पोखराबाट काँडे, काँडेबाट आहा ! अष्ट्रेलियन क्याम्प

कास्कीको अष्ट्रेलियन क्याम्प

केशवराज आचार्य

पोखरा पुग्ने पर्यटकका लागि छोटो मीठो हाइकिङ गन्तव्यका रुपमा चर्चित समुद्री सतहबाट २,०५० मिटर उचाइमा रहेको अष्टेलियन क्याम्प कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका, वडा नं. ६ मा रहेको छ । हाइकिङ गरी जंगलको बीचमा रहेको मनमोहक अष्टेलियन क्याम्प पुग्दा आँखै अगाडि देखिने माछापुच्छ्रे हिमालले जो सुकैलाई मोहित पार्ने गर्दछ ।

स्थानीयबासीहरुको ठूलो चरिचरन खर्कका रुपमा रहेको सो स्थान धेरै वर्ष पहिले अष्ट्रेलियनहरुले क्याम्प खडा गरेर बास बसेका कारण ‘अष्ट्रेलियन क्याम्प’ को नामले चिनिन थालेको हो । माछापुच्छ्रे र अन्नपूर्ण हिमाल आँखै अगाडि देखिने, मिलेको भू–बनोट र प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त अष्ट्रेलियन क्याम्पको मुख्य आर्कषक अस्थायी क्याप खडा गरी टेन्टमा बस्नु हो । पहिला पर्यटक आफैले टेन्ट तथा खानेकुरा लगेर जाने यस स्थानमा हाल होटलहरु सञ्चालन हुनाले धेरै सहज भएको छ ।

अन्नपूर्ण, माछापुच्छ्रे र मर्दी हिमालको आधार शिविर जाने पदमार्गकै छेउछाउ भएकाले पनि यो ठाउँ पर्यटकको नजरमा परेको थियो । पर्यटकीय नगरी पोखराबाट दुई दिनमै पुगिने मर्दी हिमालको आधार शिविर पदयात्रा पछिल्ला वर्षमा पदमार्गी बिच निकै चर्चित बनेको छ । यहाँबाट हिउँले सजिएको हिमालका दृश्यहरु निकै मनमोहक देख्न सकिन्छ ।

अष्टेलियन क्याम्प जाँदा पोखरा–बाग्लुङ सडकमा पर्ने कास्कीको काँडे वा फेदीबाट पैदल यात्रा गरेर पुग्न सकिन्छ । तर हाल धम्पुस सम्म सडक पुगेका कारण फेदीबाट नै पैदल यात्रा गर्नुपर्ने आवस्यकता पर्दैन । सबैभन्दा सहज पैदल यात्राका लागि पोखराबाट काँडेसम्म गाडीमा जाने तथा काँडेबाट उत्तर थोरै ओर्लेर उत्तरपूर्व उकालो लागे पछि करिब डेढ-दुई घन्टामा अष्ट्रेलियन क्याम्प पुगिन्छ ।

अष्ट्रेलियन क्याम्पबाट सिधै पूर्वदक्षिण ओर्लेर वा पूर्व तिर पोथना हुँदै अन्नपूर्ण, मर्दी बेसक्याम्पको रुट समातेर पश्चिमदक्षिण ओर्लेर करिब एक घन्टामा धम्पुस पुग्न सकिन्छ । इच्छा हुनेले फेदीसम्म पैदल यात्रा गरेर वा धम्पुसबाट नै गाडी चढी फेदी हुँदै पोखरा फर्किन सकिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button