कोरोनाले डामेको पर्यटनलाई कसरी उकास्ने ?

डोरबहादुर केसी

पर्यटन क्षेत्रको लागि सन् २०२० पर्यटन विकासको इतिहासमा सबैभन्दा बढी पिडादायी रह्यो । यस वर्षको शुरुवाती दिनमैै चीनको वुहानबाट छोटो समयमै संसारभर फैलिएको नोवल कोरोना भाईरसको प्रभावबाट विश्व पर्यटन क्षेत्र धरासायी बन्यो । २० लाख पर्यटक भित्र्याउने महत्वकांंक्षी लक्ष्यसहित तामझामका साथ शुरु भएको नेपाल भ्रमण बर्ष २०२० दुई महिना नबित्दै अन्त्य गर्नुपर्ने अवस्था सिर्जना भयो । नेपालको लागि तेस्रो मुलुकबाट सबैभन्दा बढी पर्यटक भित्रने पर्यटक हवसेन्टरहरु अमेरिका र युरोपेली मुलुकहरु कोरोनाबाट सबैभन्दा बढी प्रभावित बने । छिमेकी देश भारतसमेत कोरोनाबाट अति प्रभावित मुलुकमध्येमा अग्रस्थानमा दर्ज भयो । पर्यटनमात्र आम्दानीको एकमात्र स्रोत भएका नेपालका पर्यटन उद्योगहरु वर्षभरी नै आयविहीन भए । धेरै पर्यटन उद्योगहरु धरासायी भए । उनीहरुमा एक किसिमको अन्योल र अनिश्चितता छायो । पर्यटन क्षेत्रका धेरै श्रमिकहरुले अफ्नो रोजगारी गुमाए । नेपालमात्र नभएर विश्वव्यापीरुपमा नै सन् २०२० पर्यटन क्षेत्रको लागि अत्यन्तै दुःखदायी र दुर्भाग्यपूर्ण रह्यो ।

कोरोनाको प्रभावलाई कम गर्न विश्वव्यापी रुपमा लागु भएका यात्रा प्रतिबन्ध तथा बन्दाबन्दीको कारणबाट मानिसको जीवन अत्यन्तै कष्टकर बन्यो । धेरै लामो समयसम्म यसरी विश्वलाई ठप्प बनाईमात्र राख्नु पनि कठिन भयोे । विस्तारै यात्रा तथा दैनिक जीवन सञ्चालनसम्वन्धि आवश्यक स्वास्थ्य मापदण्डहरु बन्न थाले । लामो बन्दाबन्दी तथा नागरिकको स्वास्थ्य सतर्कताको कारणबाट कोरोनाको संङक्रमण दर सामान्यीकरण हुँदै गईरहेको एकातिरको अवस्था र अर्कोतर्फ लामो समयसम्म बन्दाबन्दीमात्र राखिरहन पनि सम्भव नहुने भएकोले कोरोनासँगै आवश्यक स्वास्थ्य सावधानी अपनाउदै जिउनु पर्छ भन्ने खालको मानसिकता विश्वब्यापिरुपमै विकसित भयो । यससँगै विश्वब्पापीरुपमा नै यात्रा प्रतिबन्धहरु केही खुकुलो बन्दै गएपछि पर्यटन गतिविधि पनि विस्तारै सुरु हुन थालेको देखिन्छ । यससँँगैै नेपालले पनि पर्यटन प्रोटोकल पारित गरी पर्यटन क्षेत्रलाई विस्तार‌ै खुकुलो बनाउँदै लगेको देखिन्छ। । गत मार्चदेखि सुन्यमा रहेको नेपालको पर्यटन क्षेत्र अगष्टसम्म आईपुग्दा सरकारले केही होटलहरुलाई क्वारेन्टाइनको रुपमा तोकी विदेशबाट उद्वार गरी ल्याईएका नेपालीलाई यी होटलमा राख्न सुरुवात गरेको थियो । यसपश्चात केही होटलहरुले थोरै मात्रामा भए पनि सामान्य लाभ लिन सुरु भएको थियो । यसबीच स्वास्थ्य तथा उद्वार प्रयोजनको लागि केही चार्टर उडान हुनुबाहेक नेपालको पर्यटन क्षेत्र सेप्टेम्बरसम्म पुर्णरुपमा बन्द नै रहेको अवस्था हो ।

पदयात्रा र पर्वतारोहण पर्यटनलाई खुला गर्न अक्टोबरमा विदेशी पर्यटक नेपाल आउँदा पालन गर्नु पर्ने मापदण्ड २०७७ जारी भएपछि बहराइनका राजकुमार मनास्लु हिमाल आरोहण गर्न नेपाल आए । पर्वतारोहण कार्य सफल रुपमा सम्पन्न भयो । र, यसले नेपालको पर्वतीय पर्यटन सुुुचारु गर्न सम्भव छ भन्ने सकरात्मक सन्देश प्रवाह गरेको पाइन्छ । पर्वतारोहण र पदयात्रा पर्यटन खुले पनि यस शरद ऋतुमा अत्यन्तै न्यून संख्यामा पर्वतारोहण र पदयात्राको लागि पर्यटकहरु नेपाल आएको पाईन्छ । प्रथमतः कोरोनाको त्रासमा विश्वका जो कोहि पनि मानिस भर्मणमा निस्कन डराउँछ नै र दोस्रो कुरा कोरोनाको प्रभाव ब्यवस्थापनको लागि हामीले राखेको ब्यवस्था र मापदण्ड पूरा गरी नेपाल भ्रमण गर्नु पनि जटिल नै छ । अहिले पनि पर्वतारोहण र पदयात्राको लागि नेपाल आउने पर्यटकले कम्तिमा पनि एक हप्ताको अनिवार्य क्वारेन्टाईन बस्ने ब्यवस्था गर्नु पर्ने, अमेरिकी डलर ५००० बराबरको कोरोना विमाको ब्यवस्था, सहयोगी कामदार कर्मचारीको कोरोना बिमाको प्रावधान छ । सम्बन्धित देशका कुटनैतिक नियोगबाट भिसा जारी हुने अवस्थाबाहेक अनअराइभल भिसा जारी गर्न माथि उल्लेखित कागजातहरु सम्बन्धित कम्पनीमार्फत पर्यटन मन्त्रालय, टान, नेपाल पर्यटन बोर्ड तथा अध्यागमन विभागको पुर्व सहमतिमा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनएराईभल भिसा जारी हुने ब्यबस्था गरिएको छ ।

आन्तरिक हवाई कम्पनीहरु आवश्यक स्वास्थ सावधानीका साथ अक्टोवरदेखि सञ्चालनमा छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका प्याकेजहरुसमेत अगाडि सारेर सर्भाइभलकोे प्रयासमा रहेका हवाई कम्पनीहरुलाई यात्रुको कमी नभए पनि विदेशी पर्यटक उडाउँदा हुने फाईदाको अवसरबाट बन्चित नै छन् ।

नेपालमा सामान्यतया दशै तिहारपछि कोरोना संक्रमणको संख्या घट्दै गईरहेको अवस्थामा जनजीवन क्रमशः सामान्यीकरणतर्फ उन्मुख भइरहेको देखिन्छ । यसबाट आन्तरिक पर्यटनका गतिविधिहरु केही बढ्दै गइरहेका छन् । ठूला स्टार होटलहरुले यसबाट खासै लाभ लिन नसके पनि मोफसलका साना होटल, लज तथा रिसोर्टहरुले सञ्चालन खर्च उठ्ने गरी थोरैमात्र भए पनि लामो समयपछि केही राहतको महसुस गर्न पाएका छन् ।

कोरोना बिरुद्धको खोप युरोप, अमेरिका जस्ता देशले लगाउन शुरु गरेबाट पर्यटन क्षेत्रमा केही आशाका किरणहरु देखापर्न थालेका छन् । आउँदो बसन्त ऋतुबाट अन्तर्राष्ट्रिय पर्यटन गतिविधि अगाडि बढ्न सक्छ र आगामी शरदऋतुबाट पर्यटनले गति लिन्छ भन्ने आशामा बसेको पर्यटन क्षेत्र बेलायतबाट देखिन शुरु भएको कोरोनाको नयाँ स्वरुपको प्रभाव कस्तो रहने हो भन्ने नयाँ चिन्ता गर्न थालेका छन् । अहिले पनि युरोपका धेरै देशहरु बन्दाबन्दीको अवस्थामा छन् । बेलायतसँग धेरैले यात्रा प्रतिबन्ध लगाइसकेका छन् र नेपालले पनि बेलायतमा अस्थायी यात्रा प्रतिबन्ध लगाइसकेको अवस्था छ । अर्कोतर्फ, नेपालमा पछिल्लो पटक देखिन थालेको राजनीतिक अस्थिरताले कुन मोड लिने हो सबैलाई चिन्ता माथि थप चिन्ता थपिदिएको छ ।

अन्तमा, आर्थिक रुपमा जर्जर बनेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन हामीले २०२१ मा नयाँ सोच र योजनासहित अगाडि बढ्न जरुरी छ । अर्थतन्त्रको महत्त्वपूर्ण अंशको रुपमा रहेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान नबनाई वास्तविक रुपमा अर्थतन्त्र चलायामान हुनसक्दैन । तसर्थः हामीले छिटोभन्दा छिटो कोरोनाबिरुद्धको खोप नेपाल ल्याउने प्रयास गर्ने , २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रुपमा अगाडि बढाई विविध कार्यक्रमहरु अगाडि सार्ने, नेपाल सरकारले पर्यटन क्षेत्रलगायत अन्य संकटग्रस्त उद्योग व्यवसायलाई अगाडि सारेका सहुलियतपुर्ण कर्जा आदि कार्यक्रमलाई थप तदारुकतासाथ लागू गर्ने र सन् २०२२ लाई पुनः नेपाल भ्रमण वर्षको रुपमा अगाडि बढाई प्रवर्द्धन र पुर्वाधारको विकासमा जुट्नु अहिलेको ज्वलन्त आवश्यकता हो ।

लेखक केसी ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button