
शम्भु तामाङ, जसले सगरमाथामात्र चढेनन्, अमेरिकामा विभेदविरुद्ध पनि लडे
(श्रीमती करुणा, छोरी श्वेतान्शु ल्हामु र छोरा सिद्धार्थसँग रिमठिम पर्यटनका अम्बर तामाङ, सरिता लामा र कुमार लामाले गरेको कुराकानीको सारांश)
परिवारको अनुभुति
सादगीभित्र लुकेको असाधारण व्यक्तित्व
‘ … कता जान लाग्नु भयो, अलि अर्कै लुगा लगाएर जानुस न !’
‘होइन-होइन म यसमै ठीक छु, एकछिन त्यहाँसम्म जाने हो, भइहाल्छ ।’
स्व. शम्भु तामाङका धर्मपत्नी करुणा भाउजूसँग शम्भु दाईको स्मृतिमा स्मारिका प्रकाशित गर्न लागेका छौं, तपाईको कुरा शेयर गर्नुस् न भन्दा, उहाँले ठ्याक्कै यही सम्वाद भन्नु नभए पनि उहाँहरु बीचको सम्वाद यस्तै व्यहोराको हुन्थ्यो भन्ने अनुमान लाउन गाह्रो भएन ।
शम्भु दाई त्यस्तो सरल हुनुहुन्थ्यो । उहाँ सामान्य, आफूलाई जे सजिलो लाग्छ त्यस्तैमा कुनै कार्यक्रममा पुग्नु हुन्थ्यो अनि काम सकेर फर्किनु हुन्थ्यो ।
विश्व रेकर्ड राखेका व्यक्ति उहाँले चाहनु भएको भए ठूलो पब्लिक रिलेसन बनाउन सक्नुहुन्थ्यो । तर उहाँ सधै लो प्रोफाइलमा बस्ने, सामाजिक सञ्जाल प्रयोग नगर्ने हुँदा त्यत्ति धेरै व्यस्त हुनुहुन्थेन । तर घरी टोलको सम्बन्धमा, घरी गाउँको कोहीलाई मर्का परेको बारेमा अनि कहिलेकहीँ आफू आवद्ध संघसंस्थाको कार्यक्रमहरुमा बाहिर जाँदा उही सादा जीवन साथमा लिएर जानुहुन्थ्यो ।
घरमा अनि बाहिरफेर त्यसरी जाँदा—आउँदा उहाँले अरुलाई के दिनु हुन्थ्यो त ? उहाँले केही भन्दै नभनी आफ्नै व्यवहारले सादगीपन र सधैं अरुकै बारे ख्याल गर्ने सद्गुणको उदाहरण दिनुहुन्थ्यो । अरुका बारे कतिसम्म ख्याल गर्नुहुन्थ्यो भन्ने त अहिले उहाँ गइसके पछिका केही घटनाहरुले पनि देखाएका छन् ।
करुणा भाउजु भन्नुहुन्छ, शम्भु दाईले फलानोको यस्तो काममा सहयोग गर्दिनु भएको थियो, फलानोको पढाइको लागि सकेको व्यवस्था गर्दिनु भएछ, अनि फलानोको उपचारमा सहयोग गर्दिनु भएको थियो भनेर मानिसहरु पहिले पनि सुनाउथे र अहिले उहाँको शेषपछि पनि त्यस्तो कुराहरु सुनाउने भेटिएका छन् ।
यस्ता कर्महरु गरेर पनि उहाँले अरु सामु त प्रचार गर्नु भएन नै घरमा समेत धेरै कुराहरु थाहा नै दिनु हुन्थेन । आपूmले गरेका कतिपय कामहरुबारे घरमा समेत थाहा नदिने शम्भु दाईको बानीकै उपज होला, घरपरिवार मा शम्भु दाईले आपूm बिरामी भएको पनि सबै विवरण बताउनु भएन ।
‘सानो जाँच गराउनु छ, म आफै गएर आउँछु, सबै ठीक छ भनेको छ, चिन्ता केहीको छैन रे ! डाक्टरले भनेको’ भन्ने किसिमको उहाँको जवाफ भएपछि भाउजूले पत्याउनु भयो । तर उहाँको बिमारबारे जब सबै कुरा थाहा भयो, क्यान्सर रोगले शम्भु दाईलाई उपचार नलाग्ने तहसम्म पु¥याइ सकेको थियो ।
बेलैमा सबै कुरा थाहा पाउन सकेको भए यो दुखद वियोगलाई टार्न सकिन्थ्यो कि भन्ने करुणा भाउजुको मनमा रहेको एउटा अल्झो रहेछ । करुणा भाउजू, नाम जस्तै करुणामयी हुनुहुन्छ, अर्कालाई परेको दुःखमा मान्छेको मात्र होइन कुनै जनावरलाई समेत दुःख देख्दा चासो राख्नु हुन्छ ।
श्रीमानलाई क्यान्सर नै हो भन्ने यकिन भएपछि उपचार को क्रममा एक निमेष पनि उहाँको साथ छाड्नु भएन । आफन्तहरुले तपाई घरमा बस्नुस्, हामी सबै हेर्छौ, तपाई बोलाएको वा आउन मन लागेको बेला मात्र हस्पिटल आउनु होला भनेर भन्दा पनि मान्नु भएन । आफ्नो श्रीमान्लाई नेपाल क्यान्सर हस्पिटलमा भर्ना गरिएको पहिलो दिनदेखि उहाँको देहान्त भएको ३८औं दिनसम्म उहाँले हस्पिटल छोड्नु भएन, कुरुवा आफै बसेर स्यहार्नु भयो । डाक्टरहरु र उहाँको अथक प्रयास र प्रार्थना मृत्यूसामू पराजित भएपनि उहाँले श्रीमतीको रुपमा शम्भु दाईप्रति कर्तव्य निभाउनु भयो ।
सकेसम्म अरुको चित्त नदुखाउने बानीले होला उहाँले कहिल्यै श्रीमानको कुरालाई नाइनास्ती गर्नु भएन । आपूm राजधानीमै जन्मी हुर्केको र प्रतिष्ठित शैक्षिक संस्थाबाट वाणिज्यशास्त्रमा स्नातक गरेको भएता पनि म यो गर्छु, त्यो गर्छु भनेर माग गर्नु भएन । उहाँले एउटै काम गर्नु भयो, बिहे पछिका दुई सन्तान छोरी श्वेतान्शु र छोरा सिद्धार्थको हेरचाह अनि परिवारमा साथमै रहनु भएका शम्भुदाईका दुई ज्येष्ठ फुपूहरुलाई स्यहार र सहयोग ।
२०४८ सालमा विवाह हुनु अगावै स्नातक पढेर केही वर्ष शिक्षिकाको रुपमा काम समेत गरिसकेकी उहाँ विवाहपछि शम्भुदाई र परिवारप्रति यति समर्पित हुनु भयो कि उहाँले आपूmले व्यक्तिगत रुपमा चाहेका सबै कुरालाई तिलाञ्जली दिनु भयो । पूर्णतः गृहिणी भएकी करुणा भाउजूलाई कहिलेकाहीँ आपूm किन यस्तरी खुम्चेर बसेको होला जस्तो पनि लाग्थ्यो रे । तर सकेसम्म अरुको सेवामा रमाउने आफ्नो श्रीमान्लाई चाहेजति स्वतन्त्रता दिन पाउँदा अनि आफ्ना आँखाका नानीजस्ता सन्तानहरुलाई हर हमेसा काखमै हुर्काउन पाउँदा अनि अहिले शम्भु दाईको शेषपछि पनि धेरै आफन्तहरु, पर्वतारोहण संघ, तिलगंगा हस्पिटल, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल, रिमठिम पर्यटन, ह्रिस्याङगो समाज र त्यस्तै अरु संस्था र साथीभाईबाट सम्झना, सम्मान र आत्मियता प्रकट हुँदा गर्वित र कृतज्ञ हुनुन्छ ।
यता छोरी श्वेतान्शु र छोरा सिद्धार्थ पनि बुबाको कतिपय कुरा थाहै नहुने र थाहा हुँदा अचम्मित पर्ने खालको हुने बताउँछन् । श्वेतान्शुलाई आफ्नो बुबाको सरलपन र अरुलाई पनि आपूmजस्तै सम्झने (अपाथेटिक) स्वभाव अफ्नो जीवनमा पनि अनुशरण गर्ने मन छ ।
छोरा सिद्धार्थलाई भने पर्यटनसम्बन्धि काम गरेर उहाँको बिडो थाम्ने सोंच छ । सानैदेखि अन्तरमुखी स्वभावका सिद्धार्थ बुबाको भीडमा पनि आफ्नो अलग्गै पहिचान बनाउन सक्ने बानी र व्यक्तित्व अनुकरणीय रहेको बताउँछन् ।
उहाँहरु तिनै जनाको एउटै भनाई छ, हाम्रा बाबालाई देशप्रति माया चाहिँ कति लागेको होला ।श्वेतान्शु थप्छिन् ‘मलाई उहाँले विदेशमा पढ्न जान समेत शुरुमा अनुमति दिनु भएन । तर जब मैले सबै कुरा बताएँ, उहाँले हुन्छ भन्नु भयो ।’
करुणा भाउजू र छोरीको एउटै भनाई छ, बुबा अलिक जिद्धी स्वभावको र त्यो स्वभाव उहाँले देशप्रेमको भाव देखाउँदा झन् नछोड्ने, जे गर्नु छ यहि गर्नु पर्छ, यही बस्नु पर्छ भन्ने । अनि अरुलाई सहयोग गर्नै पर्ने । ज्यामी गरिरहेको व्यक्ति वा कतै सूचना पाएको आधार मा निरीह व्यक्ति बिरामी भएको थाहा पाए उपचार गर्न आफै साथमा लागेर हस्पिटल पुग्ने अनि काउण्टर मा लामबद्ध हुँदै आफै उभिने ।
तिलगंगा हस्पिटलमा कहिलेकाहीँ गरिब बिरामीका लागि छुटको पहल गर्न पुग्ने उहाँले परिवारकै मान्छेलाई भने पूर्ण छुटको लागि भन्नु हुन्नथ्यो रे । तिमीहरुलाई सामान्य छुट हुन्छ, तर पूर्ण छुट दिए पनि नलिनु, माग्दा पनि नमाग्नु । किनकी तिर्नु सक्नेले त पैसा तिरेरै उपचार गर्नु पर्छ । तिमीहरुले तिरेको पैसाले एउटा अर्को गरिब बिरामीको खर्च टर्छ, छुट त उसले पाउनु पर्छ । उहाँ यस्तो तर्क गर्नु हुन्थ्यो रे ।
उहाँलाई चित्त नपरेको कुराबाट टाढा बस्ने, विद्रोह गर्ने स्वभाव पनि उहाँमा थियो । सगरमाथा आरोहणपछि उहाँले जमानामा अमेरिकाको कोलोराडोको रकि पहाडमा क्लाइम्बिङ सिकाउने काम पनि गर्नु भयो । त्यसबखत साथमै काम गर्ने अमेरिकन प्रशिक्षकले आपूmले भन्दा निक्कै बढी तलब पाउने गरेको थाहा भएपछि ज्यालामा विभेद हुने काम गर्दिन भनेर काम नै छोडेर नेपाल आउनु भएको थियो रे । काम मात्र छोड्नु भएन विदेश बस्ने, काम गर्ने, ग्रिनकार्ड लिने जस्ता कुनै पनि अवसरको बारेमा चासो नै दिनु भएन ।
युवा अवस्थामा लामा अध्ययन गरेका शम्भु तामाङले आपूmलाई हेपेको मन नपर्ने स्वभाव लामा हुँदासमेत प्रदर्शन गरेको आपूmले सुनेको करुणा भाउजूले बताउनु भयो । तामाङ समुदायमा पुरेत लामाहरुको अभाव हुने हुँदा शम्भु दाई बिसन्चो हुँदा पनि आराम नगरी पूजामा सहभागी हुनु भएको थियो ।
पूजामा शास्त्र पढ्नको साथै उहाँले भाका मिलाएर गेलिङ (लामाले पूजामा प्रयोग गर्ने एक किसिमको बाजा) पनि बजाउनु पर्दथ्यो । यत्तिकैमा गुरुले उहाँले राम्ररी बाजा बजाउन नसकेको भन्ने गुनासो गरेपछि बिरामी मान्छेले कसरी बजाउँछ त ? भन्दै बाजा बजाउनै इन्कार गरिदिनु भएको थियो रे । यस्तै र अरु विविध कारणले होला उहाँले लामा बनेर पुरोत्याँई गर्ने काम छोड्नु भएछ । तर कहिलेकाहीँ घरमा बेलुका खानापछि सपरिवार कुराकानी हुन्थ्यो र त्यहाँ राजनीति र समसामायिक विषयसंगै बुद्धधर्मको विषयमा पनि कुराकानी हुन्थ्यो ।
करुणा भाउजूका अनुसार उहाँहरुबीच बुद्धधर्मका विषयमा एकापसमा छलफल हुन्थ्यो, अनि गृहस्थले धर्मको अभ्यास कसरी गर्छन्, त्यसलाई सकेसम्म व्यवहारमा उतार्ने प्रयास पनि हुन्थ्यो । आपूm कुनै बेला लामा (पुरेत) थिए भन्ने त उहाँले कोही कसैलाई हत्तपत्त बताउनु हुन्थेन । राजधानीबाट पूर्वी पहाडको यात्रामा जाँदा उहिले शम्भु दाईकै गाउँ भएर जान्थ्यो रे । शम्भु दाईले एकपटक भन्नु पनि भएको थियो, शेर्पा तथा तामाङहरुले अनुशरण गर्ने निङ्मापा बौद्ध धर्मका ठूला गुरु ठूल्छिक रिम्पोछे सोलुखुम्बुबाट राजधानी यात्रा गर्दा उहाँकै घरमा बास बस्नु भएको थियो रे । उहाँको गाउँ ह्रिस्याङ्गोको ऐतिहासिक गुम्बा तामाङ समुदायमा प्रख्यात छ । त्यस्तै तामाङ समुदायमा ह्रिस्याङ्गोका लामाहरुप्रति थप श्रद्धा र सम्मान पनि छ । आप्mनो समुदायको धर्म र संस्कृतिप्रति सम्मान भएर पनि होला, उहाँले तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर आफ्नो पुख्र्यौली गाउँमा पनि लानु भयो । यता बौद्ध गुम्बाहरु र बस्तीमा पनि पहल गर्नु भयो । यस्तैमा बौद्ध फुलाहरी गुम्बामा आँखा शिविर राखिएको थियो ।
आँखा शिविर उद्घाटनको कार्यक्रममा तिलगंगा आँखा अस्पतालबाट आज एकजना विशेष व्यक्ति आउँदै हुनुहुन्छ भन्ने सुनेपछि गुम्बामा स्वागतको तयारी भयो । विशेष अतिथिहरु आउँदा लामाहरुको समूहले धुप, बत्ती, बाजासहितले स्वागत गर्ने चलन अनुसार तयारी गरिएको थियो । तर विशेष व्यक्तिको रुपमा उपस्थित हुने शम्भुदाई पुरानो स्कुटरमा सामान्य पहिरनमा हुँइकिदै त्यहाँ पुग्नु भयो । त्यहाँ उहाँले आफ्नो लागि न त कुनै विशेष स्वागतको अपेक्षा गरेका थिए न त स्वागतमा रहेका लामाहरुलाई नै आफ्ना पाहुना यसरी आउलान् भन्ने पत्यार भयो ।
यस्तै अनेक स्मरणीय कुराहरु करुणा भाउजू सम्झिनु हुन्छ । दाईले त के भन्नु हुन्थ्यो र ! हामीलाई अरुहरुले सुनाउँछन्, दाईले फलानो ठाउँमा यस्तो गर्नु भयो, उस्तो भन्नु भयो भनेर । त्यस्ता थुप्रै घटनाहरु भएता पनि हामीले सबै कुरा भन्न उहाँलाई कर गरेनौं ।
स्मारिकाको प्रयोजनको लागि राखिएका जिज्ञासाको प्रतिउत्तरमा शम्भु दाईबारे अद्भुत कुराहरु सुन्दै भावुकता छचल्किएको भलाकुसारीको अन्तमा भाउजू राष्ट्रको एक सच्चा सेवक, विश्व रेकर्ड राखेका सहासी नेपालीको अर्धाङ्गिनी भएको नाताले शम्भु दाईको लागि राज्यले के गरोस् जस्तो लाग्छ ? भन्ने प्रश्न राख्दा यसरी जवाफ दिनु भयो, ‘उहाँ आवद्ध संघसंस्था, उहाँको जन्मथलोका शुभचिन्तकहरु र अरु शुभचिन्तकहरुले चासो राखेर के गरौं भन्ने सोधखोज भएको छ । उहाँको दाहसंस्कारमा राज्यले समेत उच्च सम्मान गरेकोमा हामी कृतज्ञ छौं । उहाँलाई सरकारले राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ भन्ने कुरा पनि उठेको छ । मलाई पनि लाग्छ, देशप्रति उहाँको निस्वार्थ योगदानको कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नु उचित हुन्छ । उहाँ जत्तिको योगदान दिने व्यक्तिलाई राष्ट्रिय विभुति घोषणा गर्नाले राष्ट्रकै सम्मान बढ्छ भन्ने लाग्छ ।’
(स्मारिका ‘शम्भु तामाङ’बाट)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)