खप्तड: एकपटक पुग्नु पर्ने ठाउँ

केशवराज आचार्य

‘खप्तड’ सुदूरपश्चिमका पहाडी जिल्लाहरु बाजुरा, बझाङ, डोटी र अछामको सङ्गममा रहेको धार्मिक र प्राकृतिक रुपमा संरक्षित क्षेत्र हो । यो समुन्द्री सतहबाट २,७०० मिटर देखि ३,२३० मिटर सम्मको उचाइमा रहेको छ । हरिया हल्का भिराला चौरहरु, खोलानाला र घाँसे मैदान गरेर २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको तथा नेपाली सेना द्वारा संरक्षित यो खप्तड राष्ट्रिय निकुञ्ज वि.सं. २०४३ सालमा स्थापित भएको हो ।

अन्य बेला हरियाली वा घाँस वा लेकाली बुकीका फूलले ढपक्क ढाकिने खप्तड पुस महिनापछि भने बाक्लो सेताम्य हिउँले ढाकिन्छ । वैशाख देखि असारसम्म रंगीचंगी फूलहरुले फाँटहरु मनै लोभ्याउने गरी ढाकिएका हुन्छन् । खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन् । फूल फुलेका फाँटको किनारमा उभिएका हरिया रुखहरुले सुन्दर बगैँचाको अनुभूति गर्न पाईन्छ । प्रकृतिको यो अनौठो संग्रहालयमा ४ रैथाने सहित १३५ किसिमका फूल, २२४ प्रजातिका जडिबुटी, ५६७ प्रजातिका वनस्पति र विभिन्न २७० जातका चराचुरुंगी पाइन्छन् । एकछिनमै घाम लाग्ने, एकछिनमै सिमसिम पानी पर्ने खप्तडमा वर्षामा बादलले रुखहरुलाई ढाक्दा बिछट्ट राम्रो देखिन्छ । त्यसकारण पनि त्यहाँ जाने हरेकलाई खप्तड क्षेत्र प्रकृतिको खुला संग्रहालय र जीवित बगैंचा हो भन्ने अनुभूति हुने गर्छ ।

रमणीय विशाल पाटन, थुम्का, खप्तड दह बाहेक यस निकुञ्जमा रहेका खप्तड बाबाले ५० वर्ष बिताएका उनको कुटी, त्रिवेणीघाट, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरुले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५३ वटा झोता अर्थात रूखका थुम्काहरू छन् । खपतड निकुञ्जमा खासगरी वैशाखदेखि कार्तिकसम्म मानिसहरु भ्रमणका लागि जाने भए पनि गंगा दशहरा मेलामा यहाँ विशेष मेला लाग्ने गर्छ । गंगादशहरा मेलामा त्रिवेणीघाटमा नुहाएर पूजा गरे सबै पाप पखालिन्छ भन्ने जनविश्वास छ । त्रिवेणीघाटमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ भने सरस्वती नदी गुप्त बगेको विश्वास गरिन्छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएपनि भौतिक पूर्वाधार र प्रचार प्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको देखिँदैन । वास्तवमा खप्तड यात्रामा जाँदा सबैभन्दा बढी खड्किने कुरा पर्यटकलाई चाहिने आधारभूत आवस्यकताहरुको कमी नै हो । यहाँ अझै धेरै पूर्वाधारहरुको विकास गर्न जरुरी देखिन्छ । अहिले नेपालमा नीति निर्माताहरुले पूर्वाधार विकास भन्नाले त्यस निकुञ्जको विनाश गर्ने गरी बनाइने संरचना नभएर त्यहाँको प्राकृतिक र प्राचिन मौलिकतालाई ठेस नपुग्ने किसिमका आधारभूत संरचनाहरु भनेर बुझ्न जरुरी देखिन्छ । जस्तै: खप्तडका चारवटै प्रवेश बिन्दूहरुसम्म राम्रो सडकको पहूँच, प्रवेश बिन्दूहरुबाट मुख्यालय र अन्य स्थानका लागि सुरक्षित पैदल वा घोडेटो बाटाहरु, बाटाहरुमा मार्गदर्शनका लागि चाहिने चिन्हहरु, पैदल हिँड्दा पानीको व्यवस्थापन, बिचपानी लगायतका वाटामा भेटिने महत्वपूर्ण स्थानहरुमा रात बिताउन मिल्ने गतिला टि हाउस, ठाउँ ठाउँमा आपतकालिन अवस्थामा आगो बाल्न र बस्न मिल्ने गरीलबनाइएका पाटीहरु तथा खप्तड मुख्यालयमा पुगेपछि धेरै मानिसहरुले खान र बस्न मिल्ने गरी टि हाउस आदि ।

निकुञ्जको संरक्षण भन्दा बाहिर गई व्यापारिक फाईदा मात्र हेरेर खप्तड क्षेत्र भित्र जथाभावी सडक र रिसोर्ट बनाइनाले सो क्षेत्रको प्राकृतिक सौन्दर्य र मौलिक पहिचान मेटिने ठूलो सम्भावना रहन्छ । यही कुरा काठमाडौं उपत्यकाको मुख्य जलाधार क्षेत्र र जीवन रेखाका रुपमा रहेको शिवपुरी राष्ट्रिय निकुञ्जका हकमा पनि लागु हुन्छ । विकास र व्यापारिक प्रवर्धनका नाममा खप्तड लगायतका निकुञ्जका आफ्ना वास्तविक पहिचान नै गुम्न सक्ने गरी संरचनाहरु बनाइनु हुँदैन भन्ने कुरा सबै सरोकारवालाहरुले बेलैमा बुझ्नु जरुरी देखिन्छ । विभिन्न स्वार्थी समूहहरुले माग राखेकै भरमा निकुञ्ज भित्र जथाभावी रुपमा सडक निर्माण सहित अन्य व्यापारिक संरचना बनाउँदा निकुञ्ज क्षेत्रमा बाहिरी अतिक्रमण बढ्दै जाने र अन्ततोगत्वा निकुञ्जको मौलिक सौन्दर्य र पहिचान मासिने हुन पुग्छ । अन्य निकुञ्जमा जस्तै खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पनि सडक र व्यापारिक संरचनाहरु होइन त्यहाँको मौलिकताको संरक्षण गर्दै अति आवस्यक र आधारभूत पूर्वाधारहरुको मात्रै खाँचो देखिन्छ ।

खप्तड जानका लागि बाजुराको काँडा, बझाङको तमेल, डोटीको सिलगढी र अछामको चौखट्टे तर्फबाट पैद मार्गहरु रहेका छन् । तर सबैभन्दा सहज मार्ग डोटीको सिलगढीबाट झिग्राना हुँदै वा बझाङको तमेल बजारबाट लोखाडा हुँदै जानु हुन्छ ।

काठमाडौंबाट खप्तड जानका लागि सिलगढी, डोटी भएर जान सकिन्छ । सिलगढी पुग्न पूर्वपश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट नौ घन्टाको बसयात्रा गर्नुपर्छ । सिलगढीबाट बग्लेक हुँदै झिग्राना चेकपोस्टबाट बीचपानीको ३ घन्टे सिधा ठाडो उकालो बाटो पार गरेपछि खप्तडका लागि गन्तव्य भेटिन्छ । अचेल सुदूरपश्चिमको सबैभन्दा सुन्दर स्थल खप्तडबाट कर्णालीको सबैभन्दा सुन्दर स्थल रारातालसम्मको पदयात्रा पनि निकै लोकप्रिय छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button