के तपाईंलाई बौद्धनाथबारे यी रोचक तथ्य थाहा छ ?

मछिन्द्र आचार्य
टुर गाइड

तपाई हामीमध्ये बौद्धनाथ नपुगेका सायद कमै हौँला । हामी स्तूपको वरिपरि घुमेका पनि छौ । तर, यसको धार्मिक महत्व र शास्त्रीय विश्वासबारे थोरै मात्र जानकारी राखेका हुन सक्छौ ।

बौद्धनाथ मात्र नभएर कुनै पनि प्रकारको ऐतिहासिक र धार्मिक क्षेत्रको भ्रमण गर्नु पूर्व त्यसको बारेमा केही जानकारी लिएर भ्रमण गर्नुको आनन्द बेग्लै हुन्छ । यस्ता जानकारीले त्यसको सही अर्थ बुझ्न सहयोग त गर्छ नै, साथै यसले तपाईको ज्ञानको क्षितिज फैलाउन पनि सहयोग गर्छ । त्यसमाथि यसको महत्व बुझ्नु आफैमा रोचक काम हो । यहाँ बौद्धनाथको संरचना बारे केही महत्वपूर्ण र आधारभूत जानकारी छन् ।

बौद्धनाथ सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचिकृत भएको हो ।

बौद्धनाथ विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त महत्त्वपूर्ण पवित्र तीर्थस्थल हो ।

भद्रकल्पको तेस्रो बुद्ध, कश्यप बुद्धको अश्तुधातु र वर्तमान बुद्ध अर्थात सिद्धार्थ गौतम बुद्धको औंलाको हड्डीलाई स्तूपले समातेको मानिन्छ ।

बौद्धनाथ शिखर स्तुपको शीर्ष हिमालहरुको राजा सुमेरु पर्वतको प्रतीक मानिन्छ । छाता (शिखरको तल्लो भाग) बौद्ध दर्शनको त्रीरत्नहरू बुद्ध, धर्म र संघ को रक्षक मानिन्छ ।

कमल (छातामुनि) करुणा र शुद्धताको प्रतीक हो ।

तेह्र खुट्किला जसलाई त्रयोदश भूवन पनि भनिन्छ (कमलमुनि र ठूला आँखामाथि) बुद्धत्व पूरा गर्नका लागि पार गर्नु पर्ने १३ पाइलालाई निर्देशित गर्दछन् ।

चारै दिशामा फर्किएका दुई आँखा बुद्धका आँखा हुन् भनिन्छ, जसले चारै दिशामा हेरिरहेको विश्वास गरिन्छ ।

नाक निर्वाणको प्रतीक तथा हर्मिका ८ मुख्य मार्गहरूका प्रतिक मानिन्छन् ।

गुम्बज संसारको प्रतीक र मण्डल बुद्धको आसनका रुपमा रहेका छन् । मण्डल निर्माण गरिएको स्थानमुनि सयौंको संख्यामा बुद्ध मूर्तीहरु संग्रहित गरिएको तथ्य २०७२ को विनाशकारी भूकम्पपछि पुननिर्माणको क्रममा थाहा हुन आएको छ ।

अन्य मन्दिरहरु जस्तै बौद्धनाथ स्तूपलाई पनि परिक्रमा गर्दा सधैं घडीको सूई घुम्ने दिशामा परिक्रमा गर्ने गरिन्छ । यसरी घुम्नाले स्तूपको दैवी शक्ति व्यक्तिमा संचार हुने मान्यता रहेको छ ।

बौद्धनाथ क्षेत्रमा वर्षभरि धेरै पर्वहरू आयोजना गरिन्छ । यस्ता पर्वहरुमा लोसार पर्व (तिब्बती नयाँ वर्ष), बुद्ध जयन्ती, उहाँको जन्म, ज्ञान प्राप्ति र मृत्यु, एवं दलाई लामाको जन्मदिन पर्दछन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button