
भयो सानु, अब हिमाल आरोहणमा धेरै बल नगर्नू
एउटा कथा लेखिनुपर्छ वीरताको…
राजेन्द्रमान डङ्गोल
संयोगले एउटा भव्य कार्यक्रममा सहभागी हुने अवसर पाइयो ।
दिउँसोको दुई बजेतिर मित्र पुरुषोत्तम तिमल्सेनासँग मेरो भेटघाट गर्ने कार्यक्रम तय भएको थियो । उनी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा नवनिर्वाचित केन्द्रीय कोषाध्यक्ष । आफू त परियो एउटा सामान्य पर्यटन व्यवसायी । खासै अभीष्ट थिएन हाम्रो भेटघाटको ।
मध्याह्नतिर फोन उनलाई गर्नु पर्ला भनेर सोच्दै गर्दा उनैको फोन आयो-
“म अहिले नेपाल पर्यटन बोर्डमा छु । नेपाल पर्वतारोहण संघ(एनएमए)ले आज आरोही सानु शेर्पा र नीमा ग्याल्जेन शेर्पालाई सम्मान गर्दैछ । कार्यक्रम एघार बजे सुरु हुँदैछ । भृकुटीमण्डप आउनुस् ! यतै भेटौँ; सँगै बसेर कार्यक्रम हेरौँला नि !”
‘शेर्पा’ शब्द नै प्यारो लाग्छ मलाई । शेर्पा मुस्कान मिठो । शेर्पाका समृद्ध संस्कृति र उनीहरूको आतिथ्य असाध्यै मनपर्छ मलाई । शेर्पा सहनशीलताको पर्याय । मेरो स्नेहपूर्ण सम्बन्ध छ शेर्पा दाजुभाइसँग र त्यत्तिकै सम्मानभाव पनि । आरोहण कौशल उनीहरूको परिचय । यथार्थमा उनीहरूकै कारणले टिकेको छ, नेपालको पर्वतीय पर्यटन ।
केही दिनअघि मात्र पाकिस्तानको के- २, गासेरब्रुम- २ र नङ्गापर्वतको सफल आरोहण गरेर स्वदेश फर्केका नीमा ग्याल्जेन शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको सामाजिक सञ्जाल लगायत सञ्चार माध्यममा देखेको थिएँ । नौ पटक सगरमाथा आरोहण गरेपछिका उनका पछिल्ला यी तीन आरोहणले विश्वका चौधवटै आठहजारमाथिका सबै हिमाल चढी भ्याउनेको सूचीमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।
आजकै दिन अर्का आरोही सानु शेर्पा पनि पाकिस्तानबाट आउँदै छन् भन्ने सुनेको थिएँ । तर आजै भव्य समारोहका साथ सम्मान गर्ने भन्ने चाहिँ थाहा थिएन । आखिर पर्वतारोहीहरूकै साझा संस्था न हो- एनएमए । पर्वतारोहीले नै यति ठुलो सफलतामा हासिल गरेको बेला शुभ काममा किन विलम्ब गर्नू त ! आजै सम्मानको कार्यक्रम राखेर एनएमएले राम्रो काम गर्यो भन्ठानेँ मैले ।
सानु शेर्पाले हालै तेस्रो पटक नङ्गापर्वत र दोस्रो पटक गासेरब्रुम- २ को सफल आरोहण गरेका थिए । उनको त्यो सफलताले अत्यन्तै हर्षित थिएँ म । शेर्पा दाजुभाइले यति ठुलो कीर्तिमान राखेको अर्थमा नेपाली हुनुको नाताले गौरवान्वित नहुने त कुरै भएन । त्यसमाथि म आफैँ पनि पर्यटन व्यवसायी । यस्ता साहसी आरोहीको सम्मानमा सहभागी हुन पाउनु ठुलै अवसर ठानेँ । पुरुषोत्तम तिमिल्सिनाको कुरा सुनेपछि आत्मगौरवले ढक्क फुलेको छाती लिएर बुर्कुसी मारेँ म पर्यटन बोर्डतिर ।
संसारमा विचित्र-विचित्रका कीर्तिमान कायम गर्नेहरूको कमी छैन । कतिपयले अरुको कीर्तिमानलाई तोड्छन् त कसैले आफ्नै विद्यमान कीर्तिमानलाई । विश्वविश्रुत र उत्कृष्ट प्रदर्शन नै हो- विश्व कीर्तिमान । मान्छेका लागि पेरणाको स्रोत पनि हो- कीर्तिमान ।
सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मरिस हर्जोगले आठहजार मिटरको अन्नपूणर् हिमालको सफल आरोहण गरेपछि नेपालमा पर्वतारोहणले गति मात्र लिएन, हिमाल चढ्ने र कीर्तिमान कायम गर्ने होड नै चल्न थाल्यो । पर्वतारोहीले भिन्नभिन्न खाले कीर्तिमान कायम गरेका छन् । उनै मरिस हर्जोग भए- आठहजार मिटरको शिखरमा पाइला राख्ने प्रथम पर्वतारोही । सन् १९५३ मे २९ का दिन सर्वोच्च शिखर सगरमाथाको शिर चुम्ने पहिलो सफल आरोही भएर नाम कमाए-न्यूजिल्यान्डका नागरिक सर एडमन्ड हिलारी र नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पाले । तत्पश्चात् आरोहीहरूले अनेक खाले इतिहास रचे । पहिलो पटक सगरमाथाको शिखर चुम्ने विदेशी महिला जापानी आरोही जुनको तावेई थिइन् भने नेपाली आरोही पासाङल्हामु शेर्पा थिइन् । सगरमाथा लगायत विदेशी हिमालमा पनि पाइला टेक्ने पुजन आचार्य, शैली बस्नेत, माया गुरुङ, आशाकुमारी सिं, पेमाडिकी शेर्पा, नीमाडोमा शेर्पा र चिनु श्रेष्ठजस्ता चेलीका नाम आरोहीको सूचीमा स्वणर् अक्षरमा अभिलिखित छन् ।
कसैले धेरै पटक चढे । कसैले छोटो समयमा आरोहण पूरा गरे । कोही विनाअक्सिजन चढे । कोही ज्येष्ठ नागरिक बनेर । कोही कनिष्ठ त कोही दृष्टिविहीन र अशक्त । आखिर साहसिक खेल न हो यो त । इच्छाशक्ति र साहस हुनेहरूले सफलतापूर्वक आफूलाई हिमालको हिरोका रूपमा सुपरिचित गराएका छन् ।
अहिलेसम्म विश्वका आठहजारमाथिका चौधवटै हिमाल आरोहण गर्ने ४४ आरोहीका नाम सुनौलो अक्षरले टङ्कित छन् । तीमध्ये छ जना (मिङ्मा शेर्पा, आङ्दावा शेर्पा, सानु शेर्पा, मिङ्मा डेभिड शेर्पा, नीमा ग्याल्जेन शेर्पा र मिङ शेर्पा) नेपाली आरोही हुन् । पहिलो पटक यो कीर्तिमान स्थापित गर्नेमा इटालेली पर्वतारोही रेनहोल्ड मेसनर थिए । सन् १९७० देखि हिमाल आरोहण प्रारम्भ गरेका उनले सन् १९८६ सम्म आइपुग्दा १६ वर्षको अन्तरालमा चौधवटै उच्च चुली चढेका थिए । निरन्तरको साधना रहेछ- आरोहण । निर्मल पुर्जाले छ महिना छ दिनभित्र आठहजारमाथिका चौधवटै हिमाल सफल आरोहण गरेका थिए ।
हिमालका नायक हुन्, मकालु- ९, सङ्खुवासभामा जन्मेका सानु शेर्पा । सन् २००६ देखि हिमाल आरोहणमा होमिए उनी । २०२२ सम्म १६ वर्षकै अन्तरालमा विश्वका चौधवटै आठहजारी हिमालमाथि विजयका ध्वजा फहराए । त्यो पनि एकपटक मात्र होइन, प्रत्येक हिमालमा कम्तीमा दुई पटक । सगरमाथा मात्रै सात पटक चढेका उनले तीनतीन पटक चढिसकेका छन्- लोत्से, मनासलु र नङ्गापर्वत । र, दुईदुई पटक पुगेका छन् माउन्ट के- २, कञ्चनजङ्घा, मकालु, धौलागिरि, चो-यु, अन्नपूणर्, गासेरब्रुम- १, गासेरब्रुम- २, ब्रोड पीक र सिसापाङ्माको माथमा ।
सानु शेर्पाले यसै वर्षको वसन्तागमनसँगै तेस्रो पटक लोत्से हिमाल आरोहण गरेका थिए । त्यसपछि हिमाल आरोहणको प्यास मेट्न उनी पाकिस्तानतर्फ लागे । यही अवसरमा उनले तेस्रो पटक नङ्गापर्वतको सफल आरोहण गरे भने गासेरब्रुम- २ को चुचुरोमा दोस्रो पटक पाइला राख्न सफल भए । यो आरोहणसँगै विश्वका सबै आठहजारी हिमालचुलीमा कम्तीमा दुईदुई पटक पाइला राख्ने पहिलो कीर्तिमानी आरोही बनेका हुन् उनी । त्यसैले त नेपालको पर्वतीय पर्यटनको इतिहासमा एउटा गौरवपूणर् नामले चिनिन पुगेका छन् उनी ।
०००
साढे एघार बजे भृकुटीमण्डप पुगेँ । कार्यक्रम सुरु भइसकेको थिएन । त्यसो त कुनै पनि कार्यक्रम समयमा सुरु नगर्नु वा गर्न नसक्नु हामी नेपालीहरूको विशेषता नै बनेको छ । तर आजको कार्यक्रम ढिलो हुनुमा चहिँ निधार खुम्च्याउनु पर्ने रहेनछ । एनएमएले अघिल्लो दिनमात्र निर्धारण गरेको रहेछ, यो कार्यक्रम । आजै त्रिभुवन विमानस्थल ओर्लेका सानु शेर्पालाई काठमाडौँको तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा हुँदै ठमेल परिक्रमा गराई भृकुटीमण्डप ल्याउने योजना रहेछ । यही बीचमा प्रधानमन्त्री निवास बालुवाटार जाने अर्को कार्यक्रम बनेछ । बालुवाटार पुगेर भृकुटीमण्डपसम्म आइपुग्दा ढिलो त हुने नै भयो । प्रधानमन्त्रीद्वारा सम्मानित हुनु पनि आफैँमा गौरवशाली कुरा हो । विश्वविख्यात आरोहीलाई सम्मान गर्न पाउनु पनि कम गौरवको कुरा होइन ।
साढे एघार बजेतिर बाजागाजसहित भृकुटीमण्डप आइपुगे, आरोही शेर्पाद्वय सानु र नीमा ग्याल्जेन । गलाभरिभरि खादा पहिरिएका छन् दुवैले । पहिलो चोटि नजिकबाट देख्दै थिएँ म यी दुवै आरोहीलाई । पातलो ज्यान, औसत नेपाली उचाइ छ सानुको । नीमा ग्याल्जेन भने औसत नेपाली उचाइभन्दा कम तर फुर्तिला देखिन्छन् । आखिर फुर्तिलो नभई कसरी पो चढ्न सकिन्छ र उच्च हिमशिखर ! हिमालको शिर त पानी पँधेरो नै हो, उनीहरूका लागि । सानुले सैँतीसपटक र नीमाले चौँतीस पटक चढेका छन्, आठहजारी हिमाल । यसै पनि गर्वले फुलेको मेरो छाती, उनीहरूलाई देख्दा त झनै फुल्यो बडेमान भएर ।
विभिन्न संघसंस्थाका प्रमुख, व्यवसायी, पत्रकार आरोहीका आफन्तले भरिएको थियो, एनटीबीको सभाहल । औपचारिक कार्यक्रमको प्रारम्भ गरिन्, एनएमए कार्यसमितिकी सदस्य डोमा शेर्पाले । कार्यक्रमलाई आकर्षक बनाएकी थिइन् उनले । प्रमुख अतिथि थिए, माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ । विशेष अतिथि थिए, दोलखाका माननीय जीपछिरिङ लामा । मकालु गाउँपालिका प्रमुख, नेपाल एसोसिएसन अफ टा्रभल एन्ड टुर एजेन्टस्(नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थितिले थप गरिमामय बनाएको थियो कार्यक्रमलाई । कार्यक्रमका सभापतित्व गरेका एनएमएका अध्यक्ष नीमानुरु शेर्पाले सारगर्भित स्वागत मन्तव्य दिए । ओजपूणर् लाग्थ्यो उनका शब्द र सुन्दर लाग्थ्यो अभिव्यक्ति शैली ।
आरोहीद्वयका बारेमा सङ्क्षिप्त जानकारी गराए उनले ।
यही सिसिलामा उनले भने- “आरोहण सामान्य कुरा होइन । यसमा एक त लगानी हुन्छ । अर्को आरोहीले जीवनको बाजी थाप्नुपर्छ । त्यत्तिकै कीर्तिमान राख्न सकिन्न । यो कुरा सरकार र सरोकारवालाले मनन गर्नुपर्छ ।”
उनको स्वागत मन्तव्यपछि प्रमुख अतिथि माननीय पर्यटन मन्त्री श्रेष्ठले दुवै आरोहीलाई सम्मान-पत्र अर्पण गरे । गड्गडाहट तालीले हल गुञ्जायमान बन्यो । हलभित्रै मङ्गल धुन झङ्कृत थियो । मैले सुखानुभूति गरेँ उनीहरूलाई सम्मान गर्दाको त्यो क्षण ।
सोचेको थिएँ- सम्मान-पत्र सँगै एनएमएले आरोहीहरूलाई नगदले पनि सम्मान गर्छ ।
तर त्यस्तो रहेनछ ।
एनएमए त्यही संस्था हो, जसले कुनै कालखण्डमा एउटा नेताकी छोरीलाई स्ववियुको चुनाव खर्चवापत् चन्दास्वरूप मोटो रकम दिएको थियो । एनएमए त्यही संस्था हो, जसले हिमाल चढेका नेतापुत्रको मृत्युपश्चात् सालिक निर्माण गरेको थियो । हुन त एनएमएले ‘प्रधानमन्त्रीका छोराछोरीले साहस गरेर सगरमाथा/हिमाल चढे मृत्युपश्चात् सालिक निर्माण गर्ने’ भन्ने निणर्य पनि गरेको थियो ‘रे’ भन्ने सुन्नमा आएको पनि थियो । नेताकै छोराछोरीले मात्र विशेष सहयोग पाउनु, सुन्दरे शेर्पा, बाबुछिरी शेर्पा, आङ्रिता शेर्पाजस्ता दिवंगत भइसकेका अरु खाटी आरोहीका शलिक नबनाइनु आफैँमा विडम्बनापूर्ण छ । अन्नपूर्ण- १ को सफल आरोहण गरेर आठ हजार मिटर उचाइमा सबैभन्दा पहिलो पटक पाइला टेक्ने मरिस हर्जोगको अन्नपूर्ण बेसक्याम्प वा कहीँ कतै शालिक बनाइदिए उनको आत्माले शान्ति पाउँथ्यो कि भन्ने लागिरहन्छ ।
सानु र ग्याल्जेनले त जीवन निर्वाहका लागि हिमाल चढेका थिए । उनका पछाडि परिवार थियो । यो त उनीहरूको पेशा नै हो । उनीहरूले हातमुख जोड्नका लागि अँगालोको पेशाले गर्दा राज्यले राजस्व सङ्कलन गर्छ । त्यो पनि नेपाली होइन, विदेशी मुद्रा । पर्वतीय पर्यटनमा उनीहरूको योगदान अतुलनीय छ । शेर्पाविनाको पर्वतीय पर्यटन सम्भव छैन भन्दा अतिशयोक्ति नहोला । फेरि उनीहरूले नै राखेका छन्, विश्व कीर्तिमान । उनीहरूले नै राखेका देशको इज्जत । उनीहरूले नै बढाएका छन् राष्ट्रको शान । साँच्चै तिनले हिमाल नचढ्ने हो भने राज्यले कति घाटा बेहोर्नु पर्ला ? म कल्पना मात्र गर्न सक्छु । के एनएमएले ऊ बेला नेताकी छोरीलाई चन्दा दिए बराबरको रकम नदिए पनि कुनै अर्को विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कारस्वरूप उचित रकम देला त ? तालीले एनटीबीको हल गुञ्जिदै गर्दा एउटा यक्ष प्रश्न ज्वार बनेर मडारिँदै थियो मेरो मनमा ।
एनएमएमा अहिले नीमानुरु शेर्पाको नेतृत्वमा ठाकुरराज पाण्डे, मोहन लम्साल, डोमा शेर्पालगायत सशक्त व्यवसायीहरूको टीम छ । उनीहरू व्यवसायी मात्र होइनन्, परिवर्तनलाई अङ्गाल्न सक्ने र समानुभूतिपूर्ण चेत भएका व्यावसायिक प्रतिनिधि पनि हुन् । उनीहरूले एनएमएको ब्याकस्टोरी बुझेका कारण पनि यसका सदस्यहरूको थुप्रै अपेक्षा छ ।
०००
कैयौँ शेर्पाका जीवन हिमाल चढ्दा चढ्दै तुरिन्छ । कैयौँ शेर्पा अरोहणकै सिलसिलामा दिवंगत हुन्छन् । मान सम्मानको त कुरै छाडौँ, आरोही भएवापत् राज्यले सामान्यभन्दा सामान्य सुविधा दिने प्रचलन पनि छैन हाम्रोमा । पश्चिमी मुलुकको त कुरै छोडौँ, छिमेकी देश भारतमा आरोहीहरूले सम्मानित जीवन बाँच्न पाउँछन् । उनीहरूलाई गाँस र बासको व्यवस्था राज्यले गरिदिन्छ । तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चढेपछि पनि नेपालले उनलाई नागरिकता दिएन । भारतले बनाइदिएको राहदानी बेलायत गएको इतिहास कतै छिपेको छैन ।
कतिपय आरोही विदेश पलायन भइसकेका छन् । नेपालमा जति छन्; उनीहरूका सन्ततीको हिमाल आरोहणमा आकर्षण ओरालो लाग्दो छ । फेरि ज्यानलाई खुकुरीको धारमा राख्नु त छँदै छ । आखिर तिनले के पाउँछन् र राज्यबाट अनि मरिमेट्नु ? फेरि बल छउन्जेलको लागि मात्र हो यो पेशा । सामाजिक सुरक्षाको ‘स’ पनि उच्चारण हुँदैन यहाँ । राज्यबाट समुचित सम्मान किन पाउँदैनन् आरोहीले ? उनीहरूले आफूलाई आरोही भएकोमा गर्व गर्न नसक्ने हो भने नेपालको पर्वतीय पर्यटनको भविष्य के होला ? किन सरकारले बेलैमा विचार पुर्याउँदैन ? चकित पर्छु म ।
प्रमुख अतिथिले आरोहीलाई बधाई दिने क्रममा पटकपटक परर्र ताली बज्यो । त्यसो त नेपालका मन्त्रीहरू ताली खाने भाषण गर्न खप्पिस छन् । उनीहरू जति बोल्छन्, सबै बिर्सन्छन् ऐनमौकामा । पर्यटन मन्त्रीका रूपमा हामीले धेरैलाई देखेका छौँ । अनुभव गरेका पनि छौँ । तर वर्तमान पर्यटन मन्त्री जीवनरामका अभिव्यक्तिमा कृत्रिमताको आभास पाइन्नथ्यो ।
उनले अवगत गराए- “पर्यटनका नीति, कार्यक्रम र त्यससँग सम्बन्धित कानुनलाई समयसापेक्ष परिमार्जन गर्ने जस्ता कुराहरूलाई मैले त्रिहत्तरबुँदे घोषणापत्रमा समेटेको छु ।”
उनले यो कार्यक्रमबाट पर्यटनको महत्व बुझेको आभास हुन्थ्यो । विदेशी मुद्रा आर्जनका लागि आरोहण र आरोहीको भूमिका बुझेको भान हुन्थ्यो । यो पेशालाई सम्मानित बनाउनका लागि पहल गर्ने आश्वासन मात्र दिएनन् उनले, सानु शेर्पालाई एक महिनाको तलबसमेत दिने घोषणा गरे । यसो गर्नुले पनि मन्त्रीजीमा पर्यटन मजदूरप्रतिको सम्मान रहेछ भन्ने स्पष्ट हुन्थ्यो । यतिमात्र होइन, उनले आरोहीहरूको परिचय प्रदान गर्ने कुराको पनि आश्वासन दिए । हुन पनि कुन आरोही कहाँका हुन् ? कुन आरोहीले कतिवटा हिमाल चढ्यो ? कुन आरोहीले कुनकुन हिमाल कहिलेकहिले चढ्यो ? भन्ने अभिलेख हामी कहाँ छैन । एक्काईसौँ सताब्दीका हामीले अझै पनि यसका लागि औँला भाँच्नुपर्ने अवस्था छ । त्यसकारण पनि आरोहीको अभिलेख राखिनु जरुरी छ । आरोहीको फगत इतिहासमात्र होइन यो । यो त एउटा कथा पनि हो वीरताको । वीरताको अब कथा लेखिनुपर्छ ।
कदाचित् पर्यटन मन्त्रीले आश्वासन दिएका कुराहरू पूरा गरेनन् भने पनि हाम्रो देशको परिपे्रक्षमा नौलो भने हुने छैन । सांसद जीपछिरिङ लामाले पनि पनि दुवै आरोहीलाई जनही एकएक लाख दिने घोषणा गरे । कसैले कसैलाई केही चिज दिनु स्वयम्को स्वतन्त्रताको कुरा हो । यो त स्वागतयोग्य कुरा हो । अझ महत्वपूर्ण कुरा चाहिँ आरोहीहरूको सुदूर भविष्य सुनिश्चित गर्नु/गराउनु नै हो भन्ने मेरो ठहर हो ।
धन्यवाद ज्ञापन गर्ने सिलसिलामा मन्त्रीजीका अभिव्यक्तिको स्वागत गरे- एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले । आरोहीका स्वागतार्थ विमानस्थलसम्म पुगेका थिए, पर्यटन मन्त्री । त्यसपछि पनि उनी नगर परिक्रमामा सामेल भए । यसअघि कुनै पर्यटन मन्त्रीले एउटै कार्यक्रमका लागि यति धेरै महत्वका साथ समय खर्चेको अनुभूत गरिएन । मन्त्रीजीको खुलेर प्रशंसा गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले भने- “पर्यटनलाई यत्तिको माया गर्ने मन्त्री हामीले विगतमा पाएका थिएनौँ ।” सही थियो उनको कथन ।
उनीहरूको वीरता, उनीहरूको कीर्तिमानी । उनीहरूको वीरता, हामीजस्ता पर्वतीय पर्यटन व्यवसायीहरूको शान । व्यवसायीहरूको शान, व्यवसायीहरूकै आत्मसम्मान । यो शान सानु र नीमाको मात्र होइन । शेर्पा समुदाय विशेषको मात्र पनि होइन । सिङ्गो नेपालको हो, समस्त नेपालीको हो ।
जसको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको थियो उनको नाम हो- सानु । सानुको अर्थ- सानो । तर कर्म ठुलो । कर्मले ठुलो काम गरेका छन् उनले । उनी चौधवटै गगनचुम्बी शिखरमा नेपाली झन्डा फहराउने एउटा तातो मुटु । प्रत्येक नेपालीको ढुकढुकी । सम्मान कार्यक्रम सकिनै लाग्दा मेरो अन्तरहृदयले भनिरहेको थियो- “नाम कमाइसकेका छौ । देशको इज्जत पनि राखिसकेका छौँ । भयो सानु, अब हिमाल आरोहणमा धेरै बल नगर्नू !”
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)