गीतको त कुरै छोडौँ, समाचारमा समेत नाच्ने ममिता छुटेको ‘जेभियर्स’ यात्रा

शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ

कुनै स्थान विशेषको भ्रमणमा निस्किनु केवल मनोरञ्जनका लागि मात्रै होइन, त्यसबाट धैरै कुरा थाहा पाउन सकिन्छ । भौगोलिक बनावट, चालचलन, हावापानी, स्थानीय उत्पादन, स्थानीय भाषा लगायतका कुरासँग साक्षात्कार गर्ने अवसर मिल्छ । यी र यस्तै विषयलाई मध्यनजर गर्दै रमणीय स्थान घुमेर बिदाको सदुपयोग गर्ने उद्देश्यले हामी ‘जेभियर्स परिवार’ यही १० गते सोमबार (कृष्णजन्माष्टमी)का दिन इलामको पाथीभरा मन्दिर (सानो पाथीभरा), कन्याम जान तयार भयौँ, जसका लागि बिहान ५:३० को समयमा विद्यालय परिसरमा सबैलाई उपस्थितिका लागि पूर्व जानकारी गराइएतापनि टङ्की चोकबाट ६. १५ भएपछि मात्रै हामी यात्राका लागि निस्कियौँ । एक्लै फुत्त हिँडे जस्तो समूहमा पक्कै पनि हुँदैन । के के गर्दागर्दै, को कसलाई पर्खिँदा, लस्याङलुसुङ गर्दागर्दै घडीले सवा छ बजाइहाल्यो । पुष्पलाल चौकबाट बाँकी मेमहरू चढेपछि भने हाम्रो यात्राले गति लियो ।

त्यस यात्रामा सर, मेम, अन्य कर्मचारीहरू, चालकदलका सदस्य लगायत जम्माजम्मी छब्बिस जना थियौँ‌ । साना नानी बाबू पाँचजना थिए । तिमध्ये रिदिमा निरौला नानी अन्ताक्षरीका लागि खप्पिस ! दुई चार जना सर मेम भने आ-आफ्नै कार्यव्यस्तताले अनुपस्थित रहनुभयो । रमाइला सहकर्मीलाई ‘मिस’ गर्यौं, त्यस दिन । गीतको त कुरै छोडौँ, समाचारमा समेत नाच्ने ममिता गुरुआमाको निकै अभाव खट्कियो, विशेष गाडीभित्रको यात्रामा ।

कहिले अन्ताक्षरी खेल्दै, कहिले गाडीभित्रैको नृत्यमा रमाउँदै हाम्रो यात्रा अघि बढिरह्यो । अन्ताक्षरी खेलमा कुनैबेला रिदिमा नानी र चालक, सहचालक भाइले हाम्रो समूहलाई सहयोग गर्नुहुन्थ्यो । नाचेर नथाक्ने सञ्जु बहिनी, गायत्री मेम अनि अन्ताक्षरी गाउन खप्पिस दिपा मेमको सुन्दर प्रस्तुतिबाट सबैले भरपूर मनोरञ्जन लियौँ । गायनका लागि उपयुक्त स्वर नभएतापनि ‘कराए गीतै हो, उफ्रिए नाचै हो’ भन्ने लोकोक्तिलाई आत्मसात गर्दै स्वर मिसाउने काममा त म पनि पछि हटिनँ ।

यात्रा अघि बढ्ने क्रममा आठ बजेर तीस मिनेटको समयमा हामी झापाको चारआलीमा पुग्यौँ । त्यहाँ शौचको लागि गाडी केही समय रोकिएपश्चात नौ बजेतिर झापाकै बुद्धशान्ति भन्ने ठाउँमा चिया पिउनका लागि गाडी रोकियो तर दुध सकिएको कुरा होटेलवालाले बताएपछि हामी पुन: अघि बढ्यौँ ।

झापा छोडेर इलाम प्रवेशसँगै तराईको फाँटबाट पहाड उक्लिँदा छुट्टै आनन्द महशुस भयो । एकैछिन अघिको पसिनालाई चिसो हावाले स्पर्श गर्दा कस्तो आनन्द !

तराईको गर्मीले भुतुक्क भएका हामी चिसो हावामा रमाउन पुग्यौँ, अन्ताक्षरीको रमाइलो त छँदै थियो । गाडीको झ्यालबाहिरका दृश्य नियाल्दै जाँदा कोही बारीमा जोत्दै गरेका देखिन्थे कतै अम्लिसो लहलह देखिन्थे । बारीमा जोत्दै गरेका किसान देख्दा मलाई जन्मघरको सम्झना आयो ।

यात्रा अघि बढ्ने क्रममा लगभग साँढे नौ बजेतिर ‌ इलामको रोङ गाउँपालिका-४ ‘जोरकलश’ भन्ने ठाउँमा चिया, खाजाका लागि गाडी रोकियो । हामी दुई जनाबाहेक सबै ओर्लिनुभयो । खाजा खाइसकेपछि नौ पैँतालिसमा पाथीभरा मन्दिर दर्शनका लागि फेरि यात्रा अघि बढायौँ ।

मन्दिर दर्शनका लागि उकालो लागेपछि छिटाछिटीसहितको सिरेटो चल्नलाग्यो । आकाश कालो बादलले ढाकेर ठूलै पानी पर्ला झैँ देखिए पनि पानी परिहालेन । उकालो बाटो हिँड्न मौसमले पनि ‌साथ दियो, हामीलाई । समूह समूहमा बाँडिएर अघिपछि गर्दै, कतै थकाइ मार्दै अघि बढिरह्यौँ । करिब पच्चिस मिनेटको हिँडाइपछि मन्दिरमा पुग्यौँ । बाँदरले उपद्रो गर्ला भन्ने छुट्टै पिरलो ।

मन्दिर परिसरमा पुगेपछि हातखुट्टा धोएर आफैँले ल्याएका पूजा सामग्रीका साथ देवीको पूजा गर्यौं । तथापि बलि दिने मन्दिरमा खासै जान मन लाग्दैन मलाई । त्यसो भन्दैमा म नास्तिक चैँ होइन । अदृश्य शक्तिसँग आस्था राख्ने मान्छे म । तर देवी देवताको नाममा पशुपंक्षी रेट्ने चलन चैँ‌ पटक्कै मन पर्दैन मलाई । सायद कृष्णजन्माष्टमी परेका कारण हुनसक्छ, प्राणी रेटिएको देख्नु परेन, मेरालागि अत्यन्तै खुसीको कुरा । संयोग भनौँ, मन्दिरमा विवाह पनि रहेछ । विवाहको गतिविधिलाई क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे, ‘क्यामेरा पर्सन’ ।

केहीबेरको पूजापश्चात तस्विर लिने कार्यक्रम भयो । तत्पश्चात अघि आएकै बाटो ओरालो लाग्यौँ । पच्चिस मिनेटको उकालो बाटो पन्ध्र मिनेटमा झर्यौँ ।

केही बेर पैदल हिँडेर हामी हर्कटे भन्ने ठाउँको ‘होटेल कन्याम इन’ मा दिउँसोको खानाका लागि पस्यौँ । चिसो ठाउँ, भोको ज्यान, खानेकुराका हरेक परिकार त्यस्तै मिठा ! मुसुरोको दाल, बोडीको तरकारी, टमाटरको, गुन्द्रुकको अचार , भातमा एकेक चम्चा घिउ । होटेल साहू उस्तै मिजासिला । सबैको मुखबाट एउटै वाक्य सुनिन्थ्यो, “कस्तो मीठो खाना !” एकजना मेमले चैँ बाहिरफेरको खानेकुराले स्वास्थ्य खराब हुन्छ भनेर फलफूल मात्रै खानुभयो ।

करिब दुई बजेतिर हर्कटेबाट कन्याम जान गाडी चढ्यौँ । गाडी उकालो लागेसँगै चियाका बगानले पाखो हरियै देख्दा स्वर्ग पुगेको आभास भयो । चिया बगान देखेपछि यम बरालको आवाजमा रहेको “बादलुको घुम्टोले इलाम बजार छोपिँदा” गीतको स्थायी भाव मानसपटलमा घुम्नथाल्यो । साँच्चै, हाम्रो देश कति सुन्दर छ । प्रकृतिले भएभरको सुन्दरता यहीँ खन्याएको छ । विडम्बना ! नालायक शासकहरुका कारण देश उजाड बन्दैछ, युवाबिहिन बन्दैछ, वृद्धाश्रम बन्दै छ ।

कन्याम जाने कुरा थाहा पाएलगत्तै मेरी नानीले बिभिन्न जात जातिका पोसाक लाएर फोटो खिच्न अनुरोध गरेकी थिइन् । मलाई त खासै मन थिएन नानीको मन राख्नकै लागि मगर ड्रेस (एक सेटको रु. १५०/-, ३० मिनेटको लागि) लाएर एक दुईवटा फोटो खिचाएँ, अन्य साथीहरुले पनि खिचाउनुभयो । फोटोग्राफर बैनीले बिस मिनेटमै फ्रेमवाला फोटो तयार हुने भनेकाले फोटो फ्रेम गर्न दियौँ तर प्राविधिक कारणले ढिलो भएपछि हामीलाई पनि त्यहाँबाट हिँड्न यसै ढिलो भयो । निकै बेर पर्खिएर फोटो लिएर हामी त्यहाँबाट हिँड्यौं, अधिकांश सर मेमहरु तलतिर हिँडिसक्नुभएको थियो ।

ठाउँठाउँमा फोटो खिच्दै पुन: हर्कटेको कन्याम होटेल इन’ प्रवेश गर्यौँ, खाजा खान । पाँच छ जना साथीहरुले खाजा खानुभएन, बाँकीले थुप्पा खानुभयो, मैले दही च्युरा खाएँ । खाजा खाइसकेपछि त्यहाँबाट दुई चार घर परको पसलबाट ६४०/- को दरले १५ के. जी. नौनी घ्यु किनेर फेरि तरकारी बजारतिर लाग्यौँ । अरुले त धेरै चिज किन्नुभयो, मैले चैँ रु. ३५ मा एक मुठो इस्कुसका मुन्टा घरका लागि कोशेली किनेँ । यताउता अलमल गर्दागर्दै छ बजे कन्यामबाट विराटनगर हिँड्यौँ । गाडीमा फेरि उही रमाइलो गर्दै बिहानकै बाटो फर्कियौँ । पुष्पलाल चौक, ढाट, करैया, बाँसबारी, नेमुवामा सम्बन्धित मेमहरुलाई छोड्दै राती साँढे नौ बजे टङ्कीसिनवारीमा ओर्लिएर घरतिर लागेँ । बाँकी सर मेमहरू विद्यालय पुगेर आ-आफ्नो गन्तब्यतिर लाग्नुभयो होला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button