
बायोग्राफीः कसरी जन्म्यो तामाङ रिमठीम पर्यटन संजाल ?
तामाङ रिमठीम पर्यटन सञ्जाल र पर्यटन क्षेत्रमा यसको भूमिका
नरध्वज तामाङ (क्षितिज)
सचिव, तामाङ रिमठीम पर्यटन संजाल
संस्थाको बारेमा सुन्यौं । तैपनि हामीले खोज्दा संस्था भेट्नसक्ने अवस्थामा थिएन । किनकि संस्थाको न अध्यक्ष, न कार्यसमिति, न कार्यालय अनि न कुनै आधिकारिक सम्पर्क व्यक्ति नै ।
एकपटक टानको त्यो बेलाको महासचिव कर्ण लामा दाजुसँग चियापान गर्दै अनौपचारिक सम्वाद गर्नेबाहेक हामीले पुरानो टिमका नेतृत्वसँग सामुहिक रूपमा छलफल गर्ने मौका नै पाएनौं । तर त्यो बेला कर्ण दाजुले अम्बर बम्जनको पनि नाम लिनु भएको थियो । तर त्यो बेलासम्म अम्बर मामासँग हाम्रो युवा टिमको कसैको दोहोरो चिनजान नै थिएन । त्यसैले हामी पछिल्लो पुस्ताका केही टुरगाइड र नयाँ पुस्ताका व्यवसायीहरु भएर सन् २०१५ को महाभुकम्प लगत्तै एउटा अनौपचारिक समूह निर्माण ग¥यौं । उक्त समूहको नाम तामाङ टुरिजम नेटवर्क (टीटीएन) राख्यौं । उक्त समूहमा हामी जम्मा ११ जना सदस्य थियौं । पछि एकजना सदस्य क्यानडा गएपछि हामी १० जनामा सीमित भयौं । यस समूहले पनि हामी गाइड र नयाँ व्यवसायीहरुलाई प्रोत्साहन र इम्पावर गर्ने लक्ष्य लिएको थियो ।
यो सानो समूह भए पनि शुरु हुन नैं हामीले दर्जनौँपटक भेला र छलफल गर्नुपरेको थियो । करिब ३ वर्षसम्म यो संस्था औपचारिक रुपमा दर्ता नभए पनि आपसमा अनुभव आदानप्रदान, अन्तक्रिया र सानातिना समस्याहरु सामूहिक रुपमा हल गर्नमा यसले ठुलो प्रभाव छोड्यो भन्ने लाग्छ । यो बीचमा हामीले तामाङ समुदायको पर्यटन क्षेत्रको बृहत समूह बनाउने कोशिस गरि रह्यौं । तर तत्काल त्यो काम सम्भव भएन । त्यसबेला हामी जति जोश र उर्जाका साथ आए पनि पुरानो पुस्ताले हामीलाई मात्र पत्याउने अवस्था थिएन । हामीसँग कुनै त्यस्तो आधार पनि थिएन । त्यसैले हामीले उहाँहरुसँगै मिलेर काम गर्नुपर्छ भन्ने ठहर ग¥यौं । तर उहाँहरुको पनि औपचारिक संस्था नभएकाले हामीले कोसँग भेट्ने त ! खास मान्छे को हो भन्ने नै थिएन । त्यसैले हामी अलमलमा प¥यौं । यो निकै गाह्रो काम थियो । तैपनि हामीले निरन्तर कोशिस गरिरह्यौं ।
अन्तमा, दिगो पर्यटनसम्बन्धी एउटा अभियानको सिलसिलामा आदरणीय मामा अम्बर बम्जनसँग चिन्ने र नजीक हुने मौका पाएँ । उहाँ रिमठीम नेपालको शुरूवातकै टिमको सदस्य हुनुहुँदो रहेछ । अनि मलाई लाग्यो कि उहाँ हाम्रो अभियानलाई साथ दिनसक्ने एक उपयुक्त पात्र हुन् । त्यो अभियानको चाहिँ म सबैभन्दा जुनियर सदस्य थिएँ । तैपनि भूमिकाको हिसाबले मैले इमानदारितापुर्वक खटेको जस्तो लाग्छ । हाम्रो समूहले त्यो बेलाको पर्यटनमन्त्री योगेश भट्टराईलाई सुझावपत्र पनि दिएका थियौं । त्यसैले पनि उहाँ लगायत त्यो समूहका सबै सिनियर सदस्यहरु मबाट थोरबहुत प्रभावित हुनुभयो भन्ने लाग्छ । तैपनि मैले तामाङ कम्युनिटीको एउटा साझा संस्था बनाउनुपर्छ भन्ने कुरा उहाँलाई राख्न सकिरहेको थिइनँ । खासमा भन्नुपर्दा शुरुमा आँट नै आएन । उहाँहरुको अगाडि म आफूलाई बच्चा नै हो भन्ने लाग्थ्यो । त्यो कुरामा इन्जोय गर्नुहुन्थ्यो कि हुन्नथ्यो म ढुक्क थिइनँ । यस्तो अवस्था जेनेरेसन ग्यापको कारण पनि भएको हुनसक्छ । त्यो बीचमा हामी समूहका साथीहरु आपसमा भने कुरा भइरहन्थ्यो ।
सन् २०२० को शुरूवाततिर आएपछि भने हामीले अग्रजहरुसँग खुलेर प्रष्ट रुपमा कुरा राख्न थाल्यौं । यसमा कुमार लामा, म र विजय तामाङ करीब २÷३ पटक बसेर अम्बर बम्जन मामासँग सामुहिक छलफल ग-यौं । आदरणीय मामा अम्बर बम्जनलाई हामीले भन्यौं, “हामी काम गर्न तयार छौँ तर नेतृत्व तपाईंले लिनुप¥यो । पुरानोलाई समेट्ने काम तपाईंले गर्नुपर्ने हुन्छ ।” किनकि हामीलाई पुरानो पुस्ताले तत्काल नेतृत्वको रूपमा स्वीकार्ने अवस्था थिएन । हामी टेस्ट हुन बाँकी नै थियौं । त्यसपछि हामीले करीब एक हप्ताको समय राखेर मिति २०७७ चैत्र ११ गतेका दिन तामाङ कुदाप रेस्टुरेन्ट, स्वयम्भुमा बृहत भेलाको आह्वान ग¥यौं । त्यो भेला “रिमठीम नेपाल”कै ब्यानर मा भएको थियो । अध्यक्षता उमेरको हिसाबले पनि शम्भु दाइले नैं गर्नुभएको थियो । अग्रज पुस्ताको सबैजसो उपस्थित हुनुभएको थियो । त्यसले सबैमा उत्साहको सञ्चार गरायो । पहिलो भेला भएकाले सबैको कुरा सुन्ने सुनाउने अन्र्तक्रियात्मक खालको कार्यक्रम थियो । एक हिसाबले त्यहाँसम्मको समीक्षा जस्तो भयो । दोस्रो भेला पनि कुदापमै डाक्यौ । त्यसदिन पहिलोपटक अम्बर बम्जनको अध्यक्षतामा १५ सदस्यीय संस्थाको तदर्थ कार्यसमिति पनि गठन ग¥यौं । सदस्यमा चाहिँ धेरैजसो नयाँ पुस्ताका साथीहरू राख्यौं । अनि नाम “तामाङ रिमठीम पर्यटन संजाल” राख्ने निर्णय गरियो । केही समय पछि २ जना थपेर १७ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरिएको थियो ।
कार्यसमिति गठनपछि संस्थालाई अगाडि बढाउने, दर्ताको तयारीमा लाग्ने लगायत सबै कामको जिम्मेवारी तदर्थ कार्यसमितिलाई सुम्पियो । शुरुमा हामीले वकिलमार्फत काम गर्ने विचार गरेका थियौँ । तर पछि वकिलबाट झन् ढिलो हुन्छ जस्तो लागेर हामी केही साथीहरु आफैं खट्ने निर्णय ग¥यौं । हामी झोला बोकेर सिडिओ कार्यालय र सिंहदरबार वरिपरि निकैपटक धायौं । अन्तिममा गृह र पर्यटन मन्त्रालय समेतको राय कलेक्सन गरेपछि मात्र २०७८ असोज ५ गतेका दिन विधिवत रुपमा संस्था दर्ता भयो । त्यसपछि संस्थाको नियमित बैठकहरु हुन थाल्यो । दोस्रो औपचारिक बैठकबाटै हामीले केही अग्रज व्यवसायीहरुलाई सल्लाहकार समितिमा र अग्रजहरुमध्ये सबैभन्दा अग्रज दाजु शम्भु तामाङलाई संस्थाको एकमात्र संरक्षक घोषणा ग-यौं । किनकि यो संस्थाको जन्म गराउनमा, पर्यटन क्षेत्रमा यसको औचित्य पुष्टि गर्नमा उहाँले धेरै पसिना बगाउनु भएको थियो । अन्तिम समयसम्म पनि संस्थाप्रति उहाँको माया अधिक थियो । यसरी तामाङ समाजको विगत १८-२० बर्षसम्म अनौपचारिक रुपमा अस्तित्वमा रहेको संस्थालाई भूगोल, युवा, अग्रज र महिला ब्यवसायी समेतको समावेशी तथा जागरुक टिम तयार भएपछि हामीले धेरै बिषयमा तयारी स्वरुप घनिभूत रूपमा छलफल गरेका छौँ । त्यस्तै केही महत्वपूर्ण कामहरु पनि हामीले शुरु गरेका छौँ । दर्ता पछि संस्थाले गरेका केही महत्वपूर्ण कामहरु निम्नानुसार छन् ।
पहिलो कामः दर्ताको केही महिनापछि बृहत् भेला गरि औपचारिक रुपमा सदस्यता बितरण र शुरुको तदर्थ समितिलाई अनुमोदन । उक्त भेलामा ब्यवसायी, आरोही, टुरगाइड र ट्रेकगाइड सबैको उल्लेख्य उपस्थिति रहेको थियो । करिब ९० जनाको उपस्थितिमा भएको उक्त कार्यक्रममा करिब ५० जनालाई सदस्यता प्रदान गरिएको थियो । आजसम्म करिब ६० जना औपचारिक रुपमा यो संस्थाको सदस्य भइसकेका छन् । अझै धेरैले चासो ब्यक्त गरिरहनुभएको छ । त्यसैले यो संख्या बढ्ने निश्चित छ ।
दोस्रो कामः वागमती प्रदेशसभा उपसभामुख माननीय राधिका तामाङको प्रमुख आतिथ्यमा प्रदेशसभामा तामाङ समुदायका माननीय ज्यूहरुसँग जुमको माध्यमबाट अनलाई अन्तरक्रिया सम्पन्न गरियो । उक्त अनलाइन अन्तरक्रियामा सबै जसो तामाङ माननीयहरु, नुवाकोट जिल्ला समन्वय समिति संयोजक, तथा किस्पाङ गाँउपालिका अध्यक्ष ज्यूको सहभागिता थियो । नीति निर्माणको तहमा रहनु भएकाहरुमा यो वास्तवमा नौलो र गहन छलफल थियो ।
तेस्रो काम: शिघः ठहिटीमा रहेको थेराबादी बिहार र स्तुपामा करीब ४५ जना टुरगाइड, ट्रेकगाइड र व्यवसायी सहितको टोलीलाई संस्थाका अध्यक्षज्यू र ट्रेनिङ संयोजक कुमार लामाको समन्वयमा एकदिने बुद्धिस्ट हेरिटेज साइटको फिल्ड भिजिट तथा बृफिङ र अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न गरियो । बुद्धधर्म र दर्शनको थोरै भएपनि नयाँ कुरा बुझ्ने अवसर पाएको म आफैंले अनि अनुभूति गरें ।
चौथो कामः पर्यटन क्षेत्रमा आबद्ध र २०७९ को स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानीय तहमा निर्वाचित हुनुभएका जनप्रतिनिधिज्यूहरुलाई संस्थाको तर्फबाट एनएमएका अध्यक्ष सन्तवीर लामाज्यूको उपस्थितिमा प्रमाणपत्रसहित सम्मान गरियो ।
पाँचौ काम: एनएमएको चुनावमा विभिन्न प्यानल र स्वतन्त्र रुपमा निर्वाचित तामाङ व्यवसायी तथा मजदुरहरुलाई संस्थाको तर्फबाट सल्लाहकार तिलक लामा लोप्चनज्यूको उपस्थितिमा प्रमाणपत्रसहित सम्मान गरि यो ।
छैठौं काम: संस्थाको सदस्यको एकाघरका कसैको निधन भएमा दाहसंस्कारको दिन मलामी जाँदा संस्थागत रुपमै आह्वान गरेर मलामी जाने र ब्यक्तिगतबाहेक संस्थाको तर्फबाट थोरै सहयोग स्वरुप रु. २,५००/– सहयोग पनि गर्ने निर्णय गरियो । यदि उक्त दिन भ्याइएन भने घेवामा सामुहिक उपस्थिति जनाउने । यो निर्णय ४-५ पटक कार्यान्वयन पनि गरिसकिएको छ । यसले सदस्यहरु बीच आत्मीयता र पारिवारिक माहौल बनाउनमा ठूलो सघाउ पुगेको हामीले महशुस गरेका छौं ।
सातौं काम ः संस्थाका संरक्षक तथा हाम्रा अग्रज व्यवसायी शम्भु तामाङ गम्भीर बिरामी भएर क्यान्सर हस्पिटल हरिसिद्धिमा भर्ना भएपछि संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सल्लाहकारहरु र समग्र कार्यसमितिको पहलमा उहाँको उपचारमा राज्यको ध्यानाकर्षण गराउनका लागि पूर्वप्रधानमन्त्री, मन्त्री र प्रधानमन्त्रीसम्म कुरा पु¥याउन अनवरत रूपमा कोशिस गरियो । यसमा टान र एनएमएका पदाधिकारीको पनि ठूलो भूमिका रह्यो । एनएमएले संस्थागत रुपमा रु. पाँच लाख सहयोग ग-यो । हाम्रो यो अभियानमा विशेष योगदान सिन्धुलीका युवा नेता तथा समाजसेवी डिबी तामाङ र वागमती प्रदेशसभाका उपसभामुख माननीय राधिका तामाङको रह्यो । त्यसैगरी शम्भु दाइको आफन्त आदरणीय दाजु निमा ग्याम्छो बलको अतुलनीय योगदानको पनि हामीले उच्च मूल्याड्ढन गरेका छौँ, उहाँ मार्फत पूर्व मन्त्री भिमसेनदास प्रधानले पनि माथिल्लो तहमा कुरा उठाउन भूमिका खेल्नु भएको थियो । सबैको पहलमा सरकारले उहाँको सम्मान स्वरुप उपचारमा दश लाख सहयोग गर्ने घोषणा पनि भयो । यसरी हामी सबैको शुभेच्छा र प्रयासका बाबजुद पनि उहाँलाई बचाउन सकिएन । २०७९ असार २३ गते बिहान ८ बजेतिर उहाँले हामी सबैलाई छोडेर जानुभयो । त्यसपछि राज्यको तर्फबाट मरणोपरान्त दिने सम्मानको लागि एनएमएसँग समन्वय गरि नेपाल सरकारको नेतृत्व तहसम्म कुरा पु¥याउन हामी सफल भयौं । अन्तमा, राज्यले उपयुक्त सम्मान दिने भयो । यसमा एनएमएमा भर्खरै निर्वाचित अध्यक्ष, कार्य समिति सदस्य राजेन्द्रबहादुर लामा, अग्रज व्यवसायीहरु र सम्पूर्ण एनएमएका कार्यसमितिको विशेष भूमिका रह्यो । अनि संस्थाको आह्वानमा संयुक्त रुपमा मलामी जाने काम पनि भयो । त्यसैगरी घेवामा पनि समुदायका पर्यटन पेशामा आबद्ध सबैको सक्रिय सहभागिता रह्यो । यसमा पनि संस्थाका कार्यसमिति सदस्यहरुको अनवरत खटाई, जागरुकता, सामुहिक भावना र उहाँप्रतिको उच्च श्रद्धाले काम ग¥यो भन्ने लाग्छ । त्यसपछि हामीलाई शम्भु दाईको सम्झनामा संस्थाले केही न केही काम गर्नुपर्छ भन्ने लाग्यो । उहाँको ११ औं दिनको पुण्यतिथिमा २०७९ श्रावण २ गते बिहान संस्थाको पहलमा तामाङ कुदापमै औपचारिक रुपमा श्रद्धाञ्जली सभाको आयोजना ग¥यो । त्यसमा टानका अध्यक्ष खुम सुवेदी, महासचिव सरिता लामा लगायत तामाङ समाजका पर्यटनसम्बद्ध धेरैजनाको सहभागिता रहेको थियो । महत्वपूर्ण कुरा चाहिँ उक्त सभामै टानको अध्यक्षबाट टानले दिँदै आएको हर्क गुरुङ पुरस्कार यसपटक मरणोपरान्त स्व. शम्भु तामाङलाई दिने निर्णयसमेत सार्वजनिक ग-यो । उहाँहरुको यो उपस्थिति र महत्वपूर्ण घोषणाले पनि हामीमा अझ केही गर्नुपर्ने उत्साह पलायो । जुन पुरस्कार हालै सम्पन्न टानको ४४ औं साधारण सभामा प्रदानसमेत गरिसकेको छ ।
अन्तमा, यस संस्थाले शम्भु तामाङ जस्तै पर्यटन क्षेत्रमा उच्च योगदान पु¥याएका ब्यक्तित्वहरुलाई सम्मान गर्दै जाने, पर्यटन व्यवसायी, गाइड र सहयोगी मजदुरहरुलाई सशक्तिकरण गर्ने खाले कार्यक्रमहरु ल्याउने र हाम्रा ब्यवसायीहरूलाई समयानुकुल अझ ब्यवसायिक सीपमा अपडेट गराउँदै जाने कुरामा हाम्रो तर्फबाट गर्नसक्ने पहल गर्नका लागि हामी तामाङ रि मठीम पर्यटन सञ्जाल परिवार सदा तत्पर रहेको पनि जानकारी गराउन चाहन्छौं ।
धन्यवाद ! थुजेछे !
(तामाङ रिमठीम पर्यटन संजालद्धारा हालै प्रकाशित स्मारिका ‘शम्भु तामाङ’बाट)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


