
यस्तो उपन्यास जसले सुरुदेखि नै पाठकको दिमाग खल्बलाइदिन्छ
नीलम पराजुली
भर्खरै गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’ पढेर सकेँ। मलाई याद छैन कहाँ देखेको थिए यो नाम या कसैको सिफारिस थियो। जे होस, यो किताब मेरो बकेटलिस्टमा थियो। फाइनल एक्जाम सक्काएर पढ्न भनेर ५ थान किताब किनेर ल्याएँ। हुन त किनेर ल्याएर यसरी नपढी राखेको यो पहिलो पटक हो। खैर! बिदा भएर घर आएदेखि नै किताब पढ्न उत्सुक थिए ।
हिजो दिउँसो “चिसो बाफ” को पालो आयो। अनलाइन अर्डर भएकोले किताबबारे केही थाहा थिएन। हातमा लिएर आवरण हेरेँ। मेरो बानी नै छ किताब पुरै नकेलाई विषयवस्तुमा प्रवेश गर्नै सक्दिन। पछाडी पल्टाँए। पढेर एकछिन अन्योलमा परेँ। यो कस्तो कथा वस्तु हो? “मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय …” मन यही वाक्यमा रोकियो। धेरै बेर सोचमा रुमलिएपछी किताब पल्टाएर अघिको वाक्यको विश्लेषण गर्ने प्रयत्न सुरु गरेँ।
कथा आफ्नै गतिमा बग्दैथ्यो। जब कथाकारले बेसमेन्टको व्याख्या सुरु गरे एकाएक दिमाग झस्कियो। पहिलो अध्याय थियो त्यो। मैले किताब बन्द गरेर फेरि त्यो पछाडिको हरफ पढेँ। के त्यो हरफ अनुसारको शारीरिक अवस्था बिग्रदै भन्नुको अर्थ शव थियो? समसामयिक कोलकत्ताको अस्पतालको घटना दिमागमा नआएको होइन। के त्यस्तै कुनै अपराधीक विषयवस्तुमा आधारित कथा हो यो? या शारीरिक अवस्था बिग्रदै भन्नू कुनै रोगले ग्रसित शरीरको विवरण? पुरुष पात्रको मानसिक अवस्था त दुवै केसमा जायज देखिन्छ। आखिर हो के? दिमाग त यहीँबाट हो खल्बलिएको।
जब कथा अगाडि बढ्दै गयो। झन रोचक बन्दै गयो। कथा पहिलो अध्यायले देखाएको भन्दा पृथक मनोरम विषयवस्तुमा प्रवेश गर्दै थियो। बाहिरी मुलुकलाई परिवेश बनाएर रचिएको कथा सबै सामान्य लाग्छन्। त्यो रेस्टुरेन्टमा मुनाले निर्जीव प्लास्टिकको रुखलाई सुन्दर भनेको प्रसङ्गमा बेसमेन्टको रुख नसम्झिएको होइन तर त्यसरी गहिरो नाता हुन सक्ला भन्ने त सोचिन छु।
कथा तबसम्म सामान्य लाग्यो जब ट्रेन स्टेसन खोज्दै गर्दा अमित र मुनाले “एक्स्पेरियन्स द डेथ: नियर डेथ एक्स्पेरियन्स” लेखेको साइन बोर्ड देखे। त्यतिबेला पनि कस्तो अकाल्पनिक कुरा भन्ने मात्र भयो। जब अगाडिको अध्यायमा बुढी औंला दुखेको प्रसङ्ग आयो। मलाई लागेको थियो त्यो शोको साइड इफेक्ट होला त्यो दुखाइ । पक्कै त्यो ठाँउमा एक्स्पेरिमेन्ट स्वरुप मुनालाई केही घोचिएको थ्यो भन्ने लाग्यो। पछि त्यो रोग नै भएर फैलिएको देख्दा सायद अर्थोक नै होला भन्ने भयो। फेरि अमितले त्यो रुखलाई मुना जस्तो देख्नु पनि सार्है मिठो तरिकाको प्रयोग लाग्यो। क्यामब्रिजको त्यो अल्टरनेटिभ लाइफ, मुना एकदिनको लागि सामान्य भएको, प्लोम्यान उडको त्यो रेस्टुरेन्टको जस्तै देखिने तर सजिव रुख, कोरोनाको प्रसङ्ग, मुनाको त्यो निर्जीव रुखप्रतीको मोह, विलफोर्ड पन्ड जाँदा काे त्यो सिसिफसको ढुङ्गा सङ मुनाको सह सम्बन्धन, पुन: प्लोम्यान उड जादा त्यो रुखको अवस्था र मुनाको अवस्थाको सहसम्बन्धन यी सबै प्रशंसनीय प्रयोग छन्। त्यसपछीको अमितको लाचारपनलाई पनि मिठो तरिकाले वर्णन गरिएको छ। मुना विनाको जिन्दगी उसले स्वीकार्ने कोशिश गर्दै छ तर सक्दैन। अनुहार चिरा पार्न लाग्दा मुनाले बोलाएर झस्केको अमितको घटनाले कता कता मुनाको मायामा उसको जीवन केन्द्रीत देखिन्छ। उसको मानसिक अवस्थालाई पनि निखर रुपले केलाइएको छ। अघिल्लो दिन मनिषाको फोन आउनु, भोलिपल्ट टिभिकि पात्रलाई मनिषा मान्नु, एकैछिनमा टिभि बिग्रिनु, मनिषाको आगमन, फेरि मुना बिस्तारामा नदेखिनु, मनिषाले घाेप्टाे परेर सुत्ने बानी हुन्छ भन्नु, फाेटाेमा मुनाकाे सट्टामा मनिषा देख्नु र मनिषा गएपछि सबै सामान्य हुनु। यी घटनाले त्यो भ्रम हो कि यथार्थ भन्ने कुरामा पाठकलाई सोच्न बाध्य बनाउँछ।अमितले मुनाको मृत्युु पछीको जीवन कल्पना गर्न नसक्नु, उसको लागि फ्रिजर किन्न दोधार हुनु, खाना अर्डर गरेर आफै बिर्सिनु, फ्रिजरको नाप मुनालाई मिल्ने छ कि नाइ भनेर चेक गर्नु। यी सबै उसको मानसिक अवस्थाको चित्रण हो जुन जटिल विषय भएपनि बहुत सतर्कताका साथ बर्णन गरिएको छ। मुनालाई फ्रिजरबारे यथार्थको अवगत गराउनुले अन्तिम अवस्थामा पनि अमितको इमान्दारिता देखिन्छ। उसले चिकेन नपकाइ काँचै खाएको आफैलाई थाहा हुनुले उसले आफ्नो मानसिक अवस्था स्वीकारेको जस्तो देखिन्छ। फ्रिजरबाट आएको आवाज सपना भएकोले उ मानसिक रुपमा विचलित रहेको बुझिन्छ।
पछि फ्रिजरबाट मुनालाई निकाल्दा कपाल अल्झिदा आइन्दाबाट कपडा राख्ने सोच आउनु, तातो पानीले उसलाई पोल्छ भनेर शरीर प्राकृतिक तरिकाले डिफ्राेस्ट हुन दिनुले अमितको मानसिक अवस्था बिग्रेको भएपनि उसमा मुनाप्रती मायामा कमि नआएको देखिन्छ।
यी सबै लेखाइका प्रयोगधर्मी साधन भए पनि निकै जटिल विषयवस्तुलाई समेटिएकाे यो कथा साच्चै नै “मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय” रहेछ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



