मछिन्द्र आचार्यका दर्जन ‘पदयात्रा’ टिप्स

पछिल्ला बर्षहरुमा विशेष गरी विनशाकारी भूकम्पपश्चात नेपाली युवाहरुमा पदयात्रामा जाने लहर बढ्न थालेको छ । भूकम्पले पारेको मनोबैज्ञानिक असरसँगै पहिले आफ्नो देश अनि विदेश घुम्ने भने चेतनाले आन्तरिक पर्यटन विकासमा टेवा दिन थालेको छ । नेपालीहरुको बढ्दो क्रयशक्ति, परिवर्तित आर्थिक अवस्था एवं भ्रमण संस्कृतिको विकास हुँदै जानाले ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग गरेको छ । अझ कोरोना महामारीका बीच पदयात्रा अझ लोकप्रिय भ्रमण गतिविधिका रुपमा परिचित हुन थालेको छ । प्रकृतिको नजिक हिमाल, नयाँ ठाउँ र फरक भूपरिदृष्यहरुको संयोजनले फोटोग्राफीमा समेत चाख राख्ने युवा जमातका बीचमा यो झनै लोकप्रिय हुन सफल भएको छ ।

आजभोलि चल्तीमा रहेको मोबाइल एप्सहरु जस्तै टिकटक, इन्स्टाग्राम, फेसबुक र यूट्यूव जस्ता प्रविधिका कारण घुम्ने र एकले अर्काको भन्दा राम्रा फोटा र भिडियो लिने होडले आन्तरिक पर्यटन विकासमा भने अवश्य नै टेवा पुर्‍याएको छ । यसरी पदयात्रामा रुची राख्ने युवा जमातहरुलाई आफ्नो भ्रमण कार्यक्रमलाई योजनाबद्ध रुपमा तयारी गरी, पदयात्रामा जाँदा आई पर्ने जोखिम न्यूनिकरण गर्दै, विदाको समयमा हिमाल र पहाडका परिदृष्य बीच पूर्ण आनन्द लिन यहाँ केही सान्दर्भिक सुझाव छन् ।

१) आफू जान लागेको क्षेत्रबारे पूर्व अध्ययन गर्नुहोस्, घरपरिवारका सदस्यलाई पदयात्रामा जान लागेको क्षेत्र र आफ्ना योजनाहरुका बारेमा जानकारी दिनुहोस् ।

२) तपाईंले हिड्न सक्ने पदमार्ग र गन्तब्यको मात्र छनौट गर्नुहोस् । कठीन पदयात्रामा जान आवश्यक पूर्व तयारीको लागि समय लिनुहोस्, आवश्यक कसरत गर्नुहोस् ।

३) आफूले पूर्वनिर्धारित गरेको पदमार्गमा मात्र जानुहोस् र पदयात्राका क्रममा अनावश्यक जोखिम नलिनुहोस् । विश्वासिलो सहयात्री छान्नुहोस् । सकेसम्म एक्लै पैदल यात्रामा नजानुहोस् ।

४) ट्राभल लाइटको मान्यतालाई अनुसरण गर्दै, पदयात्राको पूर्ण आनन्द लिन अनावश्यक सामान नबोक्नुहोस् ।

५) पदयात्राका क्रममा सधैं पर्याप्त पानी बोक्नुहोस् र पिउनुहोस् ।

६) हरेक दिन पैदल यात्रा गर्नुअघि शरीरलाई पाँच मिनेटको लागि तन्काउनुहोस् ।

७) हिँड्ने क्रममा छिटो नदौडनुहोस्, सँधै एउटै रफ्तारमा हिड्नुहोस् ।

८) चकलेट, इनर्जीबार, हल्का ड्राईफ्रूट फुड पनि बोक्नुहोस् । यसले हिँड्नेक्रममा लाग्ने थकाई मार्न मद्दत गर्छ ।

९) स्थानीय पेय पदार्थ चाख्ने नाउँमा रक्सी र गाँजा सेवन नर्गनुहोस् ।

१०) लेक लाग्ने समस्याबाट बच्न उचाई अनुसार शरिरलाई अनुकुल बनाउन, अतिरिक्त आराम गर्ने समय मिलाउनुहोस् ।

११) आफ्नो मोवाइल फोन बोक्नुहोस् तर ब्याट्री बचत गर्न प्रयोग नगर्दा यसलाई बन्द गर्नुहोस् ।

१२) यात्राका क्रममा थकान र सानातिना चोटपटक पनि लाग्न सक्छन्, यसका लागि थोरै प्राथमिक उपचारका सामाग्री पनि बोक्नुहोस् ।

अन्तमा, आजको आधुनिक समयमा तपाईले आफ्नो देश घुम्दै गर्दा आफै पनि पर्यटन प्रवद्र्धकको रुपमा काम गर्न सक्नु हुन्छ । राम्रा राम्रा फोटा र भिडियोहरु सामाजिक सञ्जालमा राख्नुहोस् र आफ्ना विदेशी साथीहरुलाई नेपाल घुम्न उत्प्रेरित गर्नुहोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button