होटलको जागिरः चुनावपछि पाएँ, खाएँ र छाडेँ

राजन सिम्खडा

ट्रेकिङबाट फर्किसकेपछि ज्ञानु रिमालको व्यक्तित्व झल्काउने किसिमका गीतहरू पनि बनाएँ । त्यो सुनेर मक्ख परे उनी । त्यतिबेला जागिरका लागि मैले उनलाई जसरी पनि रिझाउनु थियो ।

आफूलाई पर्यटन व्यवसायमा ल्याउने गाउँले दाइ हरि रिमालले व्यवसायबाट पैसा कमाएपछि धादिङमा गएर चुनाव लडेका र जिल्ला पञ्चायत सदस्यसमेत बनेकाले ज्ञानु रिमाललाई पनि राजनीतिको चस्का लागेको थियो । राप्रपामा सक्रिय ज्ञानु रिमाल २०४९ सालको स्थानीय निर्वाचनमा धादिङ जिल्ला विकास समितिको उपसभापति बनिसकेका थिए । २०५१ सालमा मध्यावधि चुनाव घोषणा भयो । उनलाई पार्टीले धादिङ– २ बाट चुनाव लड्न टिकट पनि दियो । आठ–दस लाख रूपैयाँ खर्च गरे कसो चुनाव नजितिएला र भन्ने अड्कल रहेछ ।

‘सिम्खडा बाजे, (खै किन हो, उनी मलाई ‘सिम्खडा बाजे’ भन्थे ! हामी सिम्खडाहरूले पुजेका पुरोहित खलकका मान्छे हुन् उनी । नाता नै लगाउने हो भने पनि म उनको मित भाञ्जा वा मित भतिजा, उमेरले भन्ने हो भने भाइ ! तर उनी मलाई सधैं ‘सिम्खडा बाजे’ भन्थे !) अब तिमी मेरो चुनाव प्रचारमा जानुपर्छ । माइकिङ गर्नुपर्छ । प्यारोडी र गीत पनि गाउनुपर्छ’, उनले एकदिन मलाई प्रस्ताव राखे ।

मलाई एकातिर जागिरको लोभ थियो । त्यसका लागि ज्ञानु रिमाललाई खुसी पार्ने यो मौका हो भन्ने लाग्यो । अर्कोतिर कलाप्रतिभा देखाउन पाइने अवसर ! म २०४८ सालमै चुनावी प्रचारका लागि माइक समातिसकेको मान्छे ! जाने–बुझेकै काम थियो । मैले उनको प्रस्ताव तुरुन्तै स्वीकार गरें । उनले माइक किनेर मेरो जिम्मा लगाए । योजनाबमोजिम म सरासर जिल्ला सदरमुकाम धादिङबेसी गएँ । बीचबजारमा राप्रपाको पार्टी कार्यालय थियो । कार्यालयमै बस्ने कोठा थियो । छेउकै होटलमा जे–जे मन लाग्छ, खान पाइने । यसरी म उनको चुनाव प्रचारमा सक्रिय भएँ ।

हुन त त्यसबेला म राप्रपामा लाग्नु स्वाभाविक थिएन । मेरो बुवा काङ्ग्रेसका पक्षपाती । काका एमालेको कट्टर समर्थक । ममा पनि जनमोर्चा र ‘सिमली छायाँ’ गीतको प्रभाव कायमै थियो । म राप्रपाको पक्षमा खुलेर हिंड्नु अनौठो थियो । तैपनि कलाकारलाई आफ्नो कला देखाउन केको सङ्कोच ? भन्ने लाग्यो । म ज्ञानु रिमालको चुनाव प्रचारमा होमिएँ । प्रचार अभियान चलिरहेकै बेला ज्ञानु रिमाल पनि आए ।

अन्य कार्यकर्ता चिप्ला कुरा गरेर साखुल्ले हुन खोज्थे । मचाहिं वस्तुस्थिति जे हो त्यो बताइदिन्थें, तीतो नै किन नहोस् तर सत्य । त्यही भएर उनी मसँग ‘सिम्खडा बाजे, परिस्थिति कस्तो छ, मेरो पक्षमा माहोल कस्तो छ ?’ भनेर सोधिराख्थे । म पनि नलुकाई भनिदिन्थें । उनी र म एउटै कोठामा सुत्थ्यौं । यसो हुँदा उनीसँग अन्तरङ्ग कुराकानी गर्ने मौका पाउँथें ।

कुम्पुरमा राप्रपाको पहिलो आमसभा हुने भयो । त्यसका लागि विभिन्न ठाउँमा गएर माइकिङ ग¥यां ै । मैले साथमा रातो रङको इनामेल पनि बोकेको थिएँ । बाटो र छेउछाउका ढुङ्गामा ‘भोट केमा हलोमा’, ‘हलोले गर्छ सबैको भलो’ जस्ता नारा लेखिदिन्थें म । कुम्पुरको चौतारीमा आमसभा ग¥यौं । मैले ‘तीनपाते डाँडा काटेर’ भन्ने त्यसबेलाको चर्चित फिल्मी गीतलाई प्यारोडी बनाएर ‘राप्रपाको झन्डा बोकेर, आउँदै छन् ज्ञानप्रसाद रिमाल जनताको आशा बनेर’ गाएँ ।

आमसभापश्चात् हामी प्रचार दलका सदस्य र स्थानीय खाँटी कार्यकर्ताले कुखुराको मासु र चिउरा खाजा खायौं । मैले जीवनमा पहिलोपटक कुखुराको मासु खाएको त्यहीं हो, निकै किलमिल लागेको थियो ।

कुम्पुर असाध्यै रमाइलो लाग्यो । उकालो हिंड्दै गएपछि गणेश हिमाल छर्लङ्गै देखिने । हुन पनि त्यो रमणीय शरदको समय थियो । दसैंको सङ्घार । धान र कोदोले हरियाली छाएको खेतबारी । पर टलक्क टल्किने गणेश हिमाल । प्रकृतिको त्यो विराट सुन्दरताले मलाई नतमस्तक बनाइदिएको थियो ।

दोस्रो आमसभा हामीले खाल्टेमा ग¥यौं । धादिङबेसीबाट उकालो गएर एउटा भञ्ज्याङ काटेपछि खाल्टे पुगिन्छ । भञ्ज्याङमा नाङ्गोडाँडा, बीचमा एउटा ठूलो चौतारो छ । त्यहाँबाट पनि गणेश हिमाल स्पष्ट देखिन्छ । खाल्टेबाट धादिङको पुरानो सदरमुकाम सुनौलाबजार गयौं । जिल्लाको जुनसुकै भागबाट जाँदा पनि ठाडो र लामो उकालो चढ्नुपर्ने अनि पानीको पनि समस्या भएकाले २०३० सालमा सदरमुकाम धादिङबेसी झारिएको रहेछ । हामीले चुनावी कार्यक्रम सञ्चालन गरिरहँदा सुनौलाबजारमा झडप भयो । एमालेका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । तर दुई–चारजना बलिया केटा हाम्रो टोलीमा पनि थिए । तिनका सामुन्ने ती हुल्लडबाजको जोर चलेन ।

सुनौलाबजारपछि हामी गोगनपानी पुग्यौं । एकदमै सुन्दर ठाउँ ! त्यहाँ पनि चौतारामा आमसभा ग¥यौं । हरेक आमसभा सञ्चालन गर्ने जिम्मा मेरै हुन्थ्यो । माइक धेरैजसो मै समाउँथे । ‘उद्घोषणक्रममा ज्ञानु रिमालको प्रशंसा गर्दै म बीचबीचमा क्यारिकेचर, गीत अनेक कुरा घुसाउँथे । धु्रव खनाल राप्रपाका विद्यार्थी नेता थिए । माझिएका वक्ता । ओजपूर्ण आवाजमा राप्रपा र ज्ञानु रिमालका बारेमा तार्किक भाषण गर्थे ।

हामी मैदी, खरी, ढोलालगायतका १३ गाविस घुम्यौं । मैदीमा पनि झडप होलाजस्तो भएको थियो । मैले गाएको प्यारोडीप्रति काङ्ग्रेसले आपत्ति जनायो । पछि कुरो मिलाइयो । चुनावी अभियानमा हिंड्दा मलाई के लाग्यो भने पैसा धुत्ने दाउले मात्र मान्छेहरू राप्रपा वा ज्ञानु रिमालतिर लागेका थिए । कतिपय काङ्ग्रेस–एमालेकै कार्यकर्ता पनि साखुल्ले पल्टेर रिमालसँग पैसा धुत्ने काम गर्थे ।

आँखामै हिमाल टाँसिन आइपुग्ने मैदी सुन्दर ठाउँ रहेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको ठाउँ हो यो । मैदीको पश्चिमपट्टि बूढीगण्डकी अनि पारि गोरखा जिल्ला । दसैं नजिकियो । मैले घर जाने इच्छा व्यक्त गरें । ज्ञानु रिमालले मलाई दसैंखर्च भन्दै चार हजार रूपैयाँ थमाए । त्यो पैसाले कपडा र केही खिस्रीमिस्री किनेर म गाउँ गएँ । तिहारलगत्तै मतदान भयो । मंसिर पहिलो साता नतिजा आयो । ९ हजार भोट ल्याएर धादिङ–२ मा गङ्गालाल तुलाधार निर्वाचित भए भने ज्ञानु रिमालको ६ हजार ७ सय भोट आएछ ।

दसैं–तिहार मानेर, खेतको धान थन्क्याउन बुवालाई सघाएर म काठमाडौं आएँ । बालाजु हाइटमा ज्ञानु रिमालको फराकिलो कम्पाउन्डसहितको आकर्षक घर थियो । म जागिरको आस गर्दै उनको घर गएँ । उनले मलाई आफ्नी श्रीमतीसँग परिचय गराइदिए । हामीले चिया खायौं । उनले आफ्नै गाडीमा राखेर मलाई ठमेलस्थित कार्यालय पु¥याए । ‘सिम्खडा बाजे, तिमीले मलाई चुनावमा धेरै सघायौ तर जितिएन । अब म संयुक्त लगानीमा होटल खोल्दै छु । सिङ्गापुरेहरूले अन्तर्वार्ता लिँदै छन्, तिमी पनि तयारी गर’, उनले भने ।

अब जागिर पाइने भो भनेर म मक्ख परें । जागिर पक्कापक्की नहँुदै म त्यहाँ खट्न थालें । जनवरी १ तारिखबाट ‘होटल हिमाल’ सञ्चालन गर्ने निर्णय भयो । होटलको लोगो डिजाइन भयो । दुईवटा ‘एच’ अक्षरको बीचमा थोप्लो राखेर बनाइएको लोगो काठको कार्भिङ गरेर होटलको मूलगेटमै सजाइएको थियो । ३५–३६ कोठाको होटल बन्ने भयो । कोठा बनाउने काम धमाधम सुरु भयो । सम्पूर्ण संरचना तयार भएपछि त्यही होटलको छतमा सिङ्गापुरबाट आएका मानिसले अन्तर्वार्ता लिए ।

मैले मुस्कुराएर अङ्ग्रेजीमा अन्तर्वार्ता दिएँ । ‘यसलाई फ्रन्ट डेस्क रिसेप्सनमा राख्नुपर्छ’ भनियो । विनोद सिम्खडा दाइलाई म्यानेजर बनाइयो । हामीले होटल सञ्चालनमा नआउँदासम्म १५ दिनजति झ्याल सफा गर्नेदेखि बेड मिलाउनेसम्मका तालिम लियौं । सन् १९९४ डिसेम्बर २९ मा सूर्यबहादुर थापालाई प्रमुख अतिथि बनाएर होटल उद्घाटन गरियो । मैले मासिक १५ सय तलब र एक सय रूपैयाँ भत्ता पाउने भएँ । होटलमा एकछाक खाना पनि दिइन्थ्यो । त्यही थियो मेरो पहिलो जागिर ।

पहिलो वर्ष होटलको व्यापार राम्रै भयो । छिरिङ नामकी तिब्बती केटी (हाल: अमेरिका), रेन्बो दाइ, लीला सिलवाल (हाल फिनल्यान्ड) र म फ्रन्ट डेस्कमा थियौं । मैले पहिलो वर्ष नै ‘बेस्ट अनेस्ट स्टाफ’ अवार्ड जितें । त्यसबापत फिलिप्सको आइरन पाएको थिएँ । त्यसलाई पछिसम्म जतन गरेर राखें ।

हाँसेर मीठो बोल्ने बानी र कर्तव्यपरायणताका कारण मैले अवार्ड जितेको थिएँ । मेरो अङ्ग्रेजी पनि राम्रै थियो । घुम्न सजिलो होस् भनेर होटलका गेस्टहरूलाई म हातैले नक्सा बनाइदिन्थें । चित्रकलाको खुबी त्यहाँ काम लागेको थियो । म चिटिक्क परेर हिंड्थें । फर्मल र क्लिन भएर बस्थें । जाँड रक्सी खान्नथें । ज्ञानु रिमाल मलाई असाध्यै विश्वास गर्थे । चुनावमा सहयोग गरेको, काम पनि मजाले गर्ने । पर्यटक पनि मसँग खुसी थिए । मेसमा खाना खाने बेला म सबैलाई हँसाउँथे ।

‘हँसाउने स्टाफ, राम्रो स्टाफ’ भन्ने प्रभाव परेको थियो । मेरो इमानदारिताको कदर गरेरै हुनुपर्छ, पछि अकाउन्ट शाखामा सारियो । अकाउन्ट शाखामा दिनमा र राति पनि काम गर्नुपर्ने भयो । रातिको जागिर त्यति सहज भएन । चिसोले दाँत दुखिरहन्थ्यो । चुनाव हारेपछि केही निराश बनेका ज्ञानु रिमाल कहिलेकाहीं रक्सीमा झुम्न थालेका थिए । सन् १९९६ को वर्षायामको एक साँझ उनी होटलमा आए र मलाई बिनाकारण तथानाम हप्काए । म पनि स्वाभिमानी मान्छे, त्यही रातदेखि जागिर छोडिदिएँ ।

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button