अन्तर्वार्ताः म पर्यटन क्षेत्रमा हर्क या बालेन होइन, ‘बोधराज’ बन्न चाहन्छु

बोधराज भण्डारी पर्यटन व्यवसायमा नौलो नाम होइन । उनले पोखरा नाट्टाको नेतृत्व सम्हालिसकेका छन् । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स– नेपाल (सोट्टो)को संस्थापक महासचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेका उनले गाउँ पर्यटन प्रवद्र्घन मञ्च–नेपाललाई नेतत्ृव प्रदान गरिसकेका छन् । प्रस्तुत छ– टानको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी उनै भण्डारीसँग राजेन्द्रमान डङ्गोलले लिएको अन्तरवार्ताको सार ।

राष्ट्रिय अर्थतन्त्रको तेस्रो ठूलो हिस्सा ओगटेको पर्यटन व्यवसायीहरूको छाता सङ्गठन टानको निर्वाचनको सरगर्मी बढिरहेको प्रतीत हुन्छ । यहाँ पनि प्रत्याशी बन्नेबारे गाइँगुइँ छ । यथार्थ प्रस्ट्याई दिनुहुन्छ कि ?

टान समग्र पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नभई पदयात्रा तथा पर्वतारोहण व्यवसाय सञ्चालन गर्ने पर्यटन व्यवसायीहरूको छाता सङ्गठन हो । यो खास गरेर पर्यटनको एउटा महत्वपूर्ण क्षेत्रसँग सम्बन्धित छ । पर्यटनका विविध व्यवसायमध्ये होटेल पछिको सबैभन्दा बढी आर्थिक उपार्जन गर्ने र गतिविधि गर्ने पर्वतीय पर्यटन सञ्चालकहरूको सङ्गठित संस्था टानको आगामी केन्द्रीय कार्यसमितिको निर्वाचन सन्निकट छ र त्यसको सरगर्मी अहिले ह्वात्तै बढेको छ । यो संस्थामा केन्द्रीय कार्यसमितिको कार्यकाल दुई वर्षको हुन्छ । तर कोभिड– १९ को महामारी र खस्कँदो पर्यटकीय गतिविधिका कारण अहिले तीन वर्ष पछी मात्र चुनाव हुन गैरहेको छ । गत वर्ष नै चुनाव हुनसक्ने सम्भावनालाई मध्यनजर गरी मैले संस्थाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको विभिन्न मिडियामार्फत् सार्वजनिक घोषणा गरिसकेको थिएँ । त्यसैले अहिले मेरो उम्मेदवारीको गाइँगुइँ मात्र नभई व्यापक चर्चाको विषय बनिसकेको यथार्थ जगजाहेर छ ।

मूलतः राजनीतिक पार्टीसँग निकट पर्यटन व्यवसायीहरू विभिन्न खाले गठबन्धनका प्रयत्नमा जुटिरहेछन्, प्रत्यक्ष-परोक्ष । यहाँ भने सामाजिक सञ्जाल रङ्गाएरै मखलेल हुनुहुन्छ । गठबन्धनको औचित्यबारे यहाँको ठोस दृष्टिकोण ?

म टानलगायत कुनै पनि व्यावसायिक संस्थाहरूमा राजनीतिक गठबन्धनको सख्त विपक्षमा छु । विगतका एक दशकमा हामीले पर्यटकीय व्यावसायिक संस्थाहरूमा व्यापक राजनीतिक अभ्यास ग¥यौँ । राजनीतिक व्यक्तिहरूलाई राजनीतिक हिसाबले संस्थाहरूको नेतृत्वमा पठाउन सक्यो भने पहुँचका आधारमा व्यवसायी र संस्थाको पक्षमा उल्लेख्य कामहरू राज्यसँग मिलेर गर्न सकिन्छ भन्ने मान्यता ले काम गरेको थियो । तर त्यो हाम्रो सोच विगतदेखि वर्तमानसम्मका हाम्रा अनुभवमा असफल भइसक्यो । हाम्रा संस्थाहरू अस्वाभाविक राजनीतिक शक्ति परीक्षण र फोहोरी राजनीतिक खेल मैदानमा परिणत भए । भन्नै पर्दा अब पनि हामी यो संस्कारबाट मुक्त हुन सकेनौँ भने उम्कनै नसक्ने गरी दलदलमा फस्ने छौँ र हाम्रा व्यावसायिक संस्थाहरू नामेट हुने अवस्थामा पुग्ने छन्् । झन् अहिले त राजनीतिक नाममा अराजनीतिक गठबन्धन गरी पद र सुविधाको भागबन्डा गरी संस्थाको गरिमालाई अपवित्र पार्ने कार्यले प्रश्रय पाइरहेको छ । मेरो अभियान भनेको विगतमा जान अन्जानमा भएका गल्तीलाई सच्याई संस्थाहरूमा विशुद्ध व्यावसायिक नेतृत्वलाई स्थापित गरेर संस्थाहरूको गुमेको साखलाई पूर्वावस्थामा फर्काउने र अझ उचाइमा पु¥याई व्यावसायिक हितमा उपयोग गर्ने अवस्था सिर्जना गर्ने हो । त्यही अभियानको सुरुवात मैले टानको अध्यक्ष पदमा सङ्कीर्णतामुक्त व्यावसायिक उम्मेदवारी दिएर गर्दै छु । संस्थाको गरिमा र उद्देश्य परिपूर्तिका लागि गरिने व्यावसायिक गठबन्धनहरू एक हदसम्म उचित भए पनि राजनीतिक दल र आस्थाका आधारमा स्वार्थकेन्द्रित गठबन्धन अनुपयुक्त र गलत भएको विगतको हाम्रो अनुभवले पुष्टि गरिसकेकोले मैले यसलाई अहिले पूर्णतः गलत भनिरहेको छु । सहमतिमा व्यावसायिक स्वार्थ र हितलाई केन्द्रमा राखी सर्वसम्मत या निर्विरोध समिति बनाउन प्रयास गर्नु या स्वस्थ्य प्रतिस्पर्धामा व्यावसायिक नेतृत्व चयन गरिनुलाई भने सर्वथा उपयुक्त मान्न सकिन्छ । म यही अभियानलाई सार्थक बनाउन चुनावी मैदानमा उत्रेको छु ।

राजनीतिक भाषामा भन्ने हो भने दलगत भागबन्डा भन्दा माथि उठेकाले यहाँ कुनै दल विशेषको उम्मेदवार पर्नुभएन भन्दा अत्युक्ति नहोला । यहाँलाई किन मत दिने र कसले केका निम्ति विजयी बनाउने ?

दलहरूको अनावश्यक हस्तक्षेप, चलखेल र सक्रियता व्यावसायिक संस्थाहरूमा अहिले आलोचनाको विषय बनेको छ । यो दलहरूमा आबद्ध भएका र नभएका दुबैखाले व्यवसायीहरू बीच अलोकप्रिय बन्दै पनि गइरहेको छ । पेसा र व्यवसायमा पनि दलको ह्विप लगाउने, व्यावसायिक रूपमा असम्बन्धित कथित नेताहरूको अनावश्यक चासो र निर्देशन पालना गर्नु पर्ने तथा आफ्नै पेसा र व्यवसाय धराशायी बन्दै गएको दृश्य टुलुटुलु हेरेर बस्नुपर्ने विडम्बनापूर्ण अवस्थामा अहिले हाम्रा व्यवसायीहरू छन् । दलको ह्विप नमानौँ कारवाही होला भन्ने डर, मानौँ– आफ्नै गाँसमा लात हान्नु पर्ने अवस्था अहिले छ । त्यसका लागि हिम्मत र साहसका साथ आफ्नो व्यावसायिक हक र अधिकारका लागि जागरुक हुनु, आफ्नो पेसा र व्यवसाय को रक्षाका लागि सङ्घर्ष गर्नु अहिलेको हाम्रो आवश्यकता हो । यसका लागि कसै न कसैले पहल कदमी लिनु पथ्र्याे, जुन कुराको सुरुवात मैले गरेँ । मेरो पदयात्रा, पर्वतारोहण लगायतका पर्वतीय पर्यटन सम्बन्धित व्यवसायमा राम्रै पकड रहेको र व्यवसाय सञ्चालनमा आइपर्ने समस्या र चुनौतीहरूबारे म भुक्तभोगी भएको र सामुहिक हितका लागि पहल गरेर मात्र हामीले व्यवसायको संरक्षण र विकास गर्न सक्छौँ भन्ने सामाजिक भावना ममा भएको ले साँच्चिकै व्यवसायीहरूले मेरो यो अभियानलाई साथ र समर्थन गर्न मलाई मत दिने र व्यावसायिक नेतृत्व संघसंस्थाहरूमा स्थापित गराउन मजस्तो स्वतन्त्र प्रत्याशीलाई विजय गराउनु वर्तमान व्यावसायिक माग हो भन्ने लाग्छ ।

कदाचित् यहाँलाई साङ्गठनिक ह्विप उल्लङ्घन गरेरै किन नहोस् व्यवसायीहरूले विजयी गराए रे । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न यहाँका के त्यस्ता नवीन योजना छन्, जो अरुसँग छैनन् ? कार्यान्वयन गर्ने प्रत्याभूति नि ?

पहिलो कुरा त टानमा आवद्ध सबै व्यवसायीहरू दलमा पनि आवद्ध हुन्छन् भन्ने अनिवार्य छैन । कुनै पनि दलमा सङ्गठित नभएका उल्लेख्य सङ्ख्यामा व्यवसायीहरू टानमा आवद्ध छन्, जसलाई यो दलीय खिचातानी पटक्कै मन परेको छैन । विकल्पहीन हुँदा मात्र उनिहरूले कुनै न कुनै दलका उम्मेदवारलाई मतदान गर्नु परेको थियो । विकल्प हुनेबित्तिकै उनीहरू व्यावसायिक नेतृत्व छनौट गर्न लागि पर्ने छन् । त्यसैले गोप्य मतदानमा ह्विप उल्लङ्घन भन्ने नै हुँदैन यहाँं । म र म जस्ता अन्य व्यावसायिक उम्मेदवारलाई विजय गराउन दलमा आवद्ध वा दलविहीन सबै व्यवसायीहरू स्वतन्त्र छन् । टानले आम रूपमा पदयात्रा र पर्वतारोहण क्षेत्रलाई व्यवस्थित गर्ने, संरक्षण गर्ने, विकास गर्ने र विस्तार गर्ने काममा विशेष चासो र पहलकदमी लिने हो । विगतमा राजनीतिक प्रभाव र हस्तक्षेपमा नेतृत्वमा पुगेका तर टानको आर्थिक तथा प्रशासनिक अवस्थालाई अस्तव्यस्त पारेर संस्थालाई विघटनको सङ्घारमा पु¥याएका धेरै दृष्टान्तहरू जगजाहेर छन् । मलाई टानको अध्यक्षमा विजयी गराइएको खण्डमा प्रथमतः आन्तरिक व्यवस्थापनलाई प्राथमिकताका साथ सुधार गरी विकास गर्नु मेरो पहिलो काम हुने छ । टानलाई व्यवसायीमैत्री, व्यवसाय प्रवद्र्घन, मजदुर र व्यवसायीबीच सुमधुर र न्यायिक सम्बन्धको विकास, टिम्ससँग सम्बन्धित अव्यवस्था को अन्त्य, व्यावसायिक भविष्यको सुनिश्चितताका लागि पहल, नयाँनयाँ पदयात्रा मार्गको पहिचान र प्रवद्र्घन, व्यावसायिक दक्षताका लागि तालिमको व्यवस्था, राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय भाइचारा सम्बन्धमा जोड, सरकार र व्यवसायीबीच सम्बन्ध सेतुको भूमिका, नीतिनियम तर्जुमा र सहजीकरणमा व्यवसायीको पक्षमा वकालत लगायतका कामहरू नै इमान्दारीका साथ गर्ने छु । व्यवसायीसँग आवधिक अन्तरक्रियाको व्यवस्था गरी सम्पन्न भएका, हुन लागेका र हुन बाँकी कामहरूबारे जानकारी गराउने र आर्थिक स्रोत र साधनलाई मूलरूपमा पर्वतीय पर्यटनको समग्र उत्थानमा पारदर्शी रूपमा उपयोग गर्ने काम गर्ने छु ।सामाजिक क्षेत्रमा विगतमा काम गर्ने मेरो शैली र प्रतिवद्धतालाई इमान्दारीपूर्वक दुई वर्षे कार्यकालमा भरपुर प्रयोग गरी टानका सदस्य व्यवसायीहरूलाई विश्वसनीय रूपमा कार्यान्वयन हुने प्रत्याभूति गराउने छुु ।

यहाँले आफूलाई स्वतन्त्र उम्मेदवार भन्नुभएको छ । कतै पर्यटन क्षेत्रको बालेन वा हर्क बन्न पो सकिएला कि भन्ने अपेक्षा हो ?

म पर्यटन क्षेत्रमा हर्क या बालेन होइन कि ‘बोधराज’ बन्न चाहन्छु । मैले आफूलाई स्वतन्त्र भन्दा पनि ‘साझा’ व्यावसायिक उम्मेदवार भन्न रुचाउँछु । मेरो नेतृत्वदायी क्षमता र कार्य दक्षतालाई देखेर उम्मेदवार बन्न प्रोत्साहन र प्रेरणा दिने व्यावसायिक मित्रहरूको आशयअनुसार मलाई स्वतन्त्र उम्मेदवार भन्न पनि सकिन्छ ।

स्वतन्त्र उम्मेदवारले जिते नै भने पनि काम गर्न अवरोध गर्ने र तगारा तेर्स्याउने परिपाटीमा जताततै बढोत्तरी हुँदैछ । मानौँ यहाँले नै विजयमाला पहिरिनु भयो रे । यहाँको हकमा पनि त यही कुरा लागू नहोला र ?

राजनीतिक रूपमा दलीय व्यवस्था भएकोले स्थानीय तहमा विजयी भएका गैरराजनीतिक स्वतन्त्र जनप्रतिनिधिलाई काम गर्न अप्ठ्यारो पार्ने र तगारो तेस्र्याउने कामहरू भएका छन् । तर टान आफैँमा राजनीतिक रूपले स्वतन्त्र व्यावसायिक संस्था भएकोले दलीय प्रतिनिधित्व हुँदा एक अर्कालाई असफल बनाउन बाधा, अड्चन थाप्ने र असहयोग गर्ने गतिविधिहरू भए । त्यसै कारण पनि दलीय संलग्नतालाई निस्तेज पार्न खोजिएको हो । एउटै व्यवसाय सञ्चालक र साझा समस्यासँग जुध्न एकअर्कासँग पूर्ण परिचित पात्रहरू नै रहने भएकोले स्वतन्त्र या दलको भनेर बाधा, अड्चनहरू आउने अवस्था म देख्दिनँ । सहज ढङ्गले कार्य सम्पादन गर्न सकिन्छ भन्नेमा म पूर्णतः विश्वस्त छु ।

व्यवसायभन्दा राजनीतिलाई बढी महत्व दिने गरिन्छ पर्यटन क्षेत्रमा । त्यस्तो अवस्थामा यहाँको उम्मेदवारी त फिका हुने जोखिम छैन र?

हिजो त्यो अवस्था थियो । व्यवसायीहरू आजित भएर राजनीतिक एजेन्डा व्यावसायिक संघसंस्थामा अनुपयुक्त हो भन्ने कुरा सबैले बुझिसकेका छन् । सबैका आ–आफ्ना राजनीतिक आस्था छन्, जो राष्ट्रिय राजनीतिमा कामयावी पनि होला । यसर्थ अहिलेको मेरो उम्मेदवारी फिका होइन कि झन् गहकिलो हुँदै गइरहेको मैले महसुस गरेको छु ।

किन कुनै एबीसी प्रत्याशीको साटो बोधराज भण्डारीलाई छान्ने ? सबै उही र उस्तै त हुन् नि भन्नेहरूलाई यहाँको जवाफ ?

अहिलेलाई यत्ति भनौँ कि– हामीले माथि यतिका विषयहरूमा बहस गरिसकेपछि हाम्रा व्यवसायीहरूले अन्य प्रत्याशी र बोधराज भण्डारीको उम्मेदवारीमा उल्लेख्य भिन्नता छ भनेर बुझिसकेका छन् । उही र उस्तै भनेर अब सोच्ने कुनै आधार नै छैन भन्ने लाग्छ ।

अन्तमा भन्न चाहेका तर छुटेका कुरा केही छन् कि ?

तपाइँको लोकप्रिय अनलाइन नेपालनाम्चामार्फत् म टानका आदरणीय सदस्य महानुभावहरूलाई यति मात्र भन्न चाहन्छु कि– टानको विगत हेरौँ र भविष्यमा टानलाई कता लैजाने हो सोचौँ । मिठा र चिल्ला कुरामा रत्तिभर नभुलौँ । दल होइन, आफ्नो पेसा र व्यवसाय रोजौँ । हाम्रो पेसा र व्यवसाय बाँचे दलहरूमा लागेर देश निर्माणमा जुट्ने अवसर त छँदै छ । पहिला बाचौँ, अनि बचाउने काम पनि पक्कै गर्न सक्ने छौँ । जय टान, जय पर्यटन !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

3 Comments

    1. अग्रिम बधाई भारी मतका साथ विजयी हुनुस् !

  1. अग्रिम बधाई भारी मतका साथ विजयी हुनुस् !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button