
जब दोलखामा झमझमे झरी सिमसिमे झरीमा अनुवाद भयो
पेशल आचार्य
जीवन यात्रा हो । चाहेर या नचाहेर यात्रा गर्नुपर्छ जसरी गरिएको यात्रा भए पनि यात्राले यात्रुलाई अनेकन ज्ञान दिन्छ । दिँदो रहेछ । यो कुराको ब्रह्मज्ञान यसपालिको मेरो दोलखा यात्रामा भयो ।
यात्राको सौभाग्य जुराएको थियो– शिक्षा विकास तथा समन्वय इकाई, दोलखा र डिभिजन वन कार्यालय, दोलखाद्वारा संयुक्त रुपमा आयोजित ‘हरित विद्यालय प्रबद्र्धन कार्यक्रम’ले ।
भाद्र ६ गते तीन बजे शिक्षा इकाईको गाडीमा हामी ५ जनाको यात्रा सुरु भयो ।
मन्थलीको हप्हपी गर्मीमा पातलो हाप सर्ट नै काफी हुने बेला झोलामा कोट र फुल बाहुला सर्ट हालेँ । दैनिक नुहाउने बानी भएकाले एकजोर अन्डर गार्मेन्टस् राख्ने पर्ने भयो । साथमा दाँते ब्रस, दारी काट्ने रेजर, ब्लेड, मन्जन, टाबेल राख्दा झोला झन्डै विदेश यात्राझैँ गह्रौं देखियो ।
यात्रामा शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराई, यो लेखको लेखक अर्थात् मन्थली माविका सहायक प्रधानाध्यापक म पेशल आचार्य, रामेछापको पश्चिमोत्तर दिशामा रहेको जिल्लाकै नमुना स्कुल डहू माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हिरालाल मोक्तान, इकाई अफिसका चालक भाइ पशुपति न्यौपाने र साथमा हुनुहुन्थ्यो बहुत रसिला, फरासिला र बोलक्कड हामी सबैका गुरु गोपाल पोखरेल अर्थात् इकाई प्रमुख भरत सरका गुरु ‘पोखरेल सर’ ।
यात्रामा वहाँले धेरै हँसाउनु भयो । जीवन भनेको अनुभवको पुञ्ज हो । केही वर्षअघि रिटायर्ड हुनु भएको रहेछ । ३७ वर्ष अङ्ग्रेजी शिक्षण, केही वर्ष धानचामल खरिद विक्री र हाल पूर्णरूपमा देश दर्शनमा निस्केका पोखरेल सरले हाम्लाई सो यात्रा बितेको पत्तै दिनु भएन ।
हिँड्दा उखुम गर्मी थियो । जतिजति उत्तरतिर लाग्दै गयौं उतिउति चिसोचिसो बढ्दै गयो । मन्थली–चरीकोटको दूरी यस्तै ७५–८० किलोमिटर होला । हामी करिब साढे चारतिर नयाँ पुल पुग्यौं । त्यहाँ पुग्दा जोडले पानी प¥यो । केहीबेर त्यहाँ अडिएर खाजाको अर्डर गरियो । के खानो, के खाने हामी अल्मलिँयौं । अन्त्यमा भरत सरको इच्छानुसार चिउरा, तरकारी, भटमास र चिया खाने विचारमा पुगी केही मिनेटको अन्तरमा सोही खाजा खाइयो ।
गोपाल सरलाई नयाँ पुलमा गएर फोटो खिच्ने धोको रहेछ । उहाँ पानी केही मत्थर भएको मेसो पारेर एक्लै पानीमा रुझेरै भए पनि केही फोटो क्लिक गर्नुभयो । हामीले चाहिँ खाजा खाएकै होटल भित्रबाट बाहिरको सिन पारेर केही थान फोटा मोबाइलमा लिन भ्यायौं ।
अब पानी पर्न कम भएकाले बाटो लाग्यौं । अझै १९ किलोमिटर उकालो बाटो बाँकी छ । साँझा पर्नै लागेको छ । गाउँघरतिर भाको भए गाईवस्तु गोठमा लैजाने समय भएजस्तो देखिन्छ । बीचमा दोलखाका इकाई प्रमुख शङ्करबाबु श्रेष्ठ सरले मलाई मोबाइलमा सम्पर्क गर्नु भएछ । मेरो मोबाइल आजकाल प्रायः साइलेन्टमा रहने हुँदा मैले पत्तो पाइन । पछि यसो फोन हेरेको हिस्ट्रीमा ६ कल मिस्ड कल भएर रहेको रहेछ ।
तुरून्तै कल ब्याक गरेँ । लागेन । भरत सरले कल गर्नुभयो । पछि दुवै सरको सम्पर्क भएकाले हामी नयाँ पुल कटिसकेको पत्तो दोलखाका शङ्कर सरले पाउनुभयो । यतिभन्दा लगभग हामी किराँती छाप पुगिसकेका रहेछौं ।
अहिले दोलखाको बाटो मेरा लागि बिरानो छ । नत्र केही वर्षअघि घर जानेआउने मूल बाटो भनेकै त्यही थियो । त्यो बाटामा यात्रा गरेका मेरा दर्जनौं स्मृतिहरू रहेका छन् । मिहिनरूपले लेख्ने हो भने एउटा पुस्तकै हुन्छ ।
बाटाभरि चालक भाइ पशुपति न्यौपानेका तर्कशील गफले गर्दा यात्रा सकिएको पत्तै भएन । फुत्त चरीकोटको सातदोबाटो चोक पुगिएछ । अब कता जाने भन्ने मेसो थाहा पाउनका लागि भरत सरले फेरि शङ्करबाबु सरलाई फोन गर्नुभयो । लगभग १५ मिनेट जति हामी सडकमै गाडी किनार लगाएर गाडीमै बस्यौं । फुत्त दोलखाको गाडी आएर हामीलाई इसारा गरेपछि हामी अडिएको ठाउँबाट देब्रे मोडिएर चरी घ्याङ् जानेपट्टि लाग्यौं । हाम्रा लागि ‘होटल प्रिन्स’ तय भएको रहेछ ।
झोलाझ्याम्टा राखेपछि हामी केहीबेर सुस्तायौं । चिया पिएर साँझमा म, हिरा सर र शङ्कर सर तीनजना बजारको केही भाग घुम्यौं । गोपाल सर, भरत सर र पशुपति भाइ अर्कातिर जानु भएकाले भेट हुन सकेन ।
हामी होटल फर्कियौं । दोलखाका इकाई प्रमुख शङ्कर सरले केही समय भलाकुसारीमा साथ दिनुभयो । वहाँका छोरा हृदमबाबु श्रेष्ठ जो स्थानीय बोर्डिङ् स्कुमा कक्षा ः ६ मा पढ्नु हुँदो रहेछ उहाँसँग समेत परिचय भयो । बाबु छोरा दुवै शालीन जँच्नुभयो ।
केही बेरमा खानाको मेलो चल्यो । थाकेको हुनाले खाना मिठो लाग्यो । बास्तवमै खाना मिठो मानियो । उसै त चरीकोट चिसो पानीको ठाउँ हुनाले खानेकुराहरू प्रायः मिठा लाग्ने । खाना खाएर केही छिन गफिएर शङ्कर सर क्वाटर फर्किनु भयो । हामी आफ्नो रुमतिर लाग्यौं । तीनवटा रुम लिइएको रहेछ । हिरा सर र म एकातिर, गोपाल गुरु र भरत सर अर्कोतिर र पशुपति भाइलाई सिङ्गल रुम मिलाइएको रहेछ ।
म जहिल्यै पौने पाँचमा उठ्ने गर्छु । त्यहाँ त अझ चाँडै साढे चारमै आँखा खुल्यो । केही क्षण कोठामै कसरत गरेपछि नित्य कर्म सकेर नुहाइधुवाई गरेर दुवैजना तल होटलको लबीमा आयौं ।
चिया पिइयो । कुराकानीहरू भए । सिन्धुपाल्चोकबाट इकाई प्रमुख रामकृष्ण सुवेदी सर आउनु भएको रहेछ । परिचय साटासाट भयो । त्यसपछि दोलखा भीमसेनको दर्शन गर्न जाने कुरा भए । हामीले सबेरै हिँडेर जाने सल्लाह गरेका थियौं तर गर्दै भन्दै जाँदा साढे सात भैसकेको र अलिअलि घाम चर्केकाले अब गाडीमै जाने कुरा भयो । हामी ३ जना एउटा गाडीमा र अरू सरहरू तीनजना अर्को गाडीमा बस्यौं ।
सुनसान रहेछ यो पटक भीमसेन मन्दिर । जाँदा लामो घुमाउरो र आउँदा चाहिँ ठाडो उकालो बाटो आयौं ।
होटल आइपुग्दा बिहानको ९ बज्यो । खाना खाएर कार्यक्रमका लागि तयार भयौं । भाद्र ७ गते माओवादीका ३ घटकहरूले नेपाल बन्दको कार्यक्रम राखेका रहेछन् । बिहानैदेखि सोको छनक देखिन्थ्यो । चरीकोट बजार सखारैदेखि घाइँघुइँ हुने बजार हो तर चालचुल केही सुनिन्थेनँ । सातदोबाटो चोकमा सशस्त्र र जनपद प्रहरीको उपस्थिति मध्यम थियो । फाट्टफुट्ट सरकारी र प्राइभेट नम्बर प्लेटका गाडीहरू चलेका थिए । हाम्रो गाडीका चालक भाइ पशुपति न्यौपाने धेरै चलाख रहेछन् उनी भन्दै थिए –‘अहिले गाडी चलाएको बन्दकर्ताले ख्याल गरिरहन्छन् । पछि एक्लैदोक्लै हिँड्दा ठोक्छन् –सर ।’ हामी नाजवाफ भयौं ।
भीमसेनको दर्शनपछि केही फोटाहरू खिच्यौं । गोपाल सर असाध्यै फोटाका सौखिन हुनुहुँदो रहेछ । गाडी रोकियो कि फाटाफट् फोटो खिचिहाल्ने । पछि वहाँले मलाई म्यासेन्जरमा आफूले खिचेका फोटाहरू सेन्ड गरिदिनु भयो ।
कार्यक्रममा बन्दको प्रभाव पर्छ कि भनेर बिहानैदेखि शङ्करबाबु श्रेष्ठ सरले चिन्ता प्रकट गरिरहनु भयो तर सहभागीहरूको उपस्थितिले नगरपालिकाको सभा हल खचाखच भएको थियो ।
कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई, दोलखाका प्रमुख शङ्करबाबु श्रेष्ठले सञ्चालन गर्नु भयो । सञ्चालन शैली शालीन थियो । स्वागत् भाषण डिभिजन वन कार्यलय, दोलखाका प्रमुख थीरबहादुर कार्कीले गर्नुभयो ।
सरकारी कार्यक्रमहरूमा सम्बोधनको लम्बेतान सुन्दा मलाई प्रायः छोटा सम्बोधन भए हुन्थ्योजस्तो लाग्छ । केही वक्ताले बोलेपछि डहू माध्यमिक विद्यालयलका सहायक प्रअ हिरालाल मोक्तानले डहू माविमा भएका असल अभ्यास र हरित विद्यालयका बारेमा स्लाइडमार्फत् आफ्ना कुरा राख्नुभयो ।
करिब ४ सय विद्यार्थी भएको सो स्कुलले धेरै शैक्षिक प्रगति गरेको रहेछ । यस पटकको एस्इईमा सोही स्कुलका २ जना विद्यार्थी कम्प्युटर इन्जिनियरिङ् विषयमा ४ जिपिए ल्याउन सफल भएका रहेछन् । धेरै नयाँ शैक्षिक अभ्यास भएको स्कुल रहेछ ।
छक्क त त्यस बखत परियो जब कुनै नजान्ने विद्यार्थीलाई सामान्य कक्षाबाट ‘आइसियू कक्षा’ मा लगेर पढाइने कुरा उहाँले राख्नु भयो । यतिखेर सामुदायिक स्कुलहरू जागेको बेला छ । केही न केही नयाँ प्रयोग सरकारी स्कुलहरूले गरिरहेका छन् । डहू स्कुल पनि सरकारी हो तर त्यहाँको स्टाफहरूको अथक परिश्रमका कारण जिल्ला, प्रदेश र देशकै उत्कृष्ट बन्न लागिरहेको रहेछ भन्ने कुरा स्लाइडबाट थाहा भयो ।
सो पछि मेरो पालो आयो । हाम्रो स्कुलमा करिब २२ सय पचासजति विद्यार्थीहरू अध्ययन गर्दछन् । नेपाली र अङ्ग्रेजी दुई धारमा कक्षा ः ४ देखि १० सम्म अध्ययन हुने हाम्रो स्कुल जिल्लाका धेरै विद्यार्थीमा धेरै कार्यक्रमहरू गर्ने जिल्लाकै नमुना विद्यालय हो । यहाँ प्राविधिक धारमा तीनवटा कार्यक्रमहरूमा अध्ययन गराइन्छ ।
‘हरित विद्यालय कार्यक्रम’ अन्तर्गत फलफूल खेती, तरकारी खेती र गमलामा फूल रोप्ने नयाँ काम गरिएका छन् । ती सबैलाई समेटेर मैले ५५ वटाजति शैक्षिक, भौतिक र व्यवस्थापकीय पक्षका असल अभ्यासका स्लाइडहरू र पछि १७ वटाजति हरित विद्यालयका स्लाइडहरू प्रदर्शन गरेँ ।
मलाई दिइएको १५ मिनेट लम्बिएर ३५ मिनेट पुगेछ । सहभागीहरूले निकै चासोका साथ सुन्नुभयो । हाम्रो स्कुलले गरेका ३० वटा असल अभ्यासलाई मैले प्रमाणका साथ खरररर राख्दा सबैभन्दा धेरै प्रभावित हुनेहरूमा मेलुङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, भीमेश्वर नगरपालिकाका मेयर, प्रमुख अथिति तथा प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्का र कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समिति दोलखाका अध्यक्षले दुवै स्कुलको जमेर प्रशंसा गर्नुभयो । साथै आगामी दिनमा स्कुल भ्रमणका लागि मन्थली मावि र डहू मावि घुम्न आउने विचार समेत रहेको सुनाउनु भयो ।
दोलखामा २०७२ को भूकम्पपछि प्रायः सबै आधारभूत र माध्यमिक विद्यालयहरूका नयाँ भवन बनेका धेरैजसो भवनहरू एडीबी र केही भवनहरू भारतीय राजदूतावासबाट निर्माण भएका रहेछन् भन्ने कुरा कार्यक्रमबाट थाहा भयो । दोलखाले ‘एक स्कुल एक नर्सरी’ कार्यक्रमको लन्च सोही समारोहमा गर्यो । साथै प्रत्येक पालिकामा एउटा ‘नमुना विद्यालय बगैँचा’ बनाउने कार्यक्रमको थालनी गर्ने सोही कार्यक्रममा जानकारी दिइयो ।
मानिस लागेपछि सम्भव हुन्छ । मैले मन्थली माविले ३३ प्रतिशत खेलकुद, ३३ प्रतिशत ध्यान र ३३ प्रतिशत पढाइलेखाइलाई जोड दिइएको र १७ वर्षदेखि निरन्तर पहिले वीरेन्द्र शिल्ड र पछि राष्ट्रपति कप जितेर शिल्ड पच गरेको भन्दै स्लाइड देखाउँदा एक प्रकारको गौरवको अनुभूति भयो । असल अभ्यास गर्न गाह्रो तर असल अभ्यास गरेका कुरा समुदायमा सुनाउन पाउँदा असाध्यै खुसीको महसुस हुँदो रहेछ । यो कुरा मलाई पहिलोपटक स्कुलको बारेमा बताउँदा थियो ।
एक दिनको चीसो खाएर फेरि पानी पर्दैको समयमा करिब ५ बजेतिर हामी दोलखाबाट हिँड्ने तर्खर गर्न थाल्यौं । शङ्करबाबु सरले नेल्टा दोलखाको कार्यक्रम भएको स्थानमा रहेको सात तले होटलको रुफ टपमा हामी चारै जनालाई लगेर लेमन टी, कफी र बिस्केट खुवाएर विदा गर्नुभयो । हिजो जति बजे दोलखा आएको त्यति बजे नै हामीले दोलखा छोड्यौं ।
केही अघिको झमझम झरी सिमसिमे झरीमा अनुवाद भैसकेको थियो । अब फेरि गर्मीमा आउनु थियो । गोपाल सर उतैबाट सिन्धुपाल्चोकको मुडे बसेर भोलिपल्ट काठमाडौँ जानु भएको कुरा निरन्तर फेसबुकमा राखिरहनु भएको थियो । हामी साढे पाँच बजे हिँडेर साढे सात बजेतिर मन्थली आयौं । मलाई मेरा पूर्व विद्यार्थीसमेत रहनुभएका पशुपति भाइले कोठासम्मै गाडीमा ल्याइदिनु भयो ।
सो हरित विद्यालय प्रबद्र्धन कार्यक्रममा हाम्रो विद्यालयका प्रअ टंकप्रसाद दहालज्यूलाई निमन्त्रणा गरिएकोमा वहाँ आफ्ना पिताजीको २०७९ भदौ २ गते भएको असामयिक देहावसानका कारण आशौच बारेर बस्नु परेकाले सहायक प्रधानाध्यापकका हैसियतले मैले सो कार्यक्रममा भाग लिएर प्रेजेन्टेसन गर्ने मौका पाएँ । जुन कार्यक्रमको चाँजो हाम्रा विद्यालयका अर्का सहायक प्रधानाध्यापक तथा शैक्षिक प्रमुख चन्द्रसिँह धामीले मिलाउनु भएको रहेछ ।
जीवन नै सिकाइ हो । कहिले सिक्दा सिकिने रहेछ भने कहिले सिकाउँदा सिकिने रहेछ । सो यात्रामा धेर सिकियो । बाटामा गोपाल सरबाट, भरत सरबाट, पशुपति भाइबाट, हिरालाल सरबाट त सिकियो नै कार्यक्रममा समेत शङ्करबाबु श्रेष्ठबाट, भीमेश्वर नगरपालिकाका मेयरबाट र मन्त्री विशाल खड्काबाट धेर सिकियो । यो सिकाइलाई मैले पेसागत सिकाइका रूपमा दिलमा क्लिक गरेर राखेको छु ।
यसरी २४ घन्टे झरीको दोलखा यात्रा भदौ ७ गते बेलुकी मन्थली आएपछि पूरा भयो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)