आहा ! जगडोल-तारेभीर हाईकिङ मार्ग कति सजिलो कति रमाइलो

केशवराज आचार्य

अहिले काठमाडौं उपत्यकामा एक दिने पैदल यात्रा (हाईकिङ) गर्ने चलन निकै बढेको देखिन्छ । कुनै सार्वजनिक विदाको दिन वा शनिवारका दिन काठमाडौंका हाईकिङ रुटहरुमा युवाहरुको राम्रै उपस्थिति देखिन्छ । अहिले काठमाडौं उपत्यकाभित्र एक डेढ घन्टा देखि लामो रुटका अनेकौँ हाईकिङ विकल्पहरु रहेका छन् । धेरैलाई आश्चर्य लाग्न सक्छ तर काठमाडौं उपत्यकाको सबैभन्दा राम्रो पक्ष भनेको हरेक पटक नयाँ हाईकिङ रुटमा यात्रा गर्न रुचीकर लाग्नेहरुका लागि त्यो विकल्प सँधै उपलब्ध हुने गर्छ ।

काठमाडौं उपत्यकाभित्र रहेका त्यस्ता अनेकौँ हाईकिङ रुटहरुमध्ये हिँड्नका लागि तुलनात्मक रुपमा निकै सहज, धेरै उकाली ओराली नभएको, छोटो समयमा पुग्न र फर्किन सकिने, खुल्ला ठाउँ सहित फरक भूभागहरुको अनुभव गर्न सकिने तथा पदमार्ग भरी र माथि पुगी सकेपछि निकै सुन्दर दृश्यहरुको दृश्यावलोकन सबैभन्दा सजिलो हाईकिङ मार्ग जगडोल-तारेभीर रहेको छ । तारेभीरको मुख्य बस्ती काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा रहेता पनि बुढानिलकण्ठ नगरपालिका, वडा नं. २ मा रहेको तारेभीर, नारायण डाँडा विभिन्न रिसोर्ट र अन्य सुविधाका कारण झन् बढी लोकपृय रहेको छ ।

जगडोल भञ्ज्याङको कृष्ण मन्दिरबाट शुरु हुने यो हाईकिङ मार्ग गोकर्णेश्वर नगरपालिका (पूर्व) र बुढानिलकण्ठ नगरपालिका (पश्चिम) को सिमामा रहेको थानडाँडा (गाम्चा) बाट हल्का उकालो हुँदै उत्तर तिर लाग्छ तथा नारायण डाँडा हुँदै तारेभीर पुग्छ । यस मार्ग भरी एक दुई ठाउँमा मात्र ठाडो तर छोटो उकालो मार्ग रहेका छन् । नत्र सल्लाको पातलो जँगल बीच रहेको चौरको मार्ग हुँदै लगातार हल्का उकालो चढेर तारेभीर पुग्न सकिन्छ । जगडोलबाट जान र आउन गरेर हिंडाइ अनुसार ३-४ घन्टाको समय लाग्छ । अलि लामो हिडँन चाहनेका लागि यहाँबाट नागी गुम्बा हुँदै बागद्वार, शिवपुरी पिकसम्म पुगेर फर्कन सकिन्छ । त्यस्तै गरी यहाँबाट तारेभीर गाउँ माथिको डाँडा कटेर ओख्रेनी, मूलखर्क हुँदै सुन्दरीजल पनि निस्कन सकिन्छ ।

गोकर्णेश्वर मन्दिर नजिक रहेको पुरानो फलामे पुलबाट यज्ञडोल (जगडोल) सामुदायिक वन हुँदै उत्तर लागेर वा चावहिलको चुच्चेपाटी, महाङ्काल, आरुवारी हुँदै राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक), झण्डापार्क, फुलवारी गुम्बा हुँदै जगडोल भञ्ज्याङ स्थित कृष्ण मन्दिर पुग्न सकिन्छ । चक्रपथ–बुढानिलकण्ठ रुटमा पर्ने भङ्गालबाट पूर्व लागेर चुनिखेल हुँदै पनि जगडोल भञ्ज्याङ पुग्न सकिन्छ । यो हाईकिङ मार्ग बच्चाहरु देखि हिँड्न सक्ने वृद्धहरुका लागि समेत सहज र उपयुक्त रहेको छ । तारेभीरसम्म पुग्न नचाहने वा नसक्नेका लागि पनि पदमार्ग भरीका हरेक स्थानहरुबाट देखिने दृश्यावलोकनहरुले निकै रोमञ्चकता प्रदान गर्ने गर्छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. आहा सर। यस्तै प्रस्तुतिहरुको पर्खाईमा। देशव्यापी भुगोलहरुको…..

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button