चुरे पदयात्रा: कति कुरा लुकाउन पनि पर्ने हुन्छ

सुमन लावती

“ओइ तेरो बूढा म लग्छु अनि मेरो चै त लग है।फेरि म चै आयुको लग्छु नि।”- सजिना “लैजा है…तन,मन दुबै लैजा तर धन चै म नै राख्छु।” -दीपा

“तिमीहरू को पो अमेरिका,अष्ट्रेलिया तिर छ त, अब म चै रिक्सा वाला सँग जानु पार्‍यो ! कता-कता जनु पार्‍यो भने फ्री मा त लैजान्छ।” -आयु

“तलाई किना रिक्सा वाला चाहियो ? हाम्रो सुमन भाइ नै छदै छ नि..। इ हेर्त कति राम्रोसँग हामीलाई ट्रेकिङ गराउदै छ।” -दीपा, सजिना

यस्तै रमाइलो कुरा गर्दै तिनीहरु मेरो पछि-पछि हिड्दै थिइन् । म तिनीहरुको कुरा सुनेर मन मनै खित्का छाड्दै बाटो देखाउदै अघि थिए । प्राय धेरै बिहेकै कुरा बारबार दोहोरिने गर्थियो तिनीहरुको गफमा । यहाँ कस्तो विडम्बना ! प्रेममा विवाह हुनुको सट्टा, विवाहमा प्रेम खोज्दै गरेको महशुस हुँदै थियो ।

कहिले उकाली, कहिले ओराली जङ्गलको बाटो, चरा चुरुङ्गीहरुको चिर्बिर मिठो आवाज,पुर्ण प्राकृतिमा रम्दै चुरे पदयात्रा अधि बढ्दै थियो । सहरीया मानिसहरुलाई बडो रमाइलो लागिरहेको थियो । उनीहरुको अनुहारमा प्रष्ट देखिन सकिन्थियो । सायद पहिलो अनुभव थियो कि ?

बाल्यकालमा सधै घास, दाउरा, बस्तु गोठाला गरेकै वन जङ्गल भएनी सहरीयाहरु सँगको ट्रेकिङमा सामेल हुन पाउँदा मैले पनि उनीहरु जस्तै प्रकृतिको आनन्द नलिएको कहाँ हो र !

जब चुरेको अग्लो स्थानमा पुगियो।, त्यहाँ यति सुन्दर दृश्य देखिन्थ्यो कि जोकोहीको मन लोभ्याउने । आहा ! झापाको सुन्दर सहरहरु, पहाडको मनमोहक दृश्यहरु,चुलाचुली गाउँ… खेतबारीमा हरियाली मकैको खेती अनि आकाशलाई कालो बादलले छोप्दै गरेको दृश्य साच्चिकै अचम्मको देखिन्दै थियो । उनीहरु यो सब नजाराहरुलाई आफू सँगै आफ्नो मोबाईलको क्यामेरामा कैद गर्न आतुर हुँदै थिइन् ।

मैले औंलाको इसारा गर्दै… उ दमक सहर… तपाई हरुको घर त्यहाँ … त्यहाँ पर्छ भन्दै देखाउदा उनीहरुको अनुहारमा आएको चमक सम्झन्छु अहिले जस्तो लाग्दछ ।.

“हिजोआज यसो चुरे जङ्गलमा नजर पुराउने गर्छु सहरियाहरुलाई झल-झल अँखा मै देख्ने गर्छु”

झोलामा बोकेको केही खाजा खाने, पिउने क्रम नसकिन्दै हावाहुरी,पानी,गडाङ-गुडुङ के-के हो के के…, अहिले सम्झन्दा आङ सिरिङ्ग हुन्छ । तैपनि अन्तिम गन्तव्य झरनासम्म राखियो ..! पानी निरन्तर पर्दै थियो । हामी कहिले भित्तामा छलिन्दै कहिले रुखमा ओत लाग्दै हाम्रो हिड्ने क्रम जारी नै रह्यो ।

अवस्था यति सम्म आयो कि (“अब भयो झरना आर्को पल्ट जाम्ला…घर फर्किनु पर्छ यस्तो जोखिम छ बाटो”) दीपा र सजिना भन्दै थिइनँ । (“किन फर्किनु नि यतिसम्म आएर ? म त जे जस्तो भए पनि झरना सम्म त पुग्ने हो।”) बिचैमा आयुले हिम्मतका साथ भनिरहेकी थि । मैले पनि उसको अँखामा साच्चिकै झरनाप्रति को तृष्णा देखीरहेको थिए ।
मलाई उनीहरुप्रति चिन्ता बोध नभा कहाँ हो र !

चिप्लो बाटोमा लड्नबाट बचाउनु थियो, तुफानको कारण रुखको हँगाबाट बचाउनु थियो, हरेक एक-एक पाइला भीरमा खस्नु बाट बचाउनु थियोे ।

केही गल्ती त म बाट पनि पक्कै भा नै हो…राम्रोसंग पद पहिचान गर्ने नसकेर कहिले माथी पुगेर फेरि तल झर्नु पर्ने, कहिले बाबियोको बुट्टालाई आड लिनु पर्ने, कहिले लहरामा झुन्डिएर भीर चढनु पार्ने !

बिचरा सहरियाहरुले दुख चै पाउनसम्म पाकौ हो ।

आयु ! जब तिम्रो हात समाएर तिमीलाई हरेक गाह्रो अफ्ट्यारो ठाउँहरुमा हिड्याएको थिए नि! हो त्यो पल-पलहरुमा (“तिमीलाई मेरो जीवन रहेसम्म साथ दिन्छु, तिम्रो हात समाएर तिम्रो नै सहयात्री बन्छु” ) भन्ने निष्ठुरी मायाको याद कम आ हो र……!

याद पनि किन नआओस् र! आयु तिमी सँग उसको अँखाहरु दुरुस्त मिल्छ, तिमी सँग उसको बोलीचालीको लय उस्तै मिल्छ, तिमी सँग उसको जाति तेस्तै मिल्छ … ।

जङ्गलको बिचमा सानो गाउँ छ… मलाई त्यो गाउँको बारे राम्रो खबर पनि छ । तर तिम्रो सामु म अनजान मात्र भइदिएको थिए किनकि तिमी थोरै मात्र कुरा गर्ने गर्थिएउ नि त । मलाई तिम्रो आवाज धेरै सुन्न मन लाग्या थियो ।

सिमसिमे पानीमा भिज्दै एक एक्लो घरमा ( “आमा, बुवा…यहाँ झरना तिर झर्ने बाटो कता पर्छ होला ?”) तिमीले अपरिचित मानिसहरूलाई गरेको एक मिठो सम्बोधनले मेरो मनमा तिमीप्रतिको अभिलाषा जागृत नभएको कहाँ हो र ! कुरा यति मात्र हो कि….. कति कुरा देखाउन सकिन्छ, कति कुरा लुकाउन पनि पर्ने हुन्छ ।

सुस्तरी झरनासम्म पुगियो … यो बैशाख अलिक सुख्खा भएकोले झरनाबाट झर्ने पानीको फहरामा सधैं भन्दा कमि देखिन्थ्यो । तैपनि सहरियाहरुको मनको फहरामा अलिकति पनि कमि भा थिएन ।

पुर्ण जोस, होसका साथ झरनाको पानीको आनन्द लिने क्रम जारी थियो । उनीहरुले फोटो, भिडियोमा झरनाको केही यादहरुलाई आफू सँगै मोबाइल क्यामेरामा कैदी बनाइरहेका थिए ।
म भने झरना छेउको एक ढुङ्गामा थकाइ मार्दै खुल्ला प्राकृतिमा रम्दै गरेको सहरिया पन्छीहरुलाई अझ धेरै बुझ्ने, उनीहरुको उमंगलाई आभास गर्ने प्रयास गर्दै पन्छीहरुप्रति मन्द प्रेमको मुस्कान मुस्कुराउदै एकनास हेरिरहे ।

अनि झरनाको पानी सँग-सँगै खोलाको बाटो हुँदै साँझ पर्न पहिलो नै घरतिर पाइलाहरु लाई अघि बढाउने काम गरियो ।

यसरी नै हाम्रो चुरेपद यात्राको सुखद अन्त्य भएको थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button