
नियात्राः जिब्राल्टरजस्तै ललितपुरको देउराली
यहाँ आलु रोप्नै पर्दैन । आफैँ फल्छ । न गोड्नुपर्छ । न यसका लागि सिंचाइको आवश्यकता छ । प्रकृतिले नै दिन्छ आलु ।
गाउँ पर्यटन
राजेन्द्रमान डङ्गोल
सम्वत् २०७९ साउन १५ गते ।
रित्तो गाग्रोसरि छल्किरहेथ्यो मन । गाडीको चालभन्दा द्रुत थियो मनको उद्वेग । साँच्चै भनुँ भने टीकाभैरव पुग्दा नपुग्दै मेरो मन भने हुइँकिएर देवीचौर पुगिसक्छ ।
सहरका साँघुरा सडक । मान्छेहरूको लर्को । सवारी साधनको अत्यधिक चाप । चक्रपथभित्रको ट्राफिकलाई छिचोलेर टीकाभैरवसम्म आइपुग्नै महाभारत भएथ्यो । काठमाडौँबाट देवीचौरसम्मको ३१ किमि दूरीलाई दुई घण्टा लाग्नु चानचुने कुरा कहाँ हो र !
साउन त शिवपुजन महिना । प्रचलित प्रथाअनुसार खिर खाने दिन पनि आजै । ऊ बेला यस्तो पर्वको दिनमा पनि चुप लागेर बसेका थिएनन्, पर्यटन व्यवसायी सूर्यप्रसाद श्रेष्ठ । २०५४ साल साउनको आजकै दिन उनले गाउँ पर्यटन प्रर्वध्दन मञ्च–नेपाल (भिटोफ)को शुभारम्भ गरे । अन्यथा साउन १५ आए पनि हाम्रा लागि आजको दिन सायदै आउँथ्यो । नमन गर्छु म, भिटोफका संस्थापक श्रेष्ठलाई ।
ओझेलमा परेका गन्तव्यहरूमा पर्यटनको बिहानी ल्याउनु, जिम्मेवार पर्यटनको अवधारणाका साथ समग्र पर्यटनको विकास गर्नु र सरकार र स्थानीय निकाय तथा जनस्तरसम्मै सहकार्य गर्नु नै भिटोफका निर्दिष्ट लक्ष्य हुन् । त्यसैको सिलसिला हो– भिटोफद्वारा आयोजित यो यात्रा ।

मकवानपुरको चित्लाङ, नवलपरासीको अमलटारी, लमजुङको घलेगाउँ र बाग्लुङपानी, कास्कीको कालाबाङ र ल्वाङघले जस्ता अहिलेका प्रख्यात गन्तव्यमा पर्यटनको पहिलो पानस भिटोफले जलाएको हो ।
बत्तीमुनिको अध्यारोमा रहेको ललितपुरस्थित गोदावरी नगरपालिकाको देवीचौर–देउरालीडाँडामा पर्यटनको चिराग सल्काउने प्रयत्न गर्दैछ भिटोफले । यसका लागि ‘भिटोफ डे’लाई साइत जुराउनु पनि सुखद संयोग नै हो । यसैको साक्ष्य भएर आइरहेका छौँ हामी ।
वर्तमान भिटोफको सशक्तताप्रति गौरवान्वित महसुस हुन्छ मलाई । अध्यक्ष, महासचिव र कोषाध्यक्षबीचको समझदारी । उपाध्यक्ष, सह–कोषाध्यक्ष एवम् सदस्यहरूमा भएको सैद्घान्तिक र व्यावहारिक ज्ञान । उनीहरूमा अन्तरनिहित सकारात्मक सोच र विनीत व्यवहार । र, त चलायमान बनेको छ– भिटोफ ।
…
बिहानको पौने दश बजिसक्छ गोदावरी नपा– ७ मा अवस्थित देवीचौर पुग्दा । १६७० मिटर उचाइको जलवायु । भिरालो बस्ती । नयाँपुराना घरको समिश्रण । साउने रङहरूको सौन्दर्य । ख्याल सुन्दर लाग्दैन देवीचौर । यहाँबाट नजिकै देखिन्छन्– पारिपट्टिको पहाडको छातीमा अवस्थित दक्षिणकाली लगायतका सुन्दर बस्ती । आखिर कति नै ठुलो छ र नेपाल खाल्डो ।
वडा नं. ७ का नवनिर्वाचित अध्यक्ष मथुरा शर्मा, वडासदस्य विष्णुप्रसाद तिमिल्सिना र महिला सदस्य विनिता नेपाली बाटैमा छन्, भिटोफको स्वागतार्थ । उनै जनप्रतिनिधिसँगै उभिएका छन्– लुँगी, चोली र मखमलको गम्छामा सजिएका पञ्चकन्या ।
रामायणका अनुसार पाँच आदर्श नारी अहिल्या, द्रौपदी, सीता, तारा र मन्दोदरीको समूह हो– पञ्चकन्या । हामी छोरीलाई देवीको रूपमा पुज्छौँ । फेरि स्वागत र बिदाई समारोहमा छोरीलाई नै उभ्याउँछौँ । यो देख्दा एक मनले भन्छ– कतै यो कायदा गलत त भएन ? फेरि अर्को मनले भन्छ– आज देवी स्वयम् भक्तका सामु प्रकट भइरहेका छन् ।
वडाअध्यक्ष र सदस्यहरूले रातो टीका र सयपत्री फूलको माला लगाएर स्वागत गर्दै गर्दा सडकमा टहलिँदै गरेका चौरासी वर्षीय यानाथ तिमिल्सिनासँग साक्षत्कार गर्न पुग्छु ।
“कति पुरानो बस्ती हो यो ?” जान्न चाहेँ ।
“२०११ सालदेखि सुरु भएको । पहिले त जङ्गल थियो । राजा महेन्द्रले बस्ती बसालिबक्सेको ।”
“देवीको मन्दिर कहाँ छ नि ?”
“यहीँ माथिहुँदो छ त । देवीको मन्दिरअगाडि सानो चौर भएकोले बस्तीको नाम पनि देवीचौर रहन गएको रे । मन्दिरअगाडि बडेमानको एउटा चिलाउनेको बोट पनि थियो रे । देवीको शक्तिले होला चौपाया पनि रुख चढ्थे रे !”
अचम्मको किंवदन्ती सुनाए उनले ।

डिलैमा छ– श्री देवी मावि । आकाशे रङको निलो सर्ट, निलै पाइन्ट÷फ्रक र निलोमा सेतो धर्का भएको टाई लगाएका छात्रछात्रा मेरै छेउमा उभिन आइपुग्छन् । उनीहरूलाई देख्दा आफ्नै स्कुले जीवनमा फर्कन्छु म । यस्तै पोसाकमा स्कुल जान्थेँ । के मात्रै सपना साँचेको थिइनँ मैले त्यो जीवनमा ! ‘के सोचेँ मैले, के भयो अहिले’ भन्ने गीतजस्तै पो भएको छ, मेरो वर्तमान ।
पालैपालो उनीहरूको नाम सोध्छु । लजाउँदै जवाफ दिन्छन् उनीहरू–
आकाश बम्जन,
प्रशान्त तामाङ,
अनिशा बजगाईं,
डोल्मा लोप्चन,
नीरा लोप्चन,
विनिशा तिमिल्सिना ।
उनीहरू छ र सात कक्षाका छात्रछात्रा ।
“स्कुल सुरु हुने बेला भएको छैन ?” फेरि सोध्छु ।
“साढे दश बजेबाट ।”
“भविष्यको लक्ष के छ नि तपाइँहरूको ?”
सबै जना लजाउँछन् ।
लजाएरै जवाफ दिन्छिन् विनिशा तिमिल्सिना– “म डाक्टर बन्न चाहन्छु ।”
भविष्यकी कर्णधार हुन् विनिशा । उनको लक्ष्य पूरा होस् भन्ने कामना गर्छु मनमनै ।
उनीहरूमा भएको लज्जाभाव देख्दा अचम्भित हुन्छु म । त्यसो त आफू पनि यस्तै थिएँ यो उमेरमा । फेरि यस्तो वय कहाँ पाउनु र मैले ।
सुनेको थिएँ– लज्जाले मान्छेलाई नैतिक बन्धनमा राख्छ र आत्मानुशासनमा बस्न प्रेरित गर्छ । ‘लज्जा’लाई मान्छेको गहना भनिएको त्यसै होइन भन्ठान्छु म । यही बेला मलाई संस्कृतको एउटा सूक्तिको याद आउँछ–
‘एकस् लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्ः’ अर्थात् निर्लज्ज भएमा सबैतिर जित हुन्छ ।
नेताहरूले सबै ठाउँमा जितेको त्यसै कहाँ हो र ! र, त सत्ता र शक्तिको दुरुपयोग गर्न पाएका छन् । जसमा लाज नहुनुपर्ने हो, उनीहरूमा भरपुर छ । जसमा लाज हुनुपर्ने हो, उनीहरूमा रत्तिभर छैन । कस्तो विडम्बना ! नेताहरूले गरेको लज्जाको त्याग नै वर्तमान नेपालको दुर्दशाको कारक हो भन्दा अतिशयोक्ति नहोला । वाचाअनुसारको कर्म गर्न नसक्दा लाज त राजनीतिकर्मीमा पो हुनुपर्ने होइन र ? एउटा सवाल जन्मन्छ मभित्र ।

बिहान सोह्रखुट्टेमा गाडी चढ्नुअघि एक कप कफीमात्र पिएको थिएँ । यात्राको उत्साहले होला ज्यास्ती भोक जागेको छैन मलाई । हाम्रा लागि साउन १५ को खिर तयार पारेकी रहिछन् स्थानीय सुभद्रा बजगाईंले । गुलियो खिर र नुनिलो अचारले पेटको भकारी बाँधेर देउरालीतर्फ लाग्छौँ हामी ।
भिटोफको कार्यसमिति, सल्लाहकार र पर्यटन व्यवसायीसमेत १७ जनाको टोली देवीचौरलाई छाडेर लाग्छ उकालो । सुरुमा मकैबारी, त्यसपछि आउँछ खरबारी । खरबारीको उकालो तुरेपछि आउँछ, सल्लीपिरको बाटो ।
बर्सात्को गोरेटो, त्यसमाथि सल्लीपिरले ढपक्कै ढाकेको । लेउ पनि जमेकै छ ठाउँठाउँमा । सावधानीपूर्वक गोडालाई बाटोमा टेकाउँछु म । दाहिने हातले लट्ठीको सहारा लिएको छु ।
यस्तो उकालोमा पनि राजेन्द्र विष्ट र दीपक दाहाल बत्तिएको देख्दा बिचित्र लाग्छ । अगाडि छन्– शिव लामिछाने, विक्रम थापा, विनिता नेपाली, सुभद्रा बजगाईं, बाबुराम कार्की, मनोहर दाहाल, चित्र गुरुङ, रमेश घिमिरे र जयनाथ भण्डारी । पछाडि छन्– नवीन अधिकारी र प्रा. डा. प्रेम शर्मा ।
‘अघि हिँड्नेहरूको हिँडाइ ढिलो भयो है !’ डा. शर्माको आवाज आउँछ पछाडिबाट ।
सबैको गति एउटै कहाँ हुन्छ र ! सकेसम्म त हिँडिरहेकै छौँ । यी बुढालाई चाहिँ कत्ति न छिटो हिँड्नु पर्ने ! हिँडेर किञ्चित थाक्दैनन् । सत्तरी वसन्त पार गरिसक्दा पनि लोभलाग्दो ऊर्जा छ उनमा ।

सधैँ ठट्यौलो पारामा प्रस्तुत हुने डा. शर्मा आज पनि उत्तिकै ठट्टा गरिरहेका छन् । नत्र कसरी उकालो काट्नु ! सायद उनीविनाको यात्रा यत्तिको रोचक हुन्थेन भन्ने लाग्छ । उनी ग्रामीण पर्यटनविज्ञ । भिटोफको सहयात्री । स्थापना कालदेखिकै प्रमुख सल्लाहकार हुन् उनी । अझै पनि पीएचडीको क्लास लिन्छन् उनी । तब न प्रा. डा. शर्मा उनी ।
मानक बनेको छ, सार्क ग्रामीण पर्यटन कार्यशालामा उनले गरेको पर्यटनको परिभाषा । पर्यटनको कुरा उठ्दा यही परिभाषा सुसूचित गराउँछन् उनी– ‘टुरिजम इज अ बिजनेस अफ अट्य्राक्सन अफ फाइव सेन्स अफ अग्र्यान अफ ह्युमन बिइङ्स ह्वेयर, इकोनोमिक ट्रयान्ज्याक्सन्स टेक प्लेस ।’
उनी भन्छन्– “अथाह पर्यटकीय सम्भावना भएको देशमा हामी परम्परागत रूपमा भल छोपेर रोपाइँ गरेजस्तै पर्यटन व्यवसाय चलाइरहेका छौँ ।”
यो नै उनको गम्भीर चिन्ताको विषय बनेको छ आज । हुन पनि हिलोमा माछा मार्ने कामझैँ भएको छ, पर्यटन व्यवसायीको इलम । कुनै बेला कतिले क्रेडिट कार्ड घोटेर पनि अथाह कमाए रे भन्ने सुनेकै हौँ । रेस्क्युको बहानामा हेलिकप्टर उडाएर कमाइरहेकै छन् अद्यापि । जायज लाग्छ मलाई उनको चिन्ता । कमाउनु मात्र ठुलो कुरा होइन । पर्यटनको नयाँ स्वाद र यसको फैलावट नै महत्वपूर्ण कुरा हो भन्नेमा विश्वास गर्छु म स्वयम् ।
काफलका बोट छन् जताततै । एँसेलुको काँडाले चिथोर्न खोज्छन् । चुत्रोका पोथ्रालाई पनि पन्छाउँदै हिँडिरहेको छ हाम्रो टोली ।
सुभद्रा बजगाईं भन्छिन्– “यहाँ जटामसी र चिराइतो पनि पाइन्छ ।”
सुभद्रा र विनिता नेपालीलाई उछिनेर विक्रम थापालाई भेट्न पुग्छु म । उनी पर्यटन व्यवसायी एवम् स्थानीय पनि । उनैले समन्वय गराएका हुन्, भिटोफ र गोदावरी नगरपालिकालाई । उनी नहुँदा हुन् त गन्तव्य पहिचानको यो यात्रा कसरी सम्भव हुन्थ्यो र आज !
आज मौसमले साथ दिएको छ । कालो बादलले डम्मै ढाकेको छ आकाश । नत्र यो उकालोमा यो गति लिन कहाँ पो सक्थ्यौँ र ! तैपनि पसिनाको मूल फुटेको छ शरीरमा । बरु बादलको घैला नचुहिदिए हुन्थ्यो भन्ने कामना गरिरहेछु ।

एक घण्टा उकालिएपछि पुगिन्छ जङ्गलबीचको थलीमा । एकक्षण सुस्ताउने सहमति बन्छ हाम्रो । साउनको घटा न प-यो ! थलीमा टुसुक्क बस्न नपाउँदै बिरबिराउन थाल्छ पानीको थोपा । हत्त न पत्त छाता उघार्छु म । त्यही बेलाको दृश्य कैद गर्न क्यामरा तेस्र्याउँछन् जयनाथ ।
छाता अोढेरै ठट्यौलो पाराको गीत गाउँन थाल्छन् डा. शर्मा–
‘मेरी माया काँ गयौ कुन्नि !
यतिसारो बोलाउँदा नसुन्नी
गीत मलाई आएन
के हुन्छ कुन्नि !’
पहिलोचोटि सुन्दै छु म यस्तो गीत । स्थायी कुन अन्तरा कुन ठम्याउनै मुस्किल ।
एकछिन ठट्ठामस्करी चल्छ शिव लामिछाने र डाक्टरसा’पको बीचमा । हाँसोले गुञ्जन्छ जङ्गल । सल्ला र खसु्रका बोट पनि हाँसेझैँ भान हुन्छ ।
औँलाभरि विभिन्न रङ्गका पत्थरजडित औँठी लगाएका छन् डाक्टरसा’पले । अचम्म चाहिँ के भने उनको दाहिने हातको बुढी औँला पनि खालि छैन । यसरी औंलैपिच्छे औँठी लगाउँदा बुढालाई भात खान अप्ठ्यारो पनि नहुने होला कि के हो ? एकालाप गर्छु म ।
“यति धेरै औँठी लगाउनुको कारण के हो ?” डाक्टरसा’पलाई प्रश्नको झट्टी हान्छन् लामिछाने ।

त्यसो त ब्रह्माण्ड, पृथ्वी र हाम्रो शरीर सबै पञ्चतत्वबाटै बनेको त हुन्छ । मानिसको हातमा भएका पाँच औँलाले पञ्चतत्वलाई प्रतिनिधित्व गर्छन् । भनिन्छ– औँलाको औँठी, घाँटी र नाडीमा लगाइने पत्थरले हाम्रो शरीरलाई प्रत्यक्ष प्रभाव पारिरहेकै हुन्छ ।
तर पनि कुटिल जवाफ फर्काउँछन् डाक्टरसा’प– “मान्छेको इन्द्रियलाई आकर्षित गर्न नि !”
देब्रे हातको बुढीऔँला, चोरीऔँला र माझीऔँला देखाउँदै पुनः ठट्टाभावमै प्रस्तुत हुन्छन् उनी– “कहिलेकाहीँ कसैले तेरो छ कि छैन ? भनेर सोधी हाले देखाउनुपर्छ भनेर यी तीन्टा औँला खालि नै राखेको छु क्या !”
नजिकै छन्, सुभद्रा बजगाईं र विनिता नेपाली । कसले के कति बुझे कुन्नि ! तर उनको यो वाक्यले थलीमा भइरहेको संवादमा हठात् बे्रक लाग्छ । एउटा कालो बादलको छायाँ पर्छ मेरो मनमा । डाक्टरसा’पको गोरो अनुहारबाट तप्किरहेका पसिनाका थोपा पनि लाचार बनेर उनकै सेता दारी भिजाउन पुग्छन् । आश्चर्यचकित हुँदै म रुखको टुप्पोतिर हेरेजस्तो गर्छु । त्यही बेला एउटा लोखर्के हाँगामा खुर्र दौडिएको देख्छु ।…… “जाऊँ अब !” परिरहेको सिमसिमे पानीझैँ फुस्फुसाउँछन् शिव ।
उनीसँगै लहसिन्छु म ।
…
थलीपछिको बाटो तर्पायाँ । थली छाड्दा पछाडि रहेका थापाकाजीद्वय गोपाल र निशेष, शकुन्तला देवकोटा र नेपालनाम्चाका सम्पादक अशोक सिलवालहरूको खैखबर छैन । सायद प्रकृतिमा रमिरहेका होलान् उनीहरू ।
अलिकति माथि पुगेपछि निर्माणाधीन स्वर्गद्वारी र रुरुक्षेत्रको मन्दिर देखाइन्, सुभद्रा बजगाईंले । पवित्र तीर्थस्थलको रूपमा परिचित छ– गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थलमा रहेको रुरुक्षेत्र । प्राचीन मन्दिरमध्येको एक हो– स्वर्गद्वारी । ऊ बेला पाण्डवहरू स्वर्ग जाँदा त्यही बाटो भएर गएका थिए रे । अबका दिनमा यो १९८० मिटर उचाइको स्वर्गद्वारी भएर पर्यटकहरू देउरालीडाँडो पुग्ने छन् । गौरवकै कुरा हुने छ । धार्मिक संरचना निर्माण गरेर राम्रै भयो भन्ठान्छु म ।
यति बेला समान छ सबैको गति ।
जङ्गल सकिएपछि आउँछ, एउटा आधारभूत विद्यालय । लगभग मेरै समान वयका शिक्षक र किञ्चित कम उमेर प्रतीत हुने शिक्षिका सेतो पाटीमा घोटिरहेथे मार्कर । र, पनि सेतिएझैँ लाग्दैनथ्यो जीवन । मुर्दा शान्तिझैँ भान हुन्थ्यो कक्षाकोठाको वातावरण । आकाश–जमिनकै अन्तर छ– नेपालका निजी र सरकारी विद्यालयमा । एक्काइसौँ शताब्दीका बालबालिका । बीसौँ शताब्दीका शिक्षक । पाठ्यक्रममा पनि उल्लेख्य परिमार्जन भएझैँ लाग्दैन । उन्नाइसौँ शताब्दीकै भान हुन्छ । अध्यापन विधि अठारौँ शताब्दीको पो छ । पूरै व्याख्यान विधि । फेरि आजकल परीक्षामा उचित प्राप्ताङ्क नभए पनि समुत्तीर्ण रे । अनौठौ पो छ हाम्रो पारा !

स्कुलबाट उँभो लागेपछि तल्तिर फर्केर हेर्छु । गोरेटो र सडकले जेलिएका थुम्काहरू नाघेर बेपत्ता कुदिरहेको भुइँकुहिरो देउरालीतर्फ लाग्दैछ । म हतारहतार पाइला उठाउछु ।
उकालो सकिएपछि देखिन्छन् परम्परागत घर । आँगनमा लुङ्दा र लुङ्दर टाँगिएका छन् । तामाङ समुदायको बाहुल्यता भएको ठाउँमा आइपुगेका छौँ हामी । निर्धोझैँ लाग्छ यो बस्ती । भिटोफले पर्यटनको दियो जलाउन सके यहाँको मुहार कसो नफेरिएला र !
वडा अध्यक्ष मथुरा शर्मा भन्छन्– “काठमाडौँ उपत्यकाको संस्कृतिसित जोडिएको कटुवालदहबाट, सत्यश्वर मन्दिर स्वर्गद्वारी, दुधेश्वरी हुँदै देउराली र भट्टेडाँडासम्म पुग्ने पदमार्ग छ ।”
थप्छन्– “यहाँ आलु रोप्नै पर्दैन । आफैँ फल्छ । न हामीले गोड्नुपर्छ । न यसका लागि सिंचाइको आवश्यकता छ । प्रकृतिले नै दिन्छ हामीलाई आलु ।”
मेरो लागि बिचित्रको कुरा हो यो । आलुजस्तो सदाबहार तरकारी, त्यो पनि आफैँ फल्ने ! यो पदमार्गको विकास गर्न सके प्रकृतिले दिएको आलु बेचेरै मान्छे धनी हुन कति बेर लाग्छ र ! यति हुँदा हुँदै पनि किन विलम्ब गरिरहेका छौँ हामी ?
डेढ घण्टाको हिँडाइपछि चाक्लो चौरमा पुग्छौँ हामी । चौरको आडमा छ एउटा थुम्को । त्यसैको नाम हो– देउराली । देउराली अर्थात् आजको गन्तव्य । यसैको पहिचान गर्न आएका हौं हामी ।
चौरको एक छेउमा मयल, लाँकुरी र समीका बोट छन् । तिनैको फेदमा छ– दुधेश्वरीको मन्दिर ।
“यहाँ सतीदेवीको स्तनपतन भएको विश्वास गरिन्छ । उहिलेउहिले यहाँ गाई आफैँले दुध चढाउँथ्यो रे ।” अवगत गराइन् सुभद्रा बजगाईंले ।
उनी त मेरो पथप्रदर्शक जस्तै भएकी छिन् ।
दुधेश्वरीको मन्दिरकै सामुन्ने छ– अर्को सुन्दर थुम्को । त्यहीँ निर्माण गरिएको छ– भ्यू टावर । यति सुन्दर थुम्कोमा भ्यू टावर ? मानवनिर्मित संरचनाले थुम्कोको सौन्दर्यलाई नराम्ररी बिगारेको छ । साँच्चै भन्ने हो भने देउरालीको दृश्यलाई कुरूप बनाएको छ यसले । आँखै बिझाउँछ मेरो ।
नेपालमा पछिल्लो चरण विकास भएको भ्यू टावरमात्र हो । यसमा भएको लगानी शिक्षा र स्वास्थ्यमा गरेको भए जनतालाई कति राहत हुन्थ्यो होला । यो त समय र पुँजीको चरम दुरुपयोगबाहेक केही होइनझैँ लाग्छ मलाई । कुन्नि कहाँबाट आउँछ होला सरोकारवालालाई यस्तो बिब्ल्याँटो मति ! तीनछक पर्छु म ।
“झन्डै २१०० मिटर उचाइको पहाड आफैँमा भ्यू टावर हो । फेरि यति धेरै लगानी गरेर भ्यू टावर नै बनाइरहनु पर्छ र ?” देउराली पुग्नेबित्तिकै मथुरा शर्मासँग जिज्ञासा राख्छु म ।
“अघिल्लाले बनाइहाले । अब यसलाई ‘फ्यामिली पार्क’को रूपमा विकास गर्ने सोच बनाएको छु । मेरो कार्यकालमा जसरी पनि यो काम पूरा गरेरै छाड्छु ।” उनको वाचा ।
उनी युवा जनप्रतिनिधि । मौलिक लाग्छन् उनका कथन । इच्छाशक्तिले काम गरे के हुँदैन र ! धरानका मेयर हर्क साम्पाङले पदभार ग्रहण गरेको दुई महिनामै उपमहानगर पालिकाका बासिन्दालाई पानी खुवाई सके । उत्तिकै आशालाग्दा प्रतीत हुन्छन् हाम्रा सामु शर्मा पनि ।

शीतल महसुस भइरहेछ देउरालीमा । यसै पनि शीतल ठाउँ हो– देउराली । एउटै वडामा तराई, पहाड र हिमाली हावापानी नेपालमा विरलै छ । यही विशेषता बोकेको ठाउँ हो ललितपुरको गोदावरी नगरपालिकाको देवीचौर–देउराली ।
भौगोलिक विविधता छ । सांस्कृतिक विविधता छ । पौराणिक महत्व बोकेको छ । आहा, क्या सुन्दर ठाउँ !
स्थिर लाग्छ फोहोरको चपेटामा परेको बागमती नदी । लमतन्न सुतिरहेझैँ लाग्छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, किरिङमिरिङ देखिन्छन् सडकका रेखाहरू ।
मौसम हो, सधैँ एकनास कहाँ हुन्छ र ! आज बादलले छेकेको छ, उत्तरी क्षितिजलाई । अन्नपूर्णदेखि नुम्बुरसम्मको हिमशृङ्खलालाई देख्न पाएको भए त सुनमा सुगन्ध नै हुने थियो ।
कतै सुनेको थिएँ– ‘दिक्क लागेको बेला बादल हेर्नू रे ।’ मान्छेको मुड जाँच्ने आरसी हो रे बादल । निरस लाग्छ रे सफा बादल । मडारिएको बादल मिठो लाग्छ रे मन खुसी भएको बेला ।

हिमालको दृश्य नदेखेपछि बादललाई नै हेर्छु म । मज्जाले फिटेको कफीजस्तै मिठो लाग्दा लाग्दै दर्किन थाल्छ पानी । देउराली अझ सुकिलो बन्छ । त्यसैमा रमाउँछु म ।
काठमाडौँ विमानस्थल ताकेर देउराली नजिकैको भट्टेडाँडालाई छोउँलाझैँ गरी जान्छ एउटा विमान । डाक्टरसा’प भन्छन्– “भुमध्यसागरछेउको हवाई प्रवेशद्धार जिब्राल्टरजस्तै पो लाग्यो मलाई यो ठाउँ ।”
धनबहादुर लामाको रिसोर्टमा दिवाभोज गरेर ओरालो लाग्दै गर्दा मनले भन्छ– ‘यो पटक मैले देउरालीमा देउराली बनाउन पाइनँ । फेरि आउँदा साँच्चिकै एउटा ढुङ्गा चढाउने छु ।’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)