थिमीका मोहन भक्तपुर दरवार पुग्दा किन भए मन्त्रमुग्ध ?
मोहन के श्रेष्ठ
शंखधर चोक, थिमी, भक्तपुर
गोल्डेनगेटबाट भित्र छिरें श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिन । १९ भाद्र २०८० ।
दशै नजिकै आउन लाग्यो । तलेजु भवानी खुल्ने दिन नजिकै आउँदा मलाई कताकता त्यतैतिर छिरौं जस्तो लाग्यो । विदेशी पाहुनाको हुल नै थियो, भक्तपुर दरवार स्क्वाएरमा ।
धेरै जसो छिमेकी मुलुक भारतबाट नै आएका बढी थिए । भित्र छिराउने रास्ट्रसेवक आर्मी कर्मचारीले सबैलाई तलेजु छिर्ने चोकबाहिर नै जुत्ता, छालाको सामाग्री, मोवाइल नलान र फोटो खिच्न नपाउने नियम पालना गर्न लगाइरहेको थिए । बाहिरपट्टि केही विदेशी पाहुना (हिन्दुबाहेक) हरुलाई रोकिराखेको थिए । हिन्दुबाहेक छिर्न नमिल्ने रहेछ तलेजु मन्दिरमा । सुनेको मात्र थिएँ तर प्रत्यक्ष देखें यो दिन । भन्दै थिए, नेपाल, भारतका पनि हिन्दु जस्ता देखिने अन्य धर्मलम्बीहरु भैहाल्छ नि । तिनीहरु छिर्छन् होला झुकाएर । अनुहारमा कुन धर्मका भनेर लेखेको हुँदैन । गोराहरुलाई पो हामी चिन्न सक्छौं ।
म भने केही कुरा जान्ने उत्सुकताले तलेजु छिर्ने चोकबाहिर नै उभिरहें । विशेष गरी गाइडहरुको कुरा सुन्न लालयित थिएँ । केही सुनाउँछन् कि भनेर कान थापें । त्यतिकैमा मैले एकजना गाइडसँग तलेजु भवानी के रहेछ भनी सोधें । उनले बडो उत्साहपुर्वक भन्न थाले । तलेजु भवानी शक्तिशाली भगवान रहेको महिमा सुनाउन थाले । भवानी माता रे शक्तिकी देवी । उ बेलाको राजाले पुज्ने शक्तिकी देवी भएको वृतान्त सुनाउँदै हुनुहुन्थ्यो । साथसाथै उ बेलाका मल्ल राजाहरु धेरै नै तन्त्र विद्यामा पारंगत हुन्थे र तलेजु भवानीलाई तन्त्र विद्याबाट बोलाएर संगै जुवा खेल्ने गर्थे भन्ने कुरा उल्लेख भएको कुरा सुनाए । मल्लकालिन समयमा भक्तपुरको तलेजु नै मुख्य हो रे । त्यतिकैमा अर्को गाइडले दाइले पनि कुरा थपे । उनी तराई पर्साबासी रहेको कुरा मलाई थाहा नै थिएन । मैले त उनलाई पनि भारतिय ठानेको थिएँ । उनले तलेजु भवानीको मुल ढोकामा रहेको काष्ठकलाबारे भन्दै थिए । अस्टमातृकालगायत सुन्दर कलात्मक तरिकाले कुँदेको कास्ठकलाको अनुपम नमुना रे । अहिले यो बनाउन धेरै नै गाह्रो असम्भव नै लगभव जस्तो कुरा भन्दै थिए । तर अर्को गाइडले भने अहिले पनि यो नगरपालिकाको मेयरले बनाउन सक्ने सीपको जगेर्ना गर्न लागिपरेको सुनाउँदै थिए । मलाई जहाँसम्म लाग्छ, अहिले पनि बनाउन सक्ने शिल्पकर्मीहरु छ्न् जस्तो लाग्छ नेवार समुदायमा। कास्ठकलाकर्मीहरुले अहिले पनि दुरुस्त बनाउने सक्ने कुरा भन्दै थिए उनले पनि । मनमनै मैले पनि उनलाई समर्थन गरेँ ।
उ बेलाका राजाहरु तन्त्र विद्यामा पारंगत भएको र आफ्नो इच्छा अनुसारको सर्प, नाग, अस्टमातृका जस्ता अनेकौंको आकार प्रकार धारण गरेर हिँड्न सक्ने भनेर सुनाउँदै थिए । मल्लकालिन रानीहरु पोखरीमा नुहाउन आउँदा चारैतिरबाट नागले रक्षा गर्थे रे । त्यतिका शक्तिशाली हुन्थे रे मल्लकालिन राजपरिवार । बस्नेत थरका रास्ट्रसेवक आर्मी दाइले भने भुपतिन्द्र मल्ललाई गोली हान्दा तलेजु भवानीले बचाएको र गोली अन्तै पर्न गएको भनी रोचक कुरा सुनाउँदै थिए ।
कुराकानीको सिलसिला मलाई धेरै नै रमाईलो लागिरहेको थियो । तर बिडम्बना गाइडहरुको पाहुना तलेजुभित्र घुमेर बाहिर निस्किसकेको रहेछन् । उनीहरुसँगको कुराको सिलसिला त्यही टुङियो ।
केही समयपछि म भित्र छिरेँ । जुत्ता, छालाको बेल्ट, मोवाइल बाहिर नै छाडेँ । केही समय तलेजुभित्र मग्न भै घुमेँ । पोखरीमा बच्चाहरुलाई मुख धोइदियो भने बच्चालाई रुन्चे नलाग्ने, बुद्धि पलाउने जस्ता कुरा गेटमा बसेका सैनिक दाइले नै बडो आत्मीयपुर्वक सुनाए । भित्र बसेर पोखरीमा नियालें । पानीमा हरियो लेउ लागेको रहेछ । तलेजुमा अरु बलि दिने ठाउँ, अनेक कलाकृतिले भरेको मुर्तिलगायत पाटी, पुरानो ताल्चा जस्ताले केहि बेर मलाई मन्त्रमुग्ध बनाए ।
धेरै बर्ष पहिले जुन बेला अमेरिका पनि नबनेको समयमा हाम्रो देशमा यस्तो बनेको भनेर गर्व साथ बताउने गरेको धेरै गाइडहरुको जिब्रो भेट्टाएँ मैले त्यहाँ । सायद म छक्क पर्नुको कारण पनि यहि हुन सक्छ । म मात्र होइन, जो कोहि पनि छक्क पर्न सक्छ त्यहाँ ।
तलेजुबाट निस्केर नागपोखरी प्रवेश गरेँ । र, नागको आकृति र कलात्मक पोखरीसँगै मन हराउँदै म त्यहाँबाट पनि निस्केँ ।
बाटोमा फेरि अर्को छिमेकी देश भारतको ग्रुप भित्र प्रवेश गर्दै थियो । उनीहरुलाई नेवारी टोन भएको अर्को गाइड मल्ल राजाको पहिरनबारे सुनाउँदै थिए। दुई मल्ल (बुवा र छोरा) को शालिक देखाउँदै उति बेला भारतमा मुस्लिम राजाहरुको दबदबा रहेको र मल्ल राजाहरु पनि उतैतिरको पहिरन झिकाएर लगाउने गरेको वृतान्त ती दुई ढोकामा राखेको शालिक देखाउँदै सुनाउदै थिए ।
त्यसपछि भने म गोल्डेन गेट चोक पुगें बाहिर निस्कन भनेर । फेरि अर्को चर्चा हुन्न थाल्यो । पच्चपन्न झ्याल तीनतिर फर्केको र तीनतिर भएर जम्मा पचपन्न भएको कुरा त्यहाँ बसेका चौधरी थरका आर्मीले सुनाए । अनि उनले दशैँमा चढाउने बलिको कुरा गरे । रांगा मार्दा पहिले रेटिसकेपछि दुईटा नशा फेला पारी त्यो नशाबाट रगत निकाली देउटातिर रगत चढाई रेटिरेटी रांगा मार्ने प्रथा रहेको सुनाए ।
उफ, यतिले मात्र कहाँ जनबोली र सुनेका बुझेका कुरा सुन्न पूरा हुन्छ र भक्तपुरमा ?
पच्चपन झ्यालकै दरवारको स्वरुपबारे कुरा गरे । उहिलेका झ्यालहरु भित्रबाट देखिने र बाहिरबाट नदेखिने गरी बनाएको हुन्छ रे । अचम्मको कलाको विकास भएको रे । यावत कुराहरु सुन्दै म त्यहाँ निकै बेर भुलेको थिएँ ।
गोल्डेन गेटको बाहिर निस्कने बितिकै भुपतिन्द्रको शालिक अगाडि म टक्क रोकिएँ । नमस्ते गरिरहेको शालिकतिर नै हेरेँ । मनमनै मैले पनि नमस्ते ठोकेँ । मान्नै पर्छ त्यो बेलाको व्यवस्थापन र कलाको भनेर सोचेँ ।
सोच्दा सोच्दा घिन्ताङ घिन्सी ट्वाक भन्दै गाईजात्रादेखि सुरु भएको झांकीहरु आउने सुरु भैसकेको रहेछ । गाईजात्रादेखि कृष्ण जन्माअष्टमीसम्मै त्यो जात्रा मनाउने रहेछ । साँझदेखि रातीसम्मै त्यस्तै विभिन्न देवीदेवताको नाचलगायत थरीथरीका व्यंग्य प्रहसन, नाचगान गरेर गाइजात्रा पर्व मनाइन्छ रे । हेर्दैहेर्दै मन भुल्यो । रमाइलो लाग्यो । सम्झेँ कसैको भनाई, भादगाउँ जात्रा नै जात्राको शहर हो ।
साँच्चै नै मन भुलाउने मनमोहक ठाउँ कस्लाई पो जाउँ जाउँ नलाग्ला र ! स्वदेशी विदेशी दुवैलाई ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)