
काठमाडौं चार भञ्ज्याङले मात्रै नभएर भञ्ज्याङै भञ्ज्याङले घेरिएको छ
केशवराज आचार्य
भञ्ज्याङ कुर्नु गाह्रै भो ए साईला !
बैशालु यो थुंगे फुल, त्यसै ओइली जाला !!
(जमुना लिम्बुले भञ्ज्याङबारे गाएको गीतको अंश)
४,६०० मिटर उचाइको लौरी विनायक भन्ज्याङ पारी काठमाडौंबाट करीब करीब सिधा उत्तरमा रहेको पवित्र गोसाईकुण्ड (४,३८० मिटर) मा पुग्न धेरै यात्रीहरुले अचेल धुन्चे – घट्टेखोला – देउराली – चन्दनबारी – चोलाङपाटी – लौरीविना – बुद्ध मन्दिर – गोसाईकुण्ड बाटो रोज्ने गर्दछन् । तर यो पैदल मार्ग त्रिशुली – धुन्चेको सडक बने पछि मात्र बढी प्रचलनमा आएको हो ।
सो सडक बन्नुभन्दा पहिले काठमाडौंका यात्रुहरु सुन्दरीजलबाट उक्लेर चिसापानी बाट “पाटी भञ्ज्याङ” हुँदै चिपलिङ्ग – गुल्फु भञ्ज्याङ – कुटुमसाङ – मागिन गोठ – ठाडे पाटी – ठूलो घोप्टे – फेदी – ऐथाङ – लौरी विनायक भञ्ज्याङ – सूर्यकुण्ड हुँदै गोसाईकुण्ड पुग्ने गर्दथे । अहिले पनि लामो पदयात्राका सौखिन पदयात्रीहरु यही मार्ग प्रयोग गरेर सूर्यकुण्ड हुँदै गोसाईकुण्ड पुग्ने गर्दछन् र फर्कँदा प्राय धुन्चे हुँदै फर्कन्छन् ।
पूर्व पाँचथरदेखि पश्चिम बैतडीसम्मका नेपालका पहाडी क्षेत्रका बस्तीहरुलाई जोड्ने मध्य पहाडी लोकमार्गलाई पूर्व र पश्चिम गरी दुई खण्डमा बाँड्ने सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका स्थित “पाटी भञ्ज्याङ” को आफ्नै ऐतिहासिक महत्व रहेको छ । पहिले त्यहाँ रहेका दुई वटा ऐतिहासिक पाटीहरुका कारण नै उक्त स्थानको नाम पाटी भञ्ज्याङ रहेको विश्वास गरिन्छ ।
कुनै एउटा पहाड वा पर्वत श्रृङ्खला टुप्पिएर अर्को पहाड वा पर्वत श्रृङ्खला शुरु हुने ठाउँका बीचमा वारिपारी आवत जावत गर्न सकिने गरी एउटा होचो स्थान बनेको हुन्छ जसलाई भञ्ज्याङ भनेर चिनिन्छ । नेपालको इतिहासमा भञ्ज्याङको निकै ठूलो महत्व रहेको छ । पहिले नेपालका भञ्ज्याङहरु सुरक्षाका लागि सेनाको गढीको रुपमा प्रयोग हुने गर्दथे । नेपालमा सडक यातायातको उपलब्धता हुनु पहिले पैदल यात्रुहरुका लागि भञ्ज्याङ सुस्ताउने थलो हुने गर्थ्यो । मान्छे सुस्ताउने गर्नाले चहलपहल बढ्न थाले पछि त्यहाँ चौतारी बन्ने, मन्दिर बन्ने, कूलपूजाका लागि थानहरु बन्ने गर्न थाले । अहिले पनि लामो पैदल यात्रीहरु वा साईकल यात्रीहरुका लागि भञ्ज्याङ सबैभन्दा भरपर्दो सुस्ताउने थलोका रुपमा रहेको छ । तर एउटा भरियादेखि सैनिकसम्मको भावना जोडिएका हाम्रा अपूर्व सम्पदा भञ्ज्याङहरु अचेल सडकमार्गका लागि जथाभावी रुपमा पहाड काट्ने बढ्दो प्रचलनलका कारण बिरानो बन्दै जान थालेका छन् ।
प्राचीन समयदेखि काठमाडौं उपत्यकाबाट बाहिरिनको लागि चारवटा दिशामा चारवटा भञ्ज्याङहरुलाई मुख्य नाकाको रुपमा विकास गरिएको हुनाले काठमाडौं उपत्यकालाई चारभञ्ज्याङ भित्रको शहर भन्ने गरिन्थ्यो । मुख्यतया: काठमाडौंको पश्चिमतर्फ थानकोटको वाणभञ्ज्याङ, पूर्वमा साँगा भञ्ज्याङ, उत्तरतर्फ पाँच भञ्ज्याङ र दक्षिण तर्फ सौखेल (फर्पिङ) भञ्ज्याङलाई सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिन्थ्यो । तर वास्तवमा काठमाडौं चार भञ्ज्याङले मात्रै घेरिएको नभएर भञ्ज्याङै भञ्ज्याङले घेरिएको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)