पाथीभरा देवीको काखैमा, मस्त भयौं साथीको साथैमा

मुकुम्लुङ्ग यात्रानुभूति

दुर्गाप्रसाद शर्मा आचार्य
बुटवल ४, लक्ष्मीनगर

नयाँ ठाउँ घुम्ने, देख्ने, हेर्ने र जानकारी लिने कस्लाई पो रहर लाग्दैन र ? प्रकृतिसँग रमाउने, लडिबुडी खेल्ने, मितेरी लगाउने, अनेक किसिमबाट रसास्वादन लिने उमेर अनुसार अलग अलग तरिका हुन्छन् । उमेरले करिव ५० वर्ष नाघेकादेखि ७० वर्ष उमेर ननाघेका हामी नेपालीको यात्रा गर्ने तरिका र चाहना उस्तैउस्तै हुन्छ कि जस्तो मलाई लाग्दछ । बालबच्चा हुर्केका र उनीहरु पनि आआफ्नो पेशा व्यावसाय संचालन गर्न सक्ने भएका परिवारहरुले नै तिर्थ यात्रा होस् वा भ्रमण गर्ने होस् वहाँहरुकै चाहना बढि पाइन्छ ।

यो वा त्यो रुपमा हाम्रा पूर्खाहरु पनि देशदेशान्तर डुलेघुमेको कुरा हामीले जानेबुझेको र इतिहासले पनि औंलाएको छ । यिनै यावत कुराहरु मनमा कौतुहलको रुपमा खेलिरहने भएकोले पनि बुटवलदेखि करिव ८०० किलोमिटर पूर्वोउत्तरमा रहेको ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका अन्तर्गत पाथीभरा देवीको दर्शन गर्न जाने धोको पलाएको पनि ४, ५ वर्ष भएको थियो तर अनुकुल समय मिलेको थिएन ।

एक दिन साँझको समयमा सहृदयि मित्र श्री दुर्गा सिग्देलज्यूसँग प्रसंगवस् कुरा उठ्यो पाथीभरा देवीको दर्शन गर्न जाने भनेर । भद्र, मिलनसार, अत्यन्त सहयोगि, बहुप्रतिभाका धनी दुर्गा सिग्देलज्यूले भोलि पल्टदेखि नै व्यवस्थापनमा लागि पर्नु भयो र ७ परिवार (पतिपत्नी) सँगै जाने तय भयो । साथमा एक जना सानो नानी पनि लग्ने निधो गरियो । कुराकानी भएको छोटो अवधिमा हाम्रो यात्राको व्यवस्था गरियो । हाम्रो यात्रामा परिपक्व, अनुभवी र सहृदयी मन भएका परिवारको सहयात्रा रह्यो ।

उच्च पहाडी क्षेत्रमा रहेको धार्मिक स्थलको यात्रामा जानुभन्दा अगाडी त्यहाँको बस्तुस्थिति बुझ्नु हाम्रो कर्तव्य पनि हो तसर्थ पनि हामीहरुले केहि कुराको अग्रिम जानकारी लिएकोले यात्रावधिभर कुनै कठिनाई परेन । समुन्द्रको सतहदेखि ३,७९८ मिटर उचाईमा रहेको पाथीभरा देवीको स्थान, अन्न नाप्ने वा भर्ने एक किसिमको भाँडो आकारको (पाथी) स्थलमा देवीको स्थान रहेकोले पनि यो स्थानको नाम पाथीभरा रहन गएको कुरा सुन्नमा पाइन्छ । मुन्धुम ग्रन्थमा उल्लेख भएनुसार लिम्बु भाषामा मुकुम्लुङ्ग भनिँदो रहेछ ।

परापूर्वकालदेखि एउटा शुद्ध अनुष्ठान, तिर्थ स्थलको रुपमा तिर्थ यात्रीहरुको गन्तव्य रहेको पाथीभराको महत्वा निकै उच्चकोटीको रहेको छ । पाथीभराको उत्तरपट्टी नजिकै चाँदी झै चम्केका उच्च हिमश्रृंखला कञ्चन्जङ्गा र कुम्भकर्ण साथै केहिपर सगरमाथा, लोत्से, च्योयू, मकालु समेतको दृष्टिगोचर हुने सेताम्मे टल्केका मनमोहक हिमालहरुको काखमा रहेको धार्मिक, ऐतिहासिक, पौराणिक र पयर्टकिय स्थल, पाथीभरा देवीको महत्व परम्परादेखि चलिआएको छ । चन्चल, थकित, विचलित र आशामा बाँचेका मनहरु बिसाउने चौतारी हो पाथीभरा देवीको स्थल । कति विश्वास, कति आस्था, कति भरोषा यही त हो हाम्रो पहिचान ।

भनाईनुसार “जहाँ सजिलोसँग पुग्न सकिन्छ त्यहाँ इच्छा वा मनोकांक्ष (भाकल) पूरा हुँदैन” त्यसकारण पनि कठिन र अप्ठ्यारो यात्रा पछि मात्र इच्छा वा मनोकांक्ष (भाकल) पूरा हुनेछ ।

पाथीभरा देवीको उत्पत्ति

किंवदन्ती अनुसार परापूर्वकालमा त्यस क्षेत्रमा त्यहाँका रैथाने वासिन्दाहरुले भेडा चराउन लग्ने र मौशम अनुसार भेडीगोठ पनि निमार्ण गरी रातीमा वा पानी परेको समयमा भेडा र आँफूहरुको आश्रय स्थलको रुपमा प्रयोग गर्दा रहेछन् । भेडाहरु चराउने, पाठापाठी हुर्काउने, उन काढ्ने, दुधदुहुने आदि काम भेडिगोठमा गर्दारहेछन् । एक दिन अचानक भेडाहरु घाँसे क्षेत्रमा चर्न गएका सबै भेडा हराय छन् वा अलप भएछन् । गोठालाहरु आत्तिएछन् र खोजविन गर्न निस्केछन्, भेडाको कतै अत्तोपत्तो, नामोनिसान छैन । गोठाला निरास, थकित र भयसहित भेडीगोठमा फर्केछन् र गोठमा सुतेछन् । राती आकाशवाणि भएछ कि तिम्रा भेडाहरु हामीसँग छन् यदि तिमीहरुले पाँच वटा भेडा हामीलाई दिन्छौ भने तिम्रा सबै भेडाहरु सकुशल फिर्ता गरिदिनेछौं ।

गोठालाहरु अचम्म परेछन् र आकाशवाणि सकार गरेछन् । भोलीपल्ट बिहानै पाँच वटा भेडाबाहेक अरु भेडाहरु जस्ताको तस्तै भेटाएछन् र त्यसपछि कालान्तरबाटै पाथीभरा देवीको नाम लिई अघिपछि सामान्य पूजा भए पनि वर्षमा दुई पटक धुमधामका साथ पूजापाठ गर्न सूरु गरेका रहेछन् ।

केहि वर्ष अगाडीसम्म पाथीभरा देवीलाई चढाएको भेटी, प्रसादी प्रयोग गर्न हूँदैन भनेर कुहिने, सड्ने गथ्र्यौ गरे तर हिजोआज प्रशस्त तिर्थालु भक्तजन जाने र निकै ठूलो राशी जम्मा हुनेहुँदा पाथीभरा व्यवस्थापन समिति गठन गरी सोहि समितिले पाथीभराको विकास निर्माण काममा प्रयोग गरेका रहेछन् । वर्षमा लाखौं रुपियाँ र सूनचाँदी समेत जम्मा हुँदोरहेछ । यो राम्रो पक्ष हो । हाम्रो फिर्ती यात्राको क्रममा सानो फेदीको ओरालो हिंड्दै गर्दा पाथीभरा व्यवस्थापन समितिका एक जना कार्य समिति सदस्यले पाथीभरा देवी दर्शनको व्यवस्थापन सम्वन्धि पृष्ठपोषण वारे हाम्रो राय माग गर्नु भएको समेत थियो ।

मैले एउटा गजवको कुरा के देखें भने पाथीभरा देवीलाई चढाएको भेटी (पैसा) र पाठापाठी, परेवा बाहेकको अन्य चढाएका सामाग्रीहरु निश्चित ठाउँमा जम्मा गरी राख्दा रहेछन् र तीर्थालुहरुले ईच्छा अनुसार प्रसादीको रुपमा लग्न पाउँदा रहेछन् ।

यि माथीका यावत कुराहरु रहेको ठाउँमा जान अलि कठिन हुनेहरुको लागि चार बैनीको रुपमा पाथीभरा देवीलाई मानी इलाम, धनकुटाको भेडेटार, तेह्रथुम र पाथीभराको ठूलो फेदीमा कान्छी पाथीभराको रुपमा तीर्थालु भक्तजनहरुले मान्दै आएका रहेछन् ।

पाथीभराको विषयमा यात्राको केही अगाडी र केहि पछाडी जानकारी भएका कुराहरुको छोटो प्रस्तुति पछि हाम्रो यात्रा विवरणको बारेमा तल पस्कन कोशिस गरेको छु ।

यात्रा विवरण

उच्च हिमाली क्षेत्रमा रहेको पाथीभरा देवीको स्थान धार्मिक, पौराणिक, ऐतिहासिक र भक्तहरुको तीर्थ स्थल साथै पर्यटकहरुको गन्तव्य स्थलको रुपमा निकै स्तुतिय रहेको छ । साथीहरुसँग केही दिनको भलाकुसारीपछि हाम्रो यात्रा २०७८ साल चैत्र २३ गते बुधवारका दिन बिहान ५.३० वजे तय भयो र सोहि अनुसार ठिक ५.३० वजे यात्रा आरम्भ गरियो । १६ जना यात्रु क्षमता रहेको जापानीज टोयोटा कम्पनीको हायस गाडी भाडामा लिएका थियौं । गाडी नम्वर लु. २ ख. ६३३८ मा हाम्रो यात्रा सुरु भएको थियो । कलिलै उमेरका फुर्तिला र चालकको दक्षता प्राप्त गरेका गाडी चालक श्री विष्णु बुढा मगर र सहचालकको रुपमा (गाडी मालिक) श्री विशाल थापा पल्लि मगरको राम्रो र उत्कृष्ट सहयोगले हाम्रो यात्रा निकै सहज, उत्साहजनक र सफल रहनगयो ।

आन्तरिक पर्यटकको एउटा अंश सम्झि पर्यटकिय, धार्मिक, ऐतिहासिक र पुरातात्विक विषयको महत्व बुझ्ने साथै दृश्यावलोकन गर्ने हेतुले हामीले हाम्रो यात्रा तय गरेका थियौं । यो यात्रा नितान्त व्यक्तिगत र पारिवारीक यात्रा थियो ।

हाम्रो एक हप्ताको यात्रा यात्रा अवधि (२०७८ चैत्र २३ गते देखि चैत्र २८ गते सम्म)क्रममा सहभागिहरुको नाम निम्न रह्यो ः

१. माननिय श्री विष्णु पन्थी, २. श्री अनुपमा पन्थी रजौरिया, ३. श्री आरध्या पन्थी (सानी छोरी, विष्णु पन्थी र अनुपमा पन्थीको), ४. श्री दुर्गा सिग्देल, ५. श्री राधिका सिग्देल, ६. श्री धर्म ज्ञवाली, ७. श्री गोमा ज्ञवाली, ८. श्री टंक आचार्य, ९. श्री गीता आचार्य, १०. श्री गणेश घिमिरे, ११. श्री भगवती घिमिरे, १२. श्री खडग बहादुर थापा क्षेत्री, १३. श्री भागिरथी थापा क्षेत्री, १४. श्री दुर्गाप्रसाद शर्मा आचार्य, १५. तुलसी देवी आचार्य पौडेल गरी १५ जना यात्री र २ जना चालक समेत १७ जनाको समुह यात्रामा सवार थियौ ।

२३ चैत्रका दिन बिहानको नास्ता ७.३० वजे परासीको दाउन्नेमा रहेको किरण होटेल रेष्टुरेन्टमा आआफ्नो चाहनानुसारको चीयानास्ता लिने काम भयो । चीयानास्ता पछि मिठामिठा गफ गर्दै र गीत गाउँदै यात्रालाई मनोरन्जनमय बनाउँदै अगाडी बढियो । गीतको लय “कहाँ गयो जुरेली किन गीत गाउदैन, तिम्रो जति माया त लालुमै कसैको लाग्दैन” ……… । विभिन्न लयका गीत सुन्दै र गफ गर्दै साथै चुट्कीलाहरु ओकल्दै अगाडी बढ्दै जाँदा मकनापुरको लोथरमा रहेको विजय होटेलमा १०.३० वजे पुगेको पत्तै भएन । विहानको खाना ११.३० वजे त्यसै होटेलमा लिने काम भयो । स्वादिलो खाना पछि हामी अगाडीको बाटो कटाउँदै हेटौडा, अमलेखगंज, विरगंजजाने चोक हुँदै बिच बाटोमा नरिवल पानीको स्वाद लिंदै सर्लाहीको हरिवनमा केहि छिन सुस्ताउने काम भयो त्यस पछि अगाडी बढ्ने क्रममा धनुषाको ढल्केवरमा चीयानास्ता लिई रातीको ९.४५ वजे इटहरीको होटेल क्यान एण्ड गेष्ट हाउसमा बास बसियो । माननिय विष्णु पन्थीज्यूको पहलमा होटेल अग्रिम बुक भएकोले अवेला भए पनि हाम्रो बास सुखमय रह्यो ।

२४ चैत्रका दिन विहानको नित्यकर्मपछि हाम्रो यात्रा सबेरै सुरु भयो । बिर्तामोड पुगे पछि केहि आवश्यक सामान लिनुपर्ने भएकोले करिव ४५ मिनट गाडी रोकी सामान खरिद तथा चीयापिई ईलामतर्फ लागियो । मूल राजमार्गबाट केहि माथि पुगेपछि समतल क्षेत्रमा नरिवल र सुपारीका प्रशस्तै बोटहरु देखिन्थे भने आखाले नभेट्ने क्षेत्रसम्म हरियाली चीयाको बारीले ढाकेको देखिन्थ्यो । चीयाको पत्ता वा मन्टा टीप्न डोका र ढाकर बोकि यूवा र अधवैंसे महिलाहरुको जमात इत्रीदै, जिस्कीदै हाँसिमजाकका साथ चीयाबारी तर्फ लम्किँदै गरेको देखिन्थ्यो । हामीहरु ईलामको उकालो बाटो हुँदै बिहानको खाना खान ईलामको हाँसपोखरीमा रहेको होटेल मझुवालिमा पुगियो । चिसो र शान्त ठाउँमा रहेको होटेलमा खानाको अडर दिई मनोरन्जन तर्फ लागियो । आहा, अमिलो डल्ले खुर्सानी राखि पिंधेको टमाटरको चट्नी र लोकल कुखुराको झोल तब न यात्राको स्वाद । विहान ११.३० वजेको खानापछि यात्रा पुनः अगाडी सुरु भयो । कन्याममा केहिसमय गाडी रोकि फोटा लिने काम गरियो त्यस पछि फिकल हँुदै माईखोला तरी ईलामको बजारक्षेत्र हुँदै पुवाखोला, समुन्द्रको सतह देखि २००८ मिटर उचाईमा रहेको नेपालटार, साँखजङ्ग ईलाममा पुगि ४.४५ वजे चीया पिउने काम भयो । ईलाम वजार, मंगलबारे र पाँचथर जाने चोक । बाटोमा रमाईलो संग “मलाई पनि लैजाउन जागिरमा, सररर गोरखपुर रेलैमा” को मिठो गितमा नाच्दै झुम्दै त्यहाँ पुगेका थियौं । गणेश सरको “कच्छा बनिवानको” टुक्काले हाँसोको फोहरा उठ्यो । गाडीमा लेखेको थियो “मनको सम्वन्ध त भाग्यले जुराउने हो, भेट त कति जना संग हुन्छहुन्छ” अहो कस्तो सान्धर्भिक भनाई । त्यस दिनको हाम्रो गन्तव्य पाँचथर जानु थियो । नेपालटारबाट अगाडी बढ्ने क्रममा बाटोको उत्तर पट्टि जंगलको फेदिमा रहेको प्राकृतिक पोखरी नजिको बाटो छेउमा गाडी रोकि लघुशंका गर्ने काम भयो र यात्रा पुनः अगाडी बढ्यो । फागुनन्द गा.पा. ४, पाँचथरको राँकेवजार अकवरे (डल्ले) खुर्सानीको रोजाबजार । बाटोको दुबैतर्फ सिसाको डव्वामा राखेको खुर्सानी किनौ किनौ जस्तो गरी सजाएर राखेको देख्दा मन लोभिन्थ्यो । हामीहरु अगाडी बढ्ने क्रममा फिदिमको पौवा भञ्ज्याङ्गमा पुग्दा निकै उत्साहि भयौं । डाँडै डाँडामा बस्ति शिखर र सितल ठाउँ चारैतर्फ खुला आकास, मन लोभिन्थ्यो । दृृश्यहरु कति रमाईला देखिन्थे । मन भित्रैबाट सर्सिएर आउथ्यो ।

म कवि भएको भए सांच्चै कति भावुक भै प्रकृतिका दृश्यहरु सेतो कागजमा उतार्थें होला ? मनको कुरा मनमै खाँदी संझिसंझि बसेको छु । यसरि अगाडी बढ्दै र गफ गर्दे “सललल बग्यो जिन्दगि, आज संगै भोली त कहाँ हो काँ,यस्तै रैछ हाम्रो जिन्दगि” भन्दै गित गाउँदै राम्राराम्रा दृश्यहरु अवलोकन गर्दै राती ८.०० वजे पाँचथरको फिदिम वजारमा रहेको मनस्वी होटेलमा पुगियो । श्री दुर्गा सिग्देलजीले त्यहाँ रहेको आफ्नो बैनी पर्ने डुका सिग्देललाई (शिक्षिका) होटल बन्दोवस्त गर्न फोनबाट भन्नु भएकोले धैरै सजिलो भयो । होटेलमा खानाखाई त्यस रात त्यहीं आराम गरियो । गफ गर्ने सिलसिलामा “अनुपमाजीले एउटा घटना प्रसंगवश् भन्नु भयो कि कोही साथीहरु घुम्ने सिलसिलामा ईलाम वा पूर्वतिर गएको समयमा दाल, मासुभात खाँदाखाँदा वाक्कदिक्द परेर होटेलवालालाई सिन्कीको झोल पकाउनु होस न भनि अनुरोध गर्दा कुरा नबुझि सिन्का (टूथपिन) खोज्न थालेछन् अनि सबै मरिमरी हाँस्दा होटेलवाला छक्क परी अक्क न बक्क भएछन् र सोधेछन्, किन हाँसेको, अनि गएकामध्ये कसैले सिन्कीलाई यतातिर गुन्द्रुक भन्छन् भने पछि मात्र कुरा स्पष्ट भएछ” । पाँचथरको फिदिम बजार डालो जस्तै चारैतर्फ पहाडैपहाड बिचमा चाक्लो खोंच जस्तै क्षेत्रमा अवस्थित रहेछ । भरखर भरखर विकासको फड्को मार्न थालेको छ ।

२५ चैत्रका दिन विहानै ७.३० वजे हाम्रो यात्रा सुरु भै आफ्नो गन्तव्यतर्फ लागियो । बाटोमा कतै सेताम्य वनमारा फुलेको, कतैकतै सुनाखरि र ऐजेरुले रुखहरु ढाकेको कतै राताम्मै लालिगुराँस फुलेको दृश्यसंग रमाउँदै जिज्ञासा र कौतुहलका साथ हेवाखोला, सल्लेरी, चतुरे, जोरपोखरी, हिलीहाँग, गोठेटार (कुनै समयमा त्यस क्षेत्रका राजा हिलीहाँगको दरवार जाने बाटोमा हाल सुन्दर प्रवेशद्वार निर्माणको कार्य तिव्रगतिमा अगाडी बढेको देखिन्छ), नाँगीपाँचथर, याङ्गवराक, गणेश चोक, भानुचोक, सिंहपुर, हुँदै कावेलि नदी पुगियो र केहि समय गाडी रोकि पाँचथर र ताप्लेजुङ्गको सिमानामा रहेको पुलमा गै फोटाहरु लिने काम गरियो । त्यहाँ आसपासमा कावेली हाइड्रो पावर प्रोजेक्टको काम पनि अगाडी बढेको कुरा जानकारीमा आयो । ताप्लेजुङ्गको सिमाना आरम्भ पछि मेवाखा, सेसक्बु, ल्याङ्गवा, वहानन्दmे वजार, हिटी वजार हुँदै विहानको खाना खान ताप्लेजुङ्गको फुङ्गलिङ्ग न.पा. अन्तर्गत हेलीप्याड गेटनजिक रहेको मेवाखोला हिल रिसोर्टमा ११.१५ वजे पुगेका थियौ । खानाको लागि माननिय विष्णु पन्थीज्यूले आफ्नो साथी मार्फत अग्रिम जानकारी गराउनु भएको थियो । हाम्रो गाडी त्यहिको ग्यारेजमा राखि खाना खायौं र दुई वटा स्थानिय गाडी खोजी सुकेटार हुदै दिउंसको २.१५ वजे काफ्लेपाटी सानोफेदि पुगियो । बाटो कच्ची भएकोले हाम्रो गाडी अगाडी जान नसक्ने हुँदा स्थानिय गाडीको व्यवस्था गर्नु परेको थियो । सुकेटार सम्म मात्र पक्की बाटो गएको रहेछ । त्यस भन्दा अगाडी काफ्लेपाटी सम्म कच्ची बाटो रहेछ ।

पाथीभरासम्म जानको लागि पैदल यात्रा बाहेक अर्को उपाय थिएन र छैन पनि । हामीहरुले सानो झोलासहित एकसरो कपडा र पाथीभरा देवी स्थानमा चढाउने केहि सामाग्रि बाहेक अन्य सामानहरु आफ्नै गाडीमा छोडेका थियौं किनकि पैदल हिंड्न पर्ने भएकोले बोक्न नपरोस भनेर । काफ्लेपाटी,सानोफेदिमा सानो बजार, सितल ठाउँ, सहयोगि मानिस र चहलपहल देखिन्थ्यो । गाडी काउण्टरमा राखेको एकएक वटा लौरो लिई आआफ्नो झोला बोकी हामी सबै उकालो बाटो ठूलोफेदि तर्फ लागियो । सवा दुई किलो मिटर उकालो बाटो चढे पछि ठूलो फेदि पुगिन्छ ।

हामी तराईबाट गएको र उच्च पहाडीक्षेत्र हिंड्न पर्ने भएकोले स्याँस्याँ र फ्याँफ्याँ गर्दै र घरी हिंड्दै घरी बस्दै ढुँङ्गाको छपनी विछ्याएको खुट्कीला चढ्दै विभिन्न रंगिचंगी देखिने गुराँसको जंगल हेर्दै,प्रकृतिको स्वाद लिंदै बडो कठिनका साथ अगाडी पछाडी हुदै साढे दुई घण्टा समय खर्चेर ठूलोफेदि पुगियो । भोलीपल्ट शनिवार र चैते दशैं परेकोले तिर्थालुहरुको अचाक्ली भिड थियो । साँझ पाँच वजे ठूलोफेदिको गुराँस जंगल रिसोर्टमा पुगेका थियौ त्यहँ खुट्टा राख्ने ठाउँ समेत थिएन । हामीहरु पनि पुग्ने बलिन्धारे पानी पनि पर्ने गर्दा जाडो महशसु हुन थालेको थियो । धन्नै माननिय विष्णु पन्थीज्यूको अग्रिम पहलमा होटेलमा साना दुई कोठा हाम्रो लागि होटेलवालाले खालि राखि दिनु भएकोले झोला र टाउको ओत्ने ठाउँ मिल्यो र धेरै सहज भयो । त्यसै क्षेत्रका एक जना श्रद्धालु निवृत्त शिक्षक तथा तात्कालका स्थानिय निकायका जनप्रतिनिधिज्यू संग उकालो चढ्दा भलाकुसारी गर्ने समेत मौका मिल्यो र चिया पनि संगै पियौं । माथी फोटोले समेत चिनाउँदछ ।

एउटा कोठामा आठ जना महिला र एउटा कोठामा नौ जना पुरुष सुत्ने व्यवस्था त भयो तर रात काट्न भने गाह्रो भयो साँगुराकोठा र साना खाटको कारणले । हे भगवान अरु तिर्थ यात्रीहरुलाई हेर्दा त हामी धन्य रहेछौं । राती तात्तातो र मिठो साना खायौ र गफगर्दै सुत्न कोशिस गरियो । ख ैकोकोलाई निद्रा पर्यो मलाई भने पटक्कै परेन । नम्र, सरल, सहृदयि र सहयोगि मित्र श्री धर्म ज्ञवालीजीेको साथले हाम्रो यात्रा रोचक,सरल र उत्साहजनक भएको थियो । माथी पाथीभरा देवी स्थानमा धेरै भिड् हुने भएकोले वहाँकै पहलमा राती १२.३० वजे सबैलाई उठाई नुहाई धुवाई गर्न लगाई रातीको १.१५ वजे पाथीभरा जान तयार भयौं र उकालो चढ्न थालियो ।

तल्लोफेदीबाट उपल्लोफेदीसम्म जान जम्मा पाँच किलो मिटर त्यसमध्ये सवा दुई किलोमिटर हिजै हिंडी सकिएको र बाँकि पौने तीन किलो मिटर हिंड्न बाँकि रहेको हुँदा पाथीभराको फेदिमा रहेको प्रवेशद्वार पारगर्दे सानो पाथीभरा देवीको दर्शनका साथ हामी लाईट बाल्दै उकालो लागियो । बाटोमा यात्रीहरुको भिड बढि सकेको थियो । हातहातमा उज्यालो लिई लावालस्करका साथ तिर्थयात्रीहरु माथीसम्म पुगिसकेको दृश्य निकै सुन्दर देखिन्थ्यो ।

कसैले भाकलको पाठापाठी, कसैले परेवा लिएर गएका थिए भने कसैले असक्तहरुलाई बोकाई पाथीभरा देवीको चरण सम्म पुर्याएका थिए । आआफ्नो आस्था कति विश्वास ? बोकाई खर्च त्यस समयमा लग्नल्याउन रु.२००.०० प्रति के.जी. लाग्दो रहेछ । बोक्ने मानीसले आँफुलाई टेक्सीको उपमा दिंदा रहेछन् ।

एकदमै ठाडो उकालो चढ्दा उच्च ठाउँ भएकोले पनि होला (हाईअल्टीटिउड) सासफेर्न कठिन हुने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, उल्टी आउने, टाउको दुख्ने, तीरमिराउने आदी हुदोरहेछ । यस्तो भयो भने काँचो अदुवा चुस्ने, अलिअलि चपाउने, सातु निधारमा दल्ने वा खाने, लसुन,अमिलो टिमुरको छोपखाने गर्दा रहेछन् । उकालो बाटोको दुबै तर्फ रेलिङ्ग लगाएको, ठाउँठाउँमा विश्राम स्थल, शौचालयको व्यवस्था गरेका रहेछन् । त्यहाँ चट्याङ्ग पर्ने भएकोले विद्युततार र वत्तिको व्यवस्था गरेका रहेनछन् । पिउने पानीको व्यवस्था कठिन भएकोले पम्पद्वार पानी लिफ्ट गर्ने योजना भएको रहेछ । स्याँस्याँ गर्दै, बस्दै, उठ्दै,अडेस दिंदै र लिंदै बडो मुस्किलले २.३० घण्टामा माथी टाकुरामा पुगियो । आहा कति रमणिय स्थल । हामी पुग्दा भक्तजनहरुको घूँइचो निकै थियो भने पूजाआजागरि फर्कनेहरुको ताँती पनि उस्तै थियो । झिसमिसे उज्यालोमा पुगेका थियौ । माथी पुगे पछि उकालोको पिर सबै भुँलिंदो रहेछ धेरै सहज भएको महशुस भयो । नत जाडो, नत स्याँस्याँ, नत टाउको दुख्ने नत सासफेर्ननै गाह्रो हुने । मन ढुक्क भयो र देवीको दर्शन र पूजा गर्न लाईनमा पंक्तिवध्यभै बसियो । आआफ्नो पालो आए पछि पाथीभरा देवीको पाउमा भेटी, प्रसादी आदी चढाउने, पूजा गर्ने काम भयो । भिड धेरै बाक्लो भएकोले दर्शन गर्ने समय निकै थोरै उपलव्ध भएको थियो ।

खुला आकाशमुनी रहेको पाथीभरा देवीकोमुर्ति वरिपरि प्रशस्तै घण्ट, त्रीशुल, धजा,धागो आदी चढाएका रहेछन् । त्यहाँ एउटा मात्रै अखण्डधुनी मन्दीर रहेको छ भने केहि धर्मशाला,पाटीपौवा रहेको छ । पानी प्रशस्तै पर्ने रहेछ । हामी सबैल आआफ्नो वडा लगेका थियौं । हुस्सु र कुहिरोले ढाकेकोले दृश्य राम्रो संग देखिएको थिएन र पनि हाम्रो मन आनन्दित भयो । त्यहाँ देवी समेत उत्रेको दृश्य हेर्न लायकको थियो । हिन्दु र बौद्ध धर्मालम्वीहरुको पवित्र धार्मीक स्थलको दर्शन गर्न पाउँदा कस्को पो मन नपग्लेलार ? साथी दुर्गा सिग्देल र राधिका सिग्देलजीले एक्काईस सुतेको एक्काईस हजार वत्तिकाती लक्ष्यवर्ती वत्ती जलाई पाथीभरा देवीको प्रार्थना गर्नु भयो, त्यसमा हामी सबैको सहभागिता रह्यो । पाथीभरा देवी रहेको तोकिएको क्षेत्र भन्दा बाहिरी भागमा पूजाआजा र वलि चढाउने क्रम चलिरहेको थियो । पाथीभरा देवीले सबैको मनोकामना पुरागरुन शुभकामना । तलझर्ने समयमा केहि उज्यालो भएकोले पाथीभरा क्षेत्रमा रहेको ३०, ३२ प्रजातिका लालिगुराँस फूलेको देख्दा को पो लोभिन्न होला ? मेरो जिवनमा पहिलो पटक सेतो लालिगुराँस देख्ने मौका मिल्यो धन्य हो पाथिभरा देवी (माता) ? जाँदा भन्दा फर्कन सहज र छिटो भएको थियो ।

२६ चैत्र शनिवारका दिन रमाउँदै बिहान ६.४५ वजे तल ठूलोफेदिमा आईपुगेका थियौं । उकालो चढ्न नसक्ने भक्तजनको लागि पाथिभराको फेदिमा सानो पाथीभरा देवीको स्थान रहेकोले त्यहिं पनि दर्शन र पूजापाठ गरे माथि गए बराबरकै फल मिल्दछ भन्ने भनाई पाईन्छ । राती बासबसेको होटेलमा आई चियाकफि खाई आआफ्नो झोला बोकि तल काफ्लेपाटी, सानोफेदि तर्फ ओरालो झरियो । साथमा लगेको लौरो त्यहि पहिले राखेको ठाउँमा राखियो । घाम लाग्न थालेकोले लालिगुराँसको जंगल धपक्कै फूलेको देखिन्थ्यो । आहा प्रकृतिकोकस्तो वरदान ? काफ्लेपाटीमा दुईवटा गाडी बुक गरी हाम्रो गाडी राखेको मेवाखोला हिल रिसोर्ट, फुङ्गलिङ्गमा आयौ र खाना खायौं । केहि समयको आरामपछि गाडी चढि फिर्ती यात्रा तर्फ लागियो । बाटोमा रमाईला रमाईला कुरागर्दै र गित सुन्दै पाँचथरको बाटो हुदै राँके बजारमा आई अकवरे खुर्सानी र छुर्पिआदी किनी बासबस्नसाँझ ७.३० वजे ईलाम बजारमा आईपुगियो । माननिय श्री विष्णु पन्थीजीले आफ्नो साथीलाई फोन गरी होटेल न्यू डिस एण्ड लज र होटेल फ्रेण्ड एण्ड लजमा बस्ने निधो गरेनुसार दुईवटा होटेलमा मिलेर बसियो । त्यस समयमा इंलाममा मेला लागेकोले होटेल पाउन मुस्किल भएर दुईवटा होटेलमा कोठा बुक भएको रहेछ । खाना सबैले एकै ठाउँमा खायौ । सबै व्यवस्था विष्णु पन्थी सरले गर्नु भएकोले खानानास्ताको व्यवस्था सौजन्यमा भयो । धन्यवाद छ वहाहरुलाई ।

चैत्र २७ गते २०७८ सालका दिन ईलामको पूरानो चिया बगान अवलोकन गर्न साथै रमाईलो गरी हेर्न र फोटा लिन चिया बगान भित्र प्रवेश गरियो । ईलामका तात्कालीन वडाहाकिम कर्णेल गजराज सिंह थापाले वि.सं. १९२० सालमा चिया बगानको आरम्भ गरेका रहेछन् । नेपालको पहिलो चिया प्रशोधन केन्द्रको स्थापना वि.सं. १९३५ सालमा भएको रहेछ । सलाम छ ती दूरदर्शी सपुतलाई जस्ले त्यतिबेलाको कठोर अवस्थामा पनि देश विकासका लागि नयाँसोंच अगाडी ल्यायो र व्वावहारिक कसिमा ढाल्यो । बाहिरैबाट चिया प्रशोधन केन्द्रको अवलोकन गरियो । चिया बगानको अवलोकन पछि ईलामको कन्याममा रहेको चिया बगान धित मर्ने गरी नियालेर हेरियो । चाक्लो बाटो,घोडा सवारको व्यवस्था, सेल्फि डाँडाको व्ववस्था निकै मनमोहक दृश्य । हामीकेहि घण्टा रमायौ त्यस पछि बिहानको खानाखान पहिले खाना खाएको होटेल मझुवाली, रोङ्ग, हाँसपोखरीमा विश्राम लिईयो । खाना खाने समयमा खुब ठूलो वर्षा भयो शितलमा रमायौं । खाना पछि विर्तामोड तर्फ फिर्ती यात्रा सुरुभयो । गोमा,राधिका,अनुपमा, भगवति, गिता, तुलसी,भागिरथीको साथमा धर्म ज्ञवाली,गणेश घिमिरे,दुर्गा सग्दिेल लगायतका साथीहरुको दोहरी गीतले यात्रामा निकै सहज, उल्लासमय र रमाईलो बनाएको थियो । विष्णु पन्थीजी काठ्माण्डौ जानुपर्ने भएकोले विर्तामोड रोकिनु भयो भने हामीहरु इटहरि तर्फ लागियो । केहि समय सप्तकोशि व्यारेजको अवलोकन गर्दै त्यहाँको पिडा मनमा राख्दै राती ८.३० वजे लाहानको होटेल प्यासिफिकमा आईपुगियो । होटेलमा मोवाईल फोन द्वारा अग्रिम बुक भएकोले बस्न सहज भयो । त्यहि रमाईलोका साथ खानाखाई बासबसियो ।

चैत्र २८ गतेका दिन घर फर्किने दिन भएकोले समग्र दिन अलि व्यस्त रह्यो । दुधैदुधको मिठो र सस्तो चिया दिने भएकोले पनि होला चियानास्ता खानेको निकै ठूलो भिड थियो । त्यह भएका स्थानिय व्यक्तिको सल्लाहा अनुसार भिमवानमा आई मूल राजमार्गको बाटो छोडी धनुषा धाम तर्फ लागियो । मूल राजमार्गबाट दक्षिण पूर्व हुँदै धनुषा धाम पुगि मन्दीरमा प्रवेश गरी पूजाआजा गर्ने काम गरियो । धनुषा धामको महिमा यस्तो रहेको पाईयो । सत्य यूगमा राजा जनककी छोरी सीताले सम्भाली राखेको शिवधनुष, जुन व्यक्तिले यो धनुष उचाल्न सक्छ उसैलाई सीताको स्वयम्वर हुनेछ भनेर राजा जनकबाट उर्दि भएनुसार अयोध्याका राजकुमार श्रीरामआई शिव धनुष उचाल्ने क्रममा अचानक तीन टुक्रा हुदा दाहिने भागको एक टुक्रा आकाश मार्ग हुदै भारतको तामिलनाडुको धनुषकोटीमा खसेकोले धनुषकोटी राम रहन गएको रहेछ र देब्रे भाग जनकपुरको धनुष सागर पोखरीमा खसेकोले धनुषसागर रहन गएको रहेछ त्यस्तै बिचको भाग जनकपुरबाट १६ कि.मि. पूर्व धनुषामा खसेको हुनाले धनुषाधाम रहन गएको कुरा विष्णु पुराण पाईन्छ । धनुषाधाममा बगैचा, मठमन्दीर र भनाईनुसार ५५० वर्ष आयू भएको विशाल पिपल बृक्षको फेद नजिकमा लामोगरि रहेको शिवधनुषको बिचको भागको भित्री सतहमा पातालगंगा नाम गरेको कुण्ड छ भन्ने कुरा त्यहाँ रहेको सूचनामा देखिन्छ ।

हामीहरुले धनुष रहेको स्थानको दर्शनका पूजा गरी साथै पिपलको फेदमा समेत पूजा गरियो र वरिपरिको क्षेत्र अवलोकन पछि ऐतिहासिक स्थल जनकपुरधाम तर्फ लागियो । पौराणिक साथै ऐतिहासिक जानकि मन्दीरको दर्शन लगायत त्यस परिसरको वरिपरि रहेका मठमन्दीर आदीको दर्शन साथै नजिकै रहेको विशाल पोखरी (सागर¬¬)¬को समेत अवलोकन गरी वर्दिबास तर्फ लागियो । बिचबाटोमा गाडिको एउटा पट्टा भाँचिकोले विस्तारै मोहत्तरीको वर्दिबासआई गाडीको पट्टा बदल्ने र होटल विनायक (प्रा.) लि.मा दिनको १२.१५ वजे खानाखानेकाम भयो । दिउसको १.३० वजे हामीहरु बुटवल तर्फ लागियो । समय अभावको कारण र बाटो पनि राम्रो नभएकोले हाम्रो फिर्ती यात्रा अलि धपरि जस्तो भएपनि राती १०.० वजे दाउन्नेमा खानाखान आईपुगियो । खाना पछि रातीको १२.१५ वजे बुटवलमा आई सकुशल नयाँगाउँ र बुटवलको आआफ्नो घरघरमा पसियो ।

आशा राखौं, केहि वर्ष भित्रैमा धरानबाट तेह्रथुमको बाटो हुँदै ४ घण्टाको गाडी यात्रामा ताप्लेजुङ्ग पुगिने छ । हाम्रो यात्रा अलि लामो भए पनि यात्राको क्रममा पाँच प्रदेश १९ जिल्लाको आंशिक भ्रंमण गर्दै मुख्य गन्तव्य पाथीभरा देवी स्थानमा अत्यन्त सौहार्दपूर्ण, एक आपसको गहिरो सम्वन्ध, मित्रभाव, अनुभव आदानप्रदानका साथ रमाईलो र प्रशंसनियका साथ सम्पन्न भयो । हाम्रो यात्रा अकल्पनिय, आनन्दित र पूर्ण सफल रहेको मैले ठानेको छु । यात्रामा सक्रिय सहभागि हुनुभएका सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै धन्यवादका साथ एउटा छोटो गीत लेखीआफ्नो लेख समाप्त गर्दछु ।

पाथीभरा देवीको काखैमा
मस्त भयौ साथीको साथैमा ।

लालीगुराँस फूलफुल्यो पाखैमा
नाच्ने गाउने लेकाली भाकैमा ।

जीवन हाम्रो मृत्यूको चोला
फेरि भेट होला कि नहोला ।

कुन बाटो काँ जाने होला ?
फेरि भेट होला कि नहोला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button