जिन्दगीमा एकपटक त क्रुजको अनुभव लिनुपर्ने रहेछ

क्रुजको यात्रा

ज्ञानहरि घिमिरे

दशौं बर्षदेखिको तिब्र चाहना बल्ल पूरा हुँदै थियो। लामो धैर्यतापछि क्रुज (ठूलो पानीजहाज) को यात्रा सार्थक हुँदै गर्दा हाम्रो खुट्टा भुइँमा थिएन। सन् २०२४ को गर्मी सुरू हुँदै गर्दा जुन महिनाको ११ गते हामी पाँच परिवारका सत्र जना क्रुज यात्रामा निस्कियौं बाल्टिमोरबाट न्यूजर्सीको क्याप लिवर्टी क्रुज पोर्टसम्म।

हामीलाई कुरेर बसिरहेको सत्र तले ठूलो क्रुज देखेर हाम्रा केटाकेटीहरू निकै खुसी भए। एटलान्टिक समुन्द्रको बिचमा न्यूयोर्कतर्फ स्ट्याच्यू अफ लिवर्टीको सालिक ठिङ्ङ उभिएको देखेर हामीले केही फोटा र भिडियोहरू बनायौं।

क्रुजभित्र छिर्दै गर्दा हामीसँगै अरूहरू पनि खुसीले निकै हौसिएका देखिन्थे। हामीले लिएका आठवटा कोठाहरू कुनै क्रुजको पछाडि कुनै अगाडि अनि छैठौं, सातौं र आठौं तल्लामा परेकाले आफ्नो मान्छेहरू भेट्टाउन मुस्किल पर्दोरहेछ। एक त फोन नलाग्ने अर्को पाँच हजारभन्दा बढी मान्छेहरूको भिडमा हामी धेरैपटक हरायौं र पछि कुनै न कुनै मोडमा टुप्लुक्क भेटियौं पनि। पहिलो दिनमा हाम्रा कोठाहरू पत्ता लगाएर सामान राखेपछि हामी रमाइलो गर्न सुरु गरिसकेका थियौं। भजन गाएर चौधौं तलामा नाच्दै हिडिरहेका हामी देखेर विदेशीहरू पनि हामीसँगै कम्मर मर्काइ मर्काइ नाच्न आए। क्यानडाको हेलिफ्याक्स सहरतर्फ २५-३० माइल प्रतिघण्टाको गतिले हिंडिरहेको हाम्रो क्रुजमा न त फोन लाग्थ्यो, न कुनै जमिनको भूभाग नै देखिन्थ्यो। हामी दुनियादेखि टाढा थियौं। दुनियामा के घटना घटिरहेको छ हामीलाई ज्ञान थिएन। बस् हामी त्यहीं हराएका थियौं, रमाएका थियौं।

दोस्रो दिन बिहान मेरी श्रीमती शर्मिला र म ब्रेकफास्ट गर्न लाइनमा उभिएका थियौं। हामीले माउन्ट एभरेष्टको रातो टिसर्ट लगाएका थियौं। एउटी गोरी बुढीआमा हाम्रो नजिकै आइन् र माउन्ट एभरेष्ट नियाल्दै हामीलाई भनिन् “हामीले किताबमा मात्रै पढेका थियौं माउन्ट एभरेष्ट। के तिमीहरू नेपालबाट आएका हौ?” मैले हो हो भनेर टाउको हल्लाएँ। उनी अत्यन्तै उत्सुक भइन् । वरपरका उनका मान्छेहरूलाई बेलाइन् र हामीलाई देखाउँदै भनिन् “उनीहरू नेपालबाट आएका हुन्। हेर त माउण्ट एभरेष्ट।” आफ्नी नातिनीलाई पनि संझाइरहेकी थिइन्। “के तिमीहरूले माउन्ट एभरेष्ट चढेका छौ?” बुढीआमाको कुतुहलता रोकिएन। “माउन्ट एभरेष्ट चढ्न त के, बेसक्याम्पसम्म पुग्न पनि निकै गाह्रो हुन्छ। तर एकदिन बेसक्याम्प सम्म पुग्ने बिचार गरेको छु।” मैले पनि गफ लगाइदिएँ। एकैछिनलाई भएपनि सेलिब्रेटी भइयो र आफ्नो देशको बारेमा अरूलाई बताउन पाउँदा खुसी पनि लाग्यो।

आज हामीले पौडी खेल्ने योजना बनायौं। तातो पानीका कुण्डहरूमा खेल्दै गर्दा फनी डान्स प्रतियोगितामा पनि भाग लियौं। बिभिन्न महादेश, देशका खानाहरू बिभिन्न टेबुलहरूमा सजाइएका थिए। हामीले प्लेटमा खाना लिंदै, चाख्दै समय बितायौं। साँझतिर जादु जस्तै खेलहरू देखाए, नाटक र फिल्महरू पनि हेरियो। कुनै स्टलमा गायक गायिकाहरूले गित गाइरहेका थिए। कतै हामी नाच्न पनि पुग्यौं। गज्जबै रमाइलो भयो। रातिको डिनरमा नर दाहाल जीको छोरा निकोलसको जन्मदिन मनाउँदै केक काटेर रमाइलो गर्यौं।

तेस्रो दिन बिहान बाहिरतिर हेर्दा केही पर जमिनका थुम्काहरू देखिए। क्यानडाको हेलिफ्याक्स सहर नजिक आउन थालेछ भन्ने लाग्यो। जब जब पोर्टको नजिक आइयो, तब तब दुई दिनदेखि बज्न छोडेको फोन बज्न थाल्यो। फोनको नेटवर्कले टावर भेटायो। हामी पुनः दुनियासँग जोडियौं।

मेरो भतिज विश्वास, बुहारी सुष्मा र नातिनी नजिकैको सहरमा बस्थे। हामीलाई भेट्न बिदा मिलाएर आएका थिए। शर्मिला र सुष्मा सासु-बुहारी एक अर्काले पहिलोपल्ट मुख हेराहेर गरे। त्यो दिन हामी सँगै बसमा चढेर केही स्थानहरू घुम्यौं। अप्रिल १४-१५, १९१२ मा टाइटानिक पानीजहाज डुबेको घटनाको बारेमा र मरेका व्याक्तिहरूको चिहान जानकारी र अवलोकन गरियो। फोटाहरू र भिडियो नबन्ने त कुरै भएन। साँझतिर विश्वासहरुलाई बिदाइ गर्दै हामी क्रुजमा फर्कियौं ।

अरू दुई दिन पनि न्यूजर्सी फर्कने क्रममा दुनियासँग सम्वन्ध विच्छेद भएपनि अनेक किसिमका रमाइला कार्यक्रमहरु क्रुजभित्रै भए। सकेजति रमाइलो गरियो। अन्तिम दिनमा महिलाहरूले केही केही कुराहरू संझना स्वरूप सपिङ पनि गरे।

समग्रमा यात्रा निकै अविस्मरणीय भयो। त्यति धेरै यात्रीलाई व्यवस्थापन गर्न सजिलो थिएन। तर तिनीहरू पारंगत थिए। सबै सही तरिकाले सम्पन्न भयो। सम्भव भएसम्म जिन्दगीमा एकपटक त क्रुजको अनुभव लिनुपर्ने रहेछ भनेर हामीले अनुभव गर्यौं।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button