लाइफस्टोरीः जो भाग्य चम्काउन आफ्नै थाप्लो कुच्याएर दंग थिए

एक पुरुषोत्तम पर्यटनका

राजेन्द्रमान डंगोल

‘उठ, जाग र तबसम्म नरोक आफूलाई, जबसम्म तिम्रो लक्ष्य पूरा हुँदैन ।’

कसैले भनेको यो भनाइलाई आत्मसात गरे झैँ लाग्छ उनलाई देख्दा । किनकि उनी उठिरहेका छन् । जागिरहेका छन् । र, कतै रोकिएका छैनन् उनका पाइला ।

सुगठित शरीर । औसत नेपाली उचाइ । गहुँगोरो वर्ण । असल भावनाले ओतप्रोत भएका । मिलनसार र मृदुभाषी । मिहिनेत र इमानदारीताको परिचय बनाएका । एउटा सफल पर्यटन व्यवसायी उनी अर्थात् पुरुषोत्तम तिमल्सेना ।

वि. सं. २०३७ जेठ १३ गते ज्वालाभुखी– ४ धादिङको मध्यमवर्गीय परिवारमा जन्मेका उनी परसुराम तिमल्सेना र स्व. पार्वती तिमल्सेनाका पहिलो निशानी हुन् ।

जग्गाजमिन मनग्य छँदै थियो । अन्नको बिउलाई पसिनाले सिन्चेर बालीनाली सपार्थे परसुराम तिमल्सेना । अझ खडेरी नपरेको वर्ष सोचेभन्दा बढी नै अनाज भिœयाउँथे उनी । त्यसैले त बालखकालमा भोकसित सामना गर्नु परेन पुरुषोत्तमले । वर्षभरि खानलाई समस्या नहुनु नै ठुलो कुरा हुन्थ्यो उति बेला । आर्थिक आयको नियमित स्रोत नभए पनि बोडी, बदाम, पिँडालु र तोरी जस्ता नगदेबालीबाट वर्षभरिको आर्थिक गर्जो टार्थे, पुरुषोत्तमका बुबाले । दुहुनो गाई–भैँसी टुट्थेन कहिल्यै । सानैदेखि दही, दूध र मोहीमा बानी बस्यो उनलाई । त्यसैले त मध्यपानबाट अझैसम्म पनि टाढै छन् । सुर्तिजन्य पदार्थ त झन् कहिल्यै छोएनन् उनले । 

वि. सं. २०४३ पौष ४ गते ज्वालामुखीस्थित बराहकालिका निमाविको प्राङगणमा पहिलो पाइला टेके पुरुषोत्तमले । ‘कखरा’ घरमै सिकेका थिए । सीधै एक कक्षामा भर्ना भए उनी । अनुशासित र जेहनदार थिए । हुने बिरुवाको चिल्लोपात भनेझैँ सुरुदेखि नै पढाइमा तीक्ष्ण थिए । कक्षा आठसम्मको अध्ययन बराहकालीमै भयो । उनी धादिङकै ज्वालामुखी– ३ स्थित शमीभन्ज्याङ माविमा भर्ना भए । उति बेला अहिलेको जस्तो सकड सञ्जाल फिँजिएको थिएन धादिङमा । विद्यालय पुग्न मात्र उनलाई दैनिक चालीस मिनेट ‘लेफ्टराइट’ गनुपर्ने भयो । त्यसो त मान्छेले जीवनमा आइपरेपछि जुनसुकै कुराका लागि पनि तयार हुनुपर्छ । हिँड्नुको विकल्प थिएन उनीसँग ।

उमेरका पाना पल्टिँदै गर्दा दायित्व पनि बढेको महसुुस गर्थे उनी । उनीभन्दा मुनी पाँच बहिनीहरू त थिए तर बालखै । घरको जेठो सन्तान हुनुको सौभाग्य पनि हो यो । वस्तुभाउ भएपछि घाँस–स्याउला र सोत्तर त गर्नै परिगो । प्रत्येक दिन स्कुल जानुअघि एक भारी घाँसको टीको नै लगाएका थिए उनले । घाँस काट्दा हँसियाले आफ्नै औँला रेटेको अनुभव । उकाली–ओराली गर्दा खुट्टामा ठेस लागेको अनुभव । मेलापातको अनुवभ । असिना र वर्षे हुरीले निशानी लगाएको अनुभव । चैत–बैशाखको टन्टलापुर घामले  पुर्पुरो सेकेको अनुभव । माटोमा तरतरी पसिना चुहाएको अनुभव । जेठो सन्तान हुनुको अनुभव । विद्यार्थी जीवनमै अनुभवै अनुभवका अनगिन्ती सँगालो सँगालेका थिए उनले । गाउँले जीवन बाँचेर हाँसिल गरेका अनमोल ज्ञान हासिल गरेका छन् उनले ।

बिदाका बेलामा पनि गोठालो जाने गर्थे उनी । एउटा हातमा लठ्ठी र अर्को हातमा किताब छाड्दैनथे उनी । गोठालोमा उनका नजर किताबकै पानामा सीमित हुन्थ्यो । नत्र पढाइमा भएको श्रेष्ठतालाई कसरी अुक्षुण्ण राख्न सक्थे र उनले !

खेल्नमा भन्दा पढ्नमै रुची थियो पुरुषोत्तको । उनको लगनशीलताले पढाइको स्तरलाई अब्बल श्रेणीमै राख्यो । फलतः प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरे । त्यति बेलासम्म एसएलसीलाई फलामे ढोकाको रूपमा लिइन्थ्यो । ठुलै हाउगुजी थियो एसएलसीको । एउटा विकट भूगोलको केटोले फलामे ढोकालाई सजह पार गर्नु चानचुने कुरा किहाँ थियो र ! त्यो सफलताले वाहवाही पाए उनले । उनले आफ्नै इज्जत राखे । अविभावकको इज्जत राखे । विद्यालयको इज्जत राखे । र, राखे एउटा भूगोलकै इज्जत ।

आम मान्छेको झैँ एसएलसीपछि सुरु हुन्छ, उनको जीवनको वास्तविक कथा । जीवनमा यो नै गर्छु भन्ने विशेष महत्वकांक्षा थिएन उनीसँग । तर उनलाई एउटै मात्र कुरा थाहा थियो । त्यो हो– जीवनलाई सहज बनाउनका लागि पैसा कमाउनुपर्छ । त्योबाहेकको अरु सपना थिएन उनीसँग । त्यसका लागि उच्च शिक्षा हासिल गर्नुपथ्र्यो । जन्म घर, बाबुआमा र बहिनीहरू छोडेर बाटो तताए उनले । ज्वालामुखीबाट धादिङबेसीसम्म पैदल आएपछि कहिल्यै गाडी नचढेका उनले पहिलोपल्ट बस चढे । उनको यात्राको गन्तव्य काठमाडौँ थियो । यात्राको लक्ष्य थियो उज्यालो भविष्यको खोजी ।

काठमाडौँ आएपछि पुरुषोत्तम सरस्वती क्याम्पस भर्ना भए । काठमाडौँमा आफन्त कोही थिएनन् । घरबाट बाउले पैसा पठाइदिएर साध्य चल्दैनथ्यो । दिउँसोको समयमा जागिर पाइएला कि भनेर सन्याकालीन सिफ्टमा क्लास लिन्थे उनी । धादिङ घर भई काठमाडौँमा आएर रोजगारीमा लागेका केहीलाई चिन्थे । उनीहरूकै कोठामा मिलेर बस्थे उनी । यसरी बस्नेहरू पाँच–छ जनासम्म पनि हुन्थ्यो ।

जागिरका लागि निकै ठाउँमा धाए पुरुषोत्तमले । जुत्ताको तलुवा खिइसक्दा पनि कहीँ कतै जागिर पाएनन् । २०५२ फागुनबाट सुरु भएको माओवादी युद्ध लक्षित दिशातर्फ अगाडि बढिरहेको थियो । जागिर नपाउनुको एउटा कारण सायद त्यो पनि थियो । मान्छेहरू दिनप्रतिदिन त्रसित हुँदै थिए । लगानी गर्नेहरूमा उत्साह थिएन । आइकम उत्तीर्ण गरिसक्दा पनि जागिर पाएका थिएनन् उनले ।

कामकै खोजीमा लामै समय भौतारिए पुरुषोत्तम । दुःखमा नआँत्तिनु भन्ने युक्ति थाहा थियो उनलाई । उनी आँत्तिएनन् पनि । फेरि जीवनमा रोजेको र खोजेको कहाँ पाइहाल्छ र ! आफूसँग जे जस्तो छ, त्यसलाई टालटुल पारेर चिटिक्क बनाउने कला थियो उनीसँग । जसरी साँझले सूर्यलाई डुब्न सिकाउँछ, त्यसरी नै परिस्थितिले मान्छेलाई हिँड्न सिकाउँछ । हिँड्दा लड्न पनि सक्छ । लड्दा चोट पनि लाग्नसक्छ । त्यही चोटले मान्छेलाई अझ राम्ररी हिँड्न सिकाउँछ । थुप्रै असहज परिस्थितिसित सामना गरे उनले । जीवनको गाडीलाई परिस्थितिले अवरोध पुÑ¥याए पनि विश्वास र धैर्यको एक्सिलेरेटर दबाएर चलायमान बनाई रहे ।

त्यसताक धादिङका हरि रिमाल र ज्ञानु रिमालको ट्रेकिङ कम्पनीमा काम गरेका कतिपय गाइडहरूले कम्पनी खोलिसकेका थिए । ट्रेकिङ कम्पनीतिर काम पाइन्छ भन्ने कुरा थाहा पाए पुरुषोत्तमले । काम खोज्ने सिलसिलामा जिनजानकै एक अग्रजको माध्यमबाट एक दिन उनी युनिक इन्टरनेशनल ट्रेकिङ कम्पनीमा पुगे ।

ट्रेकिङ कम्पनीले काम दिन्छु भन्ने आश्वासन त दियोे तर त्यसका लागि कुर्नपर्छ भन्यो । कम्पनीमा काम गर्ने अरु गाइड र भरियाले पालो नपाई नयाँले पालो पाउँथेन । कुर्नुको विकल्प थिएन उनीसँग । दुईहप्ता जति कुरेपछि सौभाग्यबस उनले पदयात्रा गर्ने विदेशीका झोला बोक्ने काम पाए । पहिलो पदयात्रा । भरियाको जिम्मेवारी । गोराको साह्रै गरुङ्गो झोला । त्यसो त पुरुषोत्तमको ज्यानले घरमा छँदा घाँसदाउराका भारी बोकेकै थियो । फेरि बीस–एक्काईस वर्षको लक्का जवानलाई पच्चीस–तीस किलोको वजन कुन ठुलो कुरा भयो र ! चुनौतीलाई सहर्ष स्वीकारे उनले ।

एक दर्जन थियो गोराका समूह । एक जना गाइड थिए । आफूसमेत छ जना भरियाका साथ पहिलो पटकको पदयत्राका भारी उचाले उनले । गह्रौँ भारीले गाह्रै बनाएथ्यो उनलाई । तैपनि बल्लबल्ल थाप्लो कुच्याउन पाएको अवसर भएकोले खुसी नै भए उनी ।

यही बिन्दुबाट पुरुषोत्तमले आफ्नो जीवनको लय समाते । काम गर्दा दिनगन्तीको हिसाबले ज्याला पनि पाउने । ट्रेकिङ सकिएपछि खुसी भएका गोराले थोरबहुत बक्सिस पनि दिने । अनि त यही पेसामै आकर्षित भए उनी । उनले गणेश हिमाल ट्रेकिङ कम्पनीबाट पनि केही पटाक भारी बोक्ने मौका पाए । एकातिर कलेजको पढाइ । अर्कोतिर मजदुरी । पढाइको रेखा र मजदुरीको रेखालाई समानान्तर राखे उनले ।

तत्कालीन सरकारले ट्रेकिङ परमिटको व्यवस्था हटाएपछि होटलहरू आफैँले गोराहरूलाई ट्रेकिङको सेवा बेच्ने गर्थे । उनले होटल डिस्कोभरीबाट काम गर्दै जाँदा गाइडको जिम्मेवारी पाउन थाले । करिब छ महिना जति होटल इन्काउन्टरमा रिसेप्सनिस्टको रूपमा काम पनि गरे । तर ट्रेकिङको स्वाद चाखिसकेका उनी किन रिसेप्सनको कुनामा सीमित हुन सक्थे र ! टे«किङलाई नै कर्म क्षेत्र बनाउने निश्चय गरे उनले ।

सन् २००३ मा पथप्रदर्शकको इजापत्र लिएका उनले उही साल अर्थबाउन्ड एक्पिडिसनमा काम गर्न पुगे । सहयोगीको भूमिकामा उनले केहीपटक माउन्ट कैलाश टुरमा जाने अवसर पाएँ । ट्रेकिङ पनि निरन्तर गइरहे । उनले साढे दुई वर्ष जति त्यहीँ काम गरे ।

पहिले समयले उनलाई लघाथ्र्यो । पछि त उनी नै समयलाई लघार्न सक्ने भए । काम गर्दा गर्दै पर्यटनका बारेमा थुप्रै कुरा सिके । उनी सन् २००५ को अन्त्यतिर वर्ल्ड हेरिटेज ट्रेकिङ कम्पनीमा मेनेजरको जिम्मेवारी पाए । लामो समयको व्यवहारिक ज्ञान, शिप र अनुभवले उनी खारिँदै गए । यति बेलासम्म यो क्षेत्रमा आफ्नो करियर निकै राम्ररी बिल्डअप गरिसकेका थिए उनले । पर्यटनको  बाघचाल खेलमा पोख्त हुँदै गए उनी । त्यसपछि ठमेलकै नेपाल मोन्तानास ट्रेक्समा काम गर्न पुगे ।

उनले सन् २००५ मै नेपालगाइडट्रेकडटकम नामको डोमेन दर्ता गरेका थिए । करिब छ महिना जति मोन्तानास ट्रेक्समा काम गरेपछि सन् २००७ मा आफैँले एभव द हिमालय नामको कम्पनी सञ्चालनमा ल्याए ।

अहिले दुई छोराका पिता भएका पुरुषोत्त सन् २००७ को आगमनसँगै भगवती सापकोटासँग प्रणयसुत्रमा बाँधिएका थिए । पुरुषोत्तमका लागि भगवतीले भाग्य र समृद्घि सँगै ल्याएकी थिइन् सायद । विवाहपछि व्यवसायमा भाग्यले राम्रो साथ दिएथ्यो उनलाई । त्यसो त उनले गुणस्तरीय सेवा पनि ध्यान पु-याएका थिए । व्यवसायको आयतन बढ्दै गयो । आशा गरेजस्तै भयो । अन्ततः जीवनलाई सहज बनाउनका लागि आर्थिक समृद्घिको लक्ष्य पुरा गरी छाडे ।

युरोप, अमेरिका र एसियाका गरी पच्चीस मुलुक घुमेका छन् पुरुषोत्तमले । अमेरिकामा भएका साथीहरूले उतै बस्न आग्रह गर्दा पनि मातृभूमिको मायाले तान्यो उनलाई । आफ्नो पसिना आफ्नै माटो चुहाउने र आफ्नै देशमा केही गर्छु भन्ने प्रबल इच्छा थियो उनमा ।

समाज सेवामा पनि पनि उत्तिकै सक्रिय छन् उनी । व्यवसायबाट कमाएको पैसा उनले आफ्नो गाउँको विद्यालय भवन बनाउन सहयो पु-याएका छन् । पुस्तकालय खोल्न र कम्प्युटर शिक्षाका लागि पनि सहयोग पु-याएका छन् । भूकम्पका बेला पनि उनले आपत्मा परेकालाई जस्ता, खाद्यान्न र पालजस्तो आवश्यकीय कुराहरू वितरण गरेर मानवीय सहयोग पु-याए । लाइन्स क्लबमा पनि पनि उनको लोभलाग्दो सक्रियता त्यत्तिकै छ । उनी लाइन्स क्लब अफ काठमान्डु टुरिजमको चार्टर पे्रसिडेन्ड पनि हुन् । समाजसेवामा उनका कामहरू रिन्तर जारी छन् यद्यपि पर्यटनमा उनको सक्रिय कायमै छ । भनिन्छ– जीवनको सार धर्ममा, धर्मको सार सेवा र सद्भावनामा हुन्छ । यही कुराले प्रभाव पारेझैँ लाग्छ उनको जीवनमा पनि । उनको भावी योजना भनेकै व्यवसायको आयतनलाई फराकिलो बनाउने र मानवीय सेवामा रहने हो । समाजको नजरमा साँच्चै एउटा पुरुषोत्तम बनेका छन् पर्यटन व्यवसायी पुरुषोत्तम ।

पुरुषोत्तमको जीवनमा पनि आम मान्छेका जस्तै सम्झनलायक क्षणहरू छन् । व्रतबन्ध गर्ने संस्कार प्रायः सबै जातिमा हुन्छ । ब्राह्मणमा त नहुने कुरै भएन । उनीहरूको यस कर्मलाई ‘चुडा गर्ने’ भनिन्छ । यो संस्कार नगरी छोराको कपाल काट्न मिल्दैन । पुरुषोत्तमको पनि आठ वर्षसम्म कपाल काटेको थिएन । बराहकालिका निमाविमा पढ्दा उनको कपाल लामो भएकोले साथीहरूले कपाल तानिदिने र उनीहरूले ‘तँ त केटीमान्छे हो’ भनरे जिस्क्याउँदा लाजले भुतुक्कै हुन्थे । व्रतबन्ध गरेपछि भने सबैले जिस्क्याउन छोडेछन् । यो कुरा कहिल्यै बिर्सन्नन् उनी ।

उनी नियमित शारिरीक व्यायाम गर्ने मान्छे । व्यायाम उनको जीवनको एउटा पाटो हो । त्यत्तिको आकर्षक व्यक्तित्व त्यसै कहाँ बनेको छ र ! शारीरिक व्यायाम गर्दाको स्वस्थ्य अवस्था पनि एकपटक. सन् २०१६ ताक उनी अस्वस्थ्य बन्न पुगे । धुम्रपान र मध्यपान गर्दै नगर्ने मान्छे एक्कासी अस्वस्थ बन्नु सामान्य कुरा थिएन । उनी अस्पताल धाउन थाले । रोग निदान हनु त परको कुरा, काठमाडौँका कुनै अस्पतालले पनि उनको रोग नै पत्ता लगाउन सकेन । उपचारका लागि उनी भारत जान बाध्य गए । भारतको एपोलो अस्पतालले किड्नीको समस्या भन्ने पत्ता लागायो । उनको पिसापबाट प्रोटिन बाहिरिँदो रहेछ । मेडिकलको भाषामा त्यसलाई मिनिमल डिजिज भनिन्छ । तेह्र पटक एपोलो अस्पताल धाएपछिको उपचारले रोगको निदान भयो । स्वस्थ रहनका लागि व्यायाम गर्ने हो । व्यायाम गरेपछि रोगले छुँदैन भन्ने बुझाइ थियो उनमा सायद । उनी स्वस्थ्य पनि थिए । नियमित शारिरीक व्यायाम गर्दा पनि कसरी रोग लाग्यो भन्ने कुरामा उनी चिन्तित बन्न पुगेका थिए ।

त्यस्तै एउटा नरमाइलो अनुभूति छ उनीसँग । पर्यटन पेसामा लागेपछि अक्सर चाडपर्व मान्न पाइन्न । पर्यटनको असार भनेकै दशैँको बेला हो । भल छोप्ने मौका भनेकै यही बेलामा हो । नत्र हिस्स बुढी खिस्स दाँत भनेझैँ हुन्छ । एक पटक उनी अन्नपूर्ण चक्रीयमार्गमा पदयात्रा गर्दै थिए । त्यही बेला उनका माइलाबाउ मुक्तिनाथ दर्श गर्न गएका रहेछन् । उनी भारी बोक्दै मुक्तिनाथमा आइपुगेपछि बाटोमा अलि परबाट देखादेख भएको रहेछ । गह्रौँ भारी बोकेर थोरोङ लाको थाप्लोबाट लामो ओरालो झरेर त्यहाँ आइपुगेका थिए उनी । एक त थकाइले झिजिएका थिए, अर्को त भारी बोकेको बेला के बोलाइरहनु भनेर माइलाबाउलाई नबोलाई सुँइसुँइ हिँडेछन् । पछि माइलाबाउले घर फर्केपछि ‘पुरुषोत्तम त दशैँको बेलामा पनि भारी बोकेर हिँडिरा’को रै’छ’ भनेर गाउँभरि भन्दै हिँडेछन् । खासमा उनी त भविष्य निमार्णका लागि सङ्घर्ष गर्दै थिए । त्यो कुरा उनका माइलाबाउले बुझिदिनुपथ्र्यो । त्यति कुरा चाहिँ नगरिदिएको भए हुन्थ्यो भन्ने लागेको रहेछ पुरुषोत्तमलाई ।

पुरुषोत्तमका जीवनमा खुसीका क्षणहरू अनगिन्ती छन् तर सबैभन्दा रमाइलो र खुसीको क्षण पहिलो पदयात्रालाई मान्छन् उनी ।

पदयात्राको अन्तिम गन्तव्य थियो– काठमाडौँको चिसापनीबाट सुरु गरेर गोसाइँकुण्ड । घोप्टेबाट गोसाइँकुण्डसम्मको बाटो लामो र कठिन । त्यो दिन ४,६०० मिटर उचाइको लौरीविना पार गरीकन गोसाइँकुण्ड पुग्नुपथ्र्याे । जुन दिन चाँडै सुरु गर्नु पर्ने, त्यही दिन भएछ ढिलो । अघिल्लो रात कोदोको तीनपाने टन्न पिएर सुतेको गाइड आठ बजे मात्र ब्युँझेछन् । यसोउसो गर्दा गर्दै नौ बजे सुरु भएछ त्यो दिनको टे«किङ ।

घोप्टेबाट उँभो लाग्न थालेपछि पुरुषोत्तमको जम्काभेट भयो हिउँसित । रङ सेतो र विशेषता चिसो । टाढाबाट देखेको मात्र हो हिउँलाई । उनको इन्द्रियले प्रत्यक्ष स्पर्श गर्न पाएको थिएन । उनले पहिलो पटक हिउँलाई छोएनन् मात्र, पिठ्युमा झोलाको बोझ बोकेर उकालिँदै गर्दा हिउँसित पौँठेजोरी खेल्न पुगे ।

त्यही बेला हो उनी जीवनमै पहिलोपटक लौरीविना अर्थात् ४,६०० मिटर उचाइमा पुगेको । यही बेला हो, उनले पहाड बुझ्न पाएको । यही बेला हो, उनले हिमाल बुझ्न पाएको । यही बेला हो, उनले हिउँको सौन्दर्य, कोमलता र क्रुरता महसुस गर्न पाएको । यही बेला हो, उनी प्रकृतिको समिपमा पुग्न पाएको । यही बेला हो, हिमालका सुन्दर लुङलाई नजिकबाट देख्न पाएको । पर्यटकजस्तै मन्त्रमुग्ध भएका थिए उनी त्यो बेला । यसैलाई जीवनको सर्वाधिक रमाइलो र खुसीको पल मान्छन् उनी ।

कम जोखिम हुँदैन हिउँमा हिँड्न । जीवन भनेकै जाखिमै जोखिमको शृङ्खला हो । जोखिमहरूकै एउटा सुन्दर कविता हो जीवन । यी सबै कुराको देखाइ र भोगाइपछि नै सुन्दर भविष्यको सिर्जना गरेका हुन् उनले ।

एकादेशको कथा जस्तै भइसकेको छ, उनका विगत । कसैका लागि यो प्रेरणाको स्रोत पनि बन्न सक्छ । उनको लगनशीलता, साहस, धैर्यको कारण त छँदैछ । व्यवसायप्रतिको सुझबुझ नीतिगत व्यवसायिक चिन्तन, योग्यता, विश्वसनीयता र क्षमताले उनी आजको दिनसम्म आइपुग्दा आफ्नै व्यावसायिक संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को केन्द्रिय कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

समयसँगै निरन्तर माथि चढिरहेको छ, उनको सफलताको डिग्री । टानको कोषाध्यक्ष पद उनको अर्को सफलताको सिँढी हो भन्दा अतिशयोक्ति नहोला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button