
बन्दीपुर पुग्दा आरुघाट सम्झेर भावुक भएँ
रमी प्रिया
‘जाम जाम साथी हो
बन्दीपुर भनेको डुम्रे माथि हो’
बन्दीपुर भन्ने बित्तिकै यही गीतको मुखडा याद आउँछ, वा अन्तराको टुक्रा पो थियो कि ? ठ्याक्कै त थाहा भएन तर सानोमा खूब मच्चेर गाइन्थ्यो । ‘कस्तो पो होला त्यो बन्दीपुर अनि डुम्रे ? डुम्रे त झन् नामै पो अचम्मको लाग्थ्यो । हुन त पछि डुम्रेलाई छोइएर थुप्रै पटक यात्रा गरियो पनि, तर बन्दीपुर भने मेरो कल्पनाभित्र सधैँ कौतुहलताको अग्लो पहाडमाथि पलेटी कसेर बसेको थियो ।
खासमा सिधै पोखरा जाने प्लान थियो तर समयको खातापाता नमिलेर भ्रमणको रुपरेखा अलि बदलियो । पोखरा नपुगे पनि बन्दीपुरसम्म पुगेर फर्किने र मिलिहाल्यो भने पोखरा पनि पुग्ने भइयो । लामो समयदेखिको एकोहोरो रुखो दैनिकीलाई अलिक दिनको लागि भएपनि रसिलो बनाएर चार्ज्ड हुनुपर्छ भन्ने सल्लाह थियो दुई बैनीको र साथमा कान्छो छोरो पनि फोसामा थपिन आईपुग्यो टीममा । काठमाडौँको धुवाँ धूलोले कटमटिएको मथिङ्गललाई प्रकृतिको सामिप्यतामा स्नान गराउनु थियो ।
शुक्रबार बिहानै, बुकिङ गरिएको माइक्रो पक्रियौँ ढुङ्गेअड्डाबाट । हाम्रो लागि तेस्रो लहरको सीट राखिदिएका रहेछन् । कोविड महामारीपछिको पहिलो भ्रमण थियो यो । धेरै पछिको गाडीको यात्राले सकस पार्ला कि भन्ने अनुमान थियो । त्यसैले पूरै तयारीसाथ जुटेका थियौँ खट्टु पाउँ/भुजिया/कागती/औषधि/पानी/प्लास्टिक आदि इत्यादि बटुलेर ।
माइक्रोमा गुडिरहँदा झट्ट याद आयो- सानो छँदा सदरमुकामबाट बस चढेपछि दायाँ बायाँका स-साना घर/छाप्रा, कुवा, गाईवस्तु, गोठाला सबै दगुर्थे र म काठमाण्डु आइपुग्थेँ । अचेल आफै डगुरेको जस्तो लाग्छ तर कहिँ पुगिरहेको हुँदिन ।
पल्लो झ्यालतिरको सीटमा छोरो कानमा एअरफोन लगाएर आफ्नै धूनमा तल्लिन भैगयो । हामी दिदीबैनी चाहिँ माइक्रोमा बजेको हिन्दी र नेपाली फिल्मी गीतसँगै गाउँदै/रमाउँदै त घरि गफिँदै गुडिरह्यौँ । बाँकी प्यासेन्जर कोही गफमा त कोही घुर्नमा ब्यस्त देखिए । झ्याल बाहिर देखिएका हरिया डाँडा, रुख, खेतका तरेली र खोलाको दृश्य निकै रमणीय थियो तर बीचबीचमा पहिरोले चिथोरेर उराठिलो बनाएको फुस्रो डाँडा देखेर नमज्जा लाग्थ्यो । बेलाबेलामा गुरुजी बुल्लेट रफ्तारमा हाँक्थे गाडी र मौका पाउनासाथ ओभरटेक गरिहाल्थे अघिल्लो गाडीलाई, पेसेन्जरका जीऊ नै सिरिङ्ग बनाइदिएर ।
अन्दाज गरिए जस्तै करिव ५ धण्टामा आइपुग्यौँ डुम्रे । ओर्लिएर छेउको एउटा दोकानमा छिर्यौँ र माथि बन्दीपुर जानको लागि सवारी साधनको बारेमा सोधीखोजी गर्यौँ । बस, ट्याक्सी या कार जाने कुरा थाहा लाग्यो, भाडाको बारेमा भने बताउन अनकनाए साहुजी । दोकानबाट निस्कने बित्तिकै एउटा केटो (जो ट्याक्सी ड्राइभर रहेछ) ले सोध्यो, ‘बन्दीपुर जाने हो ?’ हाम्रो तीन थान अनुहारमा एकै पटक हो भन्ने भाव पत्ता लगाइहाल्यो होला उसले, र त केही नबोलिबस्दा नि पिछा छोडेन । आखिर जानु नै थियो, टाउको हल्लाएँ, भाडा तोक्यो एक हजार । ‘अलिक मिलाइदिनु न’ भनेको- जम्मा सय रुप्पे घटायो, थप नघट्ने कुरो आयो । थकान र हतारोले अरु ट्याक्सी खोज्न जाँगर नि चलेन र अर्को मनले लाग्यो- सिन्डिकेट त यहाँ नि होला, उस्तै भाउ कसेर त बसेका होलान् अरु पनि । तै पनि एकपल्ट बार्गेनिङ तेर्स्याएँ ड्राइभरसामु- ‘जाबो दस मिनेटको बाटोलाई एक हजार त महँगो भयो नि भाइ । खासमा त दुई सयको पेट्रोल त लाग्दो हो हदै लागे पनि, पानसयमा लगिदिनु न !’ के सुन्थे र, सहरका ‘मुर्गा’हरुको कुरा उसले । हामी नौ सयमै थाक्यौँ ।
तल फेदीबाट पन्ध्र मिनेटजतिको घुम्ती परेको उकालै उकालो गुडेपछि दोबाटोनिरको ठाडो पीचमा रोकियो गाडी । ‘ल, हजुर यही हो बन्दीपुर ! हजुरहरु घुमेर फर्कने बेलामा ट्याक्सी चाहियो भने कल गर्नोस् है’ भन्दै नम्बर दियो उसले । त्यस ध्वाँसेको नम्बर त टिप्न नि मन थिएन र पनि भरे फर्किने बेला एउटै चढ्ने भाँडो पाइएन भने त यसैको धडियामा पर्ने हो कि भनेर नम्बर लिएँ ।
बजार छिर्ने बित्तिकै सफा र सपाट ढुंगीन आँगनले मन खिच्यो । हातभरी पुष्पगुच्छा लिएर अतिथीको स्वागतार्थ दुई लहर भई उभिएका जस्ता देखिने बान्की मिलेका घरहरु ! आहा ! कति सुन्दर ! कति मनोरम ! एकछिन त सपना देखेको जस्तै भईयो । आहा … र वाह…बाहेक केही बोली निस्किएन तिनटैका मुखबाट । वसन्त आगमनको छेको पारेर पूरै झकिझकाउ देखिएको थियो बन्दीपुर ।
मध्य बजारको बाँयातिर रानी कलरमा फक्रिएका बेगनबेली, छेउको बार्दली उक्लिँदै घना लहरापुञ्ज बनाएर ठलेमठेल गरी फेरि भुईँतिरै ओर्लिरहेको दृश्य कम्ता मनमोहक थिएन । विदेशी र आन्तरिक पर्यटकहरु त्यही ठाउँमा झुत्ति खेलिरहेका थिए, फोटो खिचाउन । हामीलाई नि रहर चलिहाल्यो, लहै लहैमा एक किस्ता फोटो खिचखाच पारी भ्यायौँ ।
अहो ! एक बजिसकेछ, भात खानु पो बाँकी थियो त । यतिखेर खाना पाउला/नपाउलाको दोधारले, निधारमा शङ्काको एक धर्सो थपेर उही बेगनबेली आडैको होटल छिरियो । साहुजीले ‘दाल तरकारी सबै रेडि छ, खाना बसाल्ने मात्र हो’ भनेपछि एकतल्ला माथि उक्लियौँ । लामो पिछाड भएको फराकिलो मटानमा टेवलक्लोथ सहितका कुर्सी लगाएका रहेछन् । काठमाडौँ बाहिरको लामा लामा पिछाड भएको घडेरी सही लाग्छन् मलाई, बगैँचा/बैठक/कौसी या ईच्छाइएको डिजाईनमा मज्जाले जस्तो पनि घर बनाउन मिल्ने । यताको बार्दलीमा पनि गमलाभरि थरिथरिका फूलहरु, पाहुनाहरुकै लागि भनेर आफ्नो सुन्दर मुस्कान पस्किरहेका देखिन्थे । पुष्पमेला लागे झैँ जतासुकै रंगीविरंगी दृष्यले मनलाई आनन्दित तुल्याएको थियो । सही बेलामा आएछौँ भन्ने लागेर खुसीको आयतन बढेको जस्तै महशुस भयो । झोलाहरु एक साइडमा राखेर एकछिन सुस्ताउन नपाउँदै बतासको चिसो स्पर्शले आँतै सररर बनायो, थकान जति छू मन्तर । बार्दलीबाट देखिएको सानो चौर अनि ल्याण्डस्केपको हरियालीले आँखालाई सितलता दिइरहेको थियो तर कताकति कान्लातिर आधुनिक घरहरु धमाधम बन्दैथिए । यो पछाडिको भाग, बजार क्षेत्रभन्दा बाहिर परेता पनि प्राकृतिक सुन्दरतामाथि हावी झैँ देखिएको आधुनिकता, कत्ति पनि चित्त बुझेन ।
पर परबाट डाँडा र थुम्काहरु तुवाँलोको च्यादरभित्रबाट चियाइरहेका थिए तर हिमालको भने कुनै नामोनिशान देखिएन । मौसम धुम्मिएको चार पाँच दिन भैसकेको थियो तै पनि बल्लतल्ल जुरेको साइत फुत्केला भन्ने पीरले हिँडिहालियो । केही बेरमा खानाको थाली आईपुग्यो घ्यू सहित । खाना भने त्यति स्वादिष्ट लागेन, पेट भर्नेसम्म काम गरियो, जे होस् ।
खाना खाएर हामी पुन: बजारतिर लाग्यौँ मोबाइलको क्यामेरामा आफू सहितको सुन्दर दृश्य कैद गर्दै गर्दै । माथि दायाँतिरको बाटो उक्लिए पछि होमस्टे एरिया रहेछ । बायाँ लागेपछि देवीको मन्दिर अवस्थित रहेछ, उकालो देखेपछि त्यता नजाने सल्लाहले फर्कियौँ । एक त म उकालो चढ्न फिटिक्कै नसक्ने, मेरो लागि औसत बीस मिनेटको बाटोलाई साठी मिनेट लाग्ने गर्छ । त्यसमाथि फर्किन ढिलो होला भन्ने सुर्ता । अघि बाटोमै, आज पोखरा बसेर भोली घान्द्रुक जाने योजना जो बनिसकेको थियो, त्यसैले मूख्य बजारको घुमघाममै केन्द्रित रह्यौँ । बिन्ध्यवासिनी माईको मन्दिर रहेछ बीचमा, त्यताबाट हेर्दा बजार निकै आकर्षक देखियो । होटल र रेस्टुरेन्टमा परिणत भएका घरका छिँडी होस् या फलैँचा, सफा र सुकिला टेवल कुर्सी मिलाएर राखिएका थिए त्यता, साथमा ढकमक्क फूलेका गमला, धूपी र लता/बिरुवाको सजावट । पुराना घर अनि आधुनिक फर्निचरको फ्यूजनले कता कता लण्डनको कुनै टिपिकल सहर हो कि जस्तो झल्को दिने नजानिँदो आकर्षण थियो त्यहाँ । मन्दिर अगाडि पूरानो पद्म पुस्तकालय पनि रहेछ । पुस्तकालय बन्द थियो । आँगनमा केही पाका मानिसहरु भलाकुसारीमा मग्न देखिन्थे ।
हामी दुई बैनीलाई फोटो खिचाउन पुगेकै थिएन तर छोरो भने खिच्न र खिचाउन अल्छी माने झैँ गर्थ्यो । ऊ त प्राकृतिक दृश्यावलोकनमै रमाउन खोज्थ्यो ।
सिरान बजारदेखि पुछारसम्म एकसरो घुम्यौँ । चिटिक्क परेका घर, प्रत्येक घरको बुट्टेदार बार्दली, कलात्मक झ्याल, सुहाउँदिलो रंगरोगन, रंगीविरंगी फूलहरु, फराकिलो आँगन र आफन्त जस्ता लाग्ने हँसिला मानिसहरू । यी सबै सबै कुराले मलाई मेरो आरुघाट बजारको सम्झना दिलायो, नोस्टाल्जियाले छोपिहाल्यो र भावुक भएँ । यस्तै त थियो मेरो जन्मस्थल । मन चरी भएर उडिरह्यो एकछिन ।
फलैँजा जस्तो परेको एउटा रेष्टुरेन्टमा नेवारी खाजा पनि पाइने लेखिएको थियो, साजसज्जा पनि नेवारी शैली र थिममै थियो । हुन त यो पूरानो नेवार बस्ती नै हो, जहाँसम्म लाग्छ ।
बिभिन्न प्रकारका टोपी तथा पर्स/ब्याग फिँजाएर राखिएको दुई/तीनटा दोकानमा पस्यौँ तर दोकनदार भेटिएन, अचम्म ! दोकान छोडेर कहाँ जाँदा हुन् ? सायद यतिखेर पर्यटकको चाप अलि कम भएरै होला, दोकानदारहरु फुर्सदिला भै हराएका । हामीलाई भने हतार थियो त्यसैले धेर बेर कुर्न पनि सकिएन । घुम्दै फर्किए पछि प्यास र पसिनाले आईसक्रिम दोकानमा तानियौँ । दोकानमा अघिकै होटल साहुजी बसेका रहेछन् । साहुजीको त अर्को लिक्वर सप पनि रहेछ । बैनीले ठट्यौली पारामा सोधिन् दोकान जति त तपाईंकै रहेछन्, पूरै बन्दीपुर नै तपाईँको नाममा छ कि कसो दाइ ? साहुजी होइनको संकेतका टाउको हल्लाउँदै मुस्कुराए मात्र ।
एक लट चिया पिएर जाने तयारी भयो । विल तिरेपछि साहुजीलाई सोधेँ ‘फर्किने ब्यवस्थामा के कसरी सवारी साधन पाइएला दाइ ?’ ट्याक्सी भाडा पानसय चलेको रहेछ । अघिको बिर्सिसकेको घाऊ फेरि बल्झियो, आफूहरु ठगिएको कुरो साहजीलाई सुनायौँ । ‘को रहेछ त्यो ठग्ने ? थाहा पाउन पाए त झपार्नुहुन्थ्यो । कहाँ ठग्न पाइयो र यसरी ? बन्दिपुर आउन चाहनेलाई हतोत्साहीत गर्न त पाइएन नि !’ भन्दै मुर्मुरीए साहुजी । साहुजीको दबङ्ग स्टाईल मनपर्यो मलाई, ‘नम्बर छ नि त्यो केटोको मसँग’ भन्दै हत्तपत्त अघि टिपेको नम्बर दिएँ । ‘खै दिनुस् त, यिनको ज्यादती समितिमा राख्छु’ साहुजीको कुराले थोरै भएपनि सान्त्वना पाएको जस्तो लाग्यो ।
सवारी साधन निषेधित भएर होला, सहर निकै नै स्वच्छ र सुकिलो थियो । जतिपटक घुमेर हेरे पनि घीत नमर्ने स्वर्गको टुक्रा झैँ सुन्दर यो सहरको मौलिकता र आफ्नो बर्चस्व कायम राख्नको लागि कति पसिना, विवेक र धैर्य खर्चेका होलान् यहाँका बासिन्दाले ? बन्दीपुरवासीहरुको आफ्नो माटोप्रतिको यो प्रेम र कर्तव्य साँच्चै नै सराहनिय र अनुकरणीय लाग्यो ।
नियम नै हो, आएपछि जानु त पर्छ नै ।
बिदावारी भई हाम्रो फुच्चे टोली फर्कियो, हिमश्रृङ्खलाको दृश्य सहित बाँकी ठाउँहरु हेर्न फेरि छिटै आउने वाचाकासाथ । यसपटक पानसय मात्रै रेट लाउने कारमा सररर ओर्लियौँ आँखाभरि/ हृदयभरि बन्दीपुरलाई संगालेर । तल गेटनेर ओर्लिएर दायाँबाट आउँदै गरेको पोखराको बसलाई झ्याप्प रोक्न लगाएर चढ्यौँ र बाई बाई भन्यौँ बसको झ्यालबाट सुन्दर नगरी बन्दीपुरलाई ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


