
नेपालमा पर्यटन विकास र सम्भावना

डा.विष्णुबहादुर जीसी
परिवेश
विकास र पर्यटनको अन्योन्याश्रित सम्बन्ध छ । विकासले पर्यटन र पर्यटनले विकासका लागि सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ नै । हाम्रो जस्तो विकासोन्मुख देशमा पर्यटन विकासले समाज र देश विकासमा अझ ठूलो भूमिका निर्वाह गर्न सक्दछ । प्रकृति, परम्परा, संस्कृति, इतिहास र जनशक्ति हाम्रो लागि अमूल्य शक्तिका रुपमा रहेका छन् । हिमाल, पहाड, मधेश, गौतम बुद्धको जन्मस्थल, यहाँको हावापानी, कला संस्कृति अनि पाहुनाहरूलाई भगवान सरह हँसिलो अनुहारले स्वागत, व्यवहार गर्न सक्ने नेपालीहरूको स्वभाव यहाँको पर्यटन प्रवर्धन र विकासका लागि अमूल्य वरदान नै हुन् । त्यसैले पनि समयको गति र विश्व परिवेशमा भएको परिवर्तनसँगै नेपालको पर्यटनमा पनि सकारात्मक संकेतहरू देखापरेका छन् । यी सबै यथार्थतालाई सगौरव हृदयङ्गम गर्दै मेरो १४ वर्षको पर्यटन सेवामा संलग्न अनुभव र पर्यटनप्रतिको दायित्वको प्रतिरूप हो, यो आलेख ।
नेपालमा पर्यटनको ऐतिहासिक विकासक्रम
१९५० अघिको समय
नेपालकी राजकुमारी एवं राष्ट्रिय विभूति भृकुटीको तिब्बतका सम्राट स्राङचङ गम्पोसँगको वैवाहिक सम्बन्ध र यसैसँग जोडिएको आवतजावत व्यापार र कलाशैलीहरूको आदानप्रदानलाई नेपालको पर्यटन प्रारम्भसँग जोड्न सकिन्छ । सम्राट अशोकले लुम्बिनीमा स्थापना गरेको अशोक स्तम्भ पर्यटनको विकास र इतिहासका लागि पनि त्यत्तिकै उल्लेखनीय रहेको छ । तेह्रौँ शताब्दीमा पाटनमा जन्मिएका शिल्प तथा वास्तुकला विज्ञ अरनिकोले चीनमा पुगेर आफ्नो कलाकारिताको लागि ठूलो प्रसिद्धि पाउन सफल भएका थिए । उनले बेजिङमा निर्माण गरेको स्तुपालाई अहिले सेतो स्तुपा भनेर चिनिन्छ । उनको कलाकारिता अहिले पनि चीन र तिब्बतका पगोडा शैलीका मठमन्दिरहरू र स्तुपाहरूमा देख्न पाइन्छ । उनको योगदानले गर्दा नेपाल तिब्बत र चीनबीच कलाको सेतु स्थापना भयो र नेपाल चीनबीच सम्बन्ध सुदृढ भयो । साथै नेपाल तिब्बत चीनबीच व्यापार र मानिसहरूको आवागमनमा वृद्धि हुन योगदान पुग्यो । राणा प्रधानमन्त्री जङ्गबहादुरको सन् १८५० मा बेलायत र फ्रान्सको भ्रमणले नेपालको पर्यटनलाई सघाएको हुनसक्ने अनुमान गर्न सकिन्छ । विभिन्न कालखण्डमा भएका यी घटनाहरू र प्रयासहरूले समेत नेपाल देशका बारेमा बाहिरी संसार लाई केही जानकारी भएको हुनसक्छ । फलस्वरूप केही पर्यटकहरू भित्रिए होलान् । नेपालमा सन् १८८१ देखि १९२५ सम्म १५३ जना युरोपियनहरूले भ्रमण गरेको विवरण कल्याण भण्डारीको लेखमा उल्लेख गरिएको छ । सन् १९५० अघि भएका कुटनैतिक सम्बन्ध तथा विदेशी पर्वतारोहीहरूको नेपालका हिमालहरू आरोहणका लागि गरेका प्रयासहरूबाट पनि नेपालप्रति विदेशीहरूको चाख बढ्दै गएको स्पष्ट हुन्छ ।
सन् १९५१-१९९० सम्म
प्रजातन्त्रको उदयसँगै नेपाल विदेशीहरूको आगमनका लागि खुला भयो । खुला परिवेश र पर्यटकीय आकर्षणहरूका कारण यहाँ आउने पर्यटकहरूको सङ्ख्या पनि क्रमिक रुपमा वृद्धि हुनुका साथै सरकारी तथा निजी क्षेत्रबाट पनि पर्यटकको आगमनलाई सजिलो बनाउन यातायात तथा बसोबासका विषयहरूमा ध्यान पुर्याउन थालियो । सन् १९५८ मा शाही नेपाल वायुसेवा निगम हालको वायुसेवा निगमको स्थापना भयो ।
यसैगरी खुला परिवेशको उपयोग गरी ठूलाठूला होटलका चेनहरू पनि निर्माण हुन थाले । सन् १९९१ मा स्थापना भएको पर्यटन विभागसँगै नेपालमा पर्यटनका सम्भावनाहरू क्रमिक रुपले विस्तारित हुन थालेको पाइन्छ । सन् १९६२ देखि नेपालमा हवाई मार्गबाट आउने पर्यटकहरूको तथ्याङ्क सङ्कलन गर्ने कार्यको शुभारम्भ भएको थियो । सोही वर्षको रेकर्ड अनुसार ६१७९ पर्यटकहरु नेपाल भित्रिएका थिए । सन् १९७२ मा जर्मन सरकारको सहयोगमा तयार गरिएको पर्यटन गुरुयोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा दिशाबोध गर्न ठूलो सघाउ पुर्यायो । यसै योजनामा उल्लेख भए बमोजिम नेपालको पर्यटन विकास एवं प्रवर्धन सम्बन्धी कामको जिम्मेवारीका लागि सबभन्दा माथिल्लो केन्द्रीय निकायका रुपमा सन् १९७८ मा पर्यटन मन्त्रालय गठन भएको हो । पर्यटनप्रतिको सचेतनाका कारण नेपालमा पर्यटन विकासले गति लिने क्रममा सन् १९९० को वर्षमा यहाँ आउने विदेशी पर्यटकको संख्या २,५४,८८५ पुगेको थियो ।
सन् १९९१ देखि हालसम्म
सन् १९९० मा विश्व राजनीतिमा आएको परिवर्तनसँगै नेपालमा पनि प्रजातान्त्रिक संसदीय शासन व्यवस्थाको सुरुवात भयो, त्यसैगरी हाल संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणाली नेपालमा विद्यमान छ । विश्वमा देखिएको उदारवाद तथा विश्व भूमण्डलीकरणले नेपालको अर्थव्यवस्था र खासगरी पर्यटन क्षेत्रमा पनि ठूलो छाप पार्न सफल भएको छ । यसअघि केही सीमित व्यक्तिहरूको प्रभावमा रहेको पर्यटन क्षेत्र आम नेपालीहरूको पहुँचको विषय बन्यो । नियन्त्रित हवाई सेवालाई खुला आकाशको नामबाट सम्बोधन गर्न थालियो । यस अवधिमा निजी क्षेत्रका धेरै उद्यमीहरुले हवाई सेवा उपलब्ध गराउने कामको सुरुवात गरे । धेरै हिमशिखरहरू पनि पर्वतारोहीका लागि खुला गरियो । निजी क्षेत्रको संलग्नता र सक्रियतामा अभिवृद्धि भएको परिप्रेक्ष्य र सरकारी क्षेत्रको कार्यशैलीमा देखिएको जटिलताबाट निकास पाउन पर्यटन क्षेत्रमा साझेदारीको अवधारणालाई अघि सारियो । यस अवधारणालाई एसियन विकास बैंक जस्ता संस्थाले पनि सघाउने काम गरे । यसको फलस्वरूप नेपाल पर्यटन बोर्डको स्थापना सन् १९९८ मा सम्पन्न भयो । यो बोर्डले नेपालको पर्यटन विकास, प्रवर्धन,जनचेतना अभिवृद्धि, पर्यटन सेवा सुविधाहरुमा सुधार गरी साझेदारीको नयाँ नमुनालाई सार्थक बनाउन समेत अहम भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएको छ ।
पर्यटन मन्त्रालय समय समयमा नाम परिवर्तन गरी हालको संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय पर्यटनको समग्र विकासका लागि सर्वोच्च निकायका रुपमा क्रियाशील छ । यो निकाय अन्तर्गत पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, पर्यटक प्रहरी, पर्यटन समितिहरु, संस्थाहरु पर्यटन विकासका लागि जुटेका छन् । पर्यटन विकासको लागि नेपालले अवलम्बन गरेका विभिन्न उपायहरूका कारण र पर्यटनप्रति विश्वमै चासो बढ्दै गएकाले पर्यटन आगमनमा अभिवृद्धि भएको छ । फलस्वरूप २०२४ मा नेपाल भित्रने पर्यटकहरूको सङ्ख्या ११ लाख ४७ हजार ५६७ पुगेको छ ।
नेपालमा पर्यटनका सम्भावनाहरू
हिमाल, पहाड र समथर जमिनको भूबनोट, यहाँको हावापानी, खोलानाला, झरना, रुखबिरुवा, फलफुल, जंगली जनावर, स्थानीय बासिन्दाहरूको पहिचान व्यवहार र प्रचलन, संस्कृति र आतिथ्य आदि आदि विषय एक नेपालीको लागि त अध्ययन र अवलोकन योग्य छन् भने विदेशी पाहुनाका लागि अवश्य पनि रुचिपूर्ण होलान् भनेर सहजै अनुमान गर्न सकिन्छ । विश्व प्रसिद्ध संसारको सबभन्दा अग्लो सगरमाथा लगायत पूर्वपश्चिम फैलिएको हिमश्रृङ्खला विदेशीहरूको लागि मनमोहक छन् । बुद्धको जन्मस्थल लुम्बिनी, धार्मिक स्थल पशुपतिनाथ, विश्वको अग्लो स्थानमा रहेको सुन्दर राराताल, विभिन्न राष्ट्रिय निकुञ्ज भित्र रहेका प्रकृतिका उपजहरू, विभिन्न अवस्थितिमा रहेका प्राकृतिक छटा पर्यटकहरूका लागि उच्च आकर्षणका विषयवस्तुहरू हुन् । लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै आँखाको नानी सानो हुन्छ, तर यसमा सम्पूर्णता अडेको हुन्छ । नेपाल सानो छ तर पर्यटकका लागि अवलोकन गर्ने अनन्त विषयहरु यस भूमिले वरदानका रूपमा प्राप्त गरेको छ । एनआर कडेल (२००८) को भनाइ अनुसार “There are many destinations in Nepal that offer rare opportunities for tourists to feel the rural lives of Nepal”. यो कथनलाई मनन गर्ने हो भने गाउँ नै गाउँले भरिएको नेपाल राज्यमा कल्पना गरेभन्दा पनि बढी पर्यटनका सम्भावनाहरू छरिएर रहेका छन् ।
निष्कर्ष
नेपालमा पर्यटनका अपार सम्भावना रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । यसका लागि नेपालले गर्नुपर्ने कार्यहरू धेरै नै छन् । योजनाबद्ध कार्यक्रमहरूको विकास एवं कार्यान्वयन प्रथम शर्त हो भने सबै सरोकारवालाको सहभागिता, संलग्नता र सुझाव वमोजिम कार्य योजनाहरू निर्माण हुन आवश्यक छ । हामीबाट सम्पादन हुने कामहरु सरल (Simple) र दुरगामी (Sustainable) हुनुपर्नेमा यो पंक्तिकारको बुझाई रहेको छ । पर्यटन विकास एवं प्रवर्द्धनका लागि खासगरी तीनवटा क्षेत्रमा ध्यान दिनुपर्छ: ती हुन् पर्यटन उद्गम हुने क्षेत्र (Tourism Generating Region), पर्यटक आनन्दित हुने गन्तव्यस्थल (Tourism Service Supply) र पर्यटक उद्गम हुने र गन्तव्यमा पुग्ने बीचमा संलग्न हुने क्षेत्र (Transportation) । नेपालको परिप्रेक्षमा भने पर्यटक आवागमनका लागि हवाई मार्ग र स्थल मार्ग मात्र प्रयोगमा रहेका छन् । माथिका तीनओटै क्षेत्रहरुलाई राम्ररी सम्बोधन गर्न सकेमा पर्यटन सेवा प्रदान गर्ने क्षेत्रको बारेमा जानकारी बढ्ने र भ्रमणमा आइसकेका पर्यटकहरूका लागि यथेष्ट शान्ति सुरक्षा र सेवा सुविधाहरू विस्तार हुने र पर्यटन सेवा प्रदान गर्ने मुलुकको विश्वसनीयता बढ्न गई पर्यटन विकासको सम्भावना सुनिश्चित हुन पुग्दछ । नेपालको परिप्रेक्ष्यमा देशभित्र आइसकेका पर्यटकहरूलाई सन्तुष्टि दिन सक्नु ठूलो चुनौतीको रुपमा रहेको छ । त्यसैले अब गुणस्तरीय पर्यटन विकासका लागि देशभित्र सेवा सुविधा अभिवृद्धिका साथै विश्वसनीयता बढाउन जरुरी छ । विशेषगरी पर्यटकसँग सम्पर्कमा आउने सबै सरोकारवालाहरू चाहे त्यो सरकारी कर्मचारी होस्, ट्याक्सी चालक होस्,वा होटल मालिक नै किन नहोस् पर्यटकहरूलाई सन्तुष्टि हुनेगरी उपयुक्त जानकारी एवं सेवा प्रदान गर्ने तत्परता देखाउनु नै नेपालको पर्यटन प्रवर्धनको महत्त्वपूर्ण पाइला हो । यो कार्य पर्यटक नेपालको भूमिमा टेक्न बित्तिकै एयरपोर्ट वा स्थल मार्गका नाकाहरुबाट सुरु हुन्छ । यसो हुन सकेमा सीमित स्रोतबाट पनि नेपालको पर्यटन प्रवर्धन भइरहने र पर्यटन विकासमा यसले गुणात्मक असर पर्नेछ ।
सन् २०२४ को पर्यटन तथ्याङ्क अनुसार विश्वमा १ अरब ४० करोड पर्यटकहरू भ्रमणका लागि विभिन्न गन्तव्यमा पुगेका छन् भने सबभन्दा बढी पर्यटक भित्र्याउने फ्रान्सले ८ करोड ९४ लाख पर्यटकहरुलाई सेवा प्रदान गरेको छ । तर नेपालले भने सन् २०२४मा ११ लाख ४७ हजार ५६७ पर्यटकहरुलाई भित्र्याउन सफल भयो । नेपालजस्तो पर्यटकीय क्षेत्रले अहिलेको विश्व पर्यटक आवागमनको एक प्रतिशत मात्र पर्यटकहरू अर्थात् १४ लाख भन्दा बढी पर्यटकहरू भित्र्याउने र गुणस्तरीय पर्यटन विकासको लागि मेहनत गर्नुपर्दछ । सन् २०२४ मा लामो दूरीको गन्तव्य (Long Hall Destination)अस्ट्रेलियामा नेपालका छिमेकी मुलुक चीन र भारतका क्रमश ७ लाख ९६ हजार र ४ लाख ५ हजार पर्यटकहरूले भ्रमण गरेका थिए । त्यसैले यी छिमेकी मुलुकहरूबाट पनि नेपालमा पर्यटकहरू थप गर्न सक्ने अथाह सम्भावनाहरू छन् । यी सबै अथाह सम्भावना लगायत यथेष्ट खर्च गरेर नेपाल बस्न चाहने सेवानिवृत्त (Retired people) विदेशी व्यक्तिहरूलाई समेत आकर्षण गर्न सकेमा देशमा रोजगारी र अर्थतन्त्रलाई टेवा पुग्नेछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)