
चिनियाँ युवतीसँग मुस्काउँदै रेलमै लेख्न थाले ब्राम्हणपुत्र

भरत शर्मा
सम्पादकज्यू, नमस्कार ! तपाईं पनि यात्रामा हुनुहुन्छ । सायद शनिबार साँझ भैरहवाबाट बुद्वएअरको विमानमा काठमाडौ फर्कनु हुन्छ, काठमाडौबाट पोखरा घुमेर लुम्बिनी हुँदै काठमाडौ फर्कदै हुनुहुन्छ । १४ जना विदेशी र तपाईले लेख्नु भएको ‘एभरेष्ट’ पुस्तक तपाईको यात्रामा छन् ।
आज मेरो दैनिकी साइकलमा खुमनिङको ताल नजिक गएर घाम ताप्ने थियो । तर, त्यो योजना स्थगित गरेर म ‘टुर गाइड’को भूमिकामा छु । नेपालबाट चीनको युनान प्रान्तको राजधानीको एउटा सरकारी स्वास्थ्यसम्बन्धि सम्मेलनमा भाग लिन आउनु भएका ‘शिलापत्र’ दैनिकका पत्रकार राजेश शर्मा, शिक्षा मन्त्रालयका उपसचिव, त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई भेट गर्ने र खुमनिङ शहर घुमाउने र जाडाका लुगा, केही उपहार खरिद गर्ने कामका लागि गाइड गर्न जाँदैछु । उहाँहरू गत विहीबार चीन आउनु भएको हो, भोलि नेपाल फर्कदै हुनुहुन्छ । नेपालबाट मित्र राजेशले मेरा लागि पुस्तकको भारी, केही खानेकुरा, पापर र जिरा, मसला ल्याइदिनु भएको छ । लेखक अशोक सिलवालको एभरेष्ट पुस्तक पनि चीन आइपुगिसकेको छ । पुस्तकको आवरण पढेँ, ब्यस्तताले गर्दा किताबभित्रका हिमालका भित्री कथा पढ्न बाँकी छ ।
यो हप्ता नेपालनाम्चाको लागि मेरो स्तम्भ चीनबाट नमस्कार चीनको मेट्रो रेल यात्रा गर्दै लेख्दैछु् । म बसेको ठाउँदेखि नेपालबाट आउनु भएका साथीहरू बसेको पाँचतारे होटल पुग्न मलाई जमिनमुनि कुदने मेट्रो रेलबाट एकघण्टा २५ मिनेट लाग्छ । म खुमनिङ शहरको गाउँ, पहाडको फेदी विश्वविद्यालय टाउनमा बस्छु । म बसेको ठाउँदेखि शहर एकघण्टाको दुरीमा छ । रेल २० मिनेट जमिनमाथि गुड्छ, बाँकी समय दुलोबाट खुरूरू । शनिबार भएकाले रेलभित्र भीड छ । तर, मैले सिट पाएको छु । शुरूको स्टेशनमा चढेकोले पनि मेरो लागि सिट पाउन सजिलो छ । चीनमा शनिवार र आइतबार छुट्टी हुने भएकाले दुवै दिन रेल, बजार, पर्यटकिय केन्द्रहरुमा निकै भीड हुने गर्दछ । चिनियाँहरू विदामा घुम्न निस्कनु उनीहरूको समाजवाद र विकास हो । रेलभित्र बुढाबुढी, युवायुवती र बालबालिकाहरू छन् । यसो सबैको पहिरन हेर्छु, सुकिला र महङ्गा लुगा लगाएका छन् ।
सबैजना मोवाइलमा घोप्टी परेका छन् । विशेषगरी चिनियाँ नवयुवायुवतीलाई मोवाइलघोप्टे रोग लागेको छ । म पनि मोवाइलमा घोप्टिएर लेख्दैछु । रेलभित्र शान्त छ । कोही बोल्दैनन्, रेल मात्र बोलिरहेको छ, अब हामी फलानो स्टेशनमा पुग्दैछौ भनेर चिनियाँ र अङ्गेजी भाषामा बोलिरहेको छ । रेलको गति एउटै छ, स्टेशनमा ३० सेकेण्ड रोकिन्छ, ढोका आफै खुल्छ, बन्द हुन्छ । यात्री हतारमा बाहिर निस्कने र भित्र छिर्ने गर्छन् । मलाई शहरभित्र कुदने मेट्रो रेल निकै सुविधाजनक लाग्छ । रेल यात्रा निकै सस्तो छ । करिव एकघण्टा ३० मिनेट यात्रा गरेको चिनियाँ रेननेवी ६ अर्थात् नेपाली एकसय २० रूपैया मात्र लाग्छ । तर यही सडक मार्गबाट कारमा जाने हो भने चिनियाँ १ सय ५० चिनियाँ रेननेबी अर्थात् तीन हजार नेपाली रूपैया लाग्छ । चीनमा मध्यमबर्गका चिनियाँ रेल चढ्छन् । आज रेलभित्र विश्वविद्यालयका छात्र, छात्रा र बुढाबुढीहरू धेरै छन् ।
म देश छोडेर विदेशमा कर्म गर्न आएको भएकाले पनि कसरी कम खर्च गर्ने सोच राख्छु । विदेशमा आएपछि केही कमाएको धन वचत गर्नु मेरो कर्तव्य हो । त्यसैले म विश्वविद्यालय जाँदा घरबाट साइकल चढछु, शहर घुम्न जाँदा रेल र सार्वजनिक बस चढछु, आफनै दुई खुट्टेमा बल गर्छु अर्थात् हिडछु । म अलिकति मितब्ययी ‘लोभी बाम्हणपुत्र’ हुँ ! परिवार, समाज र देश छोडेर धन कमाउन भोटमा भएकाले लोभ गर्नु, र धन कम खर्च गर्नु मेरो जिम्मेवारी हो भन्ने ठान्छु । अहिले म जस्तै विदेशमा श्रम गर्न जाने नेपालीहरू म जस्तै लोभी हुन्छन् होला भन्ने ठान्दछु । नेपाल सरकारबाट चीनमा शैक्षिक श्रम गर्ने भनेर श्रम स्वीकृति लिएर चीन आएकाले पनि होला, श्रमिकले अनावश्यक खर्च गर्नु हुँदैन भन्ने सोच मभित्र छ । चिनियाँ नयाँ पुस्ता अलि खर्चालु छन् । पुराना र मध्यम पुस्ता वचत र लगानीमा जोड दिन्छन् । चीन देश धनी र जनता गरिव जस्ता देखिए पनि चिनियाँहरू राम्रा नाना, मिठा खाना र राम्रा छाना भित्र बस्छन् । धनी हुनका लागि र मानिसको लागि चाहिने तीन चीज सबै पाएका हुनाले चिनियाँले सरकार र राष्ट्रपति सि चीनफिङको जय जयकार गर्छन् । पछिल्लो एक दशकमा चीनले विकास र प्रविधिमा फड्को मारेको छ । संसारमा सबैभन्दा बढी रेल सन्जाल भएको देश नै चीन बनेको छ । सन् २०३५ मा विश्वको धनी र विकसित हुने भनेर घोषणा गरेको छ चीनले ।
रेलभित्र यति भीड बढ्यो कि म अब एउटा रेल लाइनबाट झरेर अर्काेमा चढनु पर्छ । रेलभित्र बसेर लेख्न पनि गजब हुने रहेछ । मोवाइलको किवोर्डबाट लेख्दा हातका औला दुखेको छ । मेरो छेउमा बसेकी एकजना चिनियाँ युवती मलाई एकोहोरो हेरिरहेकी छन् । म उनलाई बीचबीचमा मुस्कान दिदै औलाहरू चलाईरहेको छु ।
खुमनिङमा जमिनमुनि कुदने ६ वटा रेलका लाइनहरू छन्, हरेक लाईनले एक अर्कालाई जोड्ने गर्दछ । म लाइन एकबाट लाइन तीनमा चढेँ, अब म ३० मिनेटमा गन्तव्य पुग्छु । मेरो काम आज नेपालीलाई गाइड गर्ने हो । साथीहरू पहिलोपटक युनान प्रान्तको राजधानी खुमनिङ शहर आउनु भएको रहेछ । उहाँहरूलाई खुमनिङको विशेषता बताउनु छ, केही चकलेट र खुमनिङको फूलबाट बनेको केक किनाउनु पर्नेछ । युनान फूलको शहर हो, एसियाको सबैभन्दा ठुला फूलबजार खुमनिङमा छ । यहाँको हावापानी चीनको सबै शहरभन्दा राम्रो छ । चारैतिर डाडाँ र बीचमा शहर छ । खुमनिङ र काठमाडौको मौसम र भूगोल समान छ । काठमाडौमा अब्यबस्थित बस्ती, सानो सडक छ, तर खुमनिङमा ब्यबस्थित बस्ती र फराकिला सडक, रेल, सार्वजनिक बस, खान र बस्न सस्तो र सुविधाजनक छ ।
विहान एकजना भारतीय साथीले एउटा भिडियो पठाए, त्यो भिडियोले मेरो मन छोयो । भिडियोमा भनिएको थियो, स्वामी विवेकानन्दलाई एकजना भक्तले प्रश्न गरेछन्, जीवनमा सफल र सुखी हुने मन्त्र के हो ? स्वामीले एक शब्दमा उत्तर दिनुभएछ, ‘यात्रा ।’ प्रश्न सोध्ने भक्त त वाक्क परेछ, नबुझेर होला । स्वामी विवेकानन्दले सरल भाषामा यात्रा र जीवनको सफलता र सुखको विषयको प्रवचन सुनेपछि प्रश्न सोध्ने भक्त खुसी भएर फर्केछन् । यात्राले जीवन सफल र खुसी हुन सकिन्छ । तर यात्रा गर्दा मन, वचन र कर्म पवित्र हुनु पर्छ, हदयभित्रबाट घुम्नु पर्छ । पछिल्लो समय यात्राभित्रको शान्ति हराएको छ । फेसबुक र टिकटकमा लागि फोटो खिच्नमा ब्यस्त हुन्छन् । यात्रा गरेको ठाउँको सुगन्ध, त्यसको महत्व नबुझी फर्कन्छन, अनि फेसबुकमा फोटो राखेर म घुम्न गएँ भन्छन् ।
यात्रा गर्दा गाडड चाहिने नियम त्यसै बनेको होइन । गाइडले यात्राको महत्व, त्यस क्षेत्रको इतिहास र माटोको सुगन्ध बताउन सक्छन् । त्यसैले त विदेशी अर्काे देशमा जाँदा गाइड राख्छन्, अध्ययन, मनन र चिन्तनमय यात्रा गर्छन् । हामी गाइडहरू देश पढाउने अध्यापक हौं । कि कसो गाइड सम्पादकज्यू ?
म जमिनमुनिको रेलबाट खुल्ला शहरमा निस्केँ, अब साथीहरू बसेको होटल पुग्न १ किलोमिटर हिँड्नु पर्छ । म लोभी छु, त्यहाँ पुग्ने बस पनि छ । बस चढदा २ रेननेवी लाग्छ, अर्थात् ४० रूपैया नेपाली, तर म मेरो खुट्टालाई अनुरोध गर्छु, हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छ । घाम पारिलो छ, अब म फटाफट हिडेँ । धादिङ सल्यानटारमा जन्मेर उकाली र समथर टार हिँडेको केटोको लागि खुमनिङको शहर हिँड्न कुनै अप्ठ्याारो छैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



