रोपाइँको चटारोमा महिला समूहको नाटक

राजेन्द्रमान डंगोल

“तपाईंको निमन्त्रणालाई मैले इमेलमा पठाएको जानकारी गराएँ है !”

“के को निमन्त्रणा ?”

“अतिथिको ।”

“कार्यक्रम के हो नि ?”

“रोपाइँ महोत्सव ।”

असार १३ गते साँझ गोपाल थापाले मलाई फोन गरेपछि भएको फोन संवाद हो यो ।

उनी गाउँ पर्यटन प्रवद्र्घन मञ्च–नेपाल(भिटोफ)का अध्यक्ष । मूलतः पर्यटन व्यवसायी । भिटोफको अघिल्लो कार्यकालका प्रथम उपाध्यक्षको भुमिकामा थिए उनी । केही महिनाअघि सम्पन्न भएको निर्वाचनले उनलाई अध्यक्षमा चुनेको थियो ।

उनले पठाएको निमन्त्रणा–पत्रमा लेखिएको थियो–

कार्यक्रमको मितिः २०७९ असार १५ गते
प्रस्थान बिन्दुः सोह्रखुट्टे, काठमाडौँ
प्रस्थान समयः बिहान ६ः१५ बजे
कार्यक्रम स्थलः गण्डकी गापा– ९, ज्यामिरेघाट, गोरखा

उसो त त्यही संस्थाको सदस्य हो मेरो कम्पनी । कुनै बेला म आफैले पनि यो संस्थामा कोषाध्यक्षको भूमिका निर्वाह गरेथेँ । विडम्बना नै भन्नुपर्छ, मैले त्यो कार्यकाल पूरा गर्न सकिनँ । त्यो भिन्दै कुरा हो । तर मलाई सम्झना छ, कार्यकालको पहिलो वर्ष गोरखा जिल्लाको दरौँदी फाँटमा रोपाईं महोत्सवको आयोजना गरिएको थियो । एउटा संयोग नै मान्नुपर्छ कि गोरखा जिल्लाकै ज्यामिरेघाटमा भिटोफले भोलि २०७९ असार १५ गतेको धान दिवस एवम् रोपाइँँ महोत्सवको आयोजना गर्न गइरहेको थियो ।

आजका दिनसम्म आइपुग्दा पर्यटनसँग सम्बन्धित संघसंस्थाहरू हातको औँलामा गन्न नसकिने भइसकेका छन् । मुलुकमा भएका परिवर्तनसँगै राजनीतिक आस्थाका आधारमा संघसंस्थाका सदस्यहरूमा विभाजनका रेखा कोरिँदै गए । दलीय दासतालाई स्वीकार गर्न बाँकी भिटोफ थियो । कालन्तरमा यो पनि अछुत रहन सकेन । मैले कार्यकाल पूरा गर्न नसक्नुको कारण पनि यही थियो । अचेलको चुनावमा कसैले जिते कुनै दलले जित्छ, हारे एउटा व्यवसायीले हार्छ ।

त्यसो त पर्यटनसँग सम्बन्धित संघसंस्थद्वारा आयोजित कार्यक्रममा कुनै साहित्यकारलाई निमन्त्रणा गर्ने चलन थिएन र छैन पनि । साहित्यको माध्यमबाट पनि पर्यटन प्रवद्र्घन गर्न सकिन्छ भन्ने कुरा व्यावसायिक संस्थाका नेतृत्वलाई जानकारी छैन भन्दा पनि हुन्छ । भिटोफको सन्दर्भमा पनि यो चलन नहुनु अस्वाभाविक होइन । कुनै व्यक्तिमा साहित्यिक चेत हुनु वा नहुनु एउटा कुरा हो । तर आफ्ना कार्यक्रममा एउटा लेखक उपस्थितिको महत्व बुझ्नु अर्को कुरा । गोपाल थापाले साहित्यको औचित्य बुझेका होलान् भन्ठान्छु म । मलाई थाहा छ– उनी कुशल नेतृत्वकला भएका व्यवसायी हुन् । व्यवहारमा मिलनशील, वचनमा मृदुभाषी र सामाजिकतामा सिर्जनशील मानिस हुन् । त्यसैले पनि उनको प्रेमपूर्ण निमन्त्रणालाई नकार्न सकिनँ ।

आफू त परियो भुईंमान्छे । अतिथिको निम्तो पाएपछि मेरो भूईंमा खुट्टा थिएन ।

२०७९ असार १५ गते ।

साढे सातबजे छुटेको एउटा बस र दुईथान जीप ११.०० बज्नै लाग्दा ज्यामिरेघाटको चिया पसलअगाडि पुगेर रोकिन्छ । कार्यक्रम तालिका अनुसार बिहान ९ः३० बजे ज्यामिरेघाट पुग्नुपर्ने थियो । तर त्यसो हुन सकेन । हस्याङफस्याङ गर्दै ६ः०० बजे नै सोह्रखुट्टे पुग्नुमात्र भएथ्यो । आफूमात्र समयमा पुगेर के गर्नु, सहभागीहरूको आगमनमा विलम्ब भएपछि !

करिब ८०० सदस्य छन् भिटोफमा । सोचेको थिएँ– भिटोफले आयोजना गरेको रोपाइँ महोत्सव भएकोले धेरैभन्दा धेरैको उपस्थिति हुन्छ होला । त्यति नभए पनि कम्तीमा चुनावताक हारजीतको खेल खेल्ने र खेलाउने चेहराहरूको त अवश्य पनि उपस्थिति हुने छ । तर मेरो अनुमानले फेल खायो । हुन त राजनीतिक खेल खेल्ने बानी परेकालाई हिलो कुल्चन मन नलाग्नु नौलो कुरा नहोला तर रोपाइँको हिलो भिटोफमै गरिने राजनीतिजस्तो फोहोर भने किमार्थ होइन । उपस्थित भएकामध्ये कतिपय सहभागी भिटोफभन्दा बाहिरका र ती अधिकांस महिला थिए । मूलतः महिलाहरूले रोपाइँ गर्ने भएकोले महिलाहरूको सहभागितालाई स्वभाविक ठान्छु म ।

अत्यन्तै महत्वपूर्ण संस्था हो– भिटोफ । होटल एसोसियसन अफ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), नेपाल एसोसियसन अफ ट्राभल एन्ड टुर्स (नाट्टा), नेपाल एसोसियसन अफ राफ्टिङ (नारा) र नेपाल माउटेनियरिङ एसोसियसन (एनएमए), राष्ट्रिय पर्यटन व्यवसायी संघ काङ्ग्रेसवाला, राष्ट्रिय पर्यटन व्यवसायी संघ एमालेवाला, माओवादीवाला, जसपावाला र समाजवादीवाला, गुरुङ र मगर व्यवसायी संगठन लगायतका कतिपय सदस्यहरू भिटोफका सदस्य छन् । संरचानाको हिसाबले महासंघ नै त भन्न मिल्दैन तर यसलाई मिनी महासंघ भन्दा सायदै अतिशयोक्ति होला । चुनावमा रौनक छाउने भिटोफमा यस्ताखाले कार्यक्रमको आयोजना गर्दा चाहिँ उपस्थिति न्यून हुनु संस्थाप्रतिकै उपहासबाहेक केही होइन । भिटोफ भनेको टान, नाटा र एनएममा नअटेकाहरूलाई थन्क्याउने ठाउँ मात्र हो र ? संस्था महत्वपूर्ण भएर पनि किन औचित्यहीन बन्छ÷बनाइन्छ ? ज्यामिरेघाट पुगेर बसबाट नओर्लियुन्जेलसम्म पनि यिनै प्रश्नहरूले घेरिएको थियो मेरो मथिङ्गल ।

त्रिशूलीले दुई किनारमा छुट्याइदिएको छ ज्यामिरेघाटलाई । त्रिशूलीको किनारदेखि किनारसम्मै बयेली खेलिरहेका छन् छालहरूले । गोसाईंकुण्डको त्रिशूलधाराबाट निस्केको एकमुठी पानी यहाँसम्म आइपुग्दा यति ठुलो रूप लिन्छ । हिउँदभरि मानव जातिको ज्यादति सहनुपर्ने भए पनि त्रिशूलीले यति बेला मानव जातिलाई नै चुनौति दिइरहेको प्रतीत हुन्छ । उर्लिरहेको त्रिशूलीमा नजर बिछ्याउँदै झोलुङ्गेपुल तर्छु म । त्रिशूलीको यो रूप वर्षभरि यही रूपमा रहिरहे के होला ? एउटा प्रश्न जन्मिन्छ मभित्र ।

असारमय थियो ज्यामिरेघाट । चटारेमा देखिन्थे स्थानीयहरू । पसिना र श्रमलाई माटोमा धितो राखेर हिउँदको सपना कोरल्ने याम । उत्पादनसित जोडिनेहरूका लागि गौरवमय क्षण । कामको जतिसुकै चटारोको भए पनि दुई गाँस च्यापेर मुरी उब्जाउने हर्ष र उल्ल्लाससँगै स्थानीयहरूमा उन्माद भरिएको देख्छु ।

ज्यामिरेघाटमा भयो हाम्रो दिवाभोज । खसीको मासुको झोलले चुर्लुम्मै डुबेथ्यो थालमा राखेको दुई चैली भात । चिप्लेभिन्डी र करेला मिस्रित तरकारीमा पनि आएथ्यो मासुकै स्वाद । उहिलेउहिले बारीको पाटामा बसेर खाएको जन्ते बाख्राको सम्झना पो दिलायो मलाई । फरक यति हो उतिबेला झोलजति टपरीबाट चुहिन्थ्यो । अहिले मज्जाले पिउन पाएँ ।

असार १५ को दही–च्यूरा, हाम्रो पुरानो परम्परा । दही–च्यूराको लागि अलिकति खालि ठाउँ राखेँ मैले ।

हठात् बज्न थाल्छ पञ्चैबाजा । मज्जाले घन्किन्छ ज्यामिरेघाट । दमाहाको डुमडुम । झ्यालीको झ्याइँझ्याइँ । ट्याम्को टुनमुनु ढोलकीको ढ्याढ्याम र सहनाईको पिपिरिरि । खुबै मनपर्छ मलाई यो बाजाको सुर र ताल । नेपाली धार्मिक एवम् साँस्कृतिक बाजा । मौलिक संस्कृतिको धरोहर । पहाडी भेकको मौलिक बाजा । सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ यो । जस्तै– रोपाईं ।

स्थानीयको उल्लेखनीय उपस्थिति छ । काठमाडौँबाट गएका र त्यहाँका स्थानीयले भरिएको छ ज्यामिरेघाट । बाजासँगै मझुवाफाँटतर्फ अघि बढ्छन् भिटोफको सहभागीहरू । ‘धान उत्पादनमा बृद्घि, खाद्यसुरक्षामा सुरक्षा र समृद्घि’ सहित ब्यानरका लेखिएको छ– ‘रोपाईं महोत्सक २०७९’ ।

पञ्चैबाजाको तालमा कम्मर मर्काउन थाल्छन् सहभागीहरू । आफू नाच्न नजाने पनि अरुले नाचेकोमा आनन्द दिन्छु म ।

पहाडतिरबाट झरेको बगिरहेको खोला आइपुगेको छ मझुवाफाँटमा । वर्षाले मस्त जवानी ल्याएको रहेछ यसलाई । त्यसैको किनारमा छ एउटा सानो भवन । सहआयोजक गण्डकी गापाले त्यही लग्छ हामीलाई ।

‘यहीँ हुने रे कार्यक्रम !’ कसैले पछाडिबाट बोलेको सुन्छु म ।

सानो भवन, त्यसमा पनि कृषकका चिप्लेभिण्डी र करेलाका डोकाहरू राखिएका छन् । पाँच–सात थान प्लास्टिकका कुर्सीहरू पनि छन् ।

अनौपचारिक कार्यक्रम होला भन्ठानेको । होइन रहेछ । अचम्मै लागिरहेको छ, आज मेरो अनुमानले किन यसरी फेल खाइरहेको छ हँ ? उद्घोषकले औपचारिक कार्यक्रमको घोषणा गर्छन् । गोरखाका सांसददेखि वडा अध्यक्षसम्म र भिटोफमार्फम् सहभागी भएकालाई आसनग्रहण गराउँदा गराउँदै बित्छ एकघण्टा । प्रत्येकको नाम लिएर आसन ग्रहण गराउनै पर्ने महारोगले ग्रसित छ नेपाल । त्यसो नगरे नराम्ररी चित्त दुख्छ नेताहरूको । कठै, बाध्यता !

स्वागत गर्ने क्रममा आगन्तुकहरूलाई फूलको माला र पिपलको पातमा लेखिएको ब्याच दिँदा दिँदै समय घट्किन्छ । त्यसमाथि संस्थैपिच्छेका सहभागीहरूको भाषण । पानी पर्दा पनि रोकिन्न कार्यक्रम । करिब पैसठ्ठी नम्बरमा मेरो नाम पनि बोलाइयो । ए राम ! धक मानीमानी जान्छु म स्टेजमा । पछि पनि थुप्रै नामहरू बोलाइन्छन् । यस्तो लागिरहेछ– आज लाज पनि लन्ज्जाइरहेछ । भद्दा कार्यक्रमहरू त देखिएकै हो । यत्तिको चाहिँ देखिएको थिएन ।

महिला समूहले नाटक पनि रहेछ । मेरो मनले भन्छ– रोपाईंको चटारोमा फेरि केको नाटक होला !

तर राम्रो सन्देश दिन्छ नाटकले । किसानको पसिना अनुसारको मूल्य नपाउने । पाए पनि बिचौलियाले चप्काइदिने । अन्ततः युवाशक्ति विदेशिनु पर्ने । वास्तवमा यही हो यथार्थ । नाटकले मन छुन्छ मेरो । देश नै बिचौलियाले चलाइरहेको वर्तमान यथास्थितिमा किसानको तरकारीको के कुरा भो र ! एकालाप गर्छु ।

भाषण सकिएर कार्यक्रम विसर्जन हुँदा झन्डै दुई बजिसक्छ । पञ्चैबाजा अगाडि बढ्छ खेततर्फ ।

जम्माजम्मी चारवाटा गरा रहेछ रोपाईं महोत्सवका लागि छुट्याइएको । नुवाकोटमा पहिलेपहिले हुने देउताको रोपाईं सम्झन्छु । सिरानदेखि पुछारसम्मै रोपाईं हुन्थ्यो । मान्छेहरू थुपै्र हुन्थे । रोपाईं विधिपूर्वक सुरुहुन्थ्यो । विधिपूर्वक अन्त्य हुन्थ्यो । पहिलेको त्यो परम्परा र अहिलेको परम्परा धान्नका लागि गरिने औपचारिकतामा विशाल अन्तर भेट्छु । फेरि सम्झन्छु यति नै बेला कति सुग्घरी नेताहरूले गमलामै रोपाईं गरिरहेका होलान् । परम्परा धान्ने औपचारिकतामा पनि कस्तो विकृति ! सम्झदा पनि उदेक लाग्छ मलाई ।

खासमा विभिन्न देवी देवता र नागहरूको पूजा गरेर विधिपूर्वक रोपाईंको थालनी गरिन्छ । फागुपूर्णिमाको दिनमा थरीथरीका रङ्गहरूले रङ्गिएझैँ किसानहरू दबदबे हिलोले रङ्गिन्छन् । यतिखेरको हिलो प्रसाद समान हुन्छ र टीकाको रूपमा ग्रहण गरिन्छ । ठाउँ र परिवेशअनुसार रोपाईंमा गोरू हली, बाउसे र रोपाहारहरूले गाउने मौलिक भाकामा गीत गाउने चलन छ । गीतमा प्रेम, र रसरङ्ग मात्र होइन, वियोग र पिडाका जीवन्त अभिब्यक्तिहरू छचल्किन्छिन् ।

निरन्तर बजिरहेको पञ्चैबाजाको धूनले बेठी परम्पराको पनि झल्को दिइरहेछ । कोही हिल्याउँदै । कोही सम्याउँदै । कोही बिउ काढ्दै । भिटोफले छापेको गन्जी लगाएका सबैजना ओर्लन्छन् हिलोमा । कोही ब्याडे बनेर । कोही हली बनेर । कोही बाउसे बनेर । कोही रोपाहर बनेर । सुरु हुन्छ रोपाईं । एकछिन् रोपेजस्तो गर्छन् । त्यसपछि त सुरुहुन्छ हिलोको फागु । निमेषभरमै परिवर्तन हुन्छ उनीहरूको स्वरूप । हिलेले रङ्गिएपछि चिनिनँ मैले कसैलाई । औपचारिकता न हो । फाटो सेसन हुन्छ । भरे फेसबुकमा पोस्ट्याउन त बाँकी नै छ ।

नेपाली–नेपालीहरूमा भातृप्रेमको बिजारोणका लागि हो– रोपाईं परम्परा । आपसी प्रेमलाई फूलाएर गाउँ बस्तीहरूमा पर्यटनको सुवाश छर्नका लागि हो– रोपाईं परम्परा । नेपालीका बीचमा हार्दिकताको विकास, विस्तार र सम्वन्ध नविकरण गर्नका लागि हो– रोपाईं परम्परा । कृषि ब्यवसायको सही सम्मान गर्न गर्नका लागि पनि हो– रोपाईं परम्परा ।

स्थानीयहरू लोक भाका हालिरहेछन् । ठाउँ फरक परेकोले होला लय बुझ्न सकिरहेको छैन मैले ।

तीनजना अस्ट्रेलियन पनि सहभागी छन् रोपाईंमा । उनीहरू विकसित देशका नागरिक । सोच्छु– कस्तो लाग्दो हो तिनलाई हाम्रो धान रोप्ने तरिका । नेपालीहरू अझै दुईसय वर्ष पछताडि छन् भन्ने ठान्दा हुन् ।

परापूर्वकालदेखि नै महत्वपूर्ण पर्वको रूपमा मानी आएको पर्व हो– रोपाईं । वि. सं. २०६१ सालदेखि नेपालमा प्रत्येक वर्ष असार १५ गते रूपमा ‘राष्ट्रिय धान दिवस तथा रोपाइँँ महोत्सव’ गर्ने चलको सुभारम्भ भयो । कृषि पेशाप्रति स्वयम् कृषकहरू नै विकर्षित भईरहेको वर्तमान एथास्थितिमा उनीहरूलाई कृषि पेशा र श्रमप्रति आकर्षण बढाउने, परम्परागत उत्पादन प्रणालीका बारेमा नयाँ पिँढीलाई जानकारी दिने र समग्रमै मुलुकको खाद्यन्न उत्पादनमा बृद्घि गर्ने लक्ष छ– यो महोत्सवको ।

मानवजातिको अस्तित्व धानसित जोडिएको छ । विश्वकै जनसंख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसहरूको प्रमुख्य खाद्य चामल नै हो । सतबिजमध्येको धान एउटा यस्तो अनाज जसको विना नेपालीहरूको जीवन असम्भव प्रायः हुन्छ । बाँच्नका लागि मात्र होइन, वैदिक परम्परा धान्न पनि धान–चामल नै चहिन्छ । नेपालीहरूको धर्म र परम्परा अनुसार जोगीलाई गरिने भिक्षादान र हिन्दु समाजमा टीकाटालो गर्न, देउदेवतालाई पूजा गर्न र धार्मिक कार्यदेखि पितृ कार्यसम्म धान–चामलको विकल्प छैन । त्यसैले पनि अरू बालीनालीभन्दा यो विशेष महत्वको छ । यसपालिको ‘धान उत्पादनमा बृद्घि, खाद्यसुरक्षामा सुरक्षा र समृद्घि’ भन्ने नारा औचित्यपूर्ण लाग्छ मलाई । सोच्छु– सरकारले किसानलाई बिउबिजन र मल मल दिन सके झन् कति औचित्यपूर्ण हुँदो हो यो नारा !

रोपाईं गर्नेहरूसँग बाइट लिन पुग्छन् पत्रकार । कसैकसैले त्यहाँ अग्र्यानिक कृषि उत्पादनको कुरा पनि गर्छन् । तर त्यही बेला उनकै पछाडि खेतधनी किसान रसायनिक मल छरिरहेका हुन्छन् । उनले र मैले बुझेको अग्र्यानिक कृषि उत्पादन फरक रहेछ भन्ने लाग्छ । अनि त एक्लै हाँस्छु म ।

नेपालले यो पर्वलाई पर्यटकीय उपजको रूपमा विकास गर्नसके यसले कृषकरूलाई कृषि पेशामा निर्भर रहन टेवा पु¥याउँछ । आन्तरिक तथा बाह्य पर्यटकहरूका लागिसमेत यो नौलो हुन सक्दछ । नेपालमा दिगो पर्यटन विकासको अवधारणा अनुरूप कृषिलाई आधार मानेर यसलाई पर्यटनसँग जोड्न विभिन्न योजनाहरूका साथ अगाडि बढ्न सकेमा स्थानीय बासिन्दाहरूलाई बढी प्रोत्साहन गर्न सकिन्छ । यसबाट केही हदसम्म बेरोजगारको समस्या समाधान हुनेमा दुई मत छैन ।

स्थानीयहरूको ब्यापक सहभागितामा भिटोफले रोपाईं महोत्सव मनाउदै आइरहेको धेरै भइसक्यो । भिटोफका वर्तमान कार्यसमितिले यो महोत्सव भब्यताका साथ सफल पारेको छ । धन्यवाद भिटोफलाई ! योसँगै एउटा प्रश्न जन्मन्छ मेरो मनमा– के भिटोफले परिलक्षित गरेको लक्षअनुसारको कृषि र पर्यटन जोडिएको छ त ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button