
छानो चुहिँदा कचौरो थाप्थेँ, सुत्दा कम्मलमाथि प्लास्टिक ओढ्थेँ, त्यसैले मलाई वर्षाद् मन पर्दैन
भुपेन्द्र राना मगर
धादिङ
म १०-१२ वर्ष हुँदाको कुरा हो । म गरिब परिवारमा हुर्केको मान्छे । माटोको घर खरको छानो । त्यो पनि निकै जीर्ण भैसकेको थियो ।
खरको छानो नयाँ खरले छाउने कुनै आँट थिएन । आमा र म अनि २ जना भाइ । भाइहरू सानै थिए । बाबा शहरतिर केही पैसाको लागि ज्यामी काम गर्नु हुन्थ्यो । तर बाबाले कमाएको पैसा नुन तेल खान नै ठिक्क हुन्थ्यो ।
आमाले जेनतेन चुलो बाल्नु हुन्थ्यो । आटो पिठो खाएर दिन कटाउथेँ । हिउँदभन्दा वर्खा निकै सकस हुन्थ्यो । किनकि, आफ्नो घरको चुहिने छानो । त्यै माथि मुसलधारे पानी परेको परेई गर्थ्यो ।
पानी चुहिएर घरमा भएको २-४ मानो अन्न पनि भिज्ने गर्थ्यो अनि जोगाउनै मुस्किल ती अन्नलाई पनि । आमाले सराप्नुसम्म सराप्नु हुन्थ्यो ती वर्षादलाई । सरापेर के गर्नु प्रकृतिको नियम नै त्यस्तै रहेछ ।
दुख त त्यो क्षण लाग्ने गर्थ्यो, भएको थाल कचौरा सबै पनि चुहिएको ठाँउमा राख्दैमा ठिक्क । आमाले जसोतसो तातो पिरो बनाएको खानलाई फेरि त्यही पानी थापेको थाल निकाल्नु पर्थ्यो । खाना खाने बेलासम्म त भुइँभरी जलाम्य पानी भैसक्थ्यो । आमाले लामो सास फेर्दै भन्नूहुन्थ्यो, ‘गरिब हुनु पनि दैवकै खेल त होला नि, यो चिर्कोलाई पनि कति पर्नु परेको ।’ यस्तै यस्तै भन्दै आमा पानी उठाउन लाग्नुहुन्थ्यो ।
सुत्ने बेला त्यस्तै गाह्रो हुन्थ्यो । अलि पानी नचुहिने ठाउँ हेरेर ओछ्यान लगायो तर पनि पानी चुहिइहाल्थ्यो । अनि वर्खामा काम गर्दा ओढ्ने प्लास्टिक कम्मलको माथि ओढेर सुत्ने गर्थ्यौँ । रातभरी निन्द्रा त कहाँ लाग्थ्यो र तैपनि निधाउँदो रहेछु रात ढल्दै गएपछि त । बिहान उठ्दा पानीले भेटेको ठाउँमा चिसो चिसो हुन्थ्यो, आगोको रापमा सुकाएर फेरि राख्थेँ ।
त्यसैले अझै पनि मलाई वर्षाद मन पर्दैन । मलाई मन नपरेर के गर्नु ? प्रकृतिको नियम कहाँ रोकिन्छ र ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

