेछ। वास्तवमा चलचित्र परिवर्तनमा पहिले यो गीतलाई शामेल गर्ने कुनै योजना थिएन रहेछ।

वि.सं २०२५ सालमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा ‘बहिनीको दया छ भने’ भन्ने गीतमा कोरस गायकको रूपमा मात्र नारायण गोपाललाई राखिएको थिएछ। तर गीत रेकर्ड गर्न कलकत्ता जाँदा नै नारायण गोपालले यो कोरसमा मात्र हो भने म गाउँदिन, मेरो लागि एउटा छुट्टै सोलो गीत पनि हुनपर्छ तब मात्र गाउँछु भनेर शर्त तेर्साउनु भएछ।

“यो कुरा पहिला नै किन नभनेको? अहिले अप्ठ्यारोमा पार्ने? अब तिम्रा लागि कहाँ सोलो गीत शामेल गर्ने? पटकथा संवाद कसरी मिलाउने?” भन्दै गीतकार चेतन कार्की रिसाएका पनि थिएछन्। तर आफ्नो आत्म सम्मानको अघि पटक्कै सम्झौता नगर्ने, एकोहोर तथा जिद्दी स्वभावका नारायण गोपाल पनि शर्तमा अडिग बसेछन्। अन्ततः निर्देशक हीरासिंह खत्रीसँगको छलफलपछि नारायण गोपालकै लागि कार्कीले केही घण्टामै एउटा गीत रचना गर्न वाध्य हुन परेछ। एउटा कायजली गीतको जन्म यसरी भएछ। चलचित्रमा शामेल गर्न पहिले योजना नै नभएको तर नारायण गोपालको ढिप्पीले मात्र लेख्न र रेकर्ड गर्न अनि फिल्ममा शामेल गर्न वाध्य हुन परेको गीत अन्ततः यस्तो मास्टरपिस बनिन गयो, जसले चलचित्रमा नै सूनमा सुगन्ध थपिदियो।

मुटु मुटुमा गीत बनी भरिन सक्छु म
अधर अधरमा प्रित बनी छरिन सक्छु म
दोहोऱ्याएनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरौ
बुझ्नै सकिनौ तिमीले

साँच्चै यो एउटा बेग्लै धारको अति विशिष्ट गीत बन्यो। सबै चकित बने। नेपाली श्रोताहरूले यो गीतलाई यति धेरै मन पराए कि वर्णन गरेर साध्य छैन। अझै पनि यो गीतलाई जति सुन्यो उति सुनौं जस्तो लाग्छ। नारायण गोपाल स्वयंलाई पनि अति मन परेको गीत बन्यो यो। चर्चित गायक प्रवेशमान शाक्यले नेपाली चलचित्रको एक मानक गीत भनी मुक्तकण्ठले प्रशंसा गरे यो गीतको।

दार्जीलिङ्ग प्रेवशः

सुमधुर स्वरको साथ साथै अति ‘हाई नोट’ देखि अति ‘लो नोट’-सम्म सहजै स्वर खेलाउन सक्ने विलक्षण स्वर र गायन क्षमताले सम्पन्न नारायण गोपाल दार्जीलिङ्ग पुग्नभन्दा पहिले नै नेपाली गीत-सङ्गीतको क्षेत्रमा चर्चाको विषय बनेका थिए। भनौ आफ्नो उत्कृष्ट गायनको कारण सबैभन्दा कर्णप्रिय गायकको रूपमा ख्याति कमाइसकेका थिए तर दार्जीलिङ्ग पसेपछि गोपाल योञ्जनसितको संसर्गपछि त झन उनले आफ्नै करियरलाई नयाँ मोड़ दिन सके। गोपाल योञ्जनका शब्दरचना र कम्पोजिशनका अर्कै धारका सुमधुर गीतले अब उनी नेपाली जनमानसमाझ देखा पर्न थाले। उनको स्वर र गायनमा नेपाली जनमानस अझै बढ़ी मोहनीमा झुम्न थाले। गोपाल योञ्जनसित भेटघाट भएपछि, दुवैको मितेरी साईनो स्थापनापछि योञ्जनद्वारा रचिएका र सङ्गीतबद्ध एक एक उत्कृष्ट गीतहरूले नारायण गोपाल र गोपाल योञ्जन दुवैलाई जनमानसको मुटुमा विशेष सम्माजनक स्थान दिलाउन सफल भयो।

अब चर्चा गरौं, नारायण गोपाल दार्जीलिङ्ग कसरी कहिले पसे अनि त्यसका सुपरिणामहरू के के भए।

साठीको दशकमा सामान्य मानिसहरूका लागि मनोरञ्जनको साधन भनेको रेडियो नै थियो। उनी ‘स्वर्गकी रानी’, ‘भो भो नसोध मलाई’, ‘आँखाको भाका आफैले’ आदि गीतहरूले चर्चाका चुली पुगेका थिए। रेडियो नेपाल नै सुनेर नेपाली गीतहरूको रसास्वादन लिने दार्जीलिङ्गको सङ्गीत प्रेमी मानिसहरूले अचानक नारायण गोपालको गीतहरूमा मनलाई नै चट्ट छुने एउटा नयाँ आकर्षण पाएका थिए। यति राम्रो स्वरका धनी नारायण गोपाल भन्ने गायक वास्तवमा कस्ता रूप रंगका होलान् भन्ने र उनलाई देख्न पाए पनि हुन्थ्यो भन्ने तिर्सना सबैको मनमा थियो। नारायण गोपाल दार्जीलिङ्ग आउनुभन्दा पहिले नै उनका अनन्य प्रसंशकहरूमध्ये केहीसित उनको पत्र व्यवहार पनि चल्दोथिएछ। यस्तै प्रसंशकहरूमध्ये एक थिएछन् सिक्किमका गायक उही बी.बी.सुब्बा, जसले कुमार सुब्बाको साथमा साठीको दशकको अन्त्यमा नै ‘कसको जोबन अल्झिएछ चाँप गुराँसमा’ अनि ‘आकाशैको बादलु उड़ाई लग्यो बतासैले’ बोलको गीतहरू गाएर ख्याती कमाएका थिए। ईश्वर बल्लभ पहिले नै दार्जीलिङ्ग आईसकेका थिए र यही ठाउँमा शिक्षण पेशामा संलग्न भइ सकेका थिए। यसो हुनाले कहिले दार्जीलिङ्ग कहिले नेपाल ओहोर दोहोर गरिरहने बल्लभलाई बी.बी. सुब्बाले नारायण गोपालको ठेगाना मागेका रहेछन्। ठेगाना पाएपछि सुब्बा र नारायण गोपालबीच धेरै पत्र व्यवहार पनि चलेको थिएछ, जुन पत्रहरूका केही खेस्रा उनले सिक्किमबाटै प्रकाशित हुने स्तरीय पत्रिका ‘स्रष्टा’- को वर्ष ३० अंक ६१ मा ‘नारायण गोपालः धमिलो सम्झना’ शिर्षकको आफ्नो लेखमा उल्लेख गरेका छन्।

सुब्बाज्यूकै भनाइमा, सन् १९६५ को वर्ष, दशैं आउनुभन्दा केही समय पहिले दार्जीलिङ्गमा सामान्य जाड़ोको दिन अचानक उनको भेट भएछ ईश्वर बल्लभसित। निकै हतारमा थिएछन् बल्लभ दाई। भेट्नसाथ बी.बी.लाई भनिहालेछन्— “मैंले भाईलाई नै खोज्दै थिएँ, भेट भयो राम्रो भयो। हिजो मेरोमा नारायण गोपाल आउनु भएको छ, भाईलाई सोध्दैथिए।”

यो खबर पाएपछि बजारको काम सिध्याएर हतार हतार आफ्नो साथी नन्द हाँङखिमसित सुब्बाज्यू बल्लभदाई कहाँ पुगेछन्। नारायण गोपाल आउनु भएको छ भन्ने कता कता सुँइको पाएपछि ‘नौलाख तारा उदाए’ गीतले उसै बेला चर्चित बनिसकेका कवि तथा गीतकार अगमसिँह गिरी पनि पानी झरीमा समेत लुथ्रुक्क भिजेर बल्लभकहाँ पुगेछन्। यो पहिलो खुशीयालीपूर्ण क्षणमा बी.बी.सुब्बा, नन्द हाँङखिम र अगमसिहं गिरी र नारायण गोपालबीच के के कुराकानी भए त्यसको बखानतिर नलागेर नारायण गोपालको दार्जीलिङ्ग भ्रमणको परिणामतर्फ लागौं।

कुराकानीको क्रममा अगमसिहँ गिरीले नारायण गोपालाई अलिक दिन बस्नु हुन्छ होला नी भनि प्रश्न गर्दा “होईन केही हतारमा छु, भोली फर्कीहाल्न पर्ला” भन्ने उत्तर दिएछन् नारायण गोपालले। फर्किहाल्ने योजनाले आएका नारायण गोपाललाई अगमसिहँ गिरीले भनेछन्- “हुँदैन हुँदैन नारायण गोपालज्यू, तपाईँ जाइहाल्नु सक्नुहुन्न। दार्जीलिङ्गभरि हल्ला भइसकेको छ। यहाँकाहरूले तपाईँलाई जान दिने होईनन्।”

नभन्दै नारायण गोपाललाई झट्टै फिर्न दिइएन रहेछ। दुई दिन पछि सबै तयारी गरि उहाँको स्वागतार्थ भव्य कार्यक्रमको आयोजन गरिएछ। कार्यक्रम यति भव्य भएको थिएछ, हल खचाखच थिएछ। मानिसहरूले बस्ने ठाउँ नपाएर बीच बीचको सानो खाली ठाउँमा समेत दर्शकहरूलाई बस्ने व्यवस्था गर्नु परेको रहेछ। दर्शकहरूको भीड़लाई सम्हाल्नु चर्को परेको रहेछ।

यसरी नारायण गोपाल दार्जीलिङ्ग आउन थालेपछि त्यसबेला आफ्नो गायन र सङ्गीतको करियर सुरू गरिसकेका गोपाल योञ्जनसित उनको भेट भयो, सानिध्य बढ़ै गयो। आफै उत्कृष्ट गीत लेख्न सक्ने, सङ्गीत भर्न सक्ने र गाउन सक्ने तीनै क्षमताका धनी गोपाल योञ्जनलाई एक उत्कृष्ट गायकको खाँचो थियो भने नारायण गोपाललाई एक सुदक्ष सङ्गीतकारको खोजी थियो। दुवैले एका अर्कालाई पाए। यी दुईको मेलजोललाई दह्रिलो बनाइदिन सके झन राम्रो होला भनि सोच्ने दूरदर्शी ईश्वर बल्लभले दुई बीच मीत नै लगाइदिए। यसरी मीत लाएर मितेरी साईनोले बाँधिएका नारायण गोपाल र गोपाल योञ्जनका जोड़ीबाट जे जति अजम्बरी गीतहरू नेपाली सङ्गीत जगतले पाउन सक्यो त्यो एउटा सिङ्गो अध्याय नेपाली गीत सङ्गीतको इतिहासमा कहिल्यै नमेटिने गरि दर्ता छ। दुवैको मितेरी साईनोबाट अब अति राम्रा-राम्रा गीतहरू जन्मनु थाले, जसले नेपाल र दार्जीलिङ्गको कुना कन्दरासम्म सङ्गीतमय बनायो। नारायण गोपालको स्वर र गायनले गोपाल योञ्जन चर्चामा आए अनि गोपाल योञ्जनको गीत र सङ्गीतले नारायण गोपाल झनै यशको शिखरमा पुगे।

‘सारा दिन अरुलाई बाँडे’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मलाई जिन्दगी यो लाग्दछ’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’, ‘ए मलाई माया गर्छु भन्ने हजुर’, ‘केही चोटले ज्ञानी हुन्छ’, ‘गल्ती हजार हुन्छ’, ‘चुमेर पानाभरि’, ‘जीवनको हरेक मोडमा’, ‘जीवनदेखि धेरै धेरै नै थाकेर’, ‘तिमी एक फूल हौ भने’, ‘तिमी देऊ या नदेऊ तिम्रो पिरती’, ‘तिमी देख्दा रहर होला लागेर आउँछ’, ‘देशले रगत मागे’, ‘म कसरी भनूँ यो माया हो’, ‘मलाई माफ गरिदेऊ’, ‘मेरो गीत मेरै प्रतिविम्व होइन’, ‘मेरो जोबन लैजाऊ’, ‘यति चोखो यति मिठो’, ‘यहाँ बाँच्ने हर जिन्दगीलाई’, ‘शिखर भने कहाँ, ‘सबलाई रिझाऊँ भन्दा’, ‘हिमालसरी म अग्लिरहेछु’ लगायत अन्य थुप्रै थुप्रै अति मनमोहक र कर्णप्रिय विभिन्न धार र भाव भङ्गीमाका गीतहरू हामीले निश्चय नै नारायण गोपालको आवाजमा सुन्न सक्नेथिएनौं, यदि उनी दार्जीलिङ्ग नआएका भए, यति गोपाल योञ्जनसित उनको संसर्ग नभएको भए। यो एउटा छुट्टै अध्याय हो।

नेपाली गीत सङ्गीतको फाँटमा गोपाल योञ्जन र नारायण गोपालको मितेरी साईनोबाट सृजना भएका अति उम्दा उम्दा गीतहरूले नेपाली गीत सङ्गीतलाई सँधै नै प्रतिनिधित्व गरेको छ। मलजल छरेर हरियोभरियो राखेको छ। यी दुवैका अवसानपछिका नयाँ पिढ़ीले उनीहरूबारे धेरै केही जान्दैनन् तर यी नयाँ कलाकारहरूका मुख मुखमा उनीहरूकै गीत अल्झेको हुन्छ, अल्झिरहने छ। उनीहरूका गीत गाएरै उनीहरू प्रेरणा लिन्छन्, स्वर साधना गर्छन्।

नारायण गोपालको स्वरमा त्यस्तो विशिष्टता भेटिन्छ, जुन अरू नेपाली गायकहरूमा पाउन सकिँदैन। उनको गायकीमा नितान्त भिन्न प्रकारको मेलोडी पाइन्छन्। उनको भ्वाइस टेक्स्चर पनि त्यत्तिकै मीठो छ। जो कोही गायक/गायिकाले भ्याउन नसक्ने ‘लो नोट’-देखि ‘हाई नोट’-सम्म खेल्नसक्ने उनको स्वर रेन्जलाई अरुसित तुलना गर्न पटक्कै सकिँदैन। उनको कुनै पनि गीत सुन्दा श्रोताका कानमा कुनै मीठो चीज हालिदिए जस्तो छ अनुभूत हुन्छ।

तीन कुराले नारायण गोपाललाई अरूभन्दा भिन्न र विशिष्ट तुल्याएको छ। उनले गाएका शब्दहरू सबै उमेर समूहका श्रोतालाई छुने खालका छन्। अर्को कुरा, कुनै पनि गीतकारको गीत आफूलाई ठीक लाग्यो भने मात्र उनी गाउँथे साथै आफूले गाउन लागेका शब्दको सामर्थ्य बुझेर मात्र उनी गाउँथे। गीतमा उपयुक्त बाजाहरूको छनोट गर्न सक्नु उनको अर्को विशेषता थियो।

नारायण गोपाल यति लोकप्रिय हुनुमा गोपाल योञ्जनसँगको उनको सुरुआती सहकार्यले पनि काम गरेको हो। गोपाल योञ्जनसँग संगीतको बलियो सैद्धान्तिक ज्ञान थियो। उनीहरूले पश्चिमा बाजाहरूको प्रयोग पनि नेपाली तरिकाले गरेका छन्। उनीहरूका गीतहरूमा पनि स्याक्सोफोन, ड्रम जस्ता बाजा बजेका छन्, तर नेपाली मौलिक मेलोडीमा। नारायण गोपालका गीतमा वेस्टर्न क्लासिकल म्युजिकका सिम्फोनिक इलिमेन्टहरू भेटिन्छन् तर ती नेपाली मौलिकतामै छन्।

हाम्रो गीत-संगीतको क्षेत्रबाट नारायणगोपाल र उनका सृजनाहरूलाई झिकेर हेऱ्यौं भने एउटा ठूलो रिक्तता सृष्टि हुनेछ। गीत-सङ्गीतको फूलबारीबाट राम्रा राम्रा फूलहरू विलिन भएर गए जस्तो हुनेछ। त्यो शक्ति र सामर्थ्य देखिन्छ नारायण गोपाल र उनको सृजनामा।

यति महान कलाकारको अन्त्य भयो, विसं २०४७ साल मंसिर महिनाको १९ गतेका दिन राति ९ बजेर २५ मिनेट जाँदा काठमाडौमा। उनका सैयौं गीत र सङ्गीतले उनलाई अजम्बरी राखेको छ। जति सुने पनि सुनिरहूँ जस्ता लाग्ने उनका गीतहरूले गर्दा नारायण गोपाल जिउँदै छन् कि जस्तो हामीलाई लागिरहन्छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button