
यात्राः खप्तडदेखि रारा
केशवराज आचार्य
सुदूरपश्चिमको उच्चतम सुन्दर स्थल ‘खप्तड’ पुगेको यात्री त्यहिँ पल्तिर कर्णालीको उच्चतम सुन्दर स्थल ‘रारा’ सम्म जान मन लागेमा खप्तडदेखि बिचपानी, झिग्रानासम्म एक दिनको पैदल यात्रा तथा त्यहाँबाट एटाचौर, बकलेक, सिलगढी, स्याउले, अत्तरिया, कोहलपुर, सुर्खेत, मान्मा, नाग्मा हुँदै मुगुसम्म पुग्न गाडीबाट करिब ७४० किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ ।
तर कोही पैदल यात्रा गर्न ईच्छुक व्यक्ति सो लामो र पट्यारलाग्दो सडक यात्रा नदोहोराइकन खप्तड देखि रारासम्म पदमार्ग प्रयोग गरेर जानसक्छ । गोर्खे पाराले हिंड्दा खप्तडदेखि ५ -६ दिनमा रारा पुग्न सकिन्छ । आरामले हिँड्दा पनि ७-८ दिनमा सहजै पुग्न सकिन्छ ।
काठमाडौंबाट गाडीमा डोटी, सिलगढी, झिग्राना अनि त्यहाँबाट पैदल मार्ग हुँदै खप्तड, रारा, मुगुको ताल्चा बिमानस्थल, ताल्चा देखि नेपालगंजसम्म जहाज, अनि नेपालगंज देखि गाडीमा आउने हो भने ११-१२ दिनमा काठमाडौं फर्कन सकिन्छ । सुख्खा मौसममा डोगडी (छेडेदह) देखि मार्तडी, पाण्डुसैन, कोल्टी हुँदै पिलुचौरसम्म गाडी समात्ने हो भने डेढ दुई दिनको पैदल यात्रा अरु छोट्याउन सकिन्छ ।
खप्तड क्षेत्रको खप्तडदह (बाजुरा) हुँदै डोगडी, छेडेदह, आटिचौर, जुगाडा, मार्तडी, पाण्डूसैन, कोल्टी, बाँधु (चुलीघाट), झुगाला (बाजुरा-मुगु सिमाना), आमगाउँ (मुगु), सियाला, रातोपानी, बिराबगर, पैखुपानी, गोटीखोला, माझचौर (तलिबगर), श्रीकोट, सेरी, बाउपानी, जेउड्या, मुर्मा, माझघट्ट भएर पैदल यात्रा मार्फत रारा पुग्न सकिन्छ । माझघट्टबाट मुर्मा गाउँ हुँदै राराको पूरै स्वरुप हेर्न मुर्माटप जानका लागी तीन घन्टा (३) अतिरिक्त समय लाग्छ । मुर्माटप यस यात्रा अवधि भरिको सबैभन्दा उच्च र चिसो ठाउँ हो जहाँवाट रारा यसको पूरै आकारमा देखिन्छ ।
यस यात्रामा गोर्खे पारामा हिंड्दा पहिलो दिन डोगडी, दोस्रो दिन मार्तडी, तेस्रो दिन कोल्टी, चौंथो दिन बिराबगर, पाचौँ दिन माझघट्ट, रारा पुगेर बास बस्न सकिन्छ ।
रारा र खप्तडका साझा तर अरु भन्दा फरक विशेषता भनेको प्राकृतिक वातावरणमा निहित गहिरो शान्ति हो । प्रगाढ शान्तिको त्यो मेलले त्यहाँका रम्य वातावरणलाई उपल्लो तहमा लगेको अनुभूति हुन्छ । दुबै ठाउँका मन छुने कुरा भनेकै ती भिन्न अनुभूति हुन् । सायद मान्छेले यात्रा गर्न रुचाउने भनेको नै त्यस्ता खाले भिन्न अनुभूतिका लागि नै हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

