यहाँ जाने र यति बेला हिँड्ने भन्ने सल्लाह नगरी स्वयम्भूबाट भुवनेश्वरी हुँदै तारकेश्वर पुगियो

हरिप्रसाद गौतम

शनिबार अलि सबेरै उठेँ र मेरो नित्यकर्म सिध्याएँ । शनिबार हुनाले मैले मेरा मित्र कमल कार्कीसँग कतै घुम्न जाने योजना बनाएको थिएँ । तर यहाँ जाने र यति बेला हिँड्ने भन्ने सल्लाहचाहिँ गरेको थिइनँ । त्यसैले खाना पाक्दै गर्दा मैले उहाँलाई फोन गरेँ र तारकेश्वर जाने मेरो मनसाय व्यक्त गरेँ । कुरा मिलिहाल्यो ।

दुवैले खाना खाएर १०ः ३० बजे भगवानपाउमा भेट्ने योजना बनायौँ । जसअनुसार हामी भेट भएर वनस्थली हुँदै बालाजु, बाइपाससम्म पुग्यौँ । त्यहाँबाट बस चढेर तीनपिप्ले ओर्ल्यौँ । हाम्रो यात्रा त्यहाँबाट उत्तरतिरको डाँडामा रहेको भूवनेश्वरी मन्दिरतर्फ मोडियो । हामी ठाडो सिँढी चढेर भूवनेश्वरीको प्राङ्गणमा पुगेर सुस्तायौँ । मन्दिरको दर्शनपछि हामी देब्रेतिरको अलिअलि उकालो डाँडो हुँदै उत्तरतिरको बाटो लाग्यौँ ।

कच्ची र धुलेबाटो भए पनि गाडी गुड्न मिल्ने सजिलो बाटो भएकाले हामी ढुक्कले दायाँबायाँका दृश्यलाई नियाल्दै, गफ गर्दै र उपत्यकाको बस्तीसँग लुकामारी खेल्दै अगाडि बढ्दै गयौँ । जब हामी मानेभञ्ज्याङ पुग्यौँ, त्यहाँ हामीले बनेपाबाट आउनुभएका चार जना हामीजस्तै शिक्षण पेसामा लाग्नुभएका पाको उमेरका रमाइला शिक्षिका साथी भेट्यौँ । त्यसपछि उहाँहरूसँगै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गरी जङ्गलको दाइने मोडिने बाटो हुँदै तारकेश्वरतर्फ लाग्यौँ । कतै तेर्सो, कतै घुम्टे, कतै उकालो, साँघुरो अनि शीतल तथा रमाइलो बाटो हुँदै ठाउँठाउँमा सुस्ताउँदै अनि हिँड्दै गरेका हामीले अब तारकेश्वरको नजिक पुग्दै छौँ भन्ने कुरा त्यहाँ बजेका घन्टहरूको ध्वनिबाट थाहा पायौँ । तेर्सो बाटो छोडेर हामी मन्दिर, कुण्ड, गुफा आदि भएको गेटतर्फ उकालो लाग्यौँ ।

हरिप्रसाद

सुरुमा रुखमुनि बनेको कुटी अनि कुण्ड, अनि ढुङ्गे गुफा हुँदै सिँढी चढेर हामी सतीदेवीको घुँडो (कतै तिघ्रा भनिएको रहेछ तर त्यहाँका पुजारीका अनुसार घुँडो( पतन भएको ठाउँमा पुग्यौँ । त्यसमाथि देब्रेतिर कालीबाबाको समाधिस्थल घुमेपछि जुत्ताचप्पल खोलेर हामी दाहिनेतिरको भिरमा रहेका शिवको दर्शन गरी भर्‍याङ ओर्लेर गणेशको मूर्ति रहेको गुफाको पनि दर्शन गर्‍यौँ । निकै साँघुरो दर्शनस्थल भएको भिरमा अलि सजग हुनुपर्ने स्थिति पनि रहेछ तसर्थ होशियारीपूर्वक पूजापाठ पनि गर्‍यौँ । फर्कने बेला भयो । तीनपिप्लेबाट करिब डेढ–दुई घन्टाको हिँडाइले थाकेका हुनाले एकछिन त्यहाँ बग्ने धाराको चिसो र शुद्ध पानी पिएर आराम गर्‍यौँ । अन्य साथीको काम सिद्धिएपछि हामी पहिलेको बाटो र लय समातेर गफ गर्दै पुनः भूवनेश्वरी मन्दिर, अनि उही सिँढीको ओरालो झरेर तीनपिप्ले पुग्यौँ ।

संयोगले माछापोखरीसम्म पुग्ने गाडी भेटिएकाले हामी सबै त्यसैमा चढेर बाइपास पुग्यौँ । त्यहाँ बनेपाली साथीसँग बिदा मागी हामी फेरि बालाजु औद्योगिक क्षेत्रको बाटोबाट वनस्थली, भगवानपाउ हुँदै घर फर्क्यौँ । साथी कमलजीसँग बसेर एकछिनपछि मिठो चियाको स्वादसँगै मैले रमाइलो भ्रमणका बारेमा परिवारलाई पनि सुनाएँ अनि मित्र कार्कीलाई बिदा गरेँ । साँझको स्वस्थानी व्रतकथा सुन्ने बेला भएकाले कथा सुनेँ । त्यसपछि खाना खाएर एकछिन मोबाइलमा समाचार हेरेँ ।

थकाइ लागेका कारण छिट्टै नै सुत्ने तरखरमा लागेँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button