गोसाइँकुण्ड सम्झँदै गुल्मी हिँडेको जोडी

यात्रा संस्मरणः गोसाइँकुण्ड

हरिप्रसाद गौतम्
गुल्मी, हालः स्वयम्भू, काठमाडौँ

अटाउन्न अँगालोमा, सुन्दर उस्तै अपूर्व यो,
फैलिएर हाँसेको यो गोसाइँकुण्ड भूस्वर्ग हो ।

साँच्चै नै शब्दमा अव्यक्त छ गोसाइँकुण्डको सुन्दरता । आफ्नो छातीमा अपार जलराशी बोकेर सजिएको यस कुण्डले संसारभरका प्रकृतिप्रेमीलाई आफूतिर आकर्षित गरेको छ । वरिपरि चट्टानैचट्टानका बिचमा लम्पसार परेर फैलिएको यो कुण्ड तिनै चट्टान फोरेर निस्कने जलधाराले भरिएको छ भने चट्टानकै एक छेउबाट छङछङ गर्दै भैरवकुण्डतिर बगेको छ । कतैकतै काई, बुकी, काँडेझारबाहेक केही नदेखिने यो क्षेत्र चट्टानैचट्टानको आधिक्यता भएर पनि भूबनोट, हिमाली काख र उचाइले सदा प्रसन्न मुद्रामा देखिन्छ । छिनछिनमा देख्न पाइने रवि र मेघनाथबिचको लुकामारी नै यसको सबैभन्दा लोभलाग्दो र रहस्यमय पक्ष हो । यिनै रहस्यमा लट्ठिन चाहने जोकोहीलाई यसले हरदम स्वागत गरिरहेको हुन्छ । त्यही रहस्य बुझ्न र त्यस भूस्वर्गको काखमा रम्न हाम्रो टोली पनि २०८० सालको असोज २७ गते घटस्थापनाका दिनमा त्यतातिर हानिएको थियो ।

घुम्न जाने भन्ने कुरा भनाइमा सामान्य, तयारीमा हम्मे हम्मे अनि भोगाइमा सुरम्य रहेछ । अझ यात्राप्रतिको उत्सुकतालाई त हिम्मतको द्वार माने पनि हुन्छ । यात्राको थुप्रै दिन अगाडिदेखि नै टिकट बुक गर्ने अनि लट्ठी, रेनकोट, झोला, सुखा खानेकुरा, टिमुर, अदुवा, लसुन, औषधि, सामल आदिको जोहो गर्ने काम भइरहेको थियो । हामी दश जनाको टोलीमा सम्पर्क र समन्वय गर्ने काममा कल्पना पन्त, कुमार बस्नेत र कमल कार्की अनवरतरूपमा लागिरहनु भएको थियो । उहाँहरूकै योजनाअनुसार म हरिप्रसाद गौतमलगायत सीता ज्ञवाली, जितेन्द्र भट्ट, सिर्जना खड्का, इन्दिरा थापा, सुदिन शाक्य, लीलादेवी कार्कीसमेत गरी दश जनाको टोली बनेको थियो । यो टोली कहिले विद्यालय छुट्टी होला र हिँडौँला भने ब्यग्र प्रतीक्षामा थियो ।

यात्राको पहिलो दिन हामी काठमाडौँको स्वयम्भूस्थित हामा पेट्रोलपम्पमा बिहान ६ बजे भेला भयौँ । माछापोखरीबाट छुटेको बस समयमै आइपुगेको भए पनि साथीहरूले आआफ्ना साधन पार्किङ गर्न थाल्दा उक्त टुरिस्ट बसले ट्राफिक व्यवस्थापनका कारण सबैलाई कुर्न पाएन । सबै साथी एउटै बसमा चढ्न नपाउँदा कतै यात्रा नै खल्लो हुने हो कि जस्तो पनि लाग्यो । तैपनि उहाँहरूमध्ये कुमारजीले पठाउ चढी धादिङ पुगेर हामीलाई भेट्नुभयो भने सुदिन र लीलाजीलाई भने अर्को बस समाती धुन्चे बजारमै भेट्ने व्यवस्था कमल सरले मिलाउनुभयो । त्यसपछि बल्ल मनमा आनन्द आएको थियो । गल्छी पुगेर हाम्रो बस उत्तरतिर लाग्यो । त्रिशूलीको तिरैतिर पहाडको फेदीमा रहेका फाँट र वरपरको हरियाली साँच्चै मनमोहक थियो । तादीखोला र त्रिशूलीको सङ्गम देवीघाट कटेर हामी अगाडि बेत्रावती बजार पुग्यौँ । त्यसपछि त्रिशूलीलाई तलै छाडेर रसुवा जिल्लामा प्रवेश गरेको हाम्रो बसले हरेक घुम्तीबाट नुवाकोटको हरियालीलाई हात हल्लाइरहेको थियो । हामी पहिलोपटक कालिकास्थानमा खाना खान रोकिएका थियौँ । कमल कार्की सरले छुटेका साथीलाई थप सम्पर्क गरिरहनु भएको थियो भने हामी पहाडी झरना र भिरपाखामा दृश्य डुलाउँदै थियौँ । अनेक घुम्ती, उकाली अनि गाडीभित्रको भिडमा ठेलिएरै हामी नेपाली सेनाको चेकपोइन्टमा पुग्यौँ । त्यो निकुञ्ज प्रवेशद्वार रहेछ त्यसैले सबैका लागि प्रतिव्यक्ति रू। सय तिरेर टिकट लिनुपर्ने रहेछ । चेकिङपछि बल्लतल्ल साढे बाह्र बजे हाम्रो गाडी धुन्चे बजारमा गएर रोकियो र हामी ओर्लियौँ । त्यसपछि छुटेका साथीलाई अढाइतीन घन्टा पर्खन परेकाले हामी एउटा होटलमा गएर चियाखाजा खाँदै बसिरह्यौँ ।

दिउँसोको साढे तीन बजेतिर साथीहरू आइपुगे । एकछिन सुस्ताएर हामी झोला बोकी लट्ठी टेकेर ४ बजेतिर त्रिशूली किनारैकिनार हुँदै गोसाइँकुण्डका लागि बिस्तारै उकालो लाग्यौँ । पुल, खोल्सा, झाडी, झरना हेर्दै अगाडि बढिरहेका हामी झमक्कै साँझ परेपछि बल्ल अलि सतर्क भयौँ । ठाडो उकालाले केही साथीलाई अलि पछाडि छोडेको हुँदा अगाडि पुगेका हामी ६ जनाले गोसाइँकुण्ड ५ मा पर्ने खेन्दीको न्यु भिलेज होटलका मालिकको आतिथ्य ग्रहण गर्दै बस्यौँ । केही समयपछि साथीहरू आइपुगे । त्यहाँ खाना खाएर नाचगान पनि गरी भोलिको सपना बुन्दै आनन्दले सुत्यौँ ।

खेन्दीबाट हिँड्दा बिहानको ६ बजेको थियो । लट्ठीको भरमा चिसो बिहानीसँग जुध्न र ठाडो उकालो काट्न हम्मे परिरहे पनि इन्दिरा मेडमले दिनुभएको मकैभटमास अनि अन्य ड्राइफुड चपाउँदै देउराली पुगेर सुस्तायौँ । त्यहाँबाट देखिने हिमालको दृश्य साँच्चै आँखा नचिम्ली हेरिरहौँजस्तो थियो । हामीलाई धेरै माथि जानु थियो त्यसैले त्यहाँबाट हिँडिहाल्यौँ । देउरालीबाट माथि डिम्सामा रहेको खिम्ती खाजाघरसम्मको उकालो जति ठाडो थियो, त्यति नै रमाइलो पनि थियो । बिहानै चर्न निस्केका वनकुखुरासँगको साक्षातकारले मलाई एकचोटि आफ्नै जन्मठाउँ गुल्मीको याद दिलायो । हिमालसँग जिस्किँदै र पछाडि परेका साथीहरूलाई पर्खँदै हामीले डिम्सास्थित खाजाघरसम्मको यात्रा तय गरिसकेका थियौँ । त्यहाँको चिया र आलु खाएर हामी एकनास हिँडेर चन्दनबारी पुग्यौँ । त्यहाँ हामीले शेर्पा होटलमा खाना खाने योजना बनायौँ । खाना पाकुन्जेल साथीहरूले बनाएको टिकटकमा रमाएर हिमालसँग उचाइको दोस्ती लगाउँदै हामीले भरपुर आनन्द लियौँ ।

चन्दनबारीबाट हल्का उकालो र तेर्सो बाटो काट्न हामीलाई खासै गाह्रो नभए पनि केही साथीहरू हिँड्न सक्नुभएको थिएन । त्यसैले पनि घाम र कुहिरासित खेल्दै बिस्तारै हिँडेर हामी साढे तीन बजेतिर चोलाङपाटी पुग्यौँ । नयाँ ठाउँप्रतिको उत्सुकता त छँदै थियो, उसैमाथि माथिबाट फर्कने हरेकसँग राखिएका हाम्रा जिज्ञासाका फरक फरक जवाफले हामीलाई त्यस रातको वासका लागि निर्णय लिन गाह्रो हुने गर्दथ्यो । तैपनि पछाडि छुटेका साथीका लागि हरेक होटल तथा लजमा खबर छोडेर हामी आजको बास बस्ने होटल बुक गर्न भन्दै लौरीबिनातर्फ लाग्यौँ । त्यहाँबाट लगभग दुई घन्टाको उकालो हिँडेर हामी लौरीबिना पुग्यौँ । गोसाइँकुण्ड पुग्नुपूर्वको अन्तिमस्थलमा तीन होटलहरू मात्रै भएको यो ठाउँ धेरैको लागि विशेष हुँदोरहेछ । टाढाटाढासम्म देखिने, कुहिराले हिउँको पर्दा खोल्ने र लाउने गर्दा दृश्य साह्रै रोमाञ्चक हुने हुनाले पनि चिसो सहन सक्ने विदेशी पर्यटकहरू यहाँ वास बस्न रूचाउँदारहेछन् । चोलाङपाटीजस्तै यहाँ पनि बिजुलीबत्ती रहेनछ । हामीले दिनभर लाउडस्पिकर बजाएर र फोटो खिचेर लुटेको मजा यहाँ पुगेपछि मोबाइलमा चार्ज गर्न नपाएपछि एकाएक पछुतोमा बदलियो । त्यसैले यहाँ पुग्न चाहने हरेकले यो कुरा बिर्सनै नहुने विषय रहेछ । दिउँसो चन्दनबारीमा भात खाएको नाता लगाएर हामीले जसोतसो त्यहाँ ५ वटा कोठा बुक गर्‍यौँ । हामीभन्दा पछाडि आउने अन्य व्यक्तिहरूका लागि भने होटल पाउन साह्रै गाह्रो भइरहेको थियो । जति उचाइ बढ्यो, उति महङ्गो र असुविधा हुने कारण जान्नेबुझ्नेहरू त्यस्ता कुराको जोहो पहिल्यै गर्दा रहेछन् । हामी सबै यस्ता कुरामा नयाँ भएकाले जे गरियो, त्यो सिक्दै गरिएको थियो । अझ सूर्यास्तमा त्यहाँबाट देखिने दृश्य साँच्चै लोभलाग्दो भए पनि मोबाइलमा चार्ज नहुँदा र धेरै चिसो सिरेटोका कारण ती दृश्यहरू कैद हुन सकेनन् । तैपनि, माया होटलको मायाले त्यो रात विदेशी पर्यटकहरू र अन्य साथीहरूसँग गफिँदै बितायौँ ।

तेस्रो दिन सोमबार परेकाले हाम्रो समूह गोसाइँकुण्डमा नुहाउन पाइने कुराले उत्साहित थियो । त्यसैले हामी त्यहाँबाट ६ बजेतिर गोसाइँकुण्डका लागि प्रस्थान गर्‍यौँ । बाटैभरि सेतो तुसारो जमेकाले जताततै हिउँ परेजस्तो देखिन्थ्यो । हामीमध्ये केही साथीहरू हिजोकै चिसोले अलिकति बिरामीजस्तै भएका थियौँ । उसैमाथि बिहानको त्यो चिसोसँग उकालो बाटाले हाम्रो सास बढिरहेको थियो । लेक नलाग्ने औषधि नखाईकन माथि पुग्ने मेरो धोको हुनाले सकीनसकी म अरूको पछिपछि लाग्दै थिएँ । माथि पुग्दा यौटा बौद्धस्तुपा रहेछ, त्यसपछि अलिअलि तेर्सो लागेको बाटो हुँदै हामी अलग अलग समूह बनेर निकै परको गोसाइँकुण्ड पुगेका थियौँ । भिरपाखाको बाटो हुनाले फलामे बार लगाइएको रहेछ । त्यहाँ हिँड्न नसक्नेहरू घोडामा पनि जाँदारहेछन् । घामको झुल्कोसँगै हिँडेका हामीले तेर्सो बाटो लागेपछि डाँडापाखा, पहरा, छहरा, छाँगा तथा कुण्डहरू हेरेर बाटो काटिरह्यौँ । त्यहाँ पुगेपछि करिब नौ बजेतिरको रापिलो घामले नुहाउन सकिने अवस्था सिर्जना भयो । कल्पना म्याम, लिला म्याम, सीता म्याम, इन्दिरा म्याम र सुदिन सर कुण्डमा पसेर नुहाउन सफल हुनुभयो । मैले पनि बल्लतल्ल जल सेचन मात्रै गरेँ । एक चरण त्रिशूलधारा जाने समूह उता गएपछि कमल सरले पनि कुण्डको जल ल्याएर मन्दिरमा चढाउनुभयो । हामीहरू धेरैलाई खै कुन्नि किन हो, यत्तिकै झुम्म पारेकोजस्तो भएको थियो तर के भएको थियो भन्ने अनुभूतिलाई शब्दमा व्यक्त गर्न सकिएको थिएन । त्यसैले स्वास्थ्य थप नबिग्रोस् भनेर डराएकी मेरी सङ्गिनीले पूजाआजा सकेपछि हामी अब फर्कनुपर्छ भनेर सुझाव दिइन् ।

सूर्यकुण्ड पुग्ने आशालाई दबाएर हामी बिस्तारै ओरालो लाग्यौँ । तर, म्यामहरू तीन जना त्यहीँको होटलमा झोला छोडेर माथि सूर्यकुण्डतिर उकालो लाग्नुभयो । पछि होटलवालाले मोबाइल राख्न नमानेपछि उहाँहरूका मोबाइल हाम्रा साथमा रहे । हामी सबै उहाँहरूसँग सम्पर्कविहीन भयौँ । एकातिर चार्ज सिद्धिएका मोबाइल, अर्कातिर नो नेटवर्क अनि उसैमाथि फोन जति हामीसँग हुनाले हामी अलग अलग धारमा बाँडिन पुग्यौँ । गोसाइँकुण्डको सुन्दरता, मौसमको फेरबदली, बाटोको बिकटता, झरना, गोरेटा र चट्टानै चट्टानका पहाडको उपस्थितिले मन रोमाञ्चित भए पनि प्रतिकूल स्वास्थ्य, थकान र फरक फरक समूहमा बाँडिएका साथीको चिन्ताले भने मन पिरोलिएको थियो । तैपनि कमल सरको सक्रियता, जितेन्द्र सरको साथ, सीता मेडमको ढाडसले सिर्जना मेडमको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको थियो । हामी बल्लतल्ल लौरीबनाको माया होटलमा आएर त्यहाँ राखिएका हाम्रा आआफ्ना झोला टिपी पछाडि आउने साथीलाई खबर छाडेर चोलाङपाटीतिर लाग्यौँ । हामीभन्दा पछाडि रहेका कुमार सर र इन्दिरा मेडमलाई सम्पर्क गर्ने हाम्रो प्रयास असफल भए पनि उहाँहरू कहाँसम्म आउनुभयो भन्ने खबरचाहिँ हामीले अन्य यात्रीको वर्णनबाट थाहा पाइरहेका थियौँ । त्यसैले चोलाङपाटीमा खाजा खाएर हामी चन्दनबारी पुगेर होटल बुक गरी बस्ने तरखरमा लाग्यौँ । शरीरमा थकाइ र भोक भए पनि साथीको चिन्ताले भोक मर्दै गएको थियो । उसैमाथि पानी पर्न थाल्यो । साथीहरूसँग न फोन थियो न टर्च थियो न कहाँ गएर बस्ने भन्ने टुङ्गो नै । यस्तै अन्योलका बिचमा साथीहरूलाई होटलमै छाडी भिजेरै भए पनि म बाटोमा बसिरहेँ । त्यहाँ आउने हरेक जनासँग हुलियासहित साथीका बारेमा सोध्न थालेँ । रात झमक्क परेपछि होटलअगाडिको वनको बाटामा उभिँदा डर बढ्न थालेको थियो । थुप्रै मान्छे आइसक्दा पनि उहाँहरू नआएपछि मेरो मनले के के चिताउन थाल्यो । झन् पिर बढ्दै गयो । यसैबिच निकै समयपश्चात् जङ्गलका बिचमा पिलपिल गर्ने उज्यालो देखियो । अलिकति आशा बढ्यो । साँच्चिकै हाम्रा साथीहरू नै रहेछन् । यसरी भिज्दै र अन्य बटुवाको साथ लागेर आइपुगेका साथीहरूसँग भेट हुँदा निकै खुसी लाग्यो ।

भात खाएर सुतेको भए पनि मन शान्त हुन सकेको थिएन । रात छिप्पिँदै थियो, पानी परिरहेको थियो, भोलिको बाटो चिप्लो हुने चिन्ता बढ्न थाल्यो । गोसाइँकुण्डनेर लडेर घाइते भएकी ६७ वर्षकी विदेशी महिलालाई प्रतिकूल मौसमका कारण हेलिकप्टरले उद्धार गर्न नसकेपछि भरियालाई भारी बोकाएर उनी पनि बास बस्न त्यही होटलमा आएकी रहेछिन् । हाम्रो भन्दा पनि मलाई उनको धेरै चिन्ता लागेको थियो तर उपाय केही थिएन । त्यसैले येनकेन रात कटाउने प्रयास भने गरिरह्यौँ ।

बिहान तीन बजे नै आँखा खुले । झमझम परिरहेको पानीले चिन्ता बढाइरहेको थियो । साथीहरू मस्त निद्रामा थिए । केहीबेर निदाउने प्रयास गर्दागर्दै उज्यालो भइहाल्यो । उज्यालो हुनासाथ नित्यकर्म सिध्याएर हामी त्यहाँबाट देखिने दृश्य कैद गर्नतिर लाग्यौँ । अघिल्लो रात बास बसेको लौरीबिनाको होटल आज हिउँले घेरिएको थियो तैपनि चन्दनबारीबाट देख्न सकिने दृश्य भने हामीले कैद गर्‍यौँ । त्यसपछि त्यहाँनजिकै रहेको चिज फ्याक्ट्रीबाट चिज किनेर ओरालो लाग्यौँ । बाटो ओरालो भएपनि सोचेजस्तै चिप्लो थिएन तसर्थ सजिलैसँग हामी डिम्सास्थित होटलमा पुगी चिया खायौँ र एकछिन सुस्तायौँ ।

डिम्सामुनिको ठाडो ओरालो हिँडेर हामी देउरालीमा पुगी बचेखुचेको ड्राइफुड बाँडेर खान थाल्यौँ । फोटोमा एकछिन अलमलिएपछि हामी हल्लीखल्ली गर्दै खेन्दीको उही हामी अस्ति बसेको न्यु भिलेज होटलमा पुगी खाना बनाउन भन्यौँ । लोकल कुखुरो, फर्सीका मुन्टा, सिस्नु र अण्डाको स्वाद बटुलेर हामी एकछिन सुस्ताएपछि बिस्तारै ओरालो लाग्यौँ । तल पुगेर झरनाको फोटो खिची अगाडि गएका साथीलाई भेटाउन भन्दै हामी धुन्चेबजार पुगी गाडी बुक गर्नतिर लाग्यौँ । होटलमा पाएको नम्बरका आधारमा एक जना स्कर्पियोवाला सन्तोष भाइ हामीलाई काठमाडौँ लैजान राजी भए । उनले हामीलाई करिब छ घन्टामा काठमाडौँ पुर्‍याउँछु भन्दै थिए । हामी करिब दुई बजे त्यहाँबाट हिँड्यौँ । अनेक घुम्ती काटेर तल बेँसी झरेपछि हामी गँगटेबाट बायाँ मोडिएर टोखा जाने बाटोतिर लाग्यौँ । त्यहाँ त्रिशूली बजारमा एकछिन चियानास्ता गरेपछि हुइँकिएको हाम्रो गाडी नुवाकोटका फाँट, डाँडा, खोँच, पाखा आदि हुँदै टोखा नगरपालिका प्रवेश गरेपछि उताबाट आउँदै गरेको मोटरसाइकलसँग ठोक्कियो । एकैछिन झमेला भयो तैपनि प्रहरी र बाँकी सबैको सहमतिमा हाम्रो गाडीले नयाँ टायर फेरेर यात्रुलाई गन्तव्यमा पुर्‍याउने अनुमति पायो । त्यतिबेला मलाई कमल सरकी आमाको भनाइको सम्झना आयो । उहाँले शनिबार र औँसी परेको हुँदा अर्को दिन मात्रै हिँड्न सुझाउनुभएको थियो । उसैमाथि समाजमा चलेको “शनिबारको बिछोड, मङ्गलबारको भेट, कि आउँछ ज्वरो कि दुख्छ पेट” भन्ने भनाइले पनि यात्रामा साबधानी अपनाउनुपर्ने कुरालाई यो मनले नकारिरहेको थिएन । धन्न कसैलाई केही भएन । ईश्वरलाई धन्यवाद दियौँ । त्यसपछि हामी ओरालो बाटो हुँदै धापासी पुग्यौँ । त्यहाँ लीला म्याम ओर्लनुभएपछि हामी सबै दश बजेतिर स्वयम्भू पुगेर रोकियौँ । पाटन पुग्नुपर्ने सुदिन सरलाई कमल सर र जितेन्द्र सरले पठाउमार्फत पठाउनुभयो । कुमार सर र म्याडम मकहाँ राखिएको बाइकमा दुवाकोट जानुभयो भने कल्पना म्यामलाई गाडीले घरसम्म पुर्‍यायो ।

यता दशैँको माहोलले नेपाली धर्ती तातिसकेको थियो । हामीलाई गाउँ पुग्नका लागि टिकट लिने काम बाँकी नै थियो । हामी बुढाबुढीबाहेक अन्य साथीहरू नुहाइधुवाइ गरेर थकाइ मार्न थाल्नुभयो तर हामी भने गुल्मीसम्म जाने गाडीको टिकट काट्न दुई दिनसम्म बसपार्क धाइरह्यौँ । दोस्रो दिन बल्लतल्ल थप गरिएको बस पायौँ । गोसाइँकुण्डको त्यो रमाइलो यात्राका बारेमा गाउँसम्म पुगी सबैलाई सुनाउने कल्पना गर्दै नाइट बसमा हुइँकिरह्यौँ । बाटाभरि गोसाइँकुण्डका अनुभूति साट्दै हामी हाम्रो जन्मस्थल गुल्मीसम्म पुग्यौँ । यस यात्राबाट हामीमा हाम्रो देश साँच्चीकै भूस्वर्ग नै रहेछ भन्ने छाप परेको छ । हाम्रो यो यात्रा वर्णन त्यहाँसम्म पुग्न चाहने विदेशी पर्यटकलगायत हरेक नेपालीका लागि जानकारी र उत्प्रेरणा दुवै बनोस् भन्ने हाम्रो कामना छ । साथै धार्मिक तथा प्राकृतिक रूपले निकै आकर्षक यो स्थलको विकास र संरक्षणमा सबैले आआफ्नो तर्फबाट सोच्नुचाहिँ निकै जरूरी देखिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

2 Comments

  1. नेपालनाम्चालाई मुरीमुरी धन्यवाद !

  2. मेरो यात्रा संस्मरण प्रकाशन गरिदिनुहुने
    नेपालनाम्चालाई मुरीमुरी धन्यवाद !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button