भीमाद–पाथर्दी पदयात्रा सम्पन्न, सिद्धगुफा पनि छुटेन
कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्रा सम्पन्न गरेको छ । तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार यो पदयात्रा गरिएको हो ।
पदयात्रा भीमाद–६ स्थित भीमाद बजारबाट सुरु भई पाथर्दीमा पुगेर टुङ्गिएको थियो । कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनःसञ्चालन गर्न पदयात्राको आयोजना गरिएको हो । अध्यक्ष शिवकुमार आलेले भने, “कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, तर विस्तारै पर्यटन कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गरेका हौँ ।’
पदयात्रा टोलीले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत सिद्धगुफाको पनि भ्रमण गरेको थियो ।