
भक्तपुर जाउँला, जुजु धौ नि खाउँला, न्यातपोल चढेर रमाउँला
घुम्दाघुम्दै भक्तपुर
मोहन के. श्रेष्ठ
साँच्चै नै नेपालकै सानो जिल्ला भए पनि विश्वलाई नै आकर्षित गरिरहेको जिल्ला मध्यको हो भक्तपुर । उपत्यकाको तिन वटा जिल्ला मध्ये आकारमा फुच्चे जिल्ला तर आकर्षणमा भने विशाल रहेको छ यो जिल्ला । जिल्लामा चार नगरपालिका मध्येका मुटुमा रहेको छ यो शहर । त्यहाँको सरसफाई, कला कौशल अनि सम्पदा हेरेर कहिल्यै आँखा नथाक्ने शहर मात्र होइन भक्तपुर नगर । पुरातात्त्विक ज्ञानको भण्डार पनि हो यो नगर । मैले आँखा खोलेर देखेका सपनाको शहरको नजर लगाउन खोज्दैछु भक्तपुर शहरको आजको यो मेरो लेखमा ।
पहिला, यहाँका पोखरीहरु घुमौँ है ।
मलाई पोखरीहरुको शहर भन्न पनि मन लाग्छ कहिलेकाहिँ यो शहरलाई ।
सल्लाघारी चोङा गणेश कट्ने बितिकैको रानीपोखरी हेरेर आनन्द लिइरहुँ जस्तो हुन्छ मन । त्यहाँबाट केहि अगाडि सैनिक स्कुल कटेपछि प्रेमिकालाई लिएर घुम्न जाउँ जस्तो हुने सिद्धपोखरीमा छ रमाइलो झन् ।
भक्तपुर बहुमुखी क्याम्पस अगाडिको जिर्णोदार गर्दै गरेको पोखरी, नः पुखु, कमलबिनायकको कमलपोखरी अनि अरु पनि सानोसानो पोखरी कति छनश छन्
यस नगरमा ।
साँच्चै भक्तपुरमा रहेका मनमोहक पोखरी घुम्दाको आनन्द मैले शब्दले बर्णन गर्न सकिरहेको छैन । भक्तपुरको बारेमा देखेको लेख्ने चेस्टा गर्दै गर्दा मलाई पोखरीको बारेमा लेख्न सारै रमाइलो लाग्छ । रमाईलो लाग्नुको पछाडिको रमाइलो कारण भनेको पनि पोखरी नै हो । जहाँ स्वर्गमा पुगेको जस्तो अनुभुत हुन्छ त्यो देखेपछि मलाई । सायद तपाईलाई पनि । मैले यो भन्दा पहिले पनि सिद्धपोखरीको बारेमा एउटा कविता कोरेको थिएँ, नेपालनाम्चामा पाइन्छ अहिले पनि ।
भक्तपुर घुम्दा पोखरी घुम्न नछुटाउनुस भन्न खोजे मैले । मलाई जस्तै तपाईलाई पनि लाग्ला यो शहरको गहना नै हो पोखरीहरु भनेर । त्यहाँ घुम्दाको आनन्द साट्न नबिर्सनुस् । एक छिन कल्पना गर्नुस्, कसरी बन्यो होला त्यो पोखरी भनेर । हाम्रो पुर्खाको मानव विज्ञान बुझ्न मद्धत मिल्छ, त्यहाँ रहेका पोखरीहरु देखे पछि । हेर्दै आनन्द आउने धेरै पोखरी भएकोले मलाई पोखरीको शहर नै त्यसै भन्न मन लागेको होइन भक्तपुर शहरलाई ।
ओहो, पोखरीमा मात्र कहाँ सिमित छ र यो शहर । एकै छिनमा दरवार स्क्वायर पुगेँ म । यति खेर पचपन्न झ्याले दरवार हेरेर हराएको छु । नजर निकाल्न नै मन लागेन, फेरि त्यस्कै अगाडि भुपतिन्द्र मल्लको सालिक र सँगै रहेको ठुलो घण्टामा पनि नजर लगाएँ । लगतै गोल्डेन गेट (सुनको जलपले बनेको सुन जस्तो ढोका) बाट चोकभित्र पनि पसें म ।
यता हेरौं कि उता हेरौं हुन्छ कति त । जता हेरे पनि आहा, क्या राम्रो कलात्मक मठ्मन्दिर, दरबार, खुल्ला ठाउँ, पाटीपौवाहरु, मनबाट वाह वाह मात्र आउँछ । कति राम्रा, मल्लकालिन कला कौशल हेर्दै छ्क्क पर्छु । कसरी मात्र बनायो होला भनेर सोच्न पनि बाध्य तुल्याउँछ त्यहाँ जो कोहिलाई ।
दरवार स्क्वायरको कलात्मक वर्णन गरेर साध्य नहुने मल्लकालिन सम्पदाहरु हेरेपछि यो विश्व सम्पदा सुचीमा त्यसै परेको पक्कै होइन भनी पस्यो मेरो खोपडीमा, तपाईको मस्तिष्कमा सेभ हुन्छ यसरी नै ।
कति मनमोहक, कसरी इन्जिनियरिङ गरे होलान ? त्यो बेलामा पनि भनी मनमा हुटहुटी चल्छ । एउटा एउटा हेर्दै जाने हो भने आँखा नै तिरिमिरी झ्याईं होला, जुनी बित्ला तर हेरेर पुरा हेर्न सकिएला जस्तो लागेन ।
मन्दिरको टुडालहरुमा कुँदिएका चित्रहरु हेरें । मनमा थुप्रै जिज्ञासा उत्पन्न हुने पो रहेछ । हाई ।
सोचेँ, एक छिन दरवार स्क्वायरको त्यो आनन्दको पाटीमा बस्दै ।
म्युजिममा पसेर पुरानो कला मुर्तिहरु बारेमा पनि ज्ञान लिएँ । शाहवंशीय राजाहरुको तस्बिर पनि नयनपान गरेँ । ज्ञानकै पनि भण्डार भेटाएँ यो शहरमा । आँखा लोभ्याउने गरी घरी घरी ।
खैर, थोरै भोक लाग्यो । वः खान गएँ भाइरल गल्लीमा । त्यो गल्ली जहाँबाट थोरै निस्कने बित्तिकै पाँच तल्ले मन्दिर (न्यातपोल) पुग्छु ।
ढुङाको सिडिबाट सुईसुई चढें पाँच तल्ले मन्दिर । बा बा ! तलको भ्यु हेरेको त स्वर्ग खोज्न जानु परेन । बाराही मन्दिरमा साँझमा बाजा बजाएर भजन गरिने रहेछ । लाइभ परम्रागत बाजासहित । आहा, भगवान नै आएर सुनिरहेको जस्तो त्यो पाँच तले मन्दिरको आँगनमा ।
वरिपरि बसेर जुजु धौको स्वाद पनि लिन भ्याएँ । अझ नेवारी खाजाको परिकारको स्वाद जिब्रोमा रसाईरहेको छ । छोयला, कचिला, भचा, त्वनेला र अयला पनि । यत्रतत्र खाजा पसल, जुजु धौ र ल्ह्यासि पाउँ पनि पाउँछ जिब्रोले खोजे अनुसार स्वादको ।
झन्दै ३८० बर्ष पुरानो पाँच तले मन्दिर कसरी बनाए होला भन्ने जिज्ञासालाई थाँती रारी सुकुल ढोका हुँदै दत्रातय पनि पुगें । दत्तात्रयमा मन्दिर, धातु कला र काष्ठ कलाको म्युजियम पनि हेरें । काष्ठ कलाको बुट्टाहरु हेर्दै छ्क्क परें । काष्ठ कलाको म्युजियमभित्र छिरेर केहि बुझ्न खोजें । ब्रम्हा, बिष्णु र महेश्वर त्यस्मा पनि उमा महेश्वरको चित्र पनि हेरें । उमा महेश्वर हाम्रो समाजमा छक्काको रुपमा जन्मिने न पुरुष न महिलाको रुप हो रे भन्दै गरेको गाइड दाईको कुरा पनि सुनें । तन्त्र शक्ति बारेमा बुझ्दा धेरै तान्त्रिक शक्ति भएको शहर पनि हो रे भक्तपुर शहर । यहाँको तान्त्रिक शक्तिले देशकै राजनीतिलाई उथलपुथल गर्छ रे भनेको कुरा सुनें । हो कि होइन दैवले जानुन अदृश्य शक्ति बारेमा ।
नवदुर्गा देवीगण पनि छन् यसै नगरमा । दशैको बेला राष्ट्र प्रमुख दर्शन गर्न आउनै पर्ने रे । बा बा कति रोचक भक्तपुर । यति रमाइलो भयो कि कतै सपनामा स्वर्गमा घुमिरहेको जस्तो । शब्दमा अटाउनै गाह्रो ।
अझै यहाँका गल्लीगल्ली र चोकचोकले बोलाइरहेको छ । कुमाले दाजुहरुले बनाएका माटाका अनेक भाँडाकुँडा, कला कृति मात्र होइन, अनेक शिल्पकारहरुको सीपबाट बनेका मनै लोभ्याउने सामाग्री पनि बाँकी रहेछ । अनि रविन्द्र पुरीको मौलिक घरको चर्चा त गर्नै भ्याएकै छैन । जीवनभर लाग्ला जस्तो छ यहाँका जिउँदो कला, संस्कृति र जीवनशैली बुझ्न ।
साँच्चै नै मनै लोभ्याउने जिउँदो इतिहास भन्नु पर्ला सफा अनि रमाइलो शहर भक्तपुरलाई ।
झट्ट नेपालनाम्चाको सम्पादकले भक्तपुर बिशेष लेख्न भन्नु भएको याद आयो । यति लेख्दा बिशेष भयो कि शेष मात्र भयो थाहा नै भएन । मस्तिष्कको कुनै कुनामा सेभ भइरहेको थोरै भक्तपुरको बारे देखेको लेखें ।
जिल्लाका चार नगरपालिका मध्येमा यो भक्तपुरको मात्र हो यो । अन्य तीन नगरपालिकाबारे बाँकी नै छ लेख्न ।
आँखाले खोजिने आनन्दको दृश्य, जिब्रोले खोजिने स्वादिलो खाना र कानले थाप्ने सुन्न लायकको आनन्दको पम्परागत भजनको संगित जस्ता सबै चिज यिनै नगरमा भेटाएँ मैले ।
सबै आनन्दको संगम बन्यो घुम्दा घुम्दै भक्तपुर ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)