
म पनि भ्रष्ट भएँ
सुनिलबाबु स्याङ्तान
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार
(साभार)
कति मीठो रचना ! अनि, दुर्गालालको शब्द र न्ह्युको संगीतमा आनी छोइङ डोल्माले मनै आनन्दित हुने गरी गाएकी छिन् यस गीतलाई ।
के गर्नु समय भने अर्कै भएको छ । गीत यस्तो गाउनुपर्ने भएको छ, ‘भ्रष्टको आँखामा भ्रष्टाचार नै संसार ।’
राम्रो अंक ल्याउदा साइकल किनिदिने, यस्तो गरियो भने भनेको कुरा पुरा गरिदिने, उस्तो गरियो भने भनेको ठाउँमा लगिने, यस्तै यस्तै सुन्दै हुर्कें । भलै ती सबै कुरा गर्न सम्भव त हुँदैन थियो तर पनि मलाई घरै देखि भ्रष्टाचार गर्न र लोभ्याउन प्रेरित गरिन्थ्यो, मानिदिँदा पाउने नमान्दा नपाउने ।
विद्यालयमा पनि प्रत्येक शिक्षक शिक्षिकाबाट लेखन राम्रो गरियो भने चक्लेट, विषयमा अब्बल भइदिँदा विभिन्न उपहार, परीक्षामै उत्कृष्ट भइदिँदा छात्रावृति जस्ता मनै लोभ्याउने पुरस्कार, भइदिदा पाउने नभइदिँदा नपाउने ।
कमाउने बेला भयो । कसलाई रहर हुन्न र राम्रो पैसा कमाउन, सुख सयल र आरामदायी जिन्दगी जिउन, कार्यालयमा पनि त्यस्तै हुन्छन अफरहरू । यो काम गर्नु यो गरेवापत, पैसाले भरिएको पर्स, गाडी, वंगला आदि इत्यादि । गरिदिँदा पाउने, नगर्दा नपाउने ।
माया साट्ने बेला भो । यस्तो गरे भने, उस्तो गरे भने माया पाइने, भलै त्यो माया अजम्वरी नहोला तर यहाँ पनि लोभ्याइन्छ । गरिदिँदा पाउन,े नगर्दा नपाउने ।
बेला भयो बिहेको कुरा छिनाफाना गर्ने । माया साटिएकैसँग विवाह हँुदा केहि सहजता होला तर अर्कैसँग कुरा साटियो भने हरेक अभिभावकले जति सुकै गए गुज्रेको छोरो भएता पनि केटी पक्ष संग अफरै अफर राखी मोल मोलाइ गर्छन्, त्यसमाथि शिक्षित, जागिरे, व्यापार भएको केटा पाउनलाई त ठुलै अफरको सामना गर्नु पर्ने हुन्छ ।
बिहे भयो । यहाँ पनि मोलमोलाई हुन्छ, जग्गेमा सालीले जुत्ता लुकाइ होस वा घर भित्रिँदा दिदी बहिनीबाट दैलो छेकाइ होस् । मानिदिँदा हुने नमानिदिँदा नहुने ।
सानैदेखि ठूलो भएसम्म मलाई लोभ्याँइदै गईयो र म लोभिदै गएवापतको अर्थ झागिँदै गयो । मेरो मष्तिकमा भ्रष्ट हुनु पर्छ भनी पारिदै गयो । भ्रष्टाचार बिना घरैमा त काम हुँदैन, समाजको कुरा त परै जाओस् । सजिलै कहीँ कतै सरकारी कार्यालयको त कुरै नगरम्, मुद्दा र फैसलाको टुङ्गो नै लाग्दैन, सिकिस्त विरामीको त उपचार नै हुँदैन, साना ठुला योजना सम्पन्नै हुँदैन, सरकारी विद्यालय र क्याम्पसमा पढाइ नै हुँदैन, हुने निजि विद्यालयमा पैसाको खोलो होइन, समुन्द्र बगाउनु पर्छ ।
तब म काम गर्न गराउन भ्रष्टाचार नै गर्छु । यहाँ मेरो आँखाले देख्ने भ्रष्टाचार नै हो, घरैमा भ्रष्टाचार, समाजमा भ्रष्टाचार, राजनीतिमा भ्रष्टाचार, व्यापारमा भ्रष्टाचार, शिक्षामा भ्रष्टाचार, स्वास्थमा भ्रष्टाचार, पुलिस प्रशासनमा भ्रष्टाचार, रोजगारीमा भ्रष्टाचार । भ्रष्टाचार नहुने त ठाँउ नै देख्दिन । मलाई त खुसी लाग्छ, सबैमा भ्रष्टाचार नै भ्रष्टाचार जताततै देख्दा । मलाइ सिकाइएकै यही छ, त्यसैले भ्रष्टको आँखामा भ्रष्टाचार नै संसार ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



