
टुँडाल सम्झिएँ अनि लाजले डल्लो परें
कथाः साहुजी
कमल बयेली
“आज तपाईंलाई पाटन हेराउन लाने हो । जल्दी गर्नुस् है साहुजी ।”
बाहिरबाट चिच्याउने मान्छे अजय हो । ऊ कुनै बेला मेरो पसलको नियमित ग्राहक थियो । ऊ आजसम्म पनि मलाई साहुजी नै देख्छ र त्यही नामले सम्बोधन गर्छ । उसकै लवज कपी गरेर बच्चाहरू समेत मलाई साउजी भनेर जिस्क्याउने भइसकेका छन् ।
म जवाफ दिन्छु,, “हुुन्छ हुन्छ एकैछिनमा तयार भइहाल्छु ।” तर भुनभुनाउँछु, “पाटन कहिल्यै नगएको जस्तो खुब मलाई हेराउने रे !”
झ्यालबाट मुन्टो निकालेर हेरें । ऊ साइकलमा ट्रकले भुस बोकेजस्तै कपडाको भारी लादेर कोठातिर जाँदै थियो । बालबालिकाहरू उसलाई सहायता गरेझंै पछाडिबाट ठेल्दै टीँ टीँ टीँ टीँ गरिरहेका थिए । यस्तो लाग्थ्यो उनीहरू अजयको होस्टेमा हैंसे गरिरहेका छन् ।
ऊ मभन्दा अलिकति माथितिर बस्छ एउटा टिनको छानो भएको घरमा । म उसले ढोका खोलेको पनि थाहा पाउँछु । ढोका लाउँदा पनि खोल्दा पनि क्वाइँक्वाइँ कराउँछ । पसाङ्गिएको जस्तो छ । एउटा क्वाइँय सुन्छु । यो क्वाइँयचाहिँ ढोका लाउँदाको हुनुपर्छ । म सोच्छु, अब यो मान्छे फालहाल्दै आइपुग्छ । ऊ सामान थन्क्याएर झरिहाल्यो पनि ।
“भएन साहुजी ?”
“भयो भयो ।” म छिटोछिटो ट्य्राकसुट उनेर निस्किहाल्छु ।
ऊ र म आ–आफ्नै साइकलमा हुइँकिन्छौं । ऊ अघिअघि छ, म पछिपछि छु । साइकलको नियन्त्रण हेर्दा ऊ मभन्दा कता हो कता सिपालु देखिन्छ । साइकलमा खली खाएकाहरूसँग म पहाडेको के लाग्छ !
उसको कपाल हावाले बयेली खेलाएको देख्छु । उसको सर्ट हावा पसेर पछाडि बेलुनजस्तै फुल्छ घरीघरी ।
हामी त्रिपुरेश्वर, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै पाटन दरबारको दिशा ताक्छौं ।
…
पछाडिबाट हेर्दा देखिने उसको निखुर कालो कपाल र उसको अनुहारको रंग उस्तै उस्तै लाग्छ । झिल्के सर्टमा नीलो जिन्स लाउँदा ऊ झन् ककटेल देखिन्छ । उसले कपाल अजय देवगनले जस्तो साइडतिर कोर्ने गर्छ । ऊ घरीघरी टाउको झट्कार्छ ।
ऊ मसुर देखिन्छ । ऊ नेपाली डनहरुको नाम लिएर आफूलाई हिरो देखाउन पनि खोजिहाल्छ । ऊ हेपिन चाहँदैन । ऊ गफ पनि दिइहाल्छ, “पिस्टोल चाहिन्छ भने भन्नुस् साहुजी ।” उसको गफ सुनेर मलाई भने डर लाग्छ ।
ऊ कदमा मजत्रै हो । मभन्दा उमेरमा भने ठूलो हो तर मलाई दाइ भन्छ । म पनि उसलाई दाइ नै भन्छु । टोलमा सबैको भैया ऊ मेरो दाइ बन्न पाउँदा खुसी हुन्छ ।
म उसलाई भन्थें, “यति धेरै सामान बोक्नुपर्छ । एउटा आरएक्स लिनू नि ।”
परागले खिया पारेको दाँत देखाउँदै उसले भनेको थियो, “ना साहुजी ।”
उसले किन मोटरसाइकल पसन्द गर्दैन ? उसले एक दिन कारण खुलायो । कारण थाहा पाएर गजब लाग्यो । ऊ मोटरसाइकलप्रति रुचि राख्दैन किनभने उसलाई हेल्मेटले कपाल छोपिने चिन्ता छ ।
बच्चाहरु टीँ टीँ गर्दै कराउन थाले । अजय आउँदै छ भन्ने जनाउ घण्टी तिनै बच्चाहरु थिए । मैले सोचिभ्याएँ— अब उसले सोध्ने छ, “तरकाली के पकाउनुभएछ साहुजी ?”
म मासु पकाउँदै थिएँ । मासुु पाकिसकेको थियो । अब झोल हाल्न बाँकी थियो । चखुवा चौटो चपाउँदै सटरको पार्टेसनभित्रैबाट कराएँ, “मासु ।”
उसले सोध्यो, “खुक्राको हो ?” ऊ कुखुरालाई खुक्रा भन्थ्यो ।
उसलाई कुखुराको मासु मात्र होइन अण्डा पनि खूब मन पथ्र्यो । ऊ पसलमा आएर कहिलेकाहीँ अण्डा माग्थ्योे र त्यहीँ प्याट्ट फुटाएर ठाडो घाँटी लाइदिन्थ्यो । म ट्वाँ पर्दै उसको चुच्चे किलकिले हेर्थें । घरबेटी बज्यैले भनेकी थिइन्, “विकासे फुल पनि यो भैयाले कसरी खान सकेको होला ! छिः !” उसले झन् यसरी खाने हो भन्दै घुट्क्याइदिएको थियो ।
ऊ फुर्सदको बेला पसलमा बसेर टाइम पास गथ्र्यो । बसेर होइन ऊ मलाई हिन्दी सिकाएर टाइम पास गथ्र्यो । उसको संगतले गर्दा म पनि टुटेफुटेको हिन्दी बोल्न सक्ने भएको थिएँ । ऊ मलाई फुक्र्याउँथ्यो, “बढिया है साहुुजी !”
मैले अजयलाई सोधेको थिएँ, “इन्डियनहरू काम गर्न किन यता आउँछन् ? नेपालीहरू त काम खोज्दै उता जान्छन् त ।”
उसले भनेको थियो, “नेपालीहरू इन्डिया हजार कमाउन जान्छ हामी लाख कमाउन नेपाल आउँछु ।”
पसलमा आएर सटर अगाडिको पेटीमा उपरखुट्टी लाएर बसेको थियो । त्यही बाटो हुँदै दुई जना तन्नावाला जाँदै थिए । ती तन्नावाला टोलटोलमा गएर महिलाहरुलाई तन्ना भिडाइरहेका देखिन्थे ।
मैले अजयसँग भनें, “यिनीहरु त ठग हुँदा रहेछन् । दिमाग खान्छन् ।”
उसले मेरो कुरा भुइँमा खस्नै दिएन । भनिहाल्यो, “तालिम लिएको हुन्छ यो मान्छीहरुले । जसरी पनि ठग्ने हो । हामीले पनि गरेछु यस्तो काम । सब थाहा छ ।”
के के थाहा छ उसलाई ? म जान्न तयार भएँ । उसले मसँग एउटा तन्ना माग्यो । तन्ना झिकेर दिएँ । उसले तन्ना तीनवटा मुजा पारेर काँधमा भि¥यो । हेर्दा त्यहाँ तीनवटा तन्ना भएजस्तो देखियो । उसले भन्यो, “देख्नुभयो ? झुक्क्याउनी यसरी हो । तीनवटा तन्नालाई पाँचसातवटा जस्तो बनाएर काँधमा भिर्ने । कतिमा दिने भनेर सोध्नेलाई सबै लैजानुस् हजारमा भन्ने । हेरेर पनि किन्न नखोज्नेलाई पैसा भए पो किन्छ भनिदिने ।”
उसले तन्ना दर्शन छाँटेर मेरो घँैटामा घाम बालिदियो । मैले तरकारीवाला, कवाडीवालाहरु सम्झें । जोखाइ बिगारेर कम तौलको सामान दिने तरकारीवाला र कम तौल बनाएर धेरै सामान लाने कवाडीवालाहरु सम्झें । डुलन्ते दबाइवालाहरु सम्झें । जोगीको भेषमा घरघर डुलिहिँड्नेहरु सम्झें । मनको ऐनामा उभिएँ । मेरो निधारमा लेखिएको थियो— जिम्दो नेपाली !
ऊ स्त्रीलम्पट त होइन तर ऊ बेलामौकामा मैयाहरूको दर्शन गर्न जान्छ भन्ने मलाई थाहा छ । ऊ भन्थ्यो, “छत्रपाटीतिर पाइन्छ ।” उसलाई गोरी केटी एकदम मन पर्छ रे ! ऊ आफूले दर्शन गरेका स्त्रीहरुको वर्णन गरेर मनै हरियो बनाइदिन्थ्यो ।
केही दिनअघि मात्र एउटा केटो डेरामा आएको थियो । उसले केटी भगाएर ल्याएको रहेछ । केटो रङरोगनको काम गर्ने रहेछ । उसकी केटी भने जोसँग पनि मस्किने झस्किने रहिछे । उत्ताउली भन्न मिल्ने ।
वर्ण गोरो, ज्यान सलक्क, रूप राम्रै । अजयले त्यस केटीको चर्चा गर्न थालेको थियो । ऊ राम्री केटीलाई माल भन्थ्यो ।
मैले भनेको थिएँ, “दाँत त कति साह्रै बिग्रेको रहेछ हगि !”
उसले भनेको थियो, “अरे साहुजी, मलाई दाँत थोडी चाहिएको हो । कुरा गर्नुहुन्छ ।”
…
लगनखेलदेखि पाटनसम्मको सडकको भीडमा साइकल कुदाउनु सजिलो कहाँ हुनु ? घरी यता ठोक्किँदै घरी उता ठोक्किँदै हामी पाटन पुगिसकेका छौं । अब ऊ भित्र कता–कता पस्छ । म उसलाई प्रहरीले पक्राउ गर्न लागेझैं पिछा गरिरहेको छु वा यस्तो देखिन्छ, ऊ मसँग भागिरहेको छ ।
उसले मलाई एउटा कपडा पसलमा पु-यायो । ऊ कपडा लगेर सिलाउने काम गथ्र्यो । त्यहाँ उसले भु्क्तानी लिन रहेछ । त्यस दिन पनि उसले भुक्तानी पाएन । उसले पनि मेरो पसलबाट सामान लग्दा यसरी नै झुलाउँथ्यो । कपडा पसलेले उसलाई सिकाएको कि उसले कपडा पसलेलाई ? त्यस पसलकी साउनी उसले नमस्कार गरेन भनेर रिसाई रे ! पछि ऊ भन्थ्यो, “मैले त्यसलाई किन नमस्कार गर्ने ? मैले त्यसको के खाइदिएको छ ? एउटा नमस्कारको २० रूपैयाँ दिने भए म दिनभरि नमस्कार गरेर बस्दिन्छु । नमस्कार थोडी सस्तो छ ?” ऊ हरेक कुरामा पैसा अघि साथ्र्यो ।
त्यहाँबाट निस्केर ऊ फेरि मानूँ भाग्न थाल्छ । म उसलाई खेद्न थाल्छुु । एउटा घरको अघिल्तिर साइकल रोकिन्छ । साइकल रोकिनुअघि नै ऊ फालहालेझैं गरेर भुइँमा झरिसकेको छ । उसको पछिपछि म पनि रोकिन्छु । उसले भनेअनुसार त्यस घरको माथ्लो तलाको कोठामा एक जना दाइ बस्छन् । उसले मलाई पहिले नै सचेत गराएको थियो । त्यसैले म सतर्क थिएँ ।
उसले ढोकामा उभिएर स्विच दबायो । स्विचको चराले बाहिर कोही आएको खबर सुनाइदियो । ढोका खुल्यो ।
“अरे, अजय भैया ! के छ ?”
उसले भन्यो, “सब ठिक छ हजुर ।”
नमस्कार ठोकीवरी ऊ भुइँमै बस्यो । भुइँमा नरम कार्पेट ओछ्याइएको थियो । यो नमस्कारको उसले कति पैसा पाउँछ होला ? म पनि उसको नजिकै बसें । एउटा नमस्कार त मेरो पनि खर्च भयो । मैले पनि पैसा पाऊँला के !
अजयले एउटा आयताकार प्याकेट दाइको हातमा थमाइदियो ।
दाइले खुसीयाली व्यक्त गरे, “अच्छा है ना !”
अजयले भन्यो, “देखिए ना ।”
दाइले सोधे, “चाय कफी ?”
अजयले “कफी” भन्यो ।
मलाई पनि कफी मन पर्छ । अझ कडा भए राम्रो । दूध हालेको ।
कोठामा अरू मान्छे कोही थिएन । दाइ ३२ इन्चको टिभीमा क्रिकेट हेर्दै रहेछन् ।
दूध कफी नै आयो । सुरुप्प पारें । स्वादको रहेछ ।
केहीबेरपछि उनले भिसिडी हाले र खोले । उनले कोठाको ढोका बन्द गरे । उनको टिभीमा अब अर्कै खेल सुरु भयो । इन्डियन जोडीले खेल सुरु ग¥यो । दाइले अजयलाई एक थम्ब दिइहाले । रोमाञ्चित हुँदै मलाई सोध्छन्, “ठिक छ हैन भैया ?”
खास त मलाई भाइ भनेका हुन् तर कस्तो–कस्तो लाग्यो । कवाडी उठाउन वा साइकलमा तरकारी गुडाउँदै वा चटपट बेच्न हिँडिरहेको जस्तो ।
उनीहरू मलाई हेरेर आँखा सन्काइरहेका थिए । टुँडाल सम्झिएँ अनि लाजले डल्लो परें सालकजस्तै ।
दाइ मुडमा थिए । अजय पनि रमाइरहेको थियो । मेरो भने भाले सातो गयो ।
यी सब दृश्य भित्तामा झुन्डिरहेका तस्बिरहरूले पनि हेरिरहेका थिए । एउटा तस्बिरमा दाइ परिवारसँग थिए भने अर्को तस्बिरमा उनी एक्लै थिए । उनको तस्बिरको काँधमा क्रसवाला खुकुरी चम्किरहेका थिए ।
बहालवाला हुन् कि भूपू ? मैले सोध्नै पाएको थिइनँ किनभने यसबारेमा उसले कहिल्यै कुरा गरेको थिएन ।
निस्कने बेला दाइले भने, “लोकल है लोकल ।”
अजयले हाँसेरै मुन्टो हल्लायो र नमस्कार टक्र्यायो । मलाई भने अघिको नमस्कार पनि फिर्ता लिन मन लागिरहेको थियो । अर्को नमस्कार किन खेर फालूूँ !
बाहिर आएर अजयले मलाई आँखाको सन्को लायो र भन्यो, “पाटन हेर्नुभयो हैन साहुजी ?”
म अक्क न बक्क भएँ ।
फर्किँदा बाटोमा ऊ भनिरहेको थियो, “ठूलो मान्छीसँग रिस्ता जोर्नुपर्छ । काम बन्छ ।”
ऊ बाटैभरि अरु पनि के के भनिरहेको थियो । उसका कुनै पनि कुरा मेरा कानबाट पसेनन् । मेरो दिमाग नै शून्य भएको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)